दलाई लामाको उत्तराधिकारी चयनमा चीन, भारत र अमेरिकाबीच शक्ति संघर्ष!

हिमाल प्रेस २० असार २०८२ १२:४८
28
SHARES
दलाई लामाको उत्तराधिकारी चयनमा चीन, भारत र अमेरिकाबीच शक्ति संघर्ष! दलाई लामा

तिब्बती बौद्ध धर्मावलम्बीहरूको आध्यात्मिक गुरु दलाई लामाको उत्तराधिकारी चयन उनका करोडौँ अनुयायीका लागि मात्र होइन, रणनीतिक कारणले चीन, भारत र संयुक्त राज्य अमेरिकाका लागि पनि अत्यन्त चासोको विषय हो।

आइतबार ९० वर्ष पुग्न लागेका नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा संसारका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूमध्ये एक मानिन्छन्। उनको प्रभाव बौद्ध धर्मभन्दा परसम्म फैलिएको छ।

तिब्बती परम्पराअनुसार एक वरिष्ठ बौद्ध भिक्षुको आत्मा उनको मृत्युपछि पुनर्जन्म लिन्छ। दलाई लामाको पुनर्जन्म राष्ट्रिय कानुनअनुसार हुनुपर्ने दाबी चीन सरकारको छ।

धेरै तिब्बतीहरू चिनियाँ भूमिकाप्रति शंका व्यक्त गर्छन् र चयन प्रक्रियामा चीनको सहभागितामा विश्वास राख्दैनन्। दलाई लामाले चिनियाँ कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्ने भएकाले कुनै पनि लामाको पुनर्जन्म प्रणालीमा उनीहरूले हस्तक्षेप गर्नु उपयुक्त नरहेको बताएका छन्।

दलाई लामाले आफ्नो पुस्तकमा तिब्बतीहरूलाई आग्रह गर्दै लेखेका छन्, ‘चिनियाँ जनवादी गणराज्यसमेत कुनै पनि पार्टीले राजनीतिक उद्देश्यले चयन गरेको उम्मेदवारलाई स्वीकार नगरियोस्।’

बेइजिङले १९८९ मा नोबेल शान्ति पुरस्कार विजेता दलाई लामालाई ‘विभाजनकारी’ का रूपमा चिनाएको छ। चीनमा उनको तस्बिर र प्रदर्शन वा सार्वजनिक रूपमा उनको प्रशंसा गर्न निषेध छ। सन् १९९५ मा बेइजिङले ग्याल्ट्सेन नोर्बुलाई ११औँ पन्चेन लामाका रूपमा नियुक्त गरेको थियो। उनी तिब्बती बौद्ध धर्ममा दोस्रो उच्चतम व्यक्तित्व हुन्। यसअघि दलाई लामाले आफ्नो रोजाइका रूपमा छ वर्षका बालकलाई उत्तराधिकारी घोषणा गरेका थिए, तर त्यो बालकलाई अधिकारीहरूले लगेर गायब गराइयो।

भारतमा करिब १ लाख भन्दा बढी तिब्बती बौद्ध धर्मावलम्बी बसोबास गर्छन्, जो त्यहाँ स्वतन्त्र रूपमा अध्ययन र काम गर्न पाउँछन्। धेरै भारतीयहरू दलाई लामालाई सम्मान गर्छन्। अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञहरू भारतमा लामाको उपस्थितिले नयाँदिल्लीलाई प्रतिस्पर्धी चीनसँग केही कूटनीतिक बल प्रदान गरेको बताउँछन्।

संयुक्त राज्य अमेरिका जसले विश्वव्यापी प्रभुत्वका लागि चीनसँग बढ्दो प्रतिस्पर्धा भोगिरहेको छ, बारम्बार तिब्बतीहरूको मानवअधिकार प्रवर्द्धनमा प्रतिबद्ध रहेको जनाउँदै आएको छ। अमेरिकी सांसदहरूले चीनलाई दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियामा प्रभाव पार्न नदिने बताउँदै आएका छन्।

१४औँ दलाई लामा सन् १९३५ जुलाई ६ मा चीनको सुदूर उत्तरपश्चिममा पर्ने हालको छिङहाई प्रान्तको एक किसान परिवारमा ल्हामो धोन्दुपका रूपमा जन्मिएका हुन्। उनलाई तिब्बती सरकारद्वारा पठाइएको खोज टोलीले दुई वर्षको उमेरमै पुनर्जन्मका रूपमा पहिचान गरेको थियो।

दलाई लामाको आधिकारिक वेबसाइटअनुसार खोजकर्ताहरूले एक वरिष्ठ भिक्षुले देखेको विभिन्न संकेतका आधारमा निर्णय गरेका थिए। जब सानो बालकले १३औँ दलाई लामाका केही सामान देखाउँदै ‘यो मेरो हो, यो मेरो हो’ भने तब खोज टोली पूर्ण रूपमा विश्वस्त भयो।

सन् १९४० को फेब्रुअरीमा ल्हामो धोन्दुपलाई ल्हासास्थित पोताला दरबारमा आयोजित विशेष समारोहमार्फत तिब्बतीहरूको आध्यात्मिक नेताका रूपमा औपचारिक रूपमा पदस्थापन गरिएको थियो। हाल ल्हासा तिब्बत स्वायत्त क्षेत्रको राजधानी हो।

सन् १९५९ मा माओको कम्युनिस्ट शासनविरुद्धको असफल विद्रोहपछि दलाई लामा उत्तरी भारतमा निर्वासनमा बस्दै आएका छन्।

मार्च २०२५ मा प्रकाशित उनको पुस्तक ‘भ्वाइस फर द भ्वाइसलेस’ मा दलाई लामाले आफ्नो उत्तराधिकारी चीनबाहिर जन्मिने उल्लेख गरेका छन्। उनले आफ्नो ९०औँ जन्मदिनको आसपास उत्तराधिकारसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने पनि लेखेका थिए।
सोही क्रममा बुधबार उनले लामो समयदेखि चलिरहेको अनिश्चय अन्त्य गर्दै घोषणा गरे, ‘सयौँ वर्ष पुरानो दलाई लामाको संस्था कायम रहनेछ र पुनर्जन्मको पहिचान गर्ने एकमात्र अधिकार गदेन फोद्राङ ट्रस्ट सँग हुनेछ।’

गदेन फोद्राङ ट्रस्ट दलाई लामाद्वारा स्थापित एक गैरनाफामूलक संस्था हो, जसले उनको आध्यात्मिक र मानवतावादी कार्यलाई समर्थन गर्छ। यसै साता उत्तरी भारतको धर्मशालामा आयोजित एक भेलामा सम्बोधन गर्दै दलाई लामाले भनेका छन्, ‘दलाई लामाको संस्थालाई निरन्तरता दिने विषयमा एउटा ढाँचा अवश्य बन्नेछ।’

सन् २०११ मा दिएको एक भाषणमा दलाई लामाले अत्यन्तै प्रबुद्ध बौद्ध धर्मगुरुहरूले ‘मृत्युअघि नै आफ्नो एक रूप प्रकट गर्न सक्ने’ उल्लेख गरेका थिए। केही विज्ञहरूले यसलाई उनले आफ्नो जीवनकालमै उत्तराधिकारी तयार गर्ने सम्भावनाको संकेतका रूपमा व्याख्या गरेका थिए तर तिब्बती अधिकारीहरूले त्यस्तो सम्भावना न्यून रहेको बताएका छन्।

‘उहाँले भन्नुभएको छ कि यो संस्था निरन्तर रहनेछ, जसको अर्थ उहाँको पुनर्जन्म अवश्य हुनेछ’, तिब्बती निर्वासित संसद्की उपसभामुख डोल्मा छेरिङ तेइखाङले भनिन्, ‘हाम्रो दलाई लामाले पुनर्जन्म लिनेछन् र यो संस्था निरन्तर अघि बढ्नेछ।’

धर्मशालामा आधारित निर्वासित तिब्बती संसद्ले निर्वासित सरकारले आफ्नो काम निरन्तर गर्नसक्ने व्यवस्था गरिसकिएको जनाएको छ।

हालका दलाई लामाले सन् २०११ मा उक्त ट्रस्ट स्थापना गरेका हुन्। यो गैरनाफामूलक संस्था धर्मशालामा दर्ता गरिएको हो। यसका सदस्यहरूमा दलाई लामा स्वयं, सैमधोंग रिन्पोचे र दलाई लामाको कार्यालयमा कार्यरत सहयोगीहरू समावेश छन्।

चीनले भने दलाई लामाको उत्तराधिकारी अनुमोदन गर्ने अधिकार चिनियाँ नेताहरूको हुने दाबी गर्दै आएको छ। चीनका अनुसार सम्भावित पुनर्जन्मको नाम सुनको भाँडोबाट निकाल्ने परम्परागत प्रक्रिया सन् १७९३ मा चिङ राजवंशको समयमा सुरु भएको हो।

दलाई लामाको घोषणा सार्वजनिक भएको केही घण्टापछि बुधबार चिनियाँ परराष्ट्र मन्त्रालयले पुनर्जन्मको प्रक्रिया चीनको अनुमोदनबिना मान्य नहुने स्प्षट पारेको छ।

मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा दलाई लामाको उत्तराधिकार चीनका कानुन तथा नियमहरू साथै धार्मिक रीतिरिवाज र ऐतिहासिक परम्परासँग मेल खानुपर्ने बताइन्। रोयटर्सबाट

प्रकाशित: २० असार २०८२ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast