लालीगुराँस नगरमा कक्षा ११ को भर्ना विवाद, विद्यार्थी र अभिभावक आन्दोलित

विवेक विवश रेग्मी ७ साउन २०८२ १०:३६
596
SHARES
लालीगुराँस नगरमा कक्षा ११ को भर्ना विवाद, विद्यार्थी र अभिभावक आन्दोलित

इटहरी- तेह्रथुमको लालीगुराँस नगरपालिकाभित्र सञ्चालनमा रहेका १२ कक्षासम्म पढाइ हुने विद्यालयबारे पालिकाले गरेको निर्णयपछि अभिभावक र विद्यार्थी आन्दोलित बनेका छन्। नगरपालिकाभित्र हालसम्म आठवटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन हुँदै आएका थिए। असार २६ मा पालिकाको कार्यपालिका बैठकले कक्षा सिंहदेवी मावि (लालीगुराँस-७) मा ११ मा नयाँ भर्ना रोक लगाएको छ। अन्य केही विद्यालय मर्ज गर्ने भनिए पनि कार्यान्वयनमा आएको छैन। एकाध विद्यालयलाई मात्रै कक्षा ११ मा भर्ना रोक लगाइएपछि आन्दोलनमा उत्रन बाध्य भएको अभिभावकहरूको भनाइ छ।

पालिकाको निर्णयले सिंहदेवी माविमा भर्ना लिन नमिल्ने भनिएपछि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थी विरोधमा उत्रिएको स्थानीय एवम् पूर्व विद्यार्थी ज्ञानु तिम्सिनाले बताए। आफूहरूले नगरपालिकाको कार्यालय घेराउसम्म गर्न बाध्य भएको र आन्दोलन जारी राखेको उनले बताए।

असार २६ मा पालिकाले निर्णय गरेपछि ध्यानाकर्षण बुझाइए पनि थप आन्दोलन गर्न बाध्य भएको उनले बताए। ‘अभिभावक भेला बसेर ध्यानाकर्षणपत्र बुझाइयो तर मेयरले नगरपालिका नै घेर्न आउनु भन्नेजसरी चुनौती दिएपछि हामीले नगरपालिका घेराउसम्म गरेका हौँ,’ तिम्सिनाले भने, ‘साउन ४ गते शान्तिपूर्ण रूपमा धर्ना कार्यक्रम गरिए पनि आन्दोलन दबाउन प्रशासनले साना विद्यार्थी र अभिभावकमाथि नै लाठीचार्ज गर्‍यो।’

पालिकाले यसअघि बाँकी विद्यालयलाई मर्ज गरी वसन्त मावि र रत्न माविलाई मात्रै सञ्चालन गर्ने र शैक्षिक हबका रूपमा विकास गर्ने जनाएको थियो। तर तीनवटा मात्रै विद्यालयलाई भर्ना नलिनका लागि निर्णय गरेपछि आन्दोलनमा उत्रिएको तिम्सिना बताउँछन्।

‘पालिकाले पुनर्विचार गर्ने भनेको छ। आन्दोलनका कार्यक्रम त छँदैँ छ’, उनले भने, ‘अरू विद्यालयलाई मासेर शैक्षिक हब बनाउन सम्भव छैन। शिक्षाको गुणस्तर राम्रो भए विद्यार्थी आफैँ आउँछन्।’ स्थानीय शिक्षा ऐनको प्रक्रियामा नभएकाले अभिभावकहरू आन्दोलित हुनुपरेको उनको भनाइ छ। यसअघि सिंहदेवी माविमा कक्षा ११ र १२ सञ्चालन भइरहेको र विद्यार्थी तथा अभिभावकलाई थाहै नदिई शिक्षा ऐनविपरीत निर्णय भएकाले नसच्चिएसम्म आन्दोलन जारी राख्ने तिम्सिना बताउँछन्। उनले भने, ‘पहिले सिंहदेवी माविमा कक्षा ११ र १२ को पढाइ चलिरहेको थियो, अहिले किन यस्तो निर्णय गरियो? अब विद्यार्थीलाई कहाँ पठाउने?’

नगरप्रमुख अर्जुन मावोहाङद्वारा हस्ताक्षरित सूचनाअनुसार विद्यालय व्यवस्थापन तथा विद्यार्थी संख्या, शिक्षकको व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न केही विद्यालयमा कक्षा ११ मा भर्ना नलिने निर्णय गरिएको उल्लेख छ।

‘शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालयहरु सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था छ। सोही व्यवस्थाबमोजिम विद्यालय सञ्चालनमा ल्याउन नसक्दा प्रत्येक वर्ष महालेखा परीक्षकको कार्यालयबाट हुने अन्तिम लेखापरीक्षण प्रतिवेदनले लालीगुराँस नगरपालिकालाई नीतिगत व्यवस्थाबमोजिम विद्यालय सञ्चालन गर्न सुझाव उपलब्ध गराउने गरेको छ,’ सूचनामा भनिएको छ, ‘नीतिगत व्यवस्थाको विपरीत गई विद्यालय सञ्चालन गर्दा विषयगत दरबन्दीबमोजिमको शिक्षक कक्षा ११ र कक्षा १२ सञ्चालन भएका सबै विद्यालयलाई उपलब्ध गराउन सकिएको छैन। जसका कारण हाम्रा विद्यार्थी भाइबहिनीहरु दिनप्रतिदिन गुणस्तीय शिक्षा पाउने हकबाट वञ्चित हुँदै आएका छन्।’

वसन्त माध्यमिक विद्यालय (२ नं. वडा) र रत्न माध्यमिक विद्यालय (८ नं. वडा) मा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन विषयगत दरबन्दीसहितको शिक्षक व्यवस्थापन गरी पठनपाठन सञ्चालन गर्ने, भौगोलिक दुरीबाट टाढा रहेका यी विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने नगर क्षेत्रभित्रका विद्यार्थीलाई खाने बस्ने सुविधा, भर्ना शुल्क, मासिक शुल्क लालीगुराँस नगरपालिकाको तर्फबाट व्योहोरिने सूचनामा उल्लेख छ।

यसैगरी चालु शैक्षिक सत्रमा वडा नं. ३ मुसांगेलमा रहेको श्रीमान् स्मारक शिक्षा निकेतन माध्यमिक विद्यालय, ७ नं. वडा फिर्केमा रहेको तीनजुरे माध्यमिक विद्यालय र ६ नं. वडा मंगलबारेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयलाई कक्षा ११ मा नयाँ भर्ना नलिनका लागि कार्यपालिकाको बैठकमा निर्णय भएको सूचना जारी भएपछि आन्दोलनमा उत्रन बाध्य भएको अभिभावकहरूको भनाइ छ।

यसै विषयमा आगामी साउन १० गते पुनः कार्यपालिका बैठक बस्ने जानकारी दिइएको छ।

पूर्व विद्यार्थीसमेत रहेका स्थानीय विपिन लिम्बूका अनुसार नगरकाा आठवटा विद्यालयमध्ये पाँचवटालाई कायम राखेर तीनवटा विद्यालयमा मात्रै कक्षा ११ मा भर्ना रोक लगाइएपछि विरोध भएको हो।
‘नगरभरी दुईवटा विद्यालयमा मात्रै कक्षा ११ र १२ सञ्चालन गर्ने भनिएको थियो। तर तीनवटालाई बन्द गरेर पाँच वटा कायम राखिएपछि आन्दोलनमा उत्रिएका हौँ,’ लिम्बूले भने, ‘सिंहदेवी माविमा विद्यार्थीको संख्या पनि पर्याप्त छ। भौतिक संरचना राम्रो र शैक्षिक गुणस्तर पनि छ।’

सिंहदेवी माविमा नभएको विषय पढ्न मात्रै त्यहाँका विद्यार्थी अन्यत्र जाने गरेको उनको भनाइ छ। ‘पालिकाभरका अन्य विद्यालयको भन्दा सिंहदेवीको शैक्षिण गुणस्तर अब्बल छ। पालिकाले हाम्रो पक्षमा निर्णय गरेन भने सशक्त तरिकाले आन्दोलन गर्नेछौँ,’ उनले भने, ‘साउन १० गतेभित्र निर्णय दिन्छौँ भनेर पालिकाले वचन दिएको छ, त्यसदिनभित्र निर्णय भएन भने आन्दोलनका कार्यक्रम थप अगाडि बढ्छ।’

पालिकाले यसअघि खोलावारि र पारि गरी दुई वटा मात्रै कक्षा ११ र १२ सञ्चालन गर्ने जनाए पनि राम्ररी सञ्चालन भइरहेको विद्यालयलाई नै केन्द्रमा राखेर मनोमानी निर्णय गरेको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको लिम्बूले बताए।

‘अहिले सिंहदेवी माविका विद्यार्थी र अभिभावकले मात्रै आन्दोलन गरे पनि तीनजुरे माध्यमिक विद्यालयका अभिभावक पनि खुसी हुनुहुन्न,’ उनले भने, ‘अरू विद्यालयलाई अध्यापन गर्न भन्ने तर हामीलाई चाहिँ भर्ना नलिनु भन्ने कस्तो निर्णय हो भनेर अभिभावकहरू असन्तुष्ट हुनुहुन्छ।’

तीनजुरे माध्यमिक विद्यालयका अभिभावकहरूले सबै विद्यालय मर्ज हुँदा पालिकाको निर्णय मान्न तयार भएको तर केही विद्यालयलाई मात्रै भर्ना नलिन भनेपछि पालिकाको निर्णयविरुद्ध उभिनुपरेको स्थानीयको गुनासो छ।

नौवटा वडा रहेको लालीगुराँस नगरपालिकाको ७ वटा वडामा कक्षा १२ सम्म सञ्चालन हुँदै आएका छन्।

जसअनुसार पालिकाको केन्द्र रहेको २ नं. वडामा रहेको वसन्त मावि वसन्तपुर बजार, ३ नं. वडामा रहेको श्री मान् स्मारक शिक्षा निकेतन मुसांगेलमा, ४ नं. वडामा रहेको सार्वजनिक मावि फुलेक, ५ नं. वडामा रहेको सिंहबाहिनी मावि दाँगपा, ६ नं. वडामा रहेको सिंहदेवी मावि, ७ नं. वडामा रहेको कृष्ण मावि चाम्चिम र तीनजुरे मावि फिर्के र ८ नं. वडामा रहेको रत्न मावि सोल्मासहित आठ विद्यालयमा अध्यापन हुँदै आएको छ।

वडा नं. २ मा रहेको वसन्त मावि र वडा नं. ८ मा रहेको रत्न माविमा मात्रै कक्षा ११ र १२ अध्यापन गर्ने गरी विद्यालय मर्ज गर्ने भनिए पनि तीनवटालाई भर्ना नलिनु भनेर बाँकी पाँचवटामा कक्षा सञ्चालन भइरहेको छ।

नगरपालिका मेयर माबोहाङले सरकारको मापदण्डअनुसार विद्यालय मर्ज गर्न खोजिएको प्रतिक्रिया दिए। ‘नेपाल सरकारले १५ हजार वटा विद्यालय मर्ज गर्दै छ। पहाडमा एक शिक्षक बराबर ४० जना विद्यार्थी पुग्दैनन् भने त्यस्ता विद्यालय मर्ज गर्ने भनिएको छ,’ उनले फोनसम्पर्कमा हिमालप्रेससँग भने, ‘सरकारको मापदण्डअनुसार मर्ज गर्न खोजिएको हो।’

यसबारे पुनर्विचार गर्ने भनेर साउन १० गतेअघि नै बैठक बोलाएको उनले बताए। ‘पुनर्विचार गर्ने भनेरै बैठक राख्दै छौँ। कक्षा ११ र १२ घटाउन खोजेको हो,’ मेयर माबोहाङले भने, ‘बैठकमा कार्यपालिका सदस्यहरुले के भन्नुहुन्छ, त्यहीअनुसार निर्णय गर्छौँ।’

उनका अनुसार विद्यालयमा मापदण्डअनुसार विद्यार्थी भएका छैनन्। ‘अरू ठाउँ विद्यालयहरू मर्ज भइसके, मेरो ठाउँमा चैँ अभिभावकले मानिरहेका छैनन्। हुन त ठाउँको कुरा पनि हुन्छ,’ उनले थपे, ‘जनतको आकांक्षा जबरजस्ती कुल्चिन पनि मिलेन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast