
आनो भद्राः क्रतवो यन्तु विश्वतः… (ऋग्वेद)
अर्थात्–
असल,कल्याणकारी सोच-विचारहरू हाम्रा लागि सबै दिशाहरूबाट प्राप्त होऊन्।
के पूर्व के पश्चिम,सबैतिरका अध्येता र विद्वान्हरूले पुष्टि गरेका छन्-
ऋग्वेद विश्वको सबैभन्दा प्राचीन धर्मग्रन्थ हो। चार वेदमध्येको यो जेठो वेदबाट निःसृत ज्ञानद्वारा पृथ्वीका सबै फाँट र कुना-काप्चामा बस्ने समुदाय कुनै-न-कुनै रूपबाट लाभान्वित हुँदै आएका छन्। किनभने वेदमा आधारित मत र मान्यता उदार एवं उदात्त मानिन्छन्। नेपाल वैदिक सभ्यताको मूलथलो भनेर चिनिन्छ। विगतमा भारतवर्ष भनेर चिनिएको फराकिलो भूमि तथा परिवेशमा यसले झाङ्गिंदै जाने मौका पाएको छ। स्मरणीय छ,पूर्वीय सभ्यताको चिनारीमा ‘वसुधैव कुटुम्बकम्’ निकै चर्चित मान्यता हो।
कवि प्रह्लाद पोखरेलको ‘वाणीका बान्की’ पुस्तकमा सङ्ग्रहित अङ्ग्रेजी सूक्तिको नेपालीमा पद्यानुवादलाई यसै परिप्रेक्ष्यमा पढिनुपर्छ। संसारभर प्रचलित अनेक भाषामा उद्गम भई अङ्ग्रेजीको माध्यमबाट विश्वभर प्रवाहित रहेका गहन ज्ञान-गुनका कुराहरू नेपाली पाठकहरूको लागि उपलब्ध गराउन चानचुने जाँगर र लगनशीलताबाट सम्भव हुँदैन। हुन त संयुक्त राष्ट्रसंघले ६ वटा भाषालाई कामकाजी भाषाको मान्यता दिएको छ, तर अङ्ग्रेजी सर्वाधिक प्रचलनको अन्तर्राष्ट्रिय भाषा भएको हुनाले यसलाई चर्चित सन्दर्भमा सजिलरी ग्रहण गर्ने चलन छ।
अङ्ग्रेजीबाट आएका विचार, सूक्ति र उद्धरणलाई तिनको अभिप्राय नखज्मज्याइकन नेपाली पाठकसमक्ष पद्यमा पु-याउने कार्य यसै पनि चुनौती हो। त्यसमा पनि छानिएका गहन उत्कथन (Quotation) लाई छन्दको साँचोमा ढालेर सार्थक अभिव्यक्ति दिन अर्को खुड्किलो उक्लिनुपर्ने हुन्छ। चर्चित कृतिले कवि पोखरलको यसै खुबीलाई प्रमाणित गरेको छ। पुस्तकको भूमिकामा जयराज आचार्य (विद्यावारिधि) ले यो कृति मूल सूक्तिहरूको ‘अनुवाद वा भावानुवाद मात्र होइन, अनुसिर्जना हो’ भनेर लेख्नुभएको छ। त्यसैगरी, प्राध्यापक सीताराम अधिकारीले कवि पोखरेलको ‘शास्त्रीय छन्दका अनुवादमा पनि राम्रो दक्षता ‘ भएका स्रष्टाको रूपमा चिनाउनु भएको छ। उहाँको विचारमा पोखरेल कवि हुनकै लागि जन्मिएका नेपाली हुन्। अधिकारीको यस उद्गारको पुष्टि हुने र विवेच्य प्रकाशनमा भेटिने यो पद्य र यसको स्रोत (उद्धरण) लाई नमूनाका रूपमा हेरौंः-
A man without ethics is a wild beast loosed upon this world–Albert Camus
जो आचारविहीन मानिस छ ऊ हो जङ्गली जन्तु नै
संसारी अपनत्वभाव नहुने निष्प्राण अस्तित्वझैं!
चौपायासरी शृङ्ग,पुच्छरविना संसार घुम्ने नर
साँच्चै नैतिकताविहीन,पशुझैं अस्तित्व के हुन्छ र ?
‘शार्दूलविक्रीडित वाणी’ खण्डमा धेरै कविता छन्। भनौं, यो कविको प्राथमिकतामा परेको छन्द रहेछ। ‘स्रग्धरा वाणी’ पुस्तकको सिरानतिर छ भने र ‘अनुष्टुप् वाणी’ ले तेस्रो ठाउँ पाएको छ। कवि पोखरेलले समेटेका अन्य छन्दहरूमा मन्दाक्रान्ता,मालिनी,तोटक, वसन्ततिलका, इद्रबज्रा, उपजाति र शिखरिणी समेत गरी जम्मा २१ वटा छन्दको प्रयोग गरेर स्वाद-स्वादका पद्य
रच्नुभएको छ। यसमा दुइटा लोकलय (झ्याउरे) समेत समावेश छन्। ८३० वटा अङ्ग्रेजी उत्कथन / सूक्तिका आधारमा ९९९ अनूदित श्लोक तयार गर्नुभएको देखिन्छ। किताब ३७४+पृष्ठको,गहकिलो छ। कवि पोखरेलले पुस्तकमा आफ्ना रचनाको साथसाथै छन्दोबद्ध कविताको उत्थानमा लागेका अन्य अग्रज एवं समवयी पौरखी-पारखीहरूका छोटा-मीठा भावोद्गारलाई ‘टिप्पणी’ को बिल्ला लगाएर सँगसँगै राख्नुभएको छ। छन्दसारथि रमेश खकुरेलको यो सटिक अभिव्यक्ति पढिहेरौंः-
टिप्पणी# २१
सीधा र सादा बनियो र खाइयो
यो जिन्दगी फोकटमै बिताइयो।
बौलाउँदा हुन्न कतै कुनै डर
प्रभो मलाई पनि पागलै गर।।
यस्ता झरिला टिप्पणीहरू झण्डै ४० थान छन्। अन्य टिप्पणीकर्ताहरूको नाम हेर्दै जाँदा कोषराज न्यौपाने,तोयराज नेपाल र पद्मप्रसाद देवकोटालाई तुरुन्तै चिनिन्छ भने ‘झाँक्रीखोले’ आफ्नो परिचय दिन नचाहने स्रोत भनेर बुझ्नुपर्ने हुन्छ। सूक्तिहरूको सङ्कलन गर्दा कविलाई कतिपय ठाउँमा ‘अज्ञात’ वक्ता र विचारकहरूलाई भन्दा तिनका चिन्तनको वजनलाई महत्त्व दिनुपरेको देखिन्छ। जे भएपनि ओजस्वी उद्गारहरूको सँगालोबाट समाजलाई डोर्याउन भरथेग होस् भन्ने कविजीको उद्देश्य ठम्याउन गाह्रो छैन।
सशक्त गद्य, आकर्षक पद्य
भाव सम्प्रेषणका हिसाबले गद्य कविता पनि बेजोडका हुन्छन्। सम्झौं त,भूपी शेरचनका कविता कति सशक्त भावधाराका छन् ! भन्नै पर्दैन, छन्दका नियममा बाँधिनु नपर्ने रचनाको आकर्षण बेग्लै हुन्छ,उन्मुक्त अभिव्यक्तिको मर्म ठम्याउँदाको अनुभूति भिन्दै हुन्छ। यता, शास्त्रीय छन्दको साँचोमा ढालेर लेखिएका कविता लय हालेर गाउन सकिने कोटिका हुने हुनाले तिनको आकर्षण फेरि विशिष्ट किसिमको हुन्छ। कविशिरोमणि लेखनाथ पौड्यालका छन्दोबद्ध कविता सलल बगेका हुन्छन् र साथसाथै बोधगम्य पनि हुन्छन्। कालमहिमा, साहित्यको फूटबल,सत्य-सन्देशहरू यस प्रसङ्गका दृष्टान्त हुन्। हो,छन्दको विधि समात्ने काव्य-रचनामा संस्कृत शब्दको बाहुल्य देखिन्छ तथापि ती दुरूह नै चाहिँ हुँदैनन्। जस्तो कवि पोखरेलको यो सिर्जनामा आँखा लगाऔं जसको स्रोत अब्राहम लिन्कनको सुपरिचित यो उत्कथन होः-
Whatever you are, be a good one–Abraham Lincoln
तिमी जे छौ जस्तो स्थितिसित रहेका प्रिय जन !
भई राम्रो मान्छे असलमति, जाती, शुभ बन
बनी सच्चा यात्री चढ कठिन उद्देश्य-शिखर
उज्यालो आस्थाको शिखर चुम यो जीवनभर !
कुनै कविले भनेथे अरे–कविता लेख्ने कवि होइन,बरु कविता बुझ्ने चाहिँ कवि हो। गद्य भए पनि पद्य भए पनि। कविता बुझ्न र त्यसबाट लाभान्वित हुन केही मिहिनेत आवश्यक हुन्छ भन्ने विद्वान् समालोचक यदुनाथ खनालको विचार छ। उहाँको यस्तो मान्यताको चर्चा केही वर्षअघि प्रकाशित जयराज आचार्यको प्रोफेसर खनालबारेको पुस्तकमा फेला पर्छ। उहाँको मान्यता होः- कविता अखबार पढेजस्तो सर्र पढेर खरर बुझिने हुँदैन। हुनु पनि हुँदैन। कविताको रसास्वदन गर्न त अलिकति परिश्रम गर्नैपर्छ। रचनाकार र पाठक दुबैथरीले यो कुरो बुझ्नु जरुरी छ। कोकोहोलो कवि र पाठक कसैले पनि गर्नु उचित होइन।
सारांशमा, कवि प्रह्लाद पोखरेलको यो नवीनतम् पुस्तक नेपाली वाङ्मयका लागि मूल्यवान् योगदान भएको छ। शब्दकोशको हाराहारीमा राखेर ‘सूक्तिकोश’ नामकरण नै गरिदिए पनि फरक नपर्ला। अब आशा गरौं, नेपाली साहित्यलाई सम्पन्न गराउँदै लैजाने दिशमा कवि पोखरेलको कलम निरन्तर सकृय रहनेछ।