गाउँको एकेडेमीले बदलेको बंगलादेशी महिला फुटबल

हिमाल प्रेस ११ भदौ २०८२ ११:४९
12
SHARES
गाउँको एकेडेमीले बदलेको बंगलादेशी महिला फुटबल बंगलादेशी महिला फुटबल टोली। तस्बिर साभार : द एसियनगेम

करिब साढे १७ करोड जनसंख्या भएको बंगलादेशले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा प्रायः उल्लेखनीय सफलता हासिल गर्न सकेको छैन। तर अहिले यो देश महिला फुटबलमा चम्किन थालेको छ। गत जुलाईमा महिला सिनियर टोली पहिलोपटक २०२६ एसियाली कपका लागि छनोटमा पर्न सफल भयो। सोही महिनामा अन्डर–२० टोलीले पनि पहिलोपटक महादेशीय च्याम्पियनसिपसम्मको यात्रा गर्‍यो।

यस सफलताको श्रेय देशको सुदूरउत्तरमा रहेको रंगातुंगी युनाइटेड वुमेन फुटबल एकेडेमीलाई जान्छ। यसको स्थापना २०१४ मा मोहम्मद ताजुल इस्लामले गरेका थिए। उनी धनी व्यवसायी होइनन्, बरु पूर्वशिक्षक र किसान हुन्। समाजसेवामा रुचि राख्ने इस्लाम भन्छन्, ‘मलाई फुटबल मन पर्छ। म केटीहरूलाई अवसर दिन चाहन्थेँ, किनभने बंगलादेशमा महिला फुटबल निकै अगाडि जान सक्छ।’

आज उनका कुरा सत्य साबित हुन थालेका छन्। एसियाली कप छनोट खेल्ने दुवै टोलीमा एकेडेमीका तीन–तीन खेलाडी समावेश भए। उनी भन्छन्, ‘हामीले विभिन्न उमेर समूहमा बंगलादेशको प्रतिनिधित्व गर्ने खेलाडी पठाएका छौँ। उनीहरू सबैप्रति हामी गर्व गर्छौं।’

त्यसमध्ये मोसम्मत सागोरिका लोकप्रिय खेलाडी हुन्। १७ वर्षीया सागोरिकाले एसियाली कप छनोटका क्रममा अन्डर–२० टोलीका लागि चार गोल गरेकी थिइन्। दक्षिण एसियाकै चर्चित युवा खेलाडीमध्ये एक बनेकी उनले क्षेत्रीय च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ताको उपाधि मात्र होइन, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको सम्मानसमेत पाइन्।

तर उनको यात्रा सजिलो थिएन। उनी भन्छिन्, ‘मैले जीवनमा फुटबलर बन्ने सपना देखेकी थिएँ, तर हाम्रो सामाजिक र धार्मिक वातावरणका कारण मेरा आमाबुबा सुरुमा खुसी हुनु भएन। उहाँहरू चाँडै जागिर खाएर पैसा कमाओस् भन्ने सोचमा हुनुहुन्थ्यो।’

ताजुल इस्लामका अनुसार सबैभन्दा ठूलो चुनौती अभावग्रस्त परिवारलाई छोरीहरूले पनि फुटबल खेल्न सक्छन् भनेर बुझाउनुपर्थ्यो। ‘केटीहरूमा खेलप्रतिको उत्साह थियो। तर आमाबुबालाई विश्वास दिलाउनैपर्थ्यो कि फुटबल छोरीका लागि राम्रो भविष्य बन्न सक्छ। एकपटक उनीहरूलाई बुझाएपछि खुलेर समर्थन गर्न थाले’, उनी सम्झिन्छन्।

सागोरिकाले पनि यही अनुभव गरिन्। ‘जब म एकेडेमीमा भर्ना भएँ, मेरा आमाबुबाले पढाइ जारी राखे मात्र खेल्न पाउने सर्त राख्नुभयो। सुरुमा बाबाले अनुमति दिनु भएन। पछि उहाँले धेरै साथ दिनुभयो। मैले उहाँलाई एक दिन ठूलो खेलाडी बन्छु भनेर वाचा गरेँ।’

तर आमाबुबाको अनुमति पाएपछि पनि सामाजिक प्रतिरोध कायमै थियो। बंगलादेशमा १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएपछि पनि महिला खेलाडीलाई प्राथमिकता दिइएको थिएन। गत जनवरीमा जोयपुरहाट सहरमा इस्लामी कट्टरपन्थीहरूले महिला फुटबलमैदानमा क्षति पुर्‍याएका थिए, जसले दुईवटा प्रतिस्पर्धा रोकिएको थियो।

‘यो रूढिवादी समाज हो। हाम्रो देश मुस्लिम–प्रधान छ। केही मानिस महिलालाई फुटबल खेलाउन चाहँदैनथे’, ताजुल इस्लाम भन्छन्। तर उनी हार मान्न चाहँदैनथे। ‘हामी स्थानीय नेताहरू, प्रहरी र प्रशासनिक अधिकारीहरूसम्म पुग्यौँ। उनीहरूले समर्थन गरेपछि अघि बढ्न सजिलो भयो’, उनी बताउँछन्।

गाउँका केटीहरू क्लबमा सहभागी भएपछि खेल्न सहज भयो। सागोरिकाले भनिन्, ‘हामीलाई एकेडेमीले सामाजिक सुरक्षा दिएको छ। प्रशिक्षक राम्रा हुनुहुन्छ। आवश्यक खेल सामग्री उपलब्ध हुन्छ। स्वास्थ्य र पढाइको पनि ख्याल राखिन्छ। हामीलाई लाग्छ, यही एकेडेमीले भविष्यका एसियाली फुटबल तारा तयार गर्दैछ।’

स्थानीय मानसिकतामा पनि परिवर्तन आएको छ। सागोरिकाले २०२४ मा भारतविरुद्धको खेल खेलेका बेला उनका गाउँलेहरूले प्रोजेक्टर राखी सामूहिक रूपमा खेल हेरे। उनका आमाबुबा रंगशालासम्म पुगे। तर यही गाउँका मानिस पहिले महिला फुटबललाई मन पराउँदैनथे।

निर्णायक गोल गरेपछि सागोरिका भन्छिन्, ‘हाफटाइममा कसैले भन्यो, मेरा आमाबुबा आएका छन्। म दौडेर उहाँहरूसम्म गएँ। निकै खुसी लाग्यो, मैले उहाँहरूलाई आफ्नो क्षमता देखाउने मौका पाएँ।’

यति ठूलो उपलब्धि हासिल हुँदा पनि आर्थिक चुनौती कायमै छ। ताजुल भन्छन्, ‘केहीले सहयोग गरे पनि मैले मेरो सम्पूर्ण पुँजी खर्चिसकेको छु। एकेडेमी बंगलादेशमा लोकप्रिय छ, तर राष्ट्रिय तहमा सहयोग पाएका छैनौँ। ठूलो सफलता पाएपछि सार्वजनिक र निजी दुवै क्षेत्रबाट अझ बढी सहयोग हुने आशा छ।’

उनको लक्ष्य अझै ठूलो छ। ‘हामीसँग पर्याप्त खेलमैदान र सामग्री छैनन्। तर म कठिनाइसँग कहिल्यै हार मान्दिनँ’, ताजुल  भन्छन्।

महिला खेलाडीहरू पनि फुटबलबाट आम्दानी गर्न थालेका छन्। फेडेरेसनले ३० भन्दा बढी खेलाडीलाई करारमा राखेको छ। उनीहरूले हरेक महिना करिब १४६ देखि ४०८ डलरसम्म पारिश्रमिक पाउँछन्। केही खेलाडी त विदेशमा समेत खेलिरहेका छन्। अहिले महिला टोलीका १० खेलाडी भुटानी क्लबसँग आबद्ध छन्।

सागोरिकाले भनिन्, ‘हाम्रो लक्ष्य अर्को १० वर्षभित्र विश्वकप छनोटमा पर्नु हो। हाम्रो समर्पण र कडा मेहनतले पक्कै हामीलाई त्यहाँ पुर्‍याउनेछ।’ डीडब्ल्यूबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast