स्मृतिमा बीपी कोइराला : तालिका बनाएर दिन बिताउँथे, दैनिक डायरी लेख्थे

विवेक विवश रेग्मी ६ साउन २०८२ ६:५७
98
SHARES
स्मृतिमा बीपी कोइराला : तालिका बनाएर दिन बिताउँथे, दैनिक डायरी लेख्थे

एक वर्षअघि बीपी कोइरालाको ४२ औँ स्मृति दिवसमा आयोजित एक कार्यक्रममा मैले कवि मनु मञ्जिललाई सोधेँ – ‘बीपीलाई किन महामानव भनियो?’

कवि मञ्जिलले जबाफमा भने- ‘बीपी कोइराला असाधारण मानिस हुन्। त्यसबेला बीपी कोइराला भारतबाट यदि नेपालमा नआएका भए यो देश नै नरहन सक्थ्यो, सायद। यो देश नै भारतमा विलय हुन सक्थ्यो। इन्दिरा गान्धी भारतको प्रधानमन्त्री थिइन्। त्यतिबेला गान्धीलाई भेटेर नेपाल आए। जहाँ नेपालमा बीपीका क्याप्टेनहरू मारिइरहेका थिए। बीपी कोइराला मात्रै यस्ता मान्छे थिए, जो अन्तर्राष्ट्रिय समाजवादको लिडरका रूपमा संसारभर चिनिएका थिए। अहिले भारतको प्रधानमन्त्रीसँग कुरा गर्नका लागि नेपालका कुनै नेता वा प्रधानमन्त्रीले बीपीको जस्तो क्षमता राख्छन्? त्यसकारण पनि बीपीलाई महामानव भनियो।’

आज (६ साउन, ०८२) बीपी कोइरालाको ४३ औँ स्मृति दिवस। महामानव बीपी कोइरालालाई स्मृति दिवसमै सम्झिऔँ।

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई अहिले कांग्रेसीहरूले स्मृति दिवस र जन्मजयन्तीमा मात्रै यदाकदा स्मरण गरेजस्तो गर्ने गरेका छन्। कांग्रेस पार्टीको संस्थापक, समाजवाद, लोकतन्त्र र राष्ट्रियताको स्तम्भ बीपीलाई एकपटक सम्झिएजस्तो मात्रै गरेर पर्याप्त हुँदैन। बीपी कुनै व्यक्ति होइनन्, विचार हुन्। बीपीको ‘राष्ट्रिय एकता र मेलमिलाप’को नीति आज पनि उत्तिकै सान्दर्भिक छ। तर दुःखको कुरा के छ भने, नेपाली कांग्रेसले उनलाई केवल औपचारिक कार्यक्रममा, फूलमाला, अबिर, टीका र भाषणको सन्दर्भमा सीमित गरिदिएको छ।

बीपीले जुन समाजवादको परिकल्पना गरेका थिए, त्यो कुनै आयातित सोच होइन, नेपाली समाजको यथार्थ र आवश्यकतामा आधारित थियो। सबै नागरिकलाई न्याय, समानता र अवसरको ग्यारेन्टी हुनुपर्ने उनको परिकल्पना थियो।

विभिन्न पटक गरी १२ वर्ष जेल जीवन बिताएका बीपी २००७ सालको प्रजातन्त्र स्थापनाका निम्ति गरेको क्रान्तिपछि आठ महिना गृहमन्त्री भए भने २०१५ सालको आम निर्वाचनपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बने।

२०१७ देखि २०२५ सम्म सुन्दरीजलमा जेल जीवन बिताएका बीपीले जेल जीवनमै छदाँ तालिका बनाउँथे। उनी हरेक दिन तालिकाअनुसार दैनिकी कटाउँथे। बीपीको जेल डायरी पुस्तकमा उदृत भएअनुसार अधिकांश समय उनी पढाइलाई समय दिन्थे।

२६ माघ, २०१८ मा बीपीले तालिका बनाएको तालिकाअनुसार बिहान ४:३० देखि ६:३० सम्म पढाइको समय, ६:३० देखि ८:३० बेडमिन्टन आदि, ८:३० देखि ९:३० पढाइ, १०:३० देखि ११:१५ पढाइ, ११:१५ देखि १:१५ विश्राम, १:१५ देखि ३:०० अखबार, पत्रपत्रिका, ३:०० देखि ४:३० महाभारत (संस्कृत), ४:३० देखि ५:३० हिँड्ने, ५:३० देखि ७:०० पढाइ, ७:०० देखि ९:०० विश्राम र कविता, ९:०० देखि १०:०० पढाइ।

यसरी बीपीले तालिका बनाएर दैनिकी बिताउँथे। तालिकाअनुसार नै उनले कर्म गर्थे। जेल जीवनमा उनी अधिकांश समय पढिरहेकै हुन्थे। उनले बेलुकीपख दिनभर भएका डायरी लेख्थे। कहिले एकै लाइन मात्रै, कहिले दुई लाइन, कहिले अलिक लामै पृष्ठ पनि बीपीले डायरी लेख्ने गर्थे। आफूसँग कुनै विचार वा सिर्जना नभए उनले डायरीमा कहिले प्रसिद्ध लेखकहरूका भनाइ कोट गरी लेख्थे। बीपीले स्टेफेन ज्वेइगदेखि रोबर्ट फ्रस्ट, विलियम बटलर यिट्स, रुडयार्ड किप्लिङसहित दर्जनौँ लेखका भनाइ, कविता वा कुनै सिर्जना कोट गरेर डायरी लेख्थे। ताकि तिनीहरूका विचारले नयाँ चेतना दिउन्, नयाँ विचार दिऊन्।

बीपी नेता, साहित्यकार (साहित्यमा भने उनले आफूले विश्वेश्वरप्रसाद कोइराला भनेर चिनाउँथे।) , अन्वेषक मात्रै होइनन् उनी यसकारण पनि विचार हुन्, किनभने उनी केवल सत्ता खोज्ने नेता थिएनन्। उनी दर्शन, लोकतान्त्रिक संस्कृति र समावेशी समाजको सपना बोकेका युगद्रष्टा थिए। त्यसैले उनी सम्झनाका पात्र मात्रै होइनन्, अनुकरणका आदर्श र विचार हुन्।

बीपीले लोकतन्त्रलाई जीवनको अभिन्न हिस्सा माने। जेल जीवन, यातना र निर्वासित भए पनि उनले कुनै बेला पनि सशस्त्र कब्जा होइन, जनताको मतद्वारा शासन परिवर्तनको मार्ग रोजे।
बीपीले ‘राष्ट्रिय एकता र मेलमिलाप’ नीति ल्याएर द्वन्द्वलाई संवादमार्फत समाधान गर्न खोजे। बीपीको समाजवादबारे आज पनि नेपाली समाजमा उत्तिकै चर्चा छ। गरिब किसान, मजदुर र निमुखाका लागि न्यायका लागि बीपीको विचार सधैँ उठ्थ्यो।

बीपीलाई चिन्ने, पढ्ने र बुझ्नेहरूले ख्यातिप्राप्त साहित्यकारका रूपमा चिन्छन्। उनी साहित्य र राजनीति दुवैमा दार्शनिक दृष्टि राख्ने व्यक्ति थिए। उनी राजनीतिज्ञ मात्रै थिएनन्, उनले साहित्यमार्फत पनि समाजको बिम्ब बोलेका छन्। उनको सुम्निमा उपन्यास आज पनि उत्तिकै लोकप्रिय छ। उनलाई अधिकांशले मनोवैज्ञानिक साहित्यकारका रूपमा बुझ्छन्। बीपीका उपन्यास, कथा र आत्मकथाहरूमा नेपाली समाजको मनोविज्ञान, वर्गविहीन सपना र मानवीय संवेदनाको गहिरो विचार पाइन्छ।

बीपीले वर्तमान अवस्थामा मात्रै नभई भविष्यको परिकाल्पना गर्ने अद्वितीय क्षमता थियो। बीपीका विचारहरू कुनै निश्चित सीमित समयका लागि मात्रै थिएनन्, उनका विचारहरू युगौँसम्म बाँचिरहनेछन्। त्यसैले उनलाई दूरदर्शी नेता भनियो।

अहिले कांग्रेस पार्टीले बीपीको विचारभन्दा पद र सत्तामा प्राथमिकता दिँदै गएको देखिन्छ। पार्टीभित्र वैचारिक बहस हराउँदै गएको छ र विचारको ठाउँ गुटबन्दीले गाँजेको छ। कांग्रेस साँच्चै बीपीको उत्तराधिकारी बन्न चाहन्छ भने उनका विचार, दर्शन र राजनीतिक मार्गदर्शनलाई व्यवहारमा उतार्नुपर्छ, केवल सम्झनामा सीमित गर्नु हुँदैन। बीपी सत्ताका लागि लोभ गर्ने मानिस थिएनन्। जसकारण उनले जेल जीवन र निर्वासनमा बिताउनुपर्यो। आजको दिनमा सत्तामा चुर्लुम्मै डुबेपछि आफ्ना विचारलाई नै बिर्सिदैँ गइरहेको कांग्रेस पार्टीले बीपी कोइरालाको योगदानलाई स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरेर मात्रै स्मरण गरेर पुग्दैन।

बीपीलाई स्मरण गर्नु भनेको उनी बितिगएको दिन होइन, उनका विचार, दर्शन र उनका दूरदर्शी परिकल्पना र मार्गनिर्देशलाई अंगाल्नु पनि हो। बीपीको आदर्श र विचारमा हिँड्न बिर्सिएर रुमल्लिइरहेको कांग्रेस पार्टीले अहिले बीपीलाई अन्देखा गरेजस्तो गरेको छ।

कांग्रेस पार्टीको कुरा एकातिर छाडौँ।

बीपी जेलमा हुँदा हरेक दिन पढ्ने, लेख्ने र नयाँ नयाँ विचार निर्माण गरिरहन्थे। बीपी कतिसम्मको दूरदर्शी नेता थिए भने उनले राष्ट्रियतासम्बन्धी लेखेको एउटा विचारले नै पुष्टि गर्छ।
‘राष्ट्रवाद : यो यस्तो नारा हो जसलाई धेरै प्रयोग गरिएको छ। साँच्चै भन्दा दुरुपयोग गरिएको छ। के देखिएको छ भने यो नारा विश्वभरिका तानाशाहहरूले अथक रूपमा लगाइरहन्छन्। हिटलर यस्तै प्रकारका राष्ट्रवादका प्रतीक थिए। आज विश्वभरि नै ठूलो संख्यामा ससाना, वास्तविक वा सम्भावित हिटलरहरू छरिएका छन् र तिनका लागि राष्ट्रवादको नारा धेरै नै उपयोगी रहन्छ। एउटा तानाशाहसँग यस्तो नारा भएन भने ऊसँग आफ्ना जनतालाई देखाउनका लागि शक्तिको कहिल्यै नमेटिने भोक अर्थात् उसको परपीडक स्वभावबाहेक ऊसँग केही पनि रहँदैन। एउटा तानाशाहमा पनि नांगो हनुको लाज त हुन्छ,’ बीपीले लेखेका छन्, ‘हाम्रै देशमा पनि राणा शासनका अन्तिम महत्त्वपूर्ण शासक मोहनशमशेरले प्रजातान्त्रिक शक्तिहरूबाट ठूलो चुनौतीको सामना गर्नुपरेको बेला राष्ट्रवादको नारा लगाएका थिए। हाम्रा अहिलेका शासक नै पनि आफ्ना बाबुसँग घोडसवार भएर भारतीय राजदूतावासको शरणमा जाँदा उनलाई राष्ट्रविरोधी भनिएको थियो र नेपालको गद्दीको उत्तराधिकारी हुनबाट च्युत गरिएको थियो। हामी सबै राष्ट्रको हितमा राष्ट्रवादी बनौं, कुनै तानाशाह वा कसैको वंशको शासनको हितमा होइन।’ (जेल डायरी परिशिष्ट-५)

बीपीको विचारलाई कसले पछ्याएको छ? ‘हामी सबै राष्ट्रको हितमा राष्ट्रवादी बनौं, कुनै तानाशाह वा कसैको वंशको शासनको हितमा होइन।’ उनले भनेको जस्तो छ? नेपालमा अहिले कुनै वंशको शासन त छैन। तर संघीयताका नाममा प्रत्येक टोलटोलमा पुगिरहेको शासकको पाउमा मानिस नारा लगाइरहेका छन्।
बीपीले संविधानबारे पनि प्रस्ट धारणा राखेका छन्।

‘संविधान : संविधानका दुई पाटा हुन्छन् एउटा मुस्कुराउने र अर्को टोक्ने। मजस्ता प्रजातन्त्रवादीका लागि यसमा कुनै अवसर हुने हो भने म एक स्वतन्त्र नागरिकको रूपमा काम गर्न सक्छु र जनताका लागि उपयोगी हुनसक्छु। यो बिर्सनुहुँदैन कि मैले १९५८ (२०१५ साल) को संविधानको कार्यान्वयनको अथक प्रयास गरेकै कारण मलाई कारागारमा बन्द गरियो जहाँबाट मेरो जीर्ण स्वास्थ्यका कारण मात्रै म रिहा भएको हुँ,’ उनले लेखेका छन्। (जेल डायरी परिशिष्ट-५)

बीपीले सुख र दुःखबारे पनि गहिरो विचार राखेका छन्।

हरेक मानिसको जीवनमा सुखभन्दा दुःख धेरै छ। खुसीभन्दा रोदन दोब्बर छ। यसैबारे बीपीले स्मरणयोग्य भनाइ उदृत गरेका छन्।

५ पुस, २०२१ मा बीपीले डायरीमा लेखेका छन्, ‘सुख स्मरणमा रहँदैन। स्मरणमा रहिरहने भनेको जीवनका त्यस्ता अनुभवहरू हुन जो दुःखद छन्, नरमाइला छन् र विक्षिप्त पार्ने खालका छन्। पीडाको एउटा चरित्र र अनुहार हुन्छ जसले पीडालाई बिर्सनै नसकिने स्पष्टताका साथ हाम्रो सम्झनामा स्थापित गरिदिन्छ। अर्कातिर सुख भनेको गोलाकार छ र सजिलै उपलब्ध छ। पीडाको विशिष्ट चरित्रका कारणले नै विगत चार वर्षका मेरो जेल बसाइका कष्टसाध्य दिनहरू म सम्झिरहन्छु जुनबेला म विचलित अवस्थामा पुगिसकेको थिएँ। जबजब म यस्तो दुःखद मनस्थितिमा हुन्छु, आफू कति उदास छु भन्ने कुरा लेख्न मन पराउँछु।’

बीपीले सोही विषयमा थप लेखेका छन्, ‘मेरो डायरी यस्तै विक्षिप्त विचारले भरिएको छ। जसलाई सुखका दिनभन्दा पीडाका दिनको सम्झना बढी हुन्छ भन्ने कुराको ज्ञान हुँदैन। कसैले मेरो डायरी हेरे भने सायद सोच्लान्। म सधैँ नमेटिने कष्ट र निराशामा मात्रै थिएँ। तर मसँग उदासी र निराशाका भन्दा आशा र आत्मविश्वासका पलहरू नै बढी थिए जुन जेल जीवनमा पनि खुसी रहनुको अभिव्यक्ति हो। तर मेरो मनस्थितिलाई अभिलिखित गर्ने प्रश्नमा आत्मविश्वासपूर्ण पलहरू अभिलिखित गर्न योग्य देखिएनन्। जबकि दुःख र निराशाका पलहरू नै बढी योग्य देखिए। मैले यहाँ लेखेका कविता पनि निराशाकै हुन्।’

राष्ट्र र राष्ट्रियताको विषमा उनी सधैँ चिन्तित हुन्थे। राज्य पक्षबाट सधैँ पीडामा परेका बीपीले आफूसँग ‘उदासी र निराशाका भन्दा आशा र आत्मविश्वासका पलहरू नै बढी रहेको’ उल्लेख गर्दै जीवन बाँच्थे।
जेल जीवनमा पनि खुसी रहनुले बीपीको जीवनप्रतिको परिभाषा बुझाउँछ।

१९७१ भदौ २४ मा जन्मिएका उनी घाँटीको क्यान्सरजस्तो गम्भीर रोगबाट प्रताडित भई २०३९ साउन ६ गते संसारबाट बिदा भए। पद र सत्ताको कहिल्यै लोभ नगर्ने र आफ्नो सिद्धान्तविरूद्ध सम्झौता नगर्ने महामानव बीपीप्रति श्रद्धासुमन र अनन्त सम्झना!!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast