
काठमाडौँ- साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार ६:४५ मा बसुन्धरा किंग्स एरिनामा सुरु हुनेछ।
साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। २०२३ मा नेपाल र बंगलादेशले यो फर्म्याटको प्रतियोगितामा खेलेका थिए। जसमा लिग चरणको खेलमा नेपाल ३-१ ले पराजित भएको थियो। फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० को हार बेहोर्दै घर फर्किएको थियो।
सिनियर टिमका खेलाडीले भरिपूर्ण रहेको हालको यू २० बंगलादेशी टिम प्रतिस्पर्धाको बलियो टिमको रुपमा हेरिएको छ ।
बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ ले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हरायो। नेपालका लागि पहिलो खेलमा पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरेकी थिइन्। त्यस्तै सेनु परियारले २ गोल गरिन्।
डबल राउन्ड रोबिनमा भएको जारी प्रतियोगितामा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले नै उपाधि जित्नेछ।