
सिंगापुरको पर्यटकीय भ्रमणका क्रममा आज (२८ असोज, २०८० तदनुसार १५ अक्टोबर, २०२३) बिहान हामी ‘फोर्ट क्यानिङ पार्क’ गयौँ; सिंगापुरका सांस्कृतिक स्मारकहरू हेर्यौँ। अब भोक लागेको छ; त्यसैले अब हामी खाना खान हतारिएका छौँ। तर जाने पो कता हो! सिंगापुरको बजार व्यवस्था यति व्यवस्थित रहेछ; काठमाडौँको जस्तो गल्ली नै पिच्छेजसो होटल र रेस्टुरेन्ट सिंगापुरमा देखिँदोरहेनछ। सोध्न पनि कसलाई सोध्नु! सोध्ने हो भने ग्राबलाई सोध्नु/खोज्नु पर्छ। प्रविधिको उच्चतम् विकास भएको यस समृद्ध देशमा प्रविधिका अतिरिक्त विविध देशबाट आएका पर्यटकहरूको सवाल सुनेर जवाफ दिने मानिसलाई फुर्सद कहाँ छ!
ट्राभल कार्ड भएपछि हामीलाई सार्वजनिक यातायातमा अतिरिक्त भाडा लाग्ने भएन। त्यसैले नजिक र टाढा भनेर खुसी हुने र तर्सिने कुरा रहेन। त्यसैले खाना खान हामी जतिसुकै टाढा वा नजिक भए पनि ‘ताकासिमाया’ जाने भयौँ। यो यहाँको नामी फुड भिलेज पनि हो।
ताकासिमायामै पुगेपछि देखियो- यस खाना बजारको भव्यता! कति ठूलो र व्यवस्थित बजार हो- यो! ‘कतै फोहर छैन’ भनेर त सिंगापुरमा टेकेर के भन्नु र! सिंगापुरमा फोहर कहीँ पनि छैन। अचम्म त के भने यति ठूलो खाना बजारमा कतै खाली टेबिल पनि छैन। हामी चारजना छौँ; कतै टेबिल खाली हुनु भनेको चारजनाले सेयर गर्न मिल्ने टेबिल खाली हुनु होः त्यो छैन। सिंगापुरमा विश्वभरबाट पर्यटकहरू खानैकै लागि आउँछन् भन्ने त होइन होला; तर यस बजारमा पर्यटकको अत्यधिक चाप हुने रहेछ। कतै दुइटा कुर्सी खाली देख्नासाथ हाँपझाँप गरेर दौडिन पनि के दौडिनु!
हामीले एउटा स्टलको अघिल्तिर फेला पार्यौँ खाली टेबिल। संयोग कस्तो भने, यही स्टलको कुनै टेबिलमा बसेर कुनै दिन विश्वप्रसिद्ध कुक गोर्डन राम्सीले यहाँका परिकारको स्वाद लिएको रहेछ। राम्सी आएको, बसेको र खाएको क्षणलाई यस स्टलले आफ्नो व्यापारिक इतिहासमा एक महत्त्वपूर्ण सम्पदाको रूपमा ग्रहण गरेछ। टेबिलमा बसेर लन्चका परिकारहरू पर्खिदा कसोकसो राम्सीको फोटो र उसको हस्ताक्षरयुक्त प्रमाणपत्रमा दृष्टि परिहाल्छ।
खानेकुराको परिकारबारे मेरो कुनै आग्रह हुँदैन; स्वादका हिसाबमा म जस्तो पनि खान सक्छु। केहीयता गुलियो र चिल्लो बढी भएको परिकार खान अलिक हच्किन्छु। उसो त गुलियो खान हामी चारैजना हच्किन्छौँ। म जस्तै खाने सवालमा छोराहरू पनि सजिला छन्; कौशुलाई भने जुनसुकै परिकार जँच्दैन; तर यहाँ त सजिलो नबनीकन कौशुलाई पनि धर छैन।
हामी लन्चमा सामान्य परिकार लिन्छौँ र यहाँबाट बाहिरिन्छौँ। आज हामीले अब दिउँसो सिंगापुरको ‘मेरिना ब्यारेज’, ‘फ्लोरल गार्डेन’ र साँझमा ‘गार्डेन बाइ द वे’स्थित ‘सुपर ट्री’को मज्जा लिनु छ।
७१०.२ वर्ग किलोमिटर (२७४. २ वर्ग मिल) क्षेत्रफल भएको सानो देश सिंगापुर। कतिपय सन्दर्भमा कसैकसैले भनेको सुनिन्छ ‘जमिन क्षेत्रफलमा सानो देश सिंगापुरले अग्लाअग्ला बिल्डिङ ठड्याएर आकाश र जमिनको सतहबाट तल तीन-चारतलामा तलैपिच्छे मल र सहर बसाएर पृथ्वीको केन्द्र भागको भरपूर उपयोग गरेको छ।’ तर फ्लोरल गार्डेनबाट दक्षिणतर्फ समुद्रतर्फको भागमा रहरलाग्दो व्यवस्थित र विस्तृत घाँसे मैदान छाडिदिएर सिंगापुरले सिंगापुर खाली जमिनमा कि गगनचुम्बी बिल्डिङ कि जमिनभित्र अन्तरंग मल र सहर निर्माण गरिहाल्ने लोभ परे जस्तै देखिन्छ भन्ने कथनको खण्डन गरी दिएझैँ देखिन्छ।
हामी प्रथमतः हरियो गलैँचा बिछ्याएजस्तै देखिने यही भव्य घाँसे मैदान ‘मेरिना ब्यारेज’को आकर्षणमा पर्यौँ। यसैलाई चिरेर एउटा व्यवस्थित पैदल बाटो दक्षिणतर्फ जाने रहेछ– समुद्रतिर। हामी हिँड्दै समुद्रको किनारामा पुग्यौँ। समुद्र किनारामा ठूलो बाँध रहेछ; यसको निश्चित क्षेत्रमा मात्र जान पाइने रहेछ। ड्युटीमा रहेका सुरक्षाकर्मीले कता जाने, कता नजाने र कतिसम्म तल जान पाइने भन्ने बारेमा संकेत गर्ने रहेछन्। महासागरको किनारमा उभिएर अनन्तसम्म फैलिएको महासागर हेर्ने गरी समुद्रसँग हाम्रो यो पहिलो साक्षात्कार हो। केही क्लिक फोटा खिच्यौँ र फर्कियौँ। सामुद्रिक बिचमा भोलि हामी केही लामो समय बिताउनेछौँ।
सिंगापुरको यो बृहत् घाँसे मैदानमा गाई चरेको देखिँदैन; कुकुर दौडिँदैन; मानिस पनि जथाभाबी हिँड्दैन। कोही घाँस काट्न पसेको पनि देखिँदैन। हजामले मिसिन लगाएर सम्याएको कपालजस्तै समान उचाइका हरिया घाँस! पर्यटकीय आकर्षण सिर्जना गर्ने सवालमा सिंगापुरले कति जानेको हँ!! पर्यटकले यो घाँसे मैदान हेरेर रमाए पनि भयो; घाँसमाथि बसेर फोटा खिचे पनि भयो।
‘मेरिना ब्यारेज’ नामको यस घाँसे मैदानको बीचोबीच सफा र व्यवस्थित पैदल मार्ग छ तर यस मैदानको आकर्षणमा फटाफट हिँडेर गन्तव्यमा पुगी हालौं ः मनले भन्दैन। बरु ‘बसौँ बसौँ पो भन्छ। सिंगापुरले पर्यटकलाई मन्त्रमुग्ध पार्न कतै कुनै कसर बाँकी नराखे झैँ लाग्ने! गोजीमा दामको राम्रो बन्दोबस्त छ भने सिंगापुरको घाँसे मैदान मात्र हेरेर पनि केही घन्टा सजिलै बित्ने रहेछ।