पशुपालनमा जलवायु संकट प्रतिवेदन : गण्डकीमा तापक्रम वृद्धि, वर्षा घट्दो

हिमाल प्रेस १० साउन २०८२ १८:३६ | Saturday, July 26, 2025
पशुपालनमा जलवायु संकट प्रतिवेदन : गण्डकीमा तापक्रम वृद्धि, वर्षा घट्दो

पोखरा– गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ।

त्रिभुवन विश्वविद्यालय अनुसन्धान समन्वय तथा विकास परिषद्अन्तर्गत अनुसन्धान विभागले वित्तीय सहयोग गरेको परियोजनाको नतिजा शनिबार पोखरामा सार्वजनिक गरिएको हो।

अनुसन्धान गण्डकीका ११ मध्ये ५ जिल्लाका १ हजार १ सय ५८ घरधुरी र ११ वटा समूहगत छलफलबाट संकलित तथ्यमा आधारित छ।

अनुसन्धान परियोजना प्रमुख अनुसन्धानकर्ता प्रा.डा. विकासकुमार केसीले गण्डकीमा तापक्रम वृद्धि र वर्षा घट्दोक्रममा रहेको तथ्य प्रस्तुत गरे। उनका अनुसार जलवायु परिवर्तनका प्रतिकूल प्रभाव पशुपालनमा प्रत्यक्ष देखिन थालेका छन्। पशु स्वास्थ्य, प्रजनन् क्षमता, उत्पादन र आहारको अभावजस्ता समस्या तीव्र छ।

त्रिवि अनुसन्धान विभागका निर्देशक प्रा.डा. किशोर कोइरालाले विश्वविद्यालयमा अनुसन्धानको संस्कृतिको विकास हुँदै गएको बताए।

अनुसन्धान विभागका प्रमुख प्रा.डा. नरेन्द्र खनालले बारम्बारको प्रस्तुति र संशोधनपछि तयार प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्न सक्ने अपेक्षा गरे।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाले अनुसन्धान क्यु वान जर्नल र अन्य ८ वटा प्रतिष्ठित जर्नलमा प्रकाशन भएको जनाउँदै यसको अन्तर्राष्ट्रिय महत्व रहेको बताए।

अनुसन्धान प्रतिवेदनमाथि प्रा.डा. लेखनाथ भट्टराई, प्रा.डा. शोभाकान्त लामिछाने, डा. लिला पुरी, डा. श्रीकान्त शर्मा खतिवडा, डा. कृष्ण पौडेल, डा. शान्त खत्री, डा. रामजी पोखरेल, डा. खगेन्द्र शर्मा, भानु पराजुली, सुरेश रानाभाटलगायतले धारणा राखेका थिए।

प्रकाशित: १० साउन २०८२ १८:३६ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast