
कृषि उत्पादनमा क्रान्ति ल्याउने भनिएको विषादीले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारिरहेको तथ्य एक समीक्षात्मक अध्ययनले देखाएको छ। दक्षिण कोरियाको हान्याङ विश्वविद्यालय, बंगलादेशको कृषि विश्वविद्यालय र ब्रयाक क्लिनिकका शोधकर्ताहरूले अनुसन्धान गरी प्रकाशित अध्ययनले विषादीको प्रयोग र त्यसबाट उत्पन्न स्वास्थ्यसम्बन्धी जोखिम उजागर गरेको हो।
विषादीहरू सामान्यतया झारपात, किराफट्यांग्रा, ढुसी र मुसा–इत्यादि नियन्त्रण गर्न कृषि र घरायसी क्षेत्रमा प्रयोग गरिन्छ। विश्वमा उत्पादन हुने विषादीमध्ये ८५ प्रतिशभन्दा बढी कृषि क्षेत्रमा खर्च हुन्छ। यी विषादी रासायनिक रूपमा जीवहरूलाई मार्ने उद्देश्यले निर्माण गरिएका हुन्छन्। यिनले मानव शरीरमा पनि असर पार्छन्।
विशेषगरी अर्गानिक र इनअर्गानिक रूपमा दुई भागमा बाँडिने विषादीले विभिन्न तरिकाले मानवीय स्वास्थ्यमा असर गर्छन्। कतिपय विषादीले स्नायु प्रणाली क्षतिग्रस्त बनाउने, जन्मजात विकृति, क्यान्सर, मधुमेह, अस्थमा र पार्किन्सन्सजस्ता दीर्घरोग निम्त्याउँछन्।
मानव स्वास्थ्यमा पर्ने असर
कुनै पनि मानिस पूर्ण रूपमा विषादीको सम्पर्कबाट बच्न सक्दैन। विषादीको प्रकार, मात्रा, अवधि र व्यक्तिको संवेदनशीलता अनुसार असरको स्तर फरक हुन्छ।
क्यान्सर : अमेरिकाका ५७ हजार तीन सय १० जना किसानमाथि गरिएको अध्ययनले इमाजेथापायर नामक हर्बिसाइडसँग मूत्राशय र ठूलो आन्द्राको क्यान्सरको सम्बन्ध देखाएको छ। फ्रान्समा गरिएको अध्ययनमा विषादीसँग मस्तिष्कको ट्युमर र ग्लायोमासँग सम्बन्ध पाइएको छ। भारत, इजिप्ट, ट्युनिसियालगायतका देशमा पनि महिलामा स्तन क्यान्सरको जोखिम बढेको देखिएको छ।
किसानमा अस्थमाको सम्भावना १.४६ गुणा बढी भएको भेटिएको छ। विषादीले श्वास प्रणालीमा जलन, एलर्जी र प्रतिरक्षा प्रणालीमा गडबडी ल्याएर अस्थमा बढाउने गरेको छ।
मधुमेह : २३ वटा अध्ययनको समीक्षाले विषादीसँग टाइप २ डाइबेटिजको सम्बन्ध रहेको देखाएको छ। बंगलादेश, अमेरिका र बोलिभियामा गरिएको अध्ययनले विषादीमा काम गर्ने व्यक्तिहरूमा २–३ गुणा बढी मधुमेहको सम्भावना देखाएका छन्।
पार्किन्सन्स रोग : फ्रान्स र अमेरिकादेशमा गरिएको अनुसन्धानले विषादीको लामो सम्पर्कले पार्किन्सन्स रोगको जोखिम २ गुणासम्म बढाउने देखाएको छ।
ल्युकेमिया : १२ वटा अध्ययनका नतिजाले मातृगर्भको समयमा र जन्मपछि बालबालिकाले विषादीको सम्पर्कमा आउँदा ल्युकेमिया हुने सम्भावना १.४ गुणा बढी भएको देखाएको छ। विशेष गरी किसान परिवारका बालबालिकामा यो समस्या बढी देखिएको छ।
अन्य असरहरू : विषादीको लामो सम्पर्कले मानिसको प्रजनन प्रणालीमा समस्या ल्याउने, शुक्रकणको संख्या घटाउने, मानसिक विकासमा समस्या ल्याउने लगायतका असर देखिएका छन्। बालबालिकामा मानसिक क्षमता घटाउने, स्मरणशक्ति र बौद्धिक क्षमतामा कमी ल्याउने प्रमाण पाइएको अध्ययनमा उल्लेख छ।
वातावरणमा विषादीको असर
विषादीले माटो, पानी र हावामा पनि दीर्घकालीन असर पार्छ। धेरैजसो विषादी वातावरणमा वर्षौंसम्म रहने पर्सिस्टेन्ट अर्गानिक पोल्युटेन्ट्स (POPs) हुन्, जसले जैविक शृंखलामा ७० हजार गुणासम्म बढी एकत्रित भएर मानव शरीरमा पुग्न सक्छन्।
हावा : क्यानडाको पोटाटो फर्ममा गरिएको अध्ययनले हावामा क्लोरोथालोनिल विषादीको औसत सान्दर्भिक मात्रा २८४ न्यानोग्राम प्रति क्युबिक मिटर भेटिएको छ। चीनको ताइहु क्षेत्रमा पनि डीडीटी र डीडईजस्ता विषादीको हावामा उच्च मात्रा भेटिएको छ।
पानी : हंगरी, टर्की, चिलिजस्ता देशहरूको पानीमा विषादीको उच्च मात्रा भेटिएको छ। उदाहरणका लागि टर्कीमा हेप्टाक्लोरको मात्रा २८१ न्यानोग्राम प्रति लिटर मापन गरिएको छ।
माटो : पोर्चुगल, जर्मनी र अमेरिकाको माटोमा विषादीको दीर्घकालीन असरका कारण माटोको जैविक विविधता घटेको र माटोको उर्वरता घटेको देखिएको छ।
कसरी पुग्छ विषादी शरीरमा?
शरीरमा विषादी चार तरिकाले प्रवेश गर्छ:
१. छालामार्फत — विषादी छर्ने बेला छालामा टाँसिएर।
२. मुखमार्फत — दूषित खाना वा पानीबाट।
३. श्वासप्रश्वासबाट — विषादीका कणहरू सासमार्फत फोक्सोसम्म पुग्छन्।
४. आँखाबाट — विषादी छर्नेदेखि मापन गर्ने क्रममा आँखामा प्रवेश गर्छ।
समाधान र सिफारिस
शोधकर्ताहरूले यस समस्याको समाधानका लागि केही उपाय सुझाएका छन् :
• वातावरणमैत्री विषादी र जैविक कीट नियन्त्रण प्रविधि (जस्तै EcoSMART र IPM) अपनाउनुपर्ने।
• विषादीको प्रयोग न्यूनतम गर्न किसानलाई तालिम दिनुपर्ने।
• सरकार, उद्योग र अनुसन्धान संस्थाहरूले संयुक्त रूपमा सुरक्षित र वैकल्पिक उपाय विकासमा ध्यान दिनुपर्ने।
• हरेक स्तरमा चेतना अभिवृद्धि र जानकारी प्रवाह गर्नुपर्ने।
निष्कर्ष
विषादीले प्रारम्भमा कृषि उत्पादन बढाउन मद्दत गरे पनि यसको दीर्घकालीन असरलाई नदेखेर अघि बढ्दा मानव स्वास्थ्य र वातावरणलाई ठूलो क्षति पुगेको छ। अनुसन्धानको निष्कर्ष छ, विषादीको जोखिमलाई अब बेवास्ता गर्न मिल्दैन। साथै जोखिमप्रति संवेदनशील समूह (जस्तै बच्चा, गर्भवती महिला र वृद्ध) लाई विशेष संरक्षण दिनुपर्ने आवश्यकता छ।
[कृषि विज्ञानमा स्नातकोत्तर खनाल बिगत डेढ दशक देखि कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा कार्यरत छन्।]