किन बढ्दै छ सुक्खा आँखाको समस्या?

हिमाल प्रेस १० साउन २०८२ १८:२२ | Saturday, July 26, 2025
किन बढ्दै छ सुक्खा आँखाको समस्या? फाइल तस्बिर।

काठमाडौँ– तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा‍ बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएकी छन्।

आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या देखिए सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन उनले सुझाव दिएकी छन्।

उनका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो वाष्प भएर हराउनु भन्ने बुझिन्छ। यस्तो अवस्थामा आँखामा पोल्ने, बालुवा परेको जस्तो बिझाउने, चिलाउने, रातो हुने र धमिलो देखिने लक्षण देखा पर्न सक्छन्।

‘धुवाँ, धुलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा पनि सुक्खा आँखाको सम्भावना बढ्छ। यसैगरी, धुम्रपान गर्नेलाई पनि यो समस्याले सताउन सक्छ। मोबाइल, कम्प्युटर, ल्यापटपजस्ता प्रविधिको अत्यधिक प्रयोग गर्दा आँखा झिम्क्याउने दर कम हुन्छ, जसले आँसु छिटो सुकाउँछ,’ डा. खनालले भनिन्।

उनले मोबाइल, कम्प्युटर, ल्यापटपको प्रयोग गर्दा हरेक २०–२५ मिनेटमा रोकिएर (‘ब्रेक’ लिएर), केहीबेर टाढा हेर्ने र कम्तीमा २०–२५ पटक आँखा झिम्क्याउने बानी बसाल्न सुझाव दिइन्।

उनले भनिन्, ‘मोबाइलमा गेम खेल्दा एकदमै ध्यान एकत्रित हुँदा आँखा झिम्क्याउन बिर्सिरहेका हुन्छौँ। आँखामा बढी तनाव पर्ने काम ग¥यौँ र लामो समयसम्म आँखा झिम्क्याउन बिर्सियौँ भने हाम्रो आँखा सुक्खा हुन्छ। त्यसैले ब्रेक लिनुपर्छ।’

समस्या देखिएमा आँखामा ‘लुब्रिकेटिङ’ ‘ड्रप्स’को प्रयोग गर्न सकिन्छ। यो समस्या लिएर आउने अधिकांश बिरामी सामान्यदेखि मध्यम लक्षणसहित आउने डा. खनालको भनाइ छ।

कहिलेकाहीँ सुक्खा आँखा शरीरका अन्य रोगजस्तै बाथरोग, थाइराइड समस्या वा केही प्रकारका ‘हर्मोन सप्लिमेन्ट’ का कारण पनि हुन सक्ने भएकाले यस्तो अवस्थामा केवल ड्रप्स प्रयोग पर्याप्त नहुने बताउँदै उनले विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आवश्यक हुने उल्लेख गरिन्।

‘सुक्खा आँखा देखिएपछि आत्तिनु पर्दैन तर लापरबाही गर्नु हुँदैन। समस्या बढेमा लुब्रिकेटिङ ड्रप्स प्रयोग गर्नुपर्छ, अनि सुधार नआएमा आँखाको विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ,’ उनले भनिन्।-रासस

प्रकाशित: १० साउन २०८२ १८:२२ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast