
काठमाडौँ- जनै पूर्णिमाका दिन ९ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन्।
यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।
जनै पूर्णिमा नै किन त ?
हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ ।
खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ।
के छ अरु फाइदा?
पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।
–तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।
–मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
– क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
–मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।