यात्रा संस्मरण

छहरेको छङछङ : तन्नेरीको छमछम

राजाराम बर्तौला १० साउन २०८२ १६:१९
58
SHARES
छहरेको छङछङ : तन्नेरीको छमछम

प्रतीक्षा निकै सकसपूर्ण हुन्छ। सात बजे नारायणगोपाल चोकमा आइपुग्छ भनेको बस साढे सात हुँदा पनि झुल्केको थिएन। आफू भने छुटुँला भनेर पन्ध्र मिनेटअगाडिदेखि भनेको ठाउँमा पुगेर बाटोमा आँखा तेर्साएर बसेको थिएँ। सडकको पेटीमा कतिचोटि ओहोरदोहोर गरेँ। प्रतीक्षामा समय काट्दा यसरी नै ओहोरदोहोर गरिरहनपर्छ। सडक नाप्ने मात्र हैन मनको तीव्र आवेग र संवेग पनि नाप्नुपर्छ।

एकातिर जान्छु भनेर तोकिएको ठाउँमा मन अडिएको हुन्छ भने अर्कोतिर साउने झरीका लागि तयार भएर कतिखेर पृथ्वीमा हामफालूँ भनेर अधीर काला बादलका लप्काहरू तालुमाथि मार्चपास्ट गरिरहेको देखिन्छ। साउने झरीमा पदयात्रामा रमाउनु भनेको बादलको तालमा आफूलाई घुमाउने हो। तर बिहानैदेखि कट्टुबाट पानी चुहिने गरी भिज्नु र मध्याह्नमा भिज्नुको अन्तर हुन्छ नै होला। कालो बादलले घेरिएर घुम्टो ओडिएकी पहाडको रुन्चे अनुहार र रनबनको लहरामा तरेली परेको हरिया पाटनको घनघटामा पानीको छटा परेर तर्किएको ज्यानले लिने आनन्दको सीमा अलौकिक हुन्छ। त्यही आलोकको अवलोकन गर्न हिँडेका थियैँ हामी।

आजको पदयात्रा कि त रुझेको बिरालो हाल कि त पहरामा ठोक्किएर आउने छहराको जटा र छटालाई तिल्लोत्तमा, उर्वशी र शकुन्तलाहरूले आलिंगन गरेको मनोहर दृश्यपानमा व्यतीत हुने होला भनेर कल्पिँदै थिएँ– बसले फुत्त मुख देखायो। मन खुसीले हाँस्यो। शनिबारे पदयात्राका क्रममा साउने झरीमा प्राकृतिक सुन्दरता अवलोकन गर्ने भनेको झरना नै त हो। हामी पनि बसमा हुइँकियौँ छहरे झरना हेर्न।

नुवाकोटलाई झरनाको जिल्ला भने पनि हुन्छ। काठमाडौँ र नुवाकोटलाई छुट्याउने शिवपुरी डाँडाको उत्तरपाटोमा जता लागे पनि झरना नै झरना भेटिन्छन्। शिवपुरी गाउँपालिका–८ मा रहेको छ छहरे। एक त संरक्षित हरियालीयुक्त वन क्षेत्र त्यसमा हरियो वनको बीचबाट फुत्त निस्केर छङछङ झर्ने झरनाको आलोक बेग्लै। मनै प्रफुल्लित बनाउँछ झरनाको पानीले। चट्टानमा ठोक्किएर फुस्फुसाएर उड्ने वाष्पकणले छोएर ज्यानलाई द्रवित र वाष्पीभूत बनाउँदा मन पनि झरनाको वेगसँगै हलुका बन्छ।

टोखा छहरे, गुर्जेभन्ज्याङ हुँदै ओरालो लागेपछि निकै तल निर्जन बाटोमा छहरे जाने बाटो भनेर लेखिएको एउटा बोर्ड देखिन्छ। यो ठाउँको नाम पनि थानापति हो। यहाँबाट तरपाइन तरपाइन उकालो हिँडेर गयो भने पाँच किलोमिटरमा सानो छहरे र ठूलो छहरे पुगिन्छ। यो बाटो सहज र केटाकेटीहरूका लागि पनि उपयुक्त छ।

हाम्रो उद्देश्य पदयात्रासमेत भएको हुँदा अलि बढी लामो बाटो हिँड्ने मनसुवा रह्यो। तल झण्डै फेदीसम्मै पुग्यौँ र उकालो लाग्यौँ। जहाँबाट उकालो लाग्यौँ त्यो ठाउँको नाम पनि थानापति हो। यहाँदेखि ढोडेनीसम्म कच्ची बाटो छ। हिँड्न कुनै समस्या छैन। तरेली परेको हरिया फाँट, रोपाइँको लागि तयार गरिएका खेतका गराहरूको दृश्य रामाञ्चकारी लाग्छन्।

रंगरउसका लागि पदयात्रामा गएका रउसे बैँसालु युवकयुवतीहरूले प्राकृतिक सौन्दर्यपानमा रमाउने मौका किन छोड्दथे। थरीथरीका पोजमा फोटो त लिने नै भए। प्रविधिले दिएको सुविधा एकातिर प्रकृतिले पस्किएको सौन्दर्य अर्कोतिर, टिकटक र भिडियो बनाउनेको संख्या उल्लेख्य रह्यो। कतिजनाको हातेफोन समाइदिनु र घुमाई घुमाई चित्र कैद गर्नु? रमाइले भयो। भिडियो बनाउनेलाई रमाइलो र भिडियो खिचिदिने मजस्तालाई झनै रमाइलो।

केही घण्टापछि खेतको आली आली हुँदै हिँड्नपर्ने भयो। हामी हेर्न भनेर जाँदै गरेको झरनाको पानी कुलो बनाएर ल्याइएको रहेछ। आलीआलीमा टेकेर हिँड्दा आफ्नै बाल्यकाल फर्केर आएको अनुभूति गरियो। सम्झनाका खातबाट चोइटिएर निस्किएका स्मृतिका डोबहरू रोमरोमलाई हर्षित गराउने हुँदो रहेछ। खेतको गरामा समाहाबाट झरेको कुलोको पानीको कलकल धानको जराजरामा मात्र पटिएको थिएन मेरो मानसपटलको जराजरामा रसाएका थिए। मन हर्षित भयो। यही खेतको आलीमा ठिंग उभिएर पर हेर्दा वनको बीचबाट फुत्त निस्किएको सेतो पानीको फोहराले मन आनन्द बनायो। त्यहाँ पुग्न अझै बाँकी थियो। उकालो हिँड्नैथियो। गन्तव्य जति टाढा भए पनि आँखाअगाडि लक्ष्य छ भने र त्यसको चित्र मनमा टाँस्सिएको छ भने त्यो दुरुह अजेय हुँदैन।

खेतमा देखिएको एउटा दृश्य भने मनकारी थियो। पहाडको खेत भिरालो जमिनमा सानासाना गरा बनाएर बनाईएका हुन्छन्। कुलोको पानी त भिरालोतर्फ नै जाने भयो। कुलोभन्दा माथिको जमिनमा घरघडेरी र करेसाबारीमा सागपात लगाउने चलन छ। कुलोको डिलडिल हिँड्दै थिएँ, मेसिनको आवाज सुनेँ। के रैछ भनी हेरेको, कुलोको बीचमा खाल्डो पारेर सोली (छिद्र कम हुने गरी बाँसको चोयाले बनेको डालोभन्दा ठूलो भाँडो) राखिएको रहेछ र त्यसको बीचमा पानी तान्ने मेसिन। यो मेसिनबाट पानी तानेर घरमाथिसम्म लगेर सिँचाइ गरिएको रहेछ। प्रविधि र स्थानीय आवश्यकताले जन्माएको सीप हेर्न लायक देखियो। त्यो भिरालो जमिनमा इनार खन्न सम्भव थिएन र त्यसको विकल्पमा सोलीले काम गर्‍यो, निकै कम खर्चमा।

शनिबारको दिन यो झरना हेर्नेको त भीड लाग्दो रहेछ। सयौँ युवकयुवतीको लर्को देखियो। केटाकेटीहरू पनि विद्यालयबाट गएका रहेछन्। यस किसिमको अवलोकन भ्रमण किशोरकिशोरीलाई शैक्षिकलगायत व्यावहारिक ज्ञानका लागि पनि उपयुक्त हुन्छ।

झरनाको पानीमा उछलकुद गर्ने, नुहाउने, भिडियो बनाउने, विभिन्न भावभंगी, हाउभाउ, कटाक्षमा आफूलाई प्रस्तुत गर्ने, सम्झना सुरक्षित गर्न सकेजति उपायहरू गर्दै थिए अवलोकनकर्ताहरू। झरनाको मूल प्रवाहमा होमिएर सर्वांग भिजेर रमाउनु एउटा पक्ष थियो भने डिलैमा उभिएर वाष्पित जलकणहरूले अभिसिञ्चित हुनु अर्को मनोरम पक्ष थियो। हेरेर पनि रमाइयो र जलकणसँग अभिषेक लिएर पनि तृप्त भइयो। यो हो ठूलो छहरे। ठूलो छहरेबाट दई सय मिटर जति माथि अर्को सानो छहरे छ। ठूलो छहरे हेरेपछि यो सानो लाग्छ। सानोबाट ठूलोतर्फको यात्रा रोमाञ्चकारी हुन्छ। हामी भने उल्टो बाटो लाग्यौँ ठूलोबाट सानोतर्फ। जे भए पनि यो आफँैमा पनि छहरेको नाममा परिचित छ। यी दुवै छहरे हरेर हामीहरू फर्कियौँ।

यहाँबाट पाँच किलोमिटर हिँडेपछि मूलबाटोमा भएको साइनबोर्ड राखेको ठाउँमा पुगिन्छ। मूलबाटो जहाँ बोर्ड राखिएको छ त्यहाँबाट चार किलोमिटरसम्म मोटरसाइकल जान्छ। मोटरसाइकल पार्क गरेर केही सयमिटर पैदल हिँडेर पनि दुवै छहरे हेरर फर्किन सकिन्छ। हाम्रो हिँडाइ भने फरक दिशाबाट र फरक उद्देश्यसहित थियो। त्यसैले छाँगो हेरेर हामी अझै उकालो लाग्यौँ। उकालोको शिरमा पुगेर ओरालो लाग्दै गर्दा थानापति मन्दिर पुगियो।

मन्दिर खासमा वायुको मन्दिर हो। यहाँ थपलिया र पाठकको बस्ती रहेछ। थपलियले कुलपूजामा वायुको पूजा गर्ने चलन रहेछ। यसै कारणले यहाँ थानपति मन्दिर स्थापना गरिएको रहेछ। मन्दिरलाई नेपाली शैलीमा निर्माण गरिएको छ। हामी यहाँ पुग्दा बाल्टीले खन्याएको जस्तो पानी पर्‍यो र हामी यसै मन्दिरमा ओत लियौँ। पानीको धारामा हाम्रा सहयात्री महिला साथीहरूले रंगीन छाताको भरपूर प्रयोग गर्दै मन्दिरको प्रांगणमा आफ्नो नृत्यकलासमेत प्रस्तुत गर्न भ्याए। थानपति मन्दिरको किनारमा शिव मन्दिर पनि भएको भएर हो या नाट्यश्वर भगवान्को अनुकम्पा भएर पानीको झमझममा हाम्रा नानीहरूले छमछम गरेर शिवलाई खुसी बनाए भन्ने लाग्यो।

केही समयपछि पानी दर्कन छोड्यो। उत्तर हिमाल पनि खुलेर रमणीय देखिए। इन्द्रेणी पनि देखियो। घामपानी घाम गर्दै हामी कच्ची सडक हुँदै मूलबाटो झर्‍यौँ। बाटोमा हातमा हँसिया र नाम्लो लिएर हिँडेकी महिला भेटियो, थपलिया नै रहिछन्। काठमाडौँ बानियाँटारमा ३० वर्ष बसेर छोराछोरी सबै व्यवस्था मिलाएर आफ्नो खेतबारीमा रमाउन फर्किएकी रहिछन् उनी। यहाँका प्रायः सबैको काठमाडौँमा घरघडेरी छ रे। त्यसै भन्दै थिइन् उनी। लाग्यो गाउँगाउँ जस्तो रहेन अब। पहिला नपुगेर गाउँ सहर पस्थ्यो अहिले पुगेर सहर गाउँ पस्न थालेछ। सडकमा आयौँ र बस चढेर घर फर्कियौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast