
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष भएको छ। सन् १९५५ अगस्त १ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यद्यपि चीन र नेपालबीचको सम्बन्ध प्रागैतिहासिक कालदेखि नै रहँदै आएको छ।
हिमाल, पहाड तथा नदी नालाले जोडिएको चीन र नेपाल बीच सांस्कृतिक, धार्मिक र आर्थिक घनिष्टता प्राचीन कालदेखि नै हो। प्राचीन समयमा दुई देशबीच जनस्तरमा भएको आदानप्रदानलाई हेर्ने हो भने हामी चौथो शताब्दीमा फर्कनुपर्ने हुन्छ।
भिक्षु फास्येन बुद्ध धर्म र सो सम्बन्धित पुस्तक र विचारहरूको संकलन तथा अध्ययनका लागि नेपाल आएका थिए। सोही समयमा नेपालबाट बुद्धभद्र चीनमा बुद्ध धर्म अनुवाद तथा प्रसार गर्न पुगेका थिए। यसरी शाक्यमुनि गौतम बुद्ध र उनका अर्तीउपदेश आजभन्दा दुई हजार वर्षअघि नेपाल र चीनलाई जोड्ने एक कडी बनेको थियो। बुद्धको पञ्चशील सिद्धान्तलाई दुवै देशले आफ्नो कूटनीतिक संहिताका रूपमा लिएको छ।
चीनका विभिन्न स्थानमा अवस्थित मन्दिरहरूमा बुद्धका अस्थिधातुहरू पनि छन्। बौद्ध अभिलेखअनुसार सम्राट् अशोकले बुद्धका अस्थि संकलन गरी ८४ हजार भागमा बाँडेका थिए र ती प्रत्येकलाई प्यागोडा आकारको मन्दिरमा भण्डारण गरेका थिए। त्यसपछि उनले ती पवित्र अवशेष संसारका विभिन्न भागमा पठाएका थिए। तीमध्ये १९ वटा चीनमा रहेको अनुमान छ।
गौतम बुद्धका १९ अस्थि अवशेषहरूलाई ६ स्थानमा वितरण गरिएको देखिन्छ। एक चिनियाँ अनलाइनअनुसार बेइजिङको लिङक्वाङ मन्दिर, युञ्च्यु मन्दिर, पल्लो सान्सीको फामन मन्दिर, च्याङसुको कान्लु मन्दिर, चच्याङको सम्राट अशोक मन्दिर र लाइफङ प्यागोडामा बुद्धका अस्थिधातु छन्। ल्याउनिङ प्रान्तको छाओयाङ सहरमा अवस्थित मन्दिरमा पनि बुद्धको अस्थिधातु छ।
बेइजिङको पाताचु (आठ मन्दिर क्षेत्र) भित्रको लिङक्वाङ मन्दिरमा बुद्ध जयन्तीका अवसरमा अस्थिधातुहरू महिना दिनसम्म नै श्रद्धालुले दर्शन गर्न पनि सक्छन्। बेइजिङस्थित नेसनल बोटानिकल गार्डेनभित्र ७०० वर्षअघि स्थापित बुद्धको निर्वाण अवस्थाको विशाल मूर्ति सँगसँगै बुद्धको सचित्र जीवन कथा पनि हेर्न पाइन्छ।
काठमाडौँ सहर गल्लीमा र नेपालका केही मठमन्दिरमा बुद्धलगायत विभिन्न देवीदेवताका सचित्र कथा हेरेका नयनलाई बेइजिङमा पनि सचित्र बुद्ध जीवनी हेर्न पाउँदा थप उत्साहित बनाउनेछ। त्यसरी उत्साहित र गौरवान्वित बनाइने नेपाली तत्त्व बेइजिङमा यत्रतत्र पाइन्छ।

विदितै छ, बुद्ध र बुद्ध धर्मबाहेक नेपाली कला पनि प्राचीनतम् समयदेखि चीन भित्रिएको छ। अरनिकोलगायत अन्य धेरै गुमनाम कलाकार, भिक्षुदेखि साधारण नेपाली र चिनियाँ भिक्षु र बौद्ध विद्वान् तथा यात्रीहरूले बौद्ध धर्मसँगै नेपाली लिपि, कलाहरू चीन भित्र्याएका थिए।
बेइजिङमा अवस्थित लामा मन्दिरमा नेपालबाट ल्याएको एउटै रूखको काठमा मैत्रेय बुद्ध कुँदिएको देख्नपाइन्छ। त्यो मूर्तिसहित मन्दिर निर्माणमा पनि नेपाली कालिगढको हात रहेको अनुमान लगाउन सजिलो हुन्छ। जताजता बौद्ध मन्दिरहरू छन्, प्यागोडा छन्, टावर छन्, त्यता त्यता नेपालको लिपि पनि देख्न पाइन्छ।
यहाँ तिब्बती सहरहरूको चर्चा गरिरहनु परेन, चीनको पूर्वमा अवस्थित चच्याङ प्रान्तको समुदी सहर छ्वानचौ, साङहाई सहरलगायत धेरैधेरै सहरहरूमा अवस्थित मन्दिर र टावरहरूमा समेत ठुल्ठूला अक्षरमा रञ्जना लिपिबद्ध ॐ मणि पद्मे हूँ लेखिएको देख्न पाइन्छ।
यसैगरी बेइजिङस्थित चुयोङक्वान ग्रेटवाल क्षेत्रमा रञ्जना लिपिबद्ध द्वार छ। चुयोङक्वान ग्रेटवाल प्रवेश गर्ने क्रममा त्यहाँ रञ्जना लिपिसहित विभिन्न अरू भाषा र लिपिमा श्लोकहरू कुँदिएका छन्। यो १६औँ शताब्दीको कुरा हो। योभन्दा अघिको एउटा यस्तो वास्तुकला विशाल सहर बेइजिङमा अवस्थित छ कि यसले हरेक नेपालीको शिर ठाडो बनाएको छ।

त्यो के हो? हामी सबैलाई थाहा छ, अरनिको र उनको वास्तुकला, श्वेतचैत्य। पाइथास, ह्वाइट पेगोडा भनेर चिनिने यो भव्य, सानदार र विशाल श्वेतचैत्य सन् १२७१ मा निर्माण थालेर १२७९ मा पूरा भएको उल्लेख छ।
यो गगनचुम्बी श्वेतचैत्य नेपाल र चीनको सांस्कृतिक आदानप्रदानको ऐतिहासिक साक्षीका रूपमा पनि रहेको छ। यसको बनावट, ढाँचा यति गजबको छ कि हेर्ने मानिस अवाक् हुन्छन्। उहिले विहारसमेत रहेको यो ठाउँ आज संग्रहालयका रूपमा संरक्षित छ। नेपाल र चीन बीच कूटनीतिक, सांस्कृतिक तथा जनस्तरीय आदानप्रदानको सम्बन्धका रूपमा उभिएको छ।
यो श्वेतचैत्यले हरेक नेपालीलाई काठमाण्डु पुर्याउँछ भने मन्दिर परिसरमा ठड्याइएको लिंगोले इन्द्रचोक र वसन्तपुरको पर्वमय वातावरणको झझल्को दिन्छ।
यसरी राजधानी सहर बेइजिङलगायत विभिन्न चिनियाँ सहरमा बुद्ध धर्मसँग सम्बन्धित वस्तु, नेपाली कला र मूर्ति तथा रञ्जना लिपिकृत भौतिक संरचना देख्न पाइन्छ, जसले चिनियाँ तथा विदेशीलाई नेपाल चिनाइरहेको छ।
कलाकार अरनिकोले त युआन राजवंशकालमा आफ्नो जीवनको ४५ वर्ष नेपाली कला, संस्कृतिको प्रसारमा समर्पित गरेका थिए। चीनमै अन्तिम सास फेरेका उनले अरू पनि विभिन्न कलावस्तुको सिर्जना गर्नुका साथै आफूले जानेका सीपहरू धेरै चिनियाँलाई सिकाएका थिए। उनको वंश र सीप जानेका चेला पुस्ता पनि चीनमा भेट्नसकिने सम्भावना व्याप्त छ।
श्वेतचैत्यबाहेक अरनिकोद्वारा वूथाइसानमा निर्मित चैत्य पनि निकै प्रसिद्ध छ। यसबाट पनि उनको सीप चीनभरि प्रसार भएको बुझ्न सकिन्छ।
यो वूथाइसान मञ्जुश्रीको वासस्थान हो। लोक कथन अनुसार, उनै मञ्जुश्रीले आफ्नो खड्गले चोभारको डाँडा काटी काठमाडौँमा बस्ति बसाउन सहयोग गरेका थिए। यसरी किंवदन्तीदेखि ऐतिहासिक पात्रले नेपाल र चीन बीचको सम्बन्धलाई कसिलो बनाउँदैआएको देखिन्छ। अर्का भिक्षु सुवान चाङ पनि नेपाल पुगेका थिए। यसरी अध्ययन, अनुसन्धान र खोजका लागि नेपाल पुग्ने र नेपाली सीप र कलालाई चीन भित्र्याउने परम्परा अघिदेखि रहँदै आएको छ।
आजको यो आधुनिक युगमा पनि यो क्रम जारी छ। वर्तमानमा, चिनियाँ पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ। चिनियाँ उद्यमीहरू पूर्वाधार निर्माण र लगानीका लागि नेपाल जाने गरेका छन्। नेपाली भाषा, संस्कृतिलगायतका विषयको अध्ययनका लागि पनि चिनियाँहरू नेपाल जाने गरेका छन्।
यसैगरी नेपाली व्यापारी र विद्यार्थीहरू पनि चीन आउने क्रम निरन्तर बढिरहेको छ। चीनले आयोजना गर्ने विभिन्न एक्स्पोमा नेपाली व्यापारीहरू पुग्ने गरेका छन्। ती एक्स्पोमा भेट्ने नेपालीहरू र सँगै नेपाली वस्तुले पनि एकपटक घरनजिक पुर्याउन सहयोग गर्दछ। यसरी नेपाली तत्त्व र नेपाली बेइजिङलगायतका सहरमा पाइने अर्को ठाउँ भनेको विश्वविद्यालय हो।
चीन सरकारले उपलब्ध गराउने छात्रवृत्ति वा स्वखर्चमा चीन आएर अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या दिनप्रति दिन बढ्दैगइरहेको छ। चीनमा अनुमानित ६ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्। चिनियाँ सहरमा नेपाल, नेपाली र नेपाली तत्त्व देख्न दुर्लभ छैन। दुर्लभ छ त अझै पनि नेपाली खानेकुराको सुलभता।
थाओपाओ, चिनतोङलगायतका अनलाइनमा छिटफुट रूपमा नेपाली वस्तु नपाइने होइन। तापनि अब विश्वको एक केन्द्र बेइजिङ, जुन काठमाण्डौँदेखि हवाईमार्गबाट पाँच घण्टाको दूरीमा छ, यहाँ नेपाली उत्पादन वस्तु पुर्याउनु पर्ने हो। सुलभ रूपमा पाउनु पर्ने पनि हो। खाना त आँखा, जिब्रो, पेट हुँदै मुटुमा छाप छोड्ने कुरा हो। नेपालका विभिन्न जातजातिका खाद्यपरिकारसहितको रेस्टुराँहरूको विस्तार हुनुपर्ने हो। यसो भन्दैगर्दा खाद्य स्तरको मापदण्ड र सेवा त्यही अनुरूप दिनसक्नु पनि पर्छ।
सभ्यता आदानप्रदानका क्रममा नेपालमा चिनियाँ छुनच्ये, ड्र्यागनबोट पर्व मनाए जसरी पाइथासलगायत पायक ठाउँमा नेपाली चाडपर्व र जात्राहरूको पनि प्रदर्शन गर्नसकिन्छ। यस्ता कुराले दुई देश बीचको सम्बन्ध जनस्तरबाटै अघि बढाउन ठूलो सहयोग मिल्ने छ। यसो भएमा, बेइजिङलगायत चिनियाँ सहरमा यत्रतत्र नेपाली तत्त्व देख्न अझै सहज हुनेछ।
नेपाल र चीनले शैक्षिक, सांस्कृतिक र पर्यटन आदानप्रदानमा विस्तार गर्दै गर्दा नेपालले चीनका नवीन प्रविधिहरू भित्र्याउने र चीनद्वारा प्रतिपादित विभिन्न अवधारणा र पहलहरूलाई स्वीकार्नु र पहिल्याउनु दुई देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध उकास्ने महत्त्वपूर्ण कडीहरू हुन्।
बीआरआई, मानवजातिको साझा भविष्यको सुमदाय, वैश्विक सभ्यता पहल, वैश्विक विकास पहलहरू कुनै पनि देशको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण छन्। जुन पहलहरूमा नेपालको साझेदारी पनि छ। आशा छ, नेपाल र चीनले सम्बन्धलाई अझै नजिक र कसिलो बनाउँदै भौगोलिक अवरोध र चुनौतीहरू पार गर्नेछन्।
