चाइना जर्नल

हरित सम्पदा जोगाउँदै आर्थिक विकास गर्ने चिनियाँ दृष्टिकोण

अजय अलौकिक २ भदौ २०८२ २१:३९
10
SHARES
हरित सम्पदा जोगाउँदै आर्थिक विकास गर्ने चिनियाँ दृष्टिकोण

पछिल्ला दशकमा चीनले तीव्र आर्थिक विकास गरेको छ। जसले चीनलाई विश्वको प्रमुख आर्थिक शक्तिमध्ये एक बनाएको छ। वर्तमानमा चीनले रोबोटिक्स क्षेत्र तथा हरित स्वच्छ ऊर्जा क्षेत्रमा गरिरहेको चामत्कारिक क्रान्तिप्रति विश्वको ध्यान आकृष्ट छ। विज्ञान तथा प्रविधिका क्षेत्रमा लगानी, अनुसन्धान र विकासले चीनलाई वैश्विक शक्तिमा रूपान्तरण गरेको छ। यो तीव्र र लोभलाग्दो उन्नति र प्रगति सँगसँगै वातावरणीय चुनौती पनि थपिएका छन्। यद्यपि चीनले केही दशकअघिदेखि नै वातावरण संरक्षणका लागि पनि पहल गर्दै आएको छ।

चीनले आफ्नो अमूल्य प्राकृतिक सम्पदाहरूको संरक्षण यात्रामा व्यापक वृक्षरोपण, नदी संरक्षण कानुन, संरक्षित क्षेत्र, प्रदूषण नियन्त्रण र पहाड, नदी र जंगलको संरक्षण गर्दै महत्त्वपूर्ण प्रगति गरेको छ। ‘हरिया पहाड र स्वच्छ नदी, नाला सुनचाँदी’ भन्ने नारा चीनमा व्यापक रूपमा उद्धृत गरिन्छ र चीनको वातावरणीय संरक्षणसँगै आर्थिक विकासबाट यो चरितार्थ पनि भइसकेको छ। यो नारा आजभन्दा २० वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्‌घोष गरेको अवधारणा हो।

आफ्नो समृद्ध प्राकृतिक सम्पदाको क्षति नगरी दिगो विकास सुनिश्चित गर्ने यो अवधारणा सीले सन् २००५ अगस्ट १५ मा चिनियाँ कम्युनिस्ट पार्टी चच्याङ प्रान्तीय समितिका तत्कालीन सचिव रहँदा स्थानीय आन्ची जिल्लामातहतको यू गाउँको निरीक्षण भ्रमण गर्दा खानीहरू र प्रदूषण फैलाउने उद्योगहरू बन्द गर्ने निर्णयको प्रशंसा गर्दै पहिलोपटक ‘हरियाली पहाड र स्वच्छ पानी अमूल्य सम्पत्ति हुन्’ भन्ने विचार व्यक्त गरेका थिए। त्यस बेला त्यहाँको अन्तिम खानी पनि भर्खरै बन्द गरिएको थियो, जसले गाउँलेलाई उनीहरूको जीविकोपार्जनका बारेमा चिन्तन गर्न बाध्य बनाएको थियो।

यस निर्णायक क्षणमा सी चिनफिङले उक्त गाउँमा खानी बन्द गर्नु ‘बुद्धिमत्तापूर्ण कदम’ भएको औँल्याउँदै चीनको वातावरणीय नीतिको मार्गदर्शक सिद्धान्त ‘हरियाली पहाड र स्वच्छ पानी अमूल्य सम्पत्ति हुन्’ प्रस्तुत गरेका थिए।

उनले हरित विकास सँगसँगै दिगो स्थानीय अर्थतन्त्रलाई जोड दिएका थिए। सीको नाराको तात्पर्य हो, आर्थिक सम्पत्तिजस्तै वातावरणीय सम्पत्ति जंगल, नदी, र स्वच्छ हावा अति मूल्यवान छन्। यसले धनको पारम्परिक बुझाइलाई समेत पुनःपरिभाषित गरेको छ।

विगत २० वर्षमा सो विचारधाराको मार्गदर्शनमा यू गाउँको पारिस्थितिक वातावरणमा मात्रै सुधार भएको छैन, पर्यटन र हरित उद्योगको समेत विकास भएको छ। हाल पूर्ण रूपमा हरियाली यू गाउँ रोजगारी र पर्यटनका लागि चीनभरि प्रसिद्ध गाउँ बनेको छ। आन्चीका ग्रामीण बासिन्दाको औसत वार्षिक प्रतिव्यक्ति डिस्पोजेबल आय ७,०३४ युआनबाट बढेर हाल ४८,८७९ युआन पुगेको छ, जुन झन्डै सात गुणा वृद्धि हो।

सन् २०२४ मा पचास हजारभन्दा बढी युवा व्यवसाय सुरु गर्न वा रोजगारको अवसर खोज्न आन्ची पुगेका छन्। ७० प्रतिशतभन्दा बढी क्षेत्र वनले ढाकेको बाँसको सागरलाई पुनःस्थापित गर्दै यो गाउँले ‘पारिस्थितिकीय अर्थतन्त्र’ को विकासबाट ग्रामीण पर्यटनको विकास गरेको छ। यसबाट पारिस्थितिक वातावरणको संरक्षण मूल्यवान आर्थिक स्रोत प्रमाणित भएको छ। सन् २०२० मा राष्ट्रपति सीले आन्चीको पुनःभ्रमण गरेका थिए। त्यसै बेला उनले गाउँलेलाई भनेका थिए, ‘अनुभवले देखाएको छ कि आर्थिक वृद्धि वातावरणको मूल्य चुकाएर आउन सक्दैन।’

समयको बहावसँगै यो चीनको राष्ट्रिय वातावरणीय नीतिका लागि एक मार्गदर्शक सिद्धान्तमा विकास भएको छ। यी वर्षहरूमा चीनको पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म, ‘हरियाली पहाड र स्वच्छ पानी सुनचाँदी हो’ भन्ने विचारधाराको मार्गदर्शनमा विभिन्न हरियाली पारिस्थितिक चित्र चीनभरि कोरिरहेको छ।

बीस वर्षअघि सी चिनफिङले पारिस्थितिकीय सभ्यता विचार सम्बन्धमा ‘हामीलाई हरियाली पहाड र सुन र चाँदी दुवै चाहिन्छ, वास्तवमा हरियाली पहाड नै सुन र चाँदी हुन्’ उद्‌घोष भनाइ नै अवधारणा बनेको हो। र, यस अवधारणालाई दुई पर्वतको सिद्धान्त पनि भनिन्छ।

‘हरियो पहाड र स्वच्छ पानी सुन र चाँदीका पहाडका रूपमा उत्तिकै महत्त्वपूर्ण छन्’ यो एउटा नाराभन्दा बढी एक गहिरो दार्शनिक र नीतिगत परिवर्तन हो। यसले वातावरणीय संरक्षणलाई व्ययको रूपमा होइन, भविष्यका लगानीका रूपमा हेरिएको छ। राष्ट्रपति सीको पारिस्थितिकीय सभ्यताप्रति सोच, नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादको सोचको अभिन्न भाग पनि हो। यसले समाज, संस्कृति, अर्थशास्त्र र राजनीतिसँग समन्वय गर्ने समग्र दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ।

अहिले चीनमा पारिस्थितिकीय सभ्यताको निर्माणका लागि राष्ट्रिय रणनीति बनेको छ। राष्ट्रपति सीको पारिस्थितिकीय संरक्षणप्रतिको अडिगताले मानिसहरूको वातावरणीय संरक्षण र आर्थिक विकास बीचको सोचमा परिवर्तन ल्याएको छ। सीको पारिस्थितिकीय सभ्यता दृष्टिकोणको मार्गदर्शनमा, चीनमा पारिस्थितिक संरक्षणका लाल रेखा प्रणाली लागू गरिएको छ, जस अनुसार, राष्ट्रिय संरक्षण पार्कको स्थापना तथा जैविक विविधता संरक्षण परियोजनाहरू सञ्चालित छन्, जुन कडाईका साथ कार्यान्वयन र निरीक्षण गरिरहेको छ।

महत्त्वपूर्ण पर्यावरणीय क्षेत्रहरूलाई औद्योगिक क्रियाकलापका लागि निषेध क्षेत्र तोकेर पारिस्थितिकीय लाल रेखा कोरिएका छन्। यसबाट दुर्लभ र संकटापन्न प्रजातीहरूको प्रभावकारी रूपमा संरक्षणमा तथा पारिस्थितिक प्रणालीको विविधता, स्थिरता र दिगोपनमा निरन्तर सुधार हुँदै गइरहेको छ। करोडौँ हेक्टर क्षेत्रफलमा बृहत् वृक्षरोपण गरिएको छ, ‘ग्रेट ग्रिन वाल’ परियोजना निकै चर्चित समेत छ। भित्री मंगोलियामा, ३० वर्षमा ६,००० वर्ग किलोमिटरभन्दा बढीको मरुभूमिलाई हरियाली क्षेत्रमा परिवर्तन गरेको छ।

हाल, नवीकरणीय ऊर्जाका स्रोतहरू सौर्य, वायु र जलमा बृहत् लगानी गरिएको छ, जसले चीनलाई विश्वभर स्वच्छ ऊर्जा उत्पादनको सबैभन्दा ठूलो उत्पादक बनाइदिएको छ। प्रदूषणविरुद्धका अभियानहरू सञ्चालित छन् र पछिल्लो समय बेइजिङलगायतका शहरहरूको गुणस्तरीय वायुमण्डल सूचकांक यसको अर्को प्रमाण हो।

चीनले यस पारिस्थितिकीय दार्शनिकताबाट प्रेरित भएर सुधार र पहलहरू कार्यान्वयन गरेको छ। यसका अतिरिक्त, पारिस्थितिकीय सभ्यता चीनको संविधानमा समावेश गरिएको छ, जसले उच्चस्तरीय प्रतिबद्धता झल्काउँछ। चीनको वातावरणीय संरक्षणको दृष्टिकोण व्यापक बनेको छ। चीनले पारिस्थितिकीय सभ्यतालाई समाहित गरेर आफ्नो विकासको बाटो मात्र परिवर्तन गरेको छैन, विश्वमा दिगो भविष्यको खोजीमा योगदान समेत पुर्याइरहेको छ।

मानव विकास र प्रकृति बीचको समानतामा जोड दिइएको चिनियाँ राष्ट्रपति सीको पारिस्थितिकीय दार्शनिकता चीनमा मात्रै होइन संसारभरि नै उपयुक्त छ। विश्वका समग्र राष्ट्रहरूले जलवायु परिवर्तन र आर्थिक विकासको दोहोरो चुनौतीको सामना गरिरहेका बेला पारिस्थितिकीय सभ्यतामा सीको अवधारणा समृद्ध र हरित संसार बनाउन उदाहरणीय  छ। चीनले विश्वलाई आर्थिक विकास र वातावरणीय संरक्षण सँगसँगै लैजानसक्ने प्रमाणित पनि गरिरहेको छ।

संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रमले ‘हरियो पहाड र स्वच्छ पानी सुनका पहाड र चाँदीका पहाडहरू हुन् भन्ने अवधारणालाई दिगो विकासका लागि एउटा महत्त्वपूर्ण सन्दर्भका रूपमा लिएको छ। आर्थिक र वातावरणीय आवश्यकतालाई सन्तुलित गर्ने यस दृष्टिकोणले चीनको अन्तर्राष्ट्रिय वातावरणीय सन्धि, सम्झौताहरूमा सहभागिता तथा विश्वलाई बेल्ट र रोड इनिसिएटिभअन्तर्गत हरित विकासको प्रवर्धनका लागि यथेष्ट अवसर सिर्जना गरेको छ। साथै, चीनले २०३० अघि कार्बन पिक र २०६० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखेको छ।

चिनियाँ संस्कृतिमा नदी र पहाड जस्ता प्राकृतिक सम्पदाहरूलाई समृद्धि, दीर्घायु, तथा सामञ्जस्यको प्रतीक मानिन्छ। प्राचीन समयदेखि नै चिनियाँहरूमा ‘प्रकृति र मानिस बीचको एकता’ सम्बन्धमा राम्रो ज्ञान छ। थाओवाद र कन्फ्यूशियसवादले प्रकृतिको मूल्यको गहन व्याख्या गरेका छन्। ‘हरियो पहाड र स्वच्छ पानी सुनचाँदी हुन्’ यो सी चिनफिङको विचारको केन्द्रीय सार भए तापनि यो मानिस र प्रकृति बीचको हजारौँ वर्षको सामञ्जस्यपूर्ण सहअस्तित्वको व्याख्या पनि हो। मानिस र प्रकृतिको बीचमा सामञ्जस्यपूर्ण सहअस्तित्व रहेको कुरालाई मनन गर्दे चीनले सो अवधारणालाई उच्च गुणस्तरको विकासको मार्गमा अघि बढाइरहेको छ।

नेपालको सन्दर्भमा भन्नुपर्दा ‘हरियो वन नेपालको धन’ को नारा कुनै बेला निकै चर्चित थियो। पछिल्लो समय ‘समृद्धिका लागि वन’ भन्ने नारा पनि सुनिन्छ। तर यी नाराले प्रकृति र आर्थिक विकासलाई सँगसँगै बढाउन खोजे तापनि फड्को मार्ने गरी उपलब्धि हासिल गरेको देखिएको छैन। यसरी, चीन र नेपालले मानव र प्रकृतिको सँगसँगै विकासको अवधारणालाई आत्मसाथ गरे तापनि चीनले चालेका संरक्षण र व्यवस्थापनका पहल र जनताका लागि दिगो र समृद्ध भविष्य सुनिश्चित गर्ने आर्थिक स्रोतको जुन बाटो अपनाएको छ, त्यसलाई नेपालले अनुसरण गर्न सकिन्छ।

अन्त्यमा, जीर्ण बन्दै गएको मानववस्तीको यो विश्वको वातावरणलाई जोगाउन पहाड, नदीनाला जस्ता प्राकृतिक सम्पदाहरूको संरक्षणको महत्त्व अझै बढेको छ। चीनले अमूल्य प्राकृतिक सम्पदाहरूको मूल्यको पहिचान गरेर संरक्षणमा उल्लेखनीय प्रगति मात्रै होइन पर्यावरणीय अर्थतन्त्र मोडेलको विकास गरेको छ। चीनको ‘हरिया पहाड र स्वच्छ पानी सुनचाँदी हुन्’ को अवधारणाले सुनचाँदीजस्तै अमूल्य खजानाका रूपमा वातावरणलाई जोगाउन महत्त्व दिएको छ। साथै चीनले ‘पर्यावरणको संरक्षण गर्न अर्थतन्त्रको बलि दिनु पर्छ’ भन्ने भाष्यलाई तोडेको छ र पारिस्थितिक वातावरण र आर्थिक लाभ बीच साझा जीतको नयाँ मोडेल समेत सिर्जना गरेको छ।

प्रकाशित: २ भदौ २०८२ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast