
काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार साँझ ‘नेराशि संगठन राष्ट्रिय समितिद्वारा आयोजित एसईई ग्रेडवृद्धि परीक्षा २०८१’ का लागि निःशुल्क अनलाइन सहजीकरण कार्यक्रमको भर्चुअल रूपमा उद्घाटन गरेका छन्।
उद्घाटन पछि बोल्दै सभामुख घिमिरेले नेपाल राष्ट्रिय शिक्षक संगठनले अघि सारेको ‘शिक्षक संगठन विद्यार्थीसँग’ भन्ने नारालाई स्मरण गर्दै यस अभियानलाई स्वागतयोग्य र प्रेरणादायी भएको बताए।
‘विगतमा ४८ प्रतिशत मात्र विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए। गणित, अंग्रेजी, विज्ञान, सामाजिक र नेपालीजस्ता विषयमा कमजोरी देखिएको सन्दर्भमा यस्तो सहजीकरण कार्यक्रम आवश्यक र उपयोगी भएको छ,’ उनले भने।
उनले अघिल्लो वर्ष झापा–२ मा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा अनलाइन कक्षाको व्यवस्था गरिएको स्मरण गरे। उनले भने,‘एमविशन गुरुअन्तर्गत १५ विद्यार्थीलाई अनलाइन कक्षामा जोडिएको थियो जसको परिणामस्वरूप सकारात्मक सुधार देखियो।’
सभामुख घिमिरेले अनलाइन शिक्षाको पहुँच दुरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याउँदै मोबाइल फोनमार्फत प्रविधिको प्रयोग सम्भव भएको उल्लेख गरे। ‘स्थानीय सरकारहरू पनि सहयोगी छन्, त्यसैले प्रविधिको उपयोग गरेर गरिब तथा ग्रामीण भेगका विद्यार्थीलाई पनि समेट्न सकिन्छ,’ उनले भने।
उनले विद्यालय शिक्षा विधेयकमाथि बहस र छलफल चलिरहेको जानकारी दिए। ‘२०२८ सालपछिको शिक्षा ऐन ल्याउन सरकार प्रयासरत छ। शिक्षक महासंघ र अन्य शिक्षक संगठनहरूको मागलाई सकेसम्म समेटेर विधेयक पारित गर्ने तयारी भइरहेको छ,’ उनले भने।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि यस्तो कार्यक्रमले कमजोर विद्यार्थीलाई पुनः तयारी गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। कार्यक्रम एक महिना सञ्चालन हुनेछ। बिहान र बेलुका समय छुट्याएर विद्यार्थीलाई विभिन्न विषयमा कक्षा दिइनेछ।
यस्तो छ सभामुख घिमिरेको भनाइ
नेपाल राष्ट्रिय शिक्षक संगठनले एउटा नारा दिएको मलाई ख्याल छ। त्यो नारा ‘शिक्षक संगठन विद्यार्थीसँग’ । विद्यार्थीलाई प्रगति पथमा लैजान संगठन नै त्यो नाराका साथ आइरहेको थियो। २०८२ को एसईईको नतिजापश्चात यसमा नन ग्रेड भएका विद्यार्थीलाई अगाडि बढाउनका लागि, त्यसमा पनि गणित विषयमा ठूलो संख्यामा विद्यार्थीेले सफलता हासिल गर्न नसकेको, त्यसैगरी, अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली लगायत विषयलाई विहान र बेलुका कक्षाको समय मिलाएर विद्यार्थीलाई सिकाउने सन्दर्भमा ‘एसईई एनएनटीए’ एउटा संस्थालाई विद्यार्थीको आकर्ष बनाउन खोजेको, यसलाई हेरिसकेपछि विद्यार्थीलाई सफलतामा अगाडि लैजान मौका दिने जे कार्यक्रम ल्याइएको छ यो आफैँमा राम्रो कार्यक्रम छ। विद्यार्थीहरूले सिक्नुपर्छ। मैले गत साल एसईईमा ४८ प्रतिशत मात्र उत्तीर्ण भएर ठूलो संख्याले अगाडि बढ्ने मौका नपाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीजीले ‘झापा–२ मा विशेष ढंगले तपाईँले अनलाइन कक्षामा जोडाइदिनुस् र त्यो जोडाएको खण्डमा मैले राम्रा शिक्षकबाट कक्षाको प्रबन्ध गर्छु’ भनेपछि एमविशन गुरुअन्तर्गत १५ विद्यार्थीले कक्षा लिए। परिणामस्वरुप यसपटकको नतिजा धेरै राम्रो भयो। नेपाल राष्ट्रिय शिक्षक संगठनले एक महिनाको कार्यक्रम बनाएर अगाडि बढाएको छ यसलाई प्रभावकारी बनाउन त्यसको योजनाहरू बनाउनुस्। आजभोलि दुरदराजमा पनि अनलाइन सम्पर्कको माध्यम छ। यो प्रविधिलाई प्रयोग गर्नका लागि गरिबहरुको पनि हातहातमा सम्पर्क हुने गरी मोबाइल फोन छन्। स्थानीय सरकारहरु सहयोगी छन्। यसलाई उपयोग गरौं। संगठनले सुरु गरेको अभियानमा सबै जुट्न सक्नुहोस्। यो अभियानले राष्ट्र निर्माणमा दक्ष विद्यार्थी उत्पादन गर्ने काममा सफलता हासिल गर्न सक्छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा सबै पेसागत हकहितका लागि शिक्षालाई गुणस्तरीय, व्यवहारिक र प्रभावकारी बनाउने, सर्वशुलभ बनाउने हेतुका साथ शिक्षकहरु आन्दोलनमा लागिसकेपछि शिक्षकहरु आन्दोलनबाट फर्किनु भएको छ। विद्यालय शिक्षा विधेयकमाथि बहस र छलफल चलिरहेको छ। हाम्रा मान्यजीहरु शिक्षकहरुको मागलाई कति सकिन्छ समेट्ने, छिटोभन्दा छिटो विधेयकलाई कानुनको रुप दिएर २०२८ सालपछिको शिक्षा ऐन ल्याउन लागिरहनुभएको छ। नेपाल शिक्षक महासंघ, शिक्षक संगठनलगायत सम्पूर्ण विधेयक ल्याउन लाग्नुहुनेछ।