नेपाल-चीन सम्बन्धको ७० वर्ष

हिमालपारिको अनन्त मित्रता

अजय अलौकिक १६ साउन २०८२ १०:५७
32
SHARES
हिमालपारिको अनन्त मित्रता

चालु वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव हो। सत्तरी वर्षअघि सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देश बीचको सम्बन्ध समानता, पारस्परिक सम्मान, समझदारी र सहयोग, विश्वास तथा साझा जित र हितको आधारमा अघि बढ्दै मैत्रीपूर्ण सहअस्तित्वको नमुना बनेको छ। यो एक बहुआयामिक सम्बन्धको रूपमा विकास भएको छ।

गत ७० वर्षमा नेपाल चीन सहयोग परम्परागत मित्रताबाट बेल्ट एन्ड रोड इनिसिएटिभ संयुक्त निर्माण मातहत सांस्कृतिक सम्बन्ध, शैक्षिक आदानप्रदान तथा पूर्वाधार विकास, व्यापार र आर्थिक लगानीमा विस्तार भएको छ र सुन्दर भविष्य उन्मुख छ।

हुन त दुई देशबीचको सम्बन्ध हिमाल र नदीनालाजत्तिकै पुरानो पनि हो। हिमाल वारपारको सम्बन्ध प्रागैतिहासिक कालदेखि थियो। इतिहास पल्टाउँदा नेपाल र चीन बीचको आदानप्रदान इस्वी सन् पाँचौँ शताब्दीमा देख्न सकिन्छ, जब चीन वंशका भिक्षु फा स्येन शाक्यमुनि बुद्धको जन्मस्थल आएका थिए।

त्यसैगरी सातौँ शताब्दीमा थाङ वंशकालीन भिक्षु सुआन चाङले पनि धर्मशास्त्र अध्ययन गर्न पश्चिमको यात्रा गरेका थिए। उनीहरू दुवैजना गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र पुगेका थिए। फा स्येनको समयमै बुद्धभद्र धर्मशास्त्र अध्यापन र अनुवादनका लागि चीन पुगेका थिए। थाङवंशको शासनकालमै नेपालकी राजकुमारी भृकुटीले तिब्बती राजा स्रङचन गम्पोसँग विवाह गरी ह्लासामा जोखाङ मन्दिरको निर्माणसँगै धर्म, कला र सीप आदानप्रदानको प्रवर्द्धन गरेकी थिइन्।

यसरी दुई देशबीचको सम्बन्धमा गहिरो सांस्कृतिक जग बसाल्ने क्रममा अर्को अमर नाम आनिक अर्थात् अरनिकोको आउँछ। तेह्रौँ शताब्दीमा युआन वंशकालमा नेपाली शिल्पकार अरनिकोले बेइजिङमा पाइथास अर्थात् श्वेतचैत्य मन्दिर निर्माण गरेका थिए, जुन वर्तमानमा पनि बेइजिङ सहरको मध्यभागमा सानदार रूपमा उभिइरहेको छ।

उनले उथाइसानमा निर्माण गरेको चैत्य पनि दुई देशको मित्रताको आदानप्रदानको साक्षी बनेर धार्मिक, सांस्कृतिक तथा कलात्मक सीप र मित्रताको प्रसार गरिरेहको छ। खासमा यी सभ्यताहरूबीचकै आदानप्रदान हुन्। यी ऐतिहासिक आदानप्रदानले आधुनिक कूटनीतिको जग बसालेको मान्न सकिन्छ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल-चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको मार्गदर्शनमा निरन्तर विकास हुँदै आएको छ। शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र र असल छिमेकीपनको सिद्धान्तमा आधारित यो सम्बन्ध विगत सात दशकमा व्यापक रूपमा फैलिएको छ।

शान्ति तथा मैत्री सन्धि (१९६०), सीमा सन्धि (१९६१), सांस्कृतिक सम्झौता (१९९९), व्यापार र अन्य सम्बन्धित मामिलाको सन्धि (२००२), पारवहन र यातायात सम्झौता (२०१६), बेल्ट एण्ड रोड इनिसिएटिभको संयुक्त विकाससम्बन्धी समझदारीपत्र (२०१७), क्रस बोर्डर पावर ट्रान्समिसन लाइनसम्बन्धी समझदारीपत्र (२०१८), रेलवे सहयोग परियोजनाहरूमा समझदारीपत्र (२०१९) प्रमुख हुन् जसले सम्बन्धलाई आकार दिएका छन्।

यसबाहेक हस्ताक्षरित सम्झौताहरू कार्यान्वयन गर्न र सहयोगका लागि सम्भाव्यताहरूको अनुसन्धान तथा अन्वेषण गर्न विभिन्न स्तरमा धेरै सहकार्य र समितिहरू स्थापना भएका छन्।

गत वर्ष नेपालले गेम चेन्जरका रूपमा हेरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर गरेको थियो। सन् २०२४ डिसेम्बर २ देखि ५ सम्म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमण क्रममा ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर गरिएको हो। साथै नेपाललाई चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको ‘ग्रुप अफ फ्रेन्डस’ मा सामेल गरिएको थियो।

बीआरआईले हिमालय क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार निर्माण गर्न र मानिस, वस्तु तथा सेवाको सीमा वारपार निर्बाध आवागमनका लागि सहयोग पुग्ने नेपाल र नेपालीको अपेक्षा छ। यसले परम्परागत सांस्कृतिक आदानप्रदानका साथै जीविकोपार्जन र आर्थिक विकासमा सहयोग पुर्याउने आशा छ।

नेपाल र चीन बीच पहिलोपल्ट सन् १९५६ मा आर्थिक सहायतासम्बन्धी सम्झौता भएको थियो। चीनले नेपाललाई गरेको पहिलो ठूलो आर्थिक सहयोग कोदारी (अरनिको) राजमार्गको निर्माण नै हो। जसले काठमाडौँलाई बेइजिङसँग जोडेको थियो। सन् १९८० को दशकदेखि चीन सरकारले पारस्परिक स्वीकार्य विकास परियोजना कार्यान्वयन गर्न आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।

हालैका वर्षहरूमा बीआरआई संयुक्त निर्माणमार्फत विस्तार भइरहेको देख्न सकिन्छ। नेपाल-चीन सहयोग परम्परागत सहयोगबाट चौतर्फी कनेक्टिभिटीमा अघि बढेको छ र यसले पूर्वाधार, व्यापार र लगानीको क्षेत्रका साथै जनस्तरमै आदानप्रदानलाई बलियो बनाएको छ। कनेक्टिभिटीबाट भूपरिवेष्टित  देशबाट भूजडित देश बनेको छ।

उत्तरबाट हिमालको बाटो भएर आउने रेलको सपना साकार हुने बाटोमा छ। नेपाल-चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। सीमा तथा नाका क्षेत्रमा पूर्वाधार विकास तथा सडक सञ्जालका साथै जलविद्युत् परियोजना अघि बढाइरहेका छन्। चिनियाँ उद्यमीहरूले जलविद्युत्, पूर्वाधार तथा उद्योगमा लगानी लगाइरहेका छन्।

चीन नेपालका लागि वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत हो। चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। चीन पर्यटनको पनि दोस्रो ठूलो स्रोत हो र नेपालको प्रमुख विकास साझेदार हो। सन् २००१ मा दुई पक्षबीच मात्र एक करोड २० लाख डलरको कारोबार भएको थियो भने सन् २०२३ मा यो बढेर एक अर्ब ८० करोड डलर पुगेको छ।

अस्पतालको स्तरोन्नति तथा जीर्णोद्धार र सम्बन्धित विश्वविद्यालयको निर्माणसँगै स्वास्थ्य क्षेत्रमा पनि चीनले सहयोगलाई निरन्तर बढाइरहेको छ। कृषि क्षेत्रमा चीनबाट धेरै ज्ञान, सीप र प्रविधि भित्र्याउनु र तालिम प्राप्त गर्नु अत्यावश्यक छ, जसबाट कृषि क्रान्ति मात्रै होइन गरिबी निवारणका साथै आर्थिक उन्नति हुनेछ।

लगानी, आर्थिक सहयोग, प्रविधि हस्तान्तरणबाहेक सांस्कृतिक आदानप्रदान र शैक्षिक आदानप्रदान पनि व्यापक रूपमा विस्तार भएको देखिन्छ। नेपालभित्र कन्फुसियस इन्स्टिच्युटले चिनियाँ भाषा र संस्कृति नेपाली युवामा प्रसार गरिरहेको छ भने चीनमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ६ हजारभन्दा बढी रहेको अनुमान छ।

विकास सहकार्यका साथै विपद्मा पनि चीनको सहयोग अग्रपङ्क्तिमा आउँछ। सन २०१५ मा नेपालमा गएको विशाल भूकम्प र दसौँ हजारभन्दा बढी हताहत भएको अवस्थामा भूकम्पको भोलिपल्टै तीनवटा चिनियाँ उद्धार टोली नेपालमा पुगेर उद्धार कार्य थालेका थिए। चीनले नेपालको पुनःनिर्माण कार्यक्रममा सहयोग गर्दै आएको छ। चीनले नेपाललाई पुनःनिर्माणमा सन् २०२३ को एक तथ्यांकअनुसार सबैभन्दा बढी निःशुल्क सहायता प्रदान गरेको छ भने सहायता रकम ७६ करोड अमेरिकी डलर नाघेको छ।

चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन्। नेपालले सदैव एक चीन सिद्धान्तको दृढतापूर्वक समर्थन गर्दै आएको छ। चीनले नेपालको सार्वभौमिकता र स्वाधीनताको सम्मान गर्दै आमनेपालीले रोजेको राष्ट्रिय परिस्थिति अनुकूल बाटोलाई समर्थन गर्दै आएको छ।

सन् २०१९ को अक्टुबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गरेबाट दुई देश बीचको सम्बन्ध विकास र समृद्धिउन्मुख पुस्तागत मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धमा उकासिएको छ। २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको ऐतिहासिक राजकीय भ्रमण भएको थियो भने सन् २०१९ को मार्चमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपतिबाट पहिलोपटक चीनको राजकीय भ्रमण भएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको पहिलो राजकीय भ्रमण गरेकी थिइन्। यसरी नेपाल चीन बीचको मित्रतामा नयाँ अध्याय खोलिएको छ।

नेपाल र चीनले सन् २०२० को डिसेम्बरमा एक विशेष समारोहको आयोजना गर्दै सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर घोषणा गरेका थिए। दुई देशबीचको सम्बन्ध सगरमाथाझैँ अग्लिएको छ। यस्तो सम्बन्धको आडमा छिमेकी मुलुकको नाताले नेपालले चामत्कारिक विकास गरेको चीनको आर्थिक, प्राविधिक तथा सीप र ज्ञानको क्षमताबाट प्रशस्त लाभ लिने अवसरहरू उपलब्ध छन्।

आगामी दिनमा, नेपाल-चीनबीच उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यबाट पूर्वाधार, यातायात र स्वास्थ्य सेवाको विकासमा ठूलो लाभ लिन सकिन्छ। नेपाललाई सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रको सूचीबाट माथि उकास्ने लक्ष्य हासिल गर्न पनि चीनको समर्थनले ठूलो मद्दत पुग्नेछ।

डिसेम्बर ३ मा चीन र नेपालद्वारा जारी संयुक्त वक्तव्यमा चीनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) को मित्रहरूको समूहमा सामेल हुन नेपाललाई स्वागत गर्दछ र साझा विकासको दृष्टिकोणलाई बढावा दिन नेपालसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख छ।

चीनले जीडीआईलाई संयुक्त राष्ट्रसंघको सन् २०३० को दीर्घकालीन विकास लक्ष्य हासिल गर्न परिपूरक भूमिका खेल्ने गरी अघि बढाएको छ। संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा चीनका राष्ट्रपति सी चिनफिङले सन् २०२१ सेप्टेम्बरमा जीडीआईबारे पहिलोपटक प्रस्ताव गरेका थिए।

असल छिमेकी राष्ट्र र विश्व महाशक्तिका रुपमा उदाएको चीनसँग अब आउने दिन र वर्षहरूमा हिमाली क्षेत्रको पारिस्थितिक संरक्षण, जलवायु संकटमा सहकार्य, तथा नवीकरणीय ऊर्जा, कृत्रिम बुद्धिमत्ता र नवप्रविधिको क्षेत्रमा भइरहेको विकासबाट लाभ लिने र आफू पनि आत्मनिर्भर हुनेतर्फ सहयोग लिनुपर्छ।

भूपरिवेष्टितबाट भूजडित राष्ट्र बन्ने मार्ग नेपाललाई देखाइरहेको चीनसँग जोडिने पहिलो राजमार्ग अरनिको राजमार्ग, ओलाङचुङगोलादेखि किमाथाङ्का, कोराला, हिल्सा, तिङ्करलगायतका नाका, र उत्तर दक्षिण करिडोरका विषयमा बाह्रै महिना चल्ने ‘अल वेदर स्टाटस’ मा आधारभूत संरचनाहरूको निर्माण र स्तरोन्नति गरिनु अत्यावश्यक छ। ढिलोचाँडो नेपालीको सपना रसुवागढी-छहरे-काठमाडौँ सुरुङ तथा रेल पनि साकार हुने आशा छ।

नेपालको यस्तो अवस्था छ कि विश्वका तीन अर्ब मानिसलाई जोड्नसकिने पहुँच बनेको छ। यसरी सेतुको रुपमा अगाडि बढ्ने क्रममा नेपाललाई दुई ठूला छिमेकी राष्ट्र बीच सामरिक सन्तुलन कायम गर्नुपर्ने चुनौती पनि नभएको होइन। त्यस्ता चुनौती र व्यवधानलाई चिरेर त्रिपक्षीय सहकार्यका सम्भावनाहरूलाई वास्तविकतामा परिणत गर्नुपर्छ।

यसैबीच नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा चीनका लागि नेपाली दूतावासले जुलाई ३० तारिख चिनियाँ शुभचिन्तक, पदाधिकारी, व्यवसायी तथा चीनमा बसोबास गरिरहेका नेपालीको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ। जहाँ चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष स्याउ च्येको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष स्याउ च्ये र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले पानस बालेर गरेका थिए। साथै, ७० औँ वार्षिकोत्सवका अवसरमा स्मारिका खाम अनावरण गरिएको थियो। कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेका अवसरमा चालू वर्ष नेपाल र चीनले विविध कार्यक्रम आयोजना गरिरहेका छन्।

प्राचीन समयको धर्म, कला बीचको आदानप्रदान र व्यापारदेखि आज बीआरआईमातहतका खाकाहरूसम्म, नेपाल-चीन सम्बन्ध दिगो मित्रताको प्रमाणका रूपमा उभिएको छ। यद्यपि, दुई देशको सम्बन्धमा नेपाली पक्ष कहिलेकाहीँ स्वार्थी भएजस्तो पनि देखिन्छ, चीनलाई विपद्को अवस्थामा गुहार्ने र अरू बेला बेवास्ता गर्ने गरिएको दृष्टान्त पनि छन्। नेपाली पक्षबाट मित्रतामा कतै कन्जुस्याइँ गरेको हो कि भन्ने पनि देखिन्छ।

आशा छ, यो अनिश्चितताको युगमा सदाबहार मित्रको रूपमा भविष्यको सामना गर्दै नेपाल र चीनले अझ नजिकबाट भौगोलिक अवरोध र चुनौतीहरू पार गर्दै मानवजातिको साझा भविष्यको समुदाय निर्माणका लागि नयाँ अध्याय लेख्नेछन्। हिमाल वारिपारि अनन्त मित्रता रहेको नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध सुरुवात भएको ७०औँ वार्षिकोत्सवको यो अवसरमा अबको ३० वर्षमा अघिल्लो ७० वर्षमा भएका आदानप्रदान, सहयोग र समर्थनभन्दा तीव्र गतिमा प्रगति हुनेछ भन्ने विश्वास गर्ने ठाउँहरू पनि प्रशस्तै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast