कुशेऔँसी विशेष

बा : केही अन्तरंग स्मृति

ईश्वर पोखरेल ७ भदौ २०८२ ७:३५ | Saturday, August 23, 2025
68
SHARES
बा : केही अन्तरंग स्मृति

कान्छी दिदीले हजुरआमालाई तास चिन्नेसम्म पारिदिनुभएको थियो। खेलमा रङ कसरी बनाइन्छ, कस्तो अवस्थामा रङ लगाउन मिल्छ र खेलमा सबैभन्दा महत्त्वपूर्ण के हुन्छ भन्ने सामान्य नियम बताइदिएपछि हजुरआमा ‘दहरमारा’ खेल्न अग्रसर हुनुभयो। तास बाँड्ने कुरामा हजुरआमालाई छुट! तर खेलमा हजुरआमा कसको जोडी बन्ने भन्ने समस्या देखापर्‍यो। बा र काकाबा टकटकिइहाल्नुभयो। जोडीका रूपमा हजुरआमालाई स्विकार्नुको विकल्प कान्छी दिदीसँग रहेन। तर हुने के भने हजुरआमा एकैपटक दुइटा तास झार्ने। घरी झारेको तास टिप्ने र अर्को झार्न खोज्ने। घरी कान्छी दिदीले तास हेरेर झारिदिनुपर्ने। हजुरआमाको त तास समाल्ने ढंग पनि नपुग्ने। अरूले त दिक्क मानेकै थिए; कान्छी दिदीले पनि दिक्क मान्न थाल्नुभयो।

अनि अर्को खेलको कुरा उठ्यो। यो खेलको नाम थियो- लद्दे। पछि थाहा भयो, कतै कतै यसलाई ‘धुम्मल’ पनि भन्दा रहेछन्। यसको नियम चैँ ठूलो अंकको तासको हात हुने। रंक टुटेपछि अरूले अर्कै रंगको तास झार्ने र त्यो खेल सुरु गर्नेले टिप्नुपर्ने। अन्त्यमा जसको हातमा तास धेरै रहन्छ; उसले हारेको हुन्छ। यसको फाइदा के भने यो खेल्दा जोडी नचाहिने, हारजितको सम्पूर्ण जिम्मेवारी खेलाडी स्वयंमा हुने।

यसमा पनि समस्या के भने हजुरआमा तास झार्ने र ‘छाप्पा’ भनेर झारेको तास टिप्ने। अनि अर्को झार्ने। त्यसमा पनि ‘छाप्पा’ भन्ने सम्भावना रहने। हातमा तास मिलाएर राख्न पनि खासै नजान्ने।

नखेलाऔँ पनि भएन; खेल्न राख्दा पनि तास खेल्नुको खासै स्वाद आएन।

तास खेलमै भए पनि परिवारको सम्मान्य व्यक्तिले सधैँ हारेको/दण्डित भएको दृश्य कसका लागि प्रिय हुन सक्थ्यो र!

हाम्रो घरमा तास भरखरै भित्रिएको थियो। यो बा वा काकामध्ये कसैले भित्र्याउनुभएको थियो। हामी केटाकेटी जो खेल हेर्ने वर्गमा थियौँ; रमाइलो मानी रहेका थियौँ। रमाइलो किनभने यो नयाँ खालको खेल थियो- बसेर खेल्ने। बसेरै हारजित हुने। यसरी बसेर खेल्ने खेलमा बाघचाल थियो- एउटा। अर्को चाल्ने गट्टी। अर्को गट्टा। (त्यतिन्जेल चेस, लुडो र क्यारमबोर्ड जस्ता खेल हामी केटाकेटीले देखेकै थिएनौँ।) यीमध्ये कतिपय खेलमा त हाम्रो योग्यता नै नपुग्ने। जस्तो गट्टा। (यो दिदीबहिनीको खेल हो भन्ने जस्तो लाग्ने।) त्यस्तै बाघचाल। यीमध्ये पहिलोमा हाम्रो सीप नपुग्ने; पछिल्लोमा बुद्धि। चाल्ने गट्टी भनेको चैँ दसवटा खोबिल्टामा ससाना ढुंगागट्टा राखेर चाल्ने खेल। जसले बढी ढुंगा प्राप्त गर्छ; उसैको जित हुने। बसेर खेल्ने खेलमा सबैभन्दा बढी चाल्ने गट्टी नै खेल्थ्यौँ- हामी।

तर यो यी सबैभन्दा फरक स्वादको थियो। रोचक पनि। चार रङ, बाउन्न पत्ती। घरका अभिभावकहरू बसेर खेलेको देख्दा हामी भन्ठान्थ्यौंँ, यो हामी केटाकेटीको खेल होइन रहेछ; ठूला मान्छेले खेल्ने खेल रहेछ।

कान्छी दिदी वा काकाबामध्ये कसैले मलाई संकेत गरेर भन्नुभयो, ‘आमाले खेल्न जान्नु भएन। बरु यो खेल्छ ।… खेल्छस्?’

‘के खोज्छस् कानो; आँखो!’ भने जस्तै भयो- मलाई। खेल नयाँ र रमाइलो त छँदै छ, अभिभावकसँग बसेर खेल्दा आफ्नो पनि स्तर उकासिने। तर दंग पर्ने बेला भइहालेको किन छैन भने यस सवालमा बा बोल्नुभएको छैन।

मैले पिलिक्क बाको अनुहारतिर हेरेर डराइडराइ भनेँ- ‘खेल्छु।’

बाले अनुमति दिनुभयो।

यसरी मैले घरमा तास खेलमा इन्ट्री पाएँ।

अब खेल फेरि ‘दहरमारा’मा फर्कियो। अनि त ‘सातहाते’ पनि खेलियो। यदाकदा ‘ट्वान्टिनाइन’ पनि खेलियो। खेल्दा चारजना खेलाडी चाहिने तासका यी खेलमा म अपरिहार्य सदस्यका रूपमा रहेँ। तास खेल्ने सवालमा मेरो खोजी नै हुन थाल्यो। तासमा मेरो जोडी बन्नेमा अब कसैको आनाकानी हुन छाड्यो। परिवारमा जेठो हुनुको केही फाइदा पनि रहेछन्। यदाकदा अवसर पनि जेठैलाई प्राप्त हुने। सामाजिक मान्यता पनि सबैभन्दा पहिले जेठैले पाउने। बाआमालाई सोझै साइनो लगाएर बोल्न असहज मान्ने सबै मान्यजनले मेरै नाम जोडेर सम्बोधन गर्नुभयो। यतिखेर पनि मैले आफू जेठो भएकाले परिवारमा यो खेलको स्वाद लिन पाएँ।

यस चरणमा हामीले घरमा तास लामो समयसम्म खेल्न पाएनौँ। कान्छी दिदीको विवाहको सन्दर्भ दह्रो भएपछि घरभित्र हाम्रो तास खेलको संरचना छिन्नभिन्न हुन पुग्यो।

त्यसपछि लामो समयसम्म घरमा तास खेलिएन।

तास खेल्न जान्नु र तास खेल्न नपाउनुको बेमज्जा मैले बयलबासको नारायण माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना नहुँदासम्म भोग्नुपर्‍यो।

नारायण माध्यमिक विद्यालयमा भर्ना भएपछि भने हामी हरेकजसो शुक्रबार पाटु (महोत्तरी) आउँथ्यौँ र आइतबार बिहान अल्छी मान्दैमान्दै फर्किन्थ्यौँ।

बयलबासबाट हामी दुईजना आउँथ्यौँ; भिमानबाट दुईजना आउँथे। र, हामी सर्लाहीको बयलबास र सिन्धुलीको भिमानबाट आउने समान क्लासका विद्यार्थीको मिलनबिन्दु बन्थ्यो- महोत्तरीको पाटु। हामी चारजना जम्मा हुनु के थियो; ‘ट्वान्टिनाइन’ यसरी जम्थ्यो, हामी भात खान बिर्सिन्थ्यौँ।

भात खान कसैलाई भान्साबाट तारन्तार दबाब आयो र उसले उठ्नुपर्‍यो भने पनि खेल उठ्दैनथ्यो; खाल सम्हाल्ने व्यक्ति पाइहालिन्थ्यो।

सजिलो के भने हामीले खेल्ने दहरमारा, लद्दे, ट्वान्टिनाइन जस्ता खेलहरू तासका पैसा वा बाजीमा खेलिने खेल थिएनन्। हामीसँग कताबाट पैसा हुनु र खेल्नु!

ती दिन पाटुमा चारजना मान्छे छन् र गफ गरेर बसेका छन् भने मलाई लाग्थ्यो; ‘कस्ता मूर्ख रहेछन्। चारजना भइसकेपछि त योभन्दा उच्च स्तरको अर्को रमाइलो पनि त हुन सक्छ।’

अनि म पढ्न काठमाडौँ आएँ। आएँ पनि के भन्नु? बाले लिएर आउनुभयो र बसोबासको बन्दोबस्त मिलाएर फर्किनुभयो। मेरासामु यता रहे- नयाँ ठाउँ, नयाँ परिवेश, नयाँनयाँ सम्बन्ध, नयाँ जिम्मेवारी, नयाँ कोर्स आदि। अनि म जागिर खान थालेँ। पढ्नु त छँदै थियो।

दसैँमा जान्थेँ- घर र तिहार मानेर फर्किन्थेँ।

दसैँमा घर जाने तयारीका क्रममा गरिने घरायसी किनमेलको सूचीमा एक बुक तास अनिवार्य वस्तुको रूपमा चढ्न थाल्यो।

चाडबाडमा बा चुलामा पनि रमाउनुहुन्थ्यो। परिवारका सबै सदस्यलाई आफैँ पस्केर खुवाउने बानी थियो- बाको। हजुरबा पनि यसै गर्नुहुन्थ्यो। दसैँ र तिहार जस्ता चाडबाडमा घरभित्र र बाहिरका कामको चापाचापमा फुर्सद निकालेर हामी घरमा तास खेल्थ्यौँ। हामी छोराहरू (दाजुभाइ) बस्थ्यौँ र एकातिर बा बस्नुहुन्थ्यो। यदाकदा आमा पनि बस्न खोज्नुहुन्थ्यो। तर तास खेल्ने ढंगढाँचा हजुरआमाबाट सर्लक्क आमामा सरेझैँ देखिने। बा भन्नुहुन्थ्यो- ‘चाडबाडमा सबैको रहरको सम्मान हुनुपर्छ।’

परिवारभित्र पर्याप्त ठट्टा गर्नुहुन्थ्यो- हाम्रो बा। बाको त्यो ठट्टा गर्ने प्रवृत्ति हामी सबै छोराछोरीमा थोरबहुत आएको छ झैँ लाग्छ। ठट्टा गर्ने प्रवृत्तिजस्तै बाको तार्किकता, दूरदर्शिता, निर्णय क्षमता, श्रमप्रतिको सम्मानको भाव, सामाजिकता जस्ता गुणको पनि केही अंश मात्र हामीमा आएका भए हाम्रो जीवन सहज र गौरवान्वित बन्ने थियो।

पछिल्लो समयमा बा धेरैथरी रोगहरूबाट आक्रान्त हुनुभयो। पटकपटक बाले महिनौँ अस्पतालमा बस्नु पनि पर्‍यो। बहत्तर सालको महाभूकम्पको समयमा हाम्रो बा भ्यान्टिलेटरमा हुनुहुन्थ्यो।

कोरोनाको लामो लकडाउनपछि बालाई फलोअपमा अस्पतालमा लैजाने आवश्यकता महसुस गरियो। ती दिन बा अस्पताल जानु नपरे हुन्थ्यो झैँ सोच्नुहुन्थ्यो।

मैले भनेँ- ‘अस्पताल जाऔँ।’

‘मलाई केही भएकै छैन किन जाने?’ बाले भन्नुभयो।

मैले फेरि भनेँ- ‘होइन, जाऔँ न। धेरै भयो नगएको।’

बाले भन्नुभयो- ‘ल, जाऔं नै भन्छस् भने जाऔँ। डाक्टरले ‘के भएर आउनुभयो बा’ भनेर मलाई सोध्लान्, म केही पनि भा’ छैन भन्छु।’

हामी छोराहरूसित तास खेल्दाखेल्दै बा भन्नुहुन्थ्यो- ‘तास खेल्न जान्नु भनेको तास खेलको नियम जान्नु मात्र होइन। तासको नियम जान्नु भनेको तास टिप्न र झार्न जान्नु हो। तिमीहरू परिवारका बीच रमाइलोका लागि तास खेल्छौ; पैसा राखेर बाजीमा तास खेल्दैनौ। तिमीहरू कुनै भाइमा पनि त्यो प्रवृत्ति देखिएन। यो हाम्रा लागि सन्तोषको कुरा हो। परिवारभित्र खेल्नलाई तास खेलको नियम जाने पुग्छ। तर तासले धेरैको घरखेत उठिबास भएको पनि छ। मनोरञ्जनको घेराबाट बाहिर लैजाने हो भने र पैसा राखेर वा बाजीमा खेल्ने हो भने तास खतरनाक खेल पनि हो।’

यसरी बाले हामीलाई तास खेल्न र तास खेललाई परिवारमा मनोरञ्जनमा सीमित गर्न प्रशिक्षित गर्नुभयो। हामी कसैले पनि तास खेलका सन्दर्भमा बाले कोरिदिनुभएको यो सीमा कहिल्यै नाघेनौँ।

वि. सं. १९९३ मा ओखलढुंगाको चनौटेमा कृष्णप्रसाद र चम्पादेवीको जेष्ठ पुत्रको रूपमा जन्म लिनुभएको हाम्रो बा गोविन्दप्रसाद पोखरेलको वि.सं. २०७९ साल वैशाख २९ गते भक्तपुर जिल्लाको सूर्यविनायक-२ को तजटोलस्थित निजी निवासमै परमधाम भयो।

बा हामी सबैको स्मृतिमा सधैँ हुनुहुन्छ। बालाई सम्झेर अन्य विविध आयामबाट प्रशस्त लेख्न पनि सकिन्छ । चाडबाडमा भने बाको स्मृतिसँग गाँसिएर बाको अभावको पीडा पनि मिसिन्छ। नेपाली समाजमा कुशेऔंसी वा पितासम्मानको पर्व पनि छ।

पछिल्लो समयमा धेरै भाइहरू विदेशमा छन्। हामी यहाँ जो छौँ; यस पर्वमा बाको समीपमा रमाउने गरेका थियौँ। यस्ता अवसरमा भने ‘नेपाली समाजका सबै छोराछोरीको जाने ठाउँ र रमाउने निहुँ छ, हाम्रो छैन’ भन्ने भाव तीव्र हुने रहेछ। पिताजी स्वर्गीय गोविन्दप्रसाद पोखरेलमा हार्दिक श्रद्धाञ्जलि!!

प्रकाशित: ७ भदौ २०८२ ७:३५ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast