
काठमाडौँ- प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर बनेको वर्तमान सरकार एक वर्ष पूरा गरिसकेको छ। सातबुँदे सहमति गरिरहँदा दुवै दलका शीर्ष नेताहरूले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न बनेको यो गठबन्धन र सरकार पूरा अवधि चल्ने दाबी गरेका थिए।
एक वर्षको अवधिमा सरकारले जनभावनाअनुसार काम गर्न नसकेको सत्तापक्षका कतिपय नेताका साथै प्रतिपक्षले आरोप लगाउने गरेको छ। खास गरेर सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा असफल भएको यो सरकार सातबुँदे सहमतिअनुसार संविधान संशोधनका लागि कुनै पहल नगरेको राजनीतिक दलहरूको आरोप छ।
पछिल्लो समय सत्ता साझेदार प्रमुख दल कांग्रेस नेता डा.शेखर कोइराला सरकारका गलत क्रियाकलापबारे सार्वजनिक रूपमै प्रश्न उठाउँदै आएका छन्।
सरकारका मन्त्रीहरू नै घुस प्रकरणमा मुछिन थालेपछि कोइरालाले आफ्नो सक्रियता बढाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि राजनीतिवृत्त तरंगित बनेको छ।
कोइरालाले मुलुकमा सुशासन कायम गर्ने आफ्नो अभियानमा समर्थन खोज्दै प्रचण्ड र भण्डारीलाई भेटे पनि कतिपयले यसलाई सत्ता परिवर्तनको संभावनाका रूपमा लिइरहेका छन्।
कतिपयले त सरकार परिवर्तन भएर कांग्रेस नेता कोइराला प्रधानमन्त्री बन्ने तर्क समेत गरिरहेका छन्। प्रचण्ड, भण्डारी, माधवकुमार नेपाललगायतका नेताहरूको साथ लिएर उनी प्रधानमन्त्री बन्ने तयारीमा रहेको कतिपय विश्लेषकहरूले दाबी गरेका छन्।
सरकारका सन्दर्भमा विभिन्नखाले अड्कालबाजी भइरहे पनि विभिन्नखाले अड्कलबाजी भइरहे पनि तत्काल सरकार अथवा गठबन्धन परिवर्तनको कुनै सम्भावना नरहेको नेताहरूको दाबी छ। कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गर्छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकार सहज ढंगले अघि बढेको भन्दै वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरे।
केसीले प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्ने व्यवस्था रहेकाले कोइराला पार्टी संसदीय दलको नेता बन्न नसक्ने ठोकुवा गरे। पार्टीभित्रको विवाद र बहस स्वाभाविक भएको भन्दै उनले यही विवादका कारण पार्टी विभाजन नहुने जिकिर गरे।
कांग्रेस नेता केसीझैँ नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पनि वर्तमान गठबन्धनको विकल्प नरहेकाले आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन्। वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्र कुनै विद्रोह नहुने समेत उनले ठोकुवा गरे।
कांग्रेस नेता कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गर्दै केपी ओलीपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने उनको भनाइ छ।
नेता पोखरेलले पूर्वराष्ट्रपति भणरीले सदस्यता नवीकरण गरेको कुरा साँचो भएको उल्लेख गरे। अहिले देखिएको ओली र भण्डारीबीचको विवाद चामात्कारिक रूपमा ‘सेटल’ हुने उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको बताउँदै उनले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निष्कर्षमा पुग्ने उल्लेख गरे।