
अमेरिकाको अलास्कामा शुक्रबार भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच वार्ता हुँदै छ। वार्तालाई क्रेमलिनको विश्व दृष्टिकोणको प्रतीकका रूपमा लिइएको छ। पुटिनले हालैको युद्धबाट युक्रेनको करिब पाँच भाग कब्जा गरेका छन्। रूसले १९ औँ शताब्दीमा सम्राट् अलेक्ज्यान्डर द्वितीयको शासनमा अलास्का अमेरिकालाई बेच्नु शान्तिपूर्ण लेनदेन थियो। त्यसैगरी यसले के पनि सम्झाउँछ भने राष्ट्रिय सिमाना कहिल्यै स्थिर हुँदैन। भूमि राज्यको कूटनीतिका लागि एक प्रकारको मुद्रा हुन सक्छ।
विश्लेषकहरूका अनुसार युद्धभूमिको सन्तुलन वा बजेटको दबाबले पनि रूसी राष्ट्रपतिलाई आफ्ना अधिकतम क्षेत्रीय आकांक्षा कम गर्न वा शान्तिका सर्तहरू स्वीकार गर्न बाध्य पारिरहेको छैन। उनको ध्यान त ट्रम्पसँग संवाद खुला राख्नमा छ, ताकि अमेरिकी राष्ट्रपतिको मस्कोप्रति असन्तुष्टिले कुनै नोक्सान नपुर्याओस्। ‘पुटिनलाई अहिले युद्ध अन्त्य गर्न कुनै प्रोत्साहन छैन’, कार्नेगी रसिया युरेसिया सेन्टरकी सहयोगी अलेक्जान्ड्रा प्रोकोपेन्कोले भनिन्, ‘उनका लागि महत्त्वपूर्ण कुरा भनेको ट्रम्पको ध्यान कायम राख्नु हो।’
त्यसै विषयमा मस्को अझै जोखिममा छ। ट्रम्पले पदभार सम्हाल्दै गर्दा २४ घण्टाभित्र युद्ध समाप्त गर्ने बाचा गरेका थिए। उनले पुटिनलाई ‘धेरै राम्रो’ भनेकोमा असन्तुष्टि व्यक्त गरेका छन्, जबकि पुटिन एकै समयमा युक्रेनमाथि आक्रमण गरिरहेका छन् र वासिंटनसँग ‘धेरै नक्कली कुरा’ गरिरहेका छन्। पदभार सम्हालेदेखि पहिलो पटक ट्रम्पले किभलाई बढी हतियार हस्तान्तरण गर्न सक्षम बनाउँदै छन्। यसैगरी रुसबाट तेल किन्दै आएको भारतमाथि आयात कर बढाउने धम्की दिएका छन्।
ट्रम्पको युद्धविराम वा प्रतिबन्धको म्यादअघि दुई दिन मात्र हुँदा बुधबार अमेरिकी विशेष दूत स्टिभ विचको मस्को भ्रमणपछि यो अधीर मनोवृत्ति लगभग एकै रातमा परिवर्तन भयो। पुटिनले २००७ मा जर्ज डब्लू बुसलाई भेटेपछि अमेरिकी राष्ट्रपतिसँग पहिलो पटक भेट गर्ने निम्तो दिएका छन्। अलास्का बैठकको परिणामस्वरूप यो भेट हुन लागेको छ। ‘यो पुटिन र ट्रम्प दुवैले आफूलाई ‘एक कुनामा धकेलेको’ परिणाम हो’, लन्डनको किङ्स कलेजका रसिया राजनीति विज्ञ सम ग्रिनले भने।
ग्रिनका अनुसार पुटिन कहिल्यै ट्रम्पको समयसीमाभित्र सम्झौता घोषणा गर्ने थिएनन्, किनभने यसले उनलाई कमजोर देखाउने संकेत थियो। ट्रम्प प्रतिबन्ध लगाउने सम्भावनाप्रति अनिश्चित थिए जुन अन्ततः प्रभावहीन साबित हुन सक्छ। ‘पुटिन कैदीबन्दीका रूपमा होइन एक असन्तुष्टिको विषयबाट स्वागत गरिएका व्यक्तिका रूपमा अमेरिकामा जानु अनि यो बैठक युक्रेनी र युरोपेलीहरू बिना हुन लागेको कुरा सबै कूटनीतिक सफलता हुन्’, ग्रिनले थपे।
ट्रम्प-पुटिन बैठक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अनुपस्थितिमा हुनेछ। जसलाई क्रेमलिनका लागि लामो समयदेखि ठूलो सफलता मानिएको थियो। रूसले आफ्ना मूल युद्ध लक्ष्यहरूमा महत्त्वपूर्ण सम्झौता नगरी वार्ता गर्न लागेको देखिएको छ। रूसका पूर्वपरराष्ट्रमन्त्री आन्द्रेई कोजिरेभका अनुसार यसले के देखाउँछ भने वार्ता आफैँ पुटिनका लागि ‘राजनीतिक लाभ’ हुनेछ, जुन ‘घरेलु र अन्तर्राष्ट्रिय स्तरमा कुनै लगानीबिना प्राप्त भएको छ।
युक्रेनी अधिकारीहरूका लागि वार्ताको यो पहल पुटिनले कम्तीमा तीन भिन्नभिन्न लक्ष्य पूरा गर्न खोजेको प्रयास हो। युक्रेनको नाटो मिसनकी नवनियुक्त प्रमुख अल्योना गेटमन्चुकले भनिन्, ‘यो पहल एक्लोपनबाट बाहिर निस्कन, नयाँ प्रतिबन्धबाट बच्न र ट्रम्पको युद्ध समाप्त गर्ने दृढतालाई उपयोग गरेर ती लक्ष्य कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास हो जुन पुटिन सैन्य माध्यमबाट पूरा गर्न असफल भए।’
युक्रेनी सेनाहरू पूर्वी क्षेत्रमा बढ्दो दबाबमा परिरहेका छन्। जहाँ रूसी सैन्यबल रणनीतिक किल्ला बनेका केही सहर कब्जा गर्न अघि बढिरहेका छन्, त्यही समयमा कूटनीतिक सक्रियता पनि बढेको छ।
रूसले जुलाईमा युक्रेनी भूमिको ५०२ वर्ग किलोमिटर कब्जा गरेको थियो। त्यो अघिल्ला दुई महिनासँग मिल्दोजुल्दो दर हो। युक्रेनी रक्षा मन्त्रालयसँग सम्बन्धित युद्ध अनुगमन समूह डिपस्टेटले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार रूसी सेना पोक्रोव्स्क सहर नजिकको क्षेत्रमा लगभग ७ किलोमिटर अगाडि बढ्न सफल भएको छ। जुन क्षेत्रलाई रूसी सेनाहरूले गत वर्षदेखि कब्जा गर्ने प्रयास गरिरहेका छन्।
तेलको मूल्य घटेपछि पहिलो सात महिनामा रूसको ऊर्जा आम्दानी बर्सेनि २० प्रतिशतले घटेको छ। ट्रम्पले भारतमाथि लगाएका नयाँ आयात शुल्कले दबाब थपेका कारण रूस कम आत्मविश्वासी महसुस गर्दै छ। ‘रूसको अर्थतन्त्र पछिल्ला तीन वर्षमा निकै कमजोर छ’, जर्मन अन्तर्राष्ट्रिय र सुरक्षा मामिला संस्थान (एसडब्ल्यूपी) का रूस अर्थतन्त्र विशेषज्ञ जानिस क्लुगेले भने। उनका अनुसार यस्तो अवस्थामा युक्रेनका सम्बन्धमा परिवर्तन गर्न पुटिन त्यति गम्भीर छैन।
‘पुटिनका लागि प्रतिबन्धको धम्कीहरू ट्रम्पको असन्तुष्टिको लक्षण हुन्,’ उनले भने, ‘पुटिनलाई नयाँ प्रतिबन्धहरूको प्रभावभन्दा ट्रम्पको बढ्दो असन्तुष्टिले बढी चिन्तित बनाएको छ।’ पुटिन र ट्रम्प बीचको छलफल हुने एजेन्डा सार्वजनिक भएका छैनन्, तर अमेरिकी-युरोपेली र युक्रेनी समकक्षीहरूसँग भएका फोनवार्ता र सार्वजनिक वक्तव्यहरूबाट महत्त्वपूर्ण पक्षहरू बाहिरिएका छन्, त्यसमा युक्रेनी भूभाग साटासाट हुने सम्भावनासमेत समावेश छ।
‘दुवै पक्षको हितमा केही भूभाग साटासाट हुनेछ’ ट्रम्पले भने। मस्कोले बिचका प्रस्ताव स्वीकारे पनि भूभाग साटासाटसम्बन्धी ट्रम्पको वक्तव्यमा कुनै टिप्पणी गरेको छैन। पुटिनले बारम्बार युक्रेनका लागि सर्त अपरिवर्तित रहेको बताउँदै आएका छन्। ‘यी सर्त त होइनन्, तर रूसका लक्ष्य हुन्’, उनले उत्तरी रूसमा अगस्ट १ मा बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासन्कोसँगको भेटमा भने, ‘मुख्य लक्ष्य त यस संकटको जरैदेखि अन्त्य गर्नु हो।’
युक्रेन नाटो सदस्यताबाट आधिकारिक रूपमा बाहिरिने र न्युक्लियर शून्य अवस्था अपनाउने जस्ता सर्त मस्कोको छ। किभस्थित राजनीतिक विश्लेषक भोलोडिमिर फेसेन्कोले भनेअनुसार युक्रेनले डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूबाट आफ्ना सैनिक फिर्ता लिनुपर्ने माग ‘वार्ताको जालझेल’ हो। ‘पुटिनलाई राम्रोसँग थाहा छ कि युक्रेन एकपक्षीय सम्झौतामा सहमत हुँदैन र उनी ट्रम्पसँगको यस बैठक र हाम्रो रूसको योजनाको अस्वीकृति उपयोग गरी युक्रेनलाई युद्ध अन्त्य गर्न नचाहने आरोप लगाउने प्रयास गर्नेछन्,’ उनले भने।
यद्यपि सर्वेक्षणहरूले युक्रेनमा बढ्दो थकान र सम्भावित युद्धविरामप्रति समर्थन देखाएका छन्। जनसंख्या बढी भएका क्षेत्रहरूबाट युक्रेनले रूसी मागअनुसार पछि हट्नुपर्ने विरोध कायमै छ। जुलाईमा किभ अन्तर्राष्ट्रिय समाजशास्त्र संस्थानले गरेको सर्वेक्षणमा करिब तीन चौथाइ युक्रेनीहरूले तयुद्ध समाप्त गर्ने योजना स्वीकार गरेका छन्। उनीहरूका अनुसार त्यसअघि युक्रेनले सम्पूर्ण डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिज्हिया क्षेत्रहरू छोड्ने, नाटो सदस्यता त्याग्ने र आफ्नो सेनामा प्रतिबन्ध स्वीकार्ने हुनेछ।
अलास्का सम्मेलन नजिकिँदै गर्दा जेलेन्स्की र पुटिन दुवैले आफ्नाआफ्ना गठबन्धनबाट समर्थन जुटाउन काम गरिरहेका छन्। युक्रेनी वार्ताकारहरूले युद्धविराम वा सार्थक आक्रमण घटाउने व्यवस्था भएपछि मात्र वार्ता गर्न युरोप र अमेरिकालाई आग्रह गरेका छन्। पुटिनले आफ्नो तर्फबाट मस्कोले मैत्रीपूर्ण ठानेका नौ देशका नेतासँग फोनमा कुरा गरेका छन्। उनले चीनका राष्ट्रपति, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग कुराकानी गरेका छन्।
‘हालको युद्ध रेखामा द्वन्द्व स्थगित गर्नुबाहेक कुनै विकल्प छैन। कोरियाली युद्धपछिको स्थायी गतिरोधको अवस्था दीर्घकालीन शान्तिबाट सम्भव छ’, मस्कोस्थित राजनीतिक विश्लेषक आन्द्रेई कोलेस्निकोभले भने। फाइनान्सियल टाइम्सबाट