
काठमाडौँ- ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई आगामी असार २२ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।
प्रारम्भमा रु १ अर्ब २० करोड कोष आकार रहने यस योजनामा २५ प्रतिशतसम्मको ग्रीनसुओ अप्सन सहित अधिकतम रु १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ।
योजना म्युचुअल फन्ड नियमावली २०६७ अनुसार पूर्ण रूपमा सञ्चालन गरिने बताइएको छ। यसले पारदर्शिता, लगानीकर्ता संरक्षण र व्यावसायिक कोष व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्य राखेको छ। ‘समुन्नत योजना २’ बन्दमुखी प्रकारको म्युचुअल फन्ड हो। यसको अवधि १० वर्ष रहनेछ।
योजनामा प्रति इकाई मूल्य रु १० निर्धारण गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम योजनाको १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरिने छ।
ग्लोबल आइएमई क्यापिटलले यस योजनाबाट लगानीकर्तालाई दीर्घकालीन लाभ दिने लक्ष्य लिएको छ। कोषको लगानी संरचनाअनुसार ७० देखि ९० प्रतिशतसम्म रकम उच्च जोखिमयुक्त इक्विटी तथा इक्विटी सम्बन्धी साधनहरूमा, ० देखि १० प्रतिशतसम्म निश्चित आम्दानीका साधन (जस्तै ऋणपत्र), फिक्स्ड डिपोजिट र नगद/आईपीओ/अन्य म्युचुअल फन्डमा लगानी गरिनेछ।
क्यापिटलले यो योजनाबाट वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत पुग्ने अनुमान गरेको छ। १० वर्षको अवधिमा यो योजनाबाट कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त हुने प्रक्षेपण गरिएको छ। योजनाको आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहनेछ। पहिलो ९ वर्षमा ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने कम्पनीको दाबी छ।