यस्तो छ स्वतन्त्रता दिवसमा भारतीय राजदूत श्रीवास्तवले दिएको सन्देश

हिमाल प्रेस ३० साउन २०८२ २१:४९
2
SHARE
यस्तो छ स्वतन्त्रता दिवसमा भारतीय राजदूत श्रीवास्तवले दिएको सन्देश भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा आयोजित समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तव। तस्बिर : रासस

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ।

भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि समारोह शुभारम्भ गरिएको थियो।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो।

राजदूत श्रीवास्तवले नेपाल–भारत सम्बन्धलाई पुरानो र गहिरो भन्दै यसलाई केवल राजनीतिक वा कूटनीतिक सीमाभन्दा धेरै पर, साझा संस्कृति, भाषा र सभ्यताको जीवन्त प्रमाणका रूपमा ब्याख्या गरे। ‘नेपाल भारत सम्बन्ध केवल इतिहासको पाना होइन, यो हाम्रो दैनिक जीवनको धड्कन पनि हो,’ उनी भावुक बने।

नेपाल–भारत सम्बन्धको मेरुदण्ड जनता-जनता बीचको आपसी भरोसा, आत्मीयता र सहकार्य रहेको पनि बताए। उनले सीमा पारका गाउँ, बजार र परिवारका कहानीहरूलाई उद्धृत गर्दै यी सम्बन्धहरूलाई साँच्चै नदी जस्तै अविरल समेत भनेका छन्।

समारोहमा राजदूतले ती नेपाली वीरहरूको सम्झना गरेका थिए। दुवै मुलुकको इतिहास र सुरक्षामा महत्त्वपूर्ण योगदान दिएका छन्। विशेष गरी गोरखा सैनिकका परिवारप्रति सम्मानस्वरूप आर्थिक सहयोग र एक-एक कम्बल वितरण गरियो।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थी तथा शिक्षकहरूले देशभक्ति गीत, शास्त्रीय नृत्य र सांगीतिक प्रस्तुति दिए। कार्यक्रममा भारत र नेपालको सांस्कृतिक रङ मिसिएको वातावरण सिर्जना भयो, जहाँ दर्शकहरूको तालमा दुवै देशको आत्मीयता झल्किरहेको थियो।

नेपाल–भारतको सम्बन्ध हजारौं वर्षदेखि साझा धर्म, साहित्य र संस्कृति मार्फत विकसित हुँदै आएको छ। रामायण–महाभारतका कथादेखि आधुनिक आर्थिक सहकार्यसम्म, यी दुई मुलुकबीचको सम्बन्ध बहुआयामिक बनेको छ। स्वतन्त्रता दिवसजस्ता अवसरहरूमा यो सम्बन्धको पुनः पुष्टि हुनु केवल औपचारिकता मात्र नभई, भविष्यका लागि सहकार्यको नयाँ संकल्प पनि भएको उनले बताए।

कार्यक्रमको अन्त्यमा राजदूत श्रीवास्तवले दुवै मुलुकबीच अझ मजबुत आर्थिक सहकार्य, पूर्वाधार विकास, शिक्षा र जनस्तरको आदान–प्रदानमा जोड दिए।

उनले आफ्नो धारणासँगै सम्बन्ध झल्कने एड्भोटोरियल पनि प्रस्तुत गरेका छन्। नेपाल र भारतबीच यो बीचमा भएका सहकार्य र भ्रमणहरु त्यसमा प्रस्तुत गरिएको छ।

पढ्नुहोस्  श्रीवास्तवले दिएको सन्देश

भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय साथीहरू तथा भारतका मित्रहरूमा म न्यानो अभिवादन टक्रयाउन चाहन्छु । अमृत कालमा विकसित राष्ट्र बन्ने भारतको यात्रा थप गतिशील छिमेकी पहिलो नीतिमा समेत प्रकट भएको छ जसको मार्गदर्शक सिद्धान्त ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ रहेको छ । नेपालसँगको हाम्रो सम्बन्धमा पनि यो कुरा झल्किएको छ जहाँ पारस्परिक लाभका हेतु सहश्राब्दी पुरानो सभ्यतागत सम्बन्धहरू आधुनिक साझेदारीमा रूपान्तरण हुँदैछन् ।

सन् २०२५ अप्रिलमा बैंककमा आयोजित छैटौँ बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा हाम्रा प्रधानमन्त्रीहरूको भेटघाट, सन् २०२५ फेब्रुवरीमा ओमानमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइन र सन् २०२५ मार्चमा नयाँ दिल्लीमा आयोजित रायसिना डायलगको साइडलाइनमा हाम्रा परराष्ट्रमन्त्रीहरू बीचको भेटघाट र पछिल्ला केही महिनाहरूमा दुवै देशबाट भएका कैयौं मन्त्रीस्तरीय भ्रमणहरूसहित भारत र नेपालका नेताहरू बीचको उच्चस्तरीय भेटघाट हाम्रा दुई देशहरू बीचको मित्रताको बलियो बन्धनका प्रमाणहरू हुन् । यी भेटघाटले भारत र नेपाल बीचका महत्वपूर्ण द्विपक्षीय संयन्त्रहरूको बैठकका सम्बन्धमा सफल परिणामहरू हासिल गरेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक र साझेदार र विदेशी लगानी र पर्यटनको सबैभन्दा ठूलो स्रोतको रुपमा भारत नेपालको आर्थिक विकासको यात्रामा एक विशेष सुविधा प्राप्त साझेदार रहेको छ र रहिरहनेछ ।

सडक, पुल र रेल लिङ्कको निर्माणले गतिशीलता र यातायातलाई सहज बनाएको छ । भारतको यूपीआई र नेपालको फोनपे बीचको अन्तरसञ्चालनशीलताले डिजिटल भुक्तानीलाई सहज बनाएको छ जसले द्विपक्षीय पर्यटनलाई पनि टेवा पुर्याएको छ । ऊर्जा क्षेत्रमा सहकार्य विशषा गरी नयाँ जलविद्दुत परियोजनाहरुको विद्धुत विकासमा व्यापार र नयाँ प्रसारण लाइनहरूको उद्घाटनले दुवैतर्फ दिगो ऊर्जा वृद्धिलाई सहयोग गरेको छ । नेपालबाट भारत र भारतीय ग्रिड हुँदै बंगलादेशमा भएको विद्दुत निर्यात क्षेत्रीय ऊर्जा सहकार्यमा कोशेढुङ्गा साबित भएको छ । नेपालले नेरु १७ अर्ब भन्दा बढी राजस्व आर्जन गरेको हुनाले विद्दुत निर्यात नेपालका लागि लाभदायक भएको छ ।

नेपालका प्राथमिकता अनुरुप सोचविचार गरी चुनिएका र भारतको सहयोगमा अघि बढाइएका थुप्रै पूर्वाधार र विकास परियोजनाहरूको तीव्र प्रगति र दिगो गतिमा भारतको नेपालको विकासप्रतिको अटल प्रतिबद्धता प्रतिबिम्बित हुन्छ । गत एक वर्षमा विद्यालय, अस्पताल र स्वास्थ्य चौकीहरू लगायत धेरै विकास परियोजनाहरूको उद्घाटन गरिएको छ ।

हाम्रा दुवै सरकारहरू नयाँ अन्तरदेशीय रेलवे लिङ्कहरू, थप एकीकृत जाँच चौकीहरू र पेट्रोलियम पाइपलाइनहरूसहित अन्य विभिन्न सञ्चालनमा रहेका पूर्वाधार र कनेक्टिभिटी परियोजनाहरू चाँडै सम्पन्न होस् भन्ने सुनिश्चित गर्न काम गरिरहेका छन् ।

जब जब प्राकृतिक प्रकोपले नेपाललाई सडक, पुल र रेल लिङ्कको निर्माणले पिरोलेको छ चाहे त्यो सन् २०२३ मा जाजरकोटमा गएको भूकम्प होस् वा सन् २०२४ सेप्टेम्बरमा आएको बाढी होस्, भारत अग्रपङ्तिमा रही नेपाललाई सहयोग प्रदान गर्दै आएको छ ।

हामीले कृषि, स्वास्थ्य, क्षमता निर्माण, शिक्षा, स्टार्टअप क्षेत्र, अन्तरिक्ष र खेलकुद विशेषगरी क्रिकेट जस्ता क्षेत्रमा हाम्रो सहकार्यलाई थप विस्तार गर्नका लागि हाम्रा नेपाली साथीहरूसँग मिलेर काम गरिरहेका छौँ । यस दिशामा ऊर्जा, कृषि, खानेपानी सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा सहकार्यका लागि हालैको समयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यस प्रयासमा नेपालमा रहेको भारतीय समुदायले महत्वपूर्ण र प्रशंसनीय भूमिका खेलेको छ । हाम्रा दुई राष्ट्रहरू बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्य सहितको राजदूतावासको पहललाई अटुट समर्थन गरेकोमा म समुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

आनन्दमय र अविस्मरणीय ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा म यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । जय हिन्द ।

प्रकाशित: ३० साउन २०८२ २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast