
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो। एमालेले भण्डारीको पार्टी सदस्यता ‘पेन्डिङ’ अवस्थामा राखेपछि अध्यक्ष ओलीसँग उनले भेटवार्ता गरेकी हुन्। दुवै जनाबीच ‘वन टू वन’ वार्ता भएको छ।
छलफलअघि पार्टी कार्यालयमा उपस्थित एमाले नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए। त्यसपछि अध्यक्ष ओली र नेतृ भण्डारीबीच ‘वन टू वन’ छलफल भएको हो।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विषयलाई विवादित नबनाइने बताए। पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपतिबीचको छलफल चलिरहेका बेला पाण्डेले सदस्यता नवीकरणसम्बन्धी विषय अध्यक्ष ओलीले नै टुंगो लगाउने बताए। उनले भने, ‘आवश्यक परे सचिवालयले पनि टुंग्याउन सक्छ।’
पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारी पहिलोपटक एमालेको च्यासलस्थित पार्टी कार्यालय पुगेकी छन्। एमालेको सदस्यता परित्याग गरेर राष्ट्रपति बनेपछि उनी पार्टी कार्यालय पुगेकी थिइनन्।
सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि भण्डारीले एमाले अध्यक्ष ओलीसँग पहिलोपटक भेटवार्ता गरेकी छन्। भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ।
हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्य नवीकरणको विषयले बहस निम्त्याएको थियो। अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए। राष्ट्रपति भइसकेको व्यक्तिको सदस्यता नवीकरण विषय केन्द्रीय कमिटीबाट टुंग्याइने भन्दै एमालेले हाल भण्डारीको सदस्यता ‘पेन्डिङ’ अवस्थामा राखेको छ।
सक्रिय राजनीतिमा फर्किने नेतृ भण्डारीले उद्घोष गरेसँग एमालेभित्र गुटको सुरूवात भएको आंकलन गरिएको छ। यसअघि ओलीको एकल दबदबा रहेको एमालेमा भण्डारीको घोषणाले नेताहरू दुई खेमामा विभाजित भएको देखिन थालिएको छ।