
काठमाडौँ- भारतीय परराष्ट्र सचिव विक्रम मिसरी काठमाडौँ आइपुगेका छन्। भारतीय वायुसेनाको विमान आईएफसी ३१ मार्फत मिसरी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
दुई दिनका लागि नेपाल आएका भारतीय परराष्ट्र सचिव मिसरीले अब प्रधानमन्त्री ओलीसँग भेटेर आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।
भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो देश भ्रमण गर्न प्रस्ताव गरे पनि मिति तय हुन बाँकी छ। नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव मिसरीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किनेछन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।
मिसरी साेमबार स्वदेश फर्कनेछन्। उनले याे समयमा दुईपक्षीय नियमित वार्ताबाहेक राजनीतिक भेटघाट पनि गर्नेछन्। उनले कुन माेडलमा राजनीतिक भेटघाट गर्छन् त्यो स्पष्ट छैन। उनका सबै भेटघाट र दुईपक्षीय वार्ता सम्बन्धमा जानकारी दिइएकाे छैन।
उठ्न सक्छन् यी एजेन्डा
भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रतिबिम्बमा भारत र नेपालबीच बारम्बार उच्चस्तरीय भ्रमण र आदानप्रदान भइरहेका छन्। सन् २०१४ मे अर्थात मोदी सत्तामा आएयता नेपाल र भारतबीच राष्ट्र एवं सरकार प्रमुखको स्तरमा १७ वटा भेटघाट भइसकेका छन्। भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मे यता पाँच पटक नेपाल भ्रमण गरिसकेका छन्। मोदीको पछिल्लो नेपाल भ्रमण सन् २०२२ मे १६ मा लुम्बिनीमा भएको थियो।
नेपालका प्रधानमन्त्रीले सन् २०१४ मे यता १० पटक भारत भ्रमण गरे पनि २०८१ असारमा प्रधानमन्त्री भएका ओली आफ्नो कार्यकाल सकिन लाग्दै गर्दा भारत भ्रमण जुर्न लागेको हो। नेपाली कांग्रेससँग आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएपछि ओली प्रधानमन्त्री भएका थिए। भारतीय पक्षबाट औपचारिक रूपमा निमन्त्रणा पाएपछि प्रधानमन्त्री ओलीको भ्रमणको गृहकार्य थप अघि बढ्ने परराष्ट्रका अधिकारीहरू बताउँछन्।
मोदीले प्रधानमन्त्री ओलीलाई सन् २०२४ जुलाई १५ मा प्रधानमन्त्रीका रूपमा नियुक्त भएकोमा बधाई दिएका थिए भने सन् २०२४ सेप्टेम्बर २२ मा न्युयोर्कमा साइडलाई वार्ता पनि गरेका थिए। सन् २०२५ अप्रिल ४ मा बैंककमा भएको छैटौँ बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा पनि भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओलीले सन् २०२५ अप्रिल २३ मा जम्मु कस्मिरमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्न प्रधानमन्त्रीलाई फोन गर्दै त्यस घटनामा जीवन गुमाएकाप्रति समवेदना व्यक्त गरेका थिए। त्यसपछि मोदी र ओलीबीच केही सम्पर्क बढ्न थालेको देखिन्छ।
नेपालका तर्फबाट पछिल्लो भारत भ्रमण पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२३ मे ३१–जुन ३ सम्म गरेका थिए। त्यसयता प्रधानमन्त्री स्तरमा कुनै भ्रमण हुन सकेको छैन। दाहालको भ्रमणका क्रममा लिइएका निर्णयका अवस्थाबारे बुझ्न दुवै प्रधानमन्त्रीले सन् २०२३ अगस्ट ५ मा टेलिफोन वार्ता पनि गरेका थिए। तेस्रो पटक दाहाल प्रधानमन्त्री नियुक्त भएपछि सन् २०२४ जुन ५ मा प्रधानमन्त्री मोदीले टेलिफोनबाट बधाई तथा शुभकामना दिएका थिए।
१८ वर्षको अन्तरालपछि सन् २०१६ नोभेम्बरमा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गरेका थिए। त्यसको एक वर्षपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राजकीय भ्रमण गरिन्।
मन्त्रीस्तरीय स्तरमा दुवै देशका परराष्ट्रमन्त्रीले सहअध्यक्षता गरेका संयुक्त आयोगको बैठक सन् २०१४ मे यता ५ पटक बसिसकेको छ। आयोगको ७ औँ बैठक सन् २०२४ मा काठमाडौँमा सम्पन्न भएको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका परराष्ट्रमन्त्रीको निमन्त्रणामा सन् २०२४ अगस्ट १८-२२ सम्म भारतको औपचारिक भ्रमण गरेकी छन्। साइडलाइनमा पनि भेटघाट र वार्ता भएका छन्।
कार्यात्मक स्तरमा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धको सम्पूर्ण क्षेत्रलाई समेट्ने ४० भन्दा बढी संस्थागत संयन्त्र छन्। ती सबैको विभिन्न चरणमा छलफल भइरहेका हुन्छन् जसले द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्रमा कनेक्टिभिटी- भौतिक, डिजिटल, ऊर्जा र जनता-जनता सम्बन्धमा उल्लेखनीय प्रगति पनि गर्दै गएको छ। यो सडक, पुल, अन्तरदेशीय रेलवे, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइनसँग सम्बन्धित पूर्वाधार परियोजनाहरुको स्थिर कार्यान्वयनबाट प्रस्ट हुने परराष्ट्र अधिकारीले बताएका छन्।
हालैका उच्चस्तरीय भ्रमणका केही प्रमुख उपलब्धिमा नेपालगन्ज, भैरहवा र दोधारा-चाँदनीमा एकीकृत जाँच चौकीहरुमा भएको प्रगति, भारत र नेपालबीच मालवाहक रेल सेवाको उद्घाटन, कुर्था-बिजलपुरा र रक्सौल-काठमाडौँ रेलवे लाइनमा भएको प्रगति, मोतीहारी-अमलेखगन्ज पाइपलाइन दोस्रो चरणले पाएको गति तथा सिलिगुडीदेखि झापा र अमलेखगन्जदेखि चितवनसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण जस्ता ऐतिहासिक कनेक्टिभिटी पहल समावेश छन् ।
दीर्घकालीन विद्युत व्यापार सम्झौता र भारत-नेपाल र बंगलादेशबीच त्रिपक्षीय विद्युत व्यापार सम्झौतालाई अन्तिम रुप दिने कार्य र ४८० मेगावाटको फुकोट कर्णाली र ६६९ मेगावाटको तल्लो अरुण लगायत भारतीय विकासकर्ताद्वारा नेपालमा नयाँ जलविद्युत् परियोजनाको विकासका सम्बन्धमा गरिएका सम्झौतामा हस्ताक्षर ऊर्जा क्षेत्रका प्रमुख उपलब्धि रहेको भारतीय अधिकारीहरू बताउँछन्।
डिजिटल वित्तीय कनेक्टिभिटीका क्षेत्रमा नेपालले सन् २०२४ मार्चदेखि नेपालको फोनपे क्यूआरसँग अन्तरसञ्चालनशीलतामार्फत यूपीआई भुक्तानी स्वीकार गर्न थालेको छ। अन्तरदेशीय डिजिटल भुक्तानीहरु सहज बनाउन एनपीसीआईएल (नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया लिमिटेड) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एक सम्झौतापत्र कार्यान्वयनको चरणमा छ ।
ऐतिहासिक रूपमा भारत र नेपालका सेनाबीच पारस्परिक विश्वास र सम्मानमा आधारित उत्कृष्ट र सुमधुर सम्बन्ध रहेको छ । भारत र नेपालले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने लामो समयदेखिको अद्वितीय परम्परा छ।
भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमले सन् २०२४ नोभेम्बर २०-२४ सम्म नेपाल भ्रमण गरेका थिए भने नोभेम्बर २१ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई ‘नेपाली सेनाको मानार्थ महारथी’ को उपाधि प्रदान गरेका थिए। त्यस्तै नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले पनि सन् २०२४ डिसेम्बर १०-१५ सम्म भारतको भ्रमण गरे। डिसेम्बर १२ मा भारतका राष्ट्रपतिबाट ‘भारतीय सेनाको मानार्थ महारथी’ को उपाधि पनि लिएका छन्।
भारत र नेपालबीच रक्षा क्षेत्रमा व्यापक सहकार्य रहेको छ। भारतले विभिन्न प्रकारका रक्षा भण्डारको व्यवस्था गरेर र नेपाली सेनाका कर्मचारीलाई नियमित तालिम दिएर नेपाली सेनाको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ। दुई सेनाबीचको बलियो सम्बन्धको दृष्टान्त भारतीय सेनाको गोर्खा रेजिमेन्ट हो। जसमा नेपालका करिब ३२ हजार गोर्खा सैनिक छन् । काठमाडौँस्थित भारतीय दूतावासको रक्षा प्रभाग र पेन्सन भुक्तानी कार्यालयहरुले नेपालका सेवानिवृत्त गोर्खा सैनिकलाई पेन्सन वितरण गर्छन्। पूर्व गोर्खा सैनिक र उनीहरुका परिवारलाई पुनः तालिम, पुनर्वास र सहयोग गर्ने जस्ता विभिन्न कल्याणकारी कार्यक्रम पनि हुँदै आएका छन्।
भारत र नेपालबीचको संयुक्त सैन्य अभ्यास, सूर्य किरणले दुई पक्षबीच जंगल युद्ध, पहाडी भूभागमा आतंकवादविरोधी कार्य र मानवीय सहयोग र विपद् राहतमा अन्तरसञ्चालनशीलता बढाउने लक्ष्य राखेको छ। अभ्यासको १८ औँ संस्करण सन् २०२४ डिसेम्बर २९ देखि सन् २०२५ जनवरी १३ सम्म नेपालको सालझण्डीस्थित नेपाली सेनाको ब्याटल स्कुलमा आयोजना गरिएको थियो। सन् २०१५ को भूकम्प र कोभिड-१९ महामारीको समयमा भारतीय सेना नेपालमा भारतको मानवीय सहायता र विपद् राहत अपरेसनमा पनि अग्रपंक्तिमा भारतीय सुरक्षा निकाय नै थियो।
भारत नेपालको सबैभन्दा ठूलो विकास साझेदार हो। हाम्रो विकास सहायताको ठूलो हिस्सा अनुदानअन्तर्गत ठूला स्तरका पूर्वाधार परियोजनामा केन्द्रित छ। भारतले सन् १९५० को दशकदेखि नेपाललाई विकास सहायता प्रदान गर्न सक्रिय रूपमा काम गर्दै आएको छ।
नेपालमा भारत सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएका र सम्पन्न भएका केही प्रमुख परियोजनामा त्रिभुवन विमानस्थल, पूर्वपश्चिम राजमार्ग, नेपाल-भारत मैत्री आपतकालीन तथा ट्रमा सेन्टर, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालयमा विकास परियोजना, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालको ५ तले ओपीडी कम्प्लेक्सको निर्माण समावेश छन्।
भारतको नेपालसँगको विकास साझेदारी विगत १५ वर्षमा उल्लेखनीय रूपमा बढेको छ। नेपालको यातायात र वाणिज्यको समुद्री मार्गमा पहुँचलाई सक्षम र सहज बनाउन धेरै कनेक्टिभिटी परियोजना अगाडि बढाइएको छ। भारत सरकारले प्रत्येक वर्ष नेपाली विद्यार्थीलाई भारत र नेपालमा विभिन्न विषयको कोर्सका गरी १,५०० भन्दा बढी छात्रवृत्ति प्रदान गर्दछ। सन् २००१ देखि यता लगभग ४० हजार नेपाली विद्यार्थीले यस्ता छात्रवृत्ति योजनाको प्रत्यक्ष लाभ लिएका छन्।
*शीर्षकमा अन्यथा भएकाले सच्याइएको छ