एयर इन्डिया विमान दुर्घटना : इन्धन नियन्त्रण प्रणालीमा देखियो मुख्य समस्या

हिमाल प्रेस २८ असार २०८२ १८:३१
40
SHARES
एयर इन्डिया विमान दुर्घटना : इन्धन नियन्त्रण प्रणालीमा देखियो मुख्य समस्या फाइल तस्बिर : एपी/रासस

काठमाडौ- एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक भएको छ। भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले जारी गरेको प्रतिवेदनले दुर्घटनाका प्रमुख कारणबारे प्रारम्भिक तथ्यहरू प्रस्तुत गरेको छ।

प्रतिवेदनअनुसार विमानले उडान भरेलगत्तै दुवै इन्जिनका ‘फ्यूल कन्ट्रोल स्विचहरू’ ‘कट–अफ पोजिसन’ मा सरेका थिए। ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्का पाइलटसँग ‘कट–अफ किन गर्नुभयो?’ भनेर सोधेको सुनिन्छ। जवाफमा दोस्रो पाइलटले आफूले त्यो नगरेको बताउँछन्।

प्रतिवेदनमा कुन स्वर कुन पाइलटको हो भन्ने खुलाइएको छैन। उडानका बेला को–पाइलटले विमान उडाइरहेका थिए भने कप्तान निरीक्षणमा थिए।

दुर्घटनामा विमानभित्र र भुइँमा गरी २६० जनाको ज्यान गएको थियो। दुर्घटनामा विमानमा सवार एक जना यात्रुमात्र बाच्न सफल भएका थिए।

टेकअफपछि के भयो?

१५ पृष्ठको लामो प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको विवरणअनुसार, विमानले दिउँसो १ बजेर ३८ मिनेट ४२ सेकेन्डमा अधिकतमा १८० नट्सको एयर स्पिड प्राप्त गर्‍यो। तयसको केही सेकेन्डमै इन्जिन १ र इन्जिन २ का फ्यूल कट–अफ स्विचहरू एक–एक सेकेन्डको अन्तरमा रनबाट कट–अफ पोजिसनमा सरे।

झन्डै १० सेकेन्डपछि ती स्वीचहरू पुनः ‘रन’ पोजिसनमा फर्काइएका थिए, जसको अर्थ पाइलटहरू जहाजलाई नियन्त्रणमा फर्काउने प्रयास गरेका थिए। १ : ३९ : ०५ बजे पाइलटले ‘मेडे, मेडे, मेडे’ भन्दा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग आपतकालीन सम्पर्क गरेका थिए। तर, जवाफ आउनुअघि नै विमान भुइँमा ठोक्किएको थियो।

इन्जिनहरू बन्द भएपछि इमर्जेन्सी पावरका लागि ‘राम एयर टर्बाइन (आरएटी)’ नामका सानो प्रोपेलर सक्रिय भएको देखिएको प्रतिवेदनमा भनिएको छ।

विमानस्थलको सीसीटीभी फुटेजअनुसार, विमानले भुइँ छोडेको केही सेकेन्डमै ‘आरएटी’ सक्रिय भएको थियो। उडानमार्ग वरपर चरा गतिविधि नभएको पुष्टि गरिएको छ। रनवेको सीमा पार नगर्दै विमानले उचाइ गुमाउन थालेको देखिएको छ।

पाइलट र क्रू ‘उडानका लागि योग्य’

अनुसन्धान प्रतिवेदनअनुसार पाइलट र चालक दलसका सबै सदस्यहरू ‘ब्रिथ एनालाइजर टेस्ट’ गरिएको थियो र र उनीहरूलाई उडानका लागि योग्य ठहर गरिएको थियो। दुवै पाइलट मुम्बईका थिए र उडानको अघिल्लो दिन अहमदाबादमा विश्राम गरेका थिए।

इन्धनमा थिएन खराबी

विमानमा भरिएको इन्धनको नमूनाहरू ‘सन्तोषजनक’ भेटिएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि एपीयू फिल्टर र बायाँ पखेटाको रिफ्यूल भल्भबाट संकलित इन्धनको थप परीक्षण गरिनेछ।

एयर इन्डियाको प्रतिक्रिया

एयर इन्डियाले विज्ञप्ति जारी गर्दै दुर्घटनाबाट प्रभावित परिवारहरूसँग सहानुभूति प्रकट गरेको छ र अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ। प्रतिवेदनमा उल्लिखित विषयहरूमा कम्पनीले कुनै टिप्पणी गरेको छैन।

बोइङ वा इन्जिनसम्बन्धी चेतावनी छैन

हालसम्म बोइङ ७८७ ड्रीमलाइनर वा यसमा प्रयोग भएको इन्जिनसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन। प्रारम्भिक प्रतिवेदनमा प्राविधिक गडबडी, सफ्टवेयर त्रुटि वा मानवीय भूलमध्ये दुर्घटनाको प्रमुख कारण के हो भन्नेबारे प्रष्ट पारिएको छैन। अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष आउने अझै केही समय लाग्ने बताइएको छ।

प्रकाशित: २८ असार २०८२ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast