स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल, दूध संकलन सेवा र ‘मिल्क बैंक’ को योजना

हिमाल प्रेस २२ साउन २०८२ १२:३२
14
SHARES
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल, दूध संकलन सेवा र ‘मिल्क बैंक’ को योजना

चितवन- भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणीमध्ये एक हो। काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा प्रदान गर्ने अस्पताल यही हो। वार्षिक १६ हजारसम्म महिलाले सेवा लिँदै आएको यस अस्पतालमा हाल अन्य स्थानीय तहहरूमा पनि प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको  संख्यामा केही कमी आएको छ। यद्यपि, गत वर्ष मात्रै ८ हजार ३१८ गर्भवती महिलाले यहाँ प्रसूति सेवा लिएका छन्।

तीमध्ये ४ हजार ३८३ जना (५२.४५%) को सामान्य (नर्मल) प्रसूति गरिएको थियो। ३ हजार ७६७ जना (४५.२८%) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२.२६%) को जटिल प्रसूति गरिएको थियो।हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ। यसको उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउने, स्तनपानसम्बन्धी मिथ्या धारणा हटाउने र आमा तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्नु हो।

यस वर्षको नाराः ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने रहेको छ। विशेषतः पहिलो छ महिनासम्म पूर्ण स्तनपानलाई प्रोत्साहन दिने र आमाहरूका लागि सुरक्षित, सहयोगी वातावरण निर्माण गर्नेमा जोड दिइएको छ। भरतपुर अस्पतालले स्तनपानलाई प्रवर्द्धन गर्नका लागि विशेष परामर्श कक्ष सञ्चालनमा ल्याएको छ।

अस्पताल प्रमुख प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालमा जन्मिने बच्चाहरूले आमाकै दूध खान् भन्ने उद्देश्यले स्तनपानका लागि परामर्श र दूध संकलन सेवा दिइँदै आएको छ। उनले भने, ‘केही आमाहरू आधुनिक जीवनशैली र भ्रमका कारण स्तनपान गर्न हिच्किचाउँछन्। तर यस्तो प्रवृत्ति पूर्णतः गलत हो।’

अस्पतालले निकट भविष्यमा ‘मिल्क बैंक’ विस्तार गर्ने योजना बनाएको छ। यसबाट स्तनपान गराउन नसक्ने आमाहरूका लागि पनि समाधान उपलब्ध हुने विश्वास लिइएको छ। स्तनपान परामर्श कक्षमा कार्यरत काउन्सिलर सकुन्तला ढकालका अनुसार स्तन गाँसिने वा बच्चाले राम्ररी दूध नचुसेका अवस्थामा विशेष मेसिनको प्रयोगबाट दूध निकाल्ने व्यवस्था गरिएको छ। निकालिएको दूध आवश्यकता अनुसार भण्डारण वा सिधै प्रयोग गरिन्छ। उनले भनिन्,‘धेरैजसो नयाँ आमाहरू सुरूमा दूध चुसाउन हिच्किचाउँछन्। तर जब हामी उनीहरूलाई यसको महत्व र शिशु स्वस्थ हुने पक्षहरू बुझाउँछौँ, उनीहरू तयार हुन्छन्।’

वरिष्ठ बालरोग विशेषज्ञ डा.खेमराज पौडेलका अनुसार नवजात शिशुको शारीरिक र मानसिक विकासका लागि आमाको दूध अत्यावश्यक हुन्छ। उनले भने,‘आमाको दूधमा हुने सम्पूर्ण पोषकतत्वहरूले कुपोषण हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ।’

प्रकाशित: २२ साउन २०८२ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast