कोशीमा क्यान्सर, मिर्गौलाका बिरामीलाई आर्थिक सहायता

हिमाल प्रेस ११ भदौ २०८२ ११:२७
10
SHARES
कोशीमा क्यान्सर, मिर्गौलाका बिरामीलाई आर्थिक सहायता

झापा- कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ। कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.केनिन राईका अनुसार आर्थिक वर्ष २०८१-८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन्।

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०-८१ मा दिएका निवेदनका आधारमा रु ५० हजार र रु एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए।

उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई रु एक लाखका दरले सहायता रकम वितरण गरिएको बताए।

चालु आव २०८२-८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए। ‘यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन’, सूचना अधिकारी राईले भने, ‘आर्थिक रुपमा भार धेरै भयो। कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ। जिल्लाहरुबाट तथ्यांक संकलन गरिरहेका छौँ। चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ।’

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई रु दुई लाख र अन्य कडा खालका रोग लागेकालाई रु एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो। तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो।

उनले २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए। प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९-८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो।

प्रकाशित: ११ भदौ २०८२ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast