समृद्धिको बिउ सिमल तरुल : देशभित्रै अर्बौँको सम्भावना

बद्रीप्रकाश ओझा १९ असार २०८२ २१:४३
22
SHARES
समृद्धिको बिउ सिमल तरुल : देशभित्रै अर्बौँको सम्भावना

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सरकारले बायोइथानोलको कुरा उठाएको छ। यो एक किसिमको जैविक रूपमा उत्पादन हुने पेट्रोलियम पदार्थ हो, जो खानेकुराबाट बन्छ। यसलाई सवारीसाधन चलाउन तथा अन्य ऊर्जा उत्पादनमा प्रयोग गर्न सकिन्छ। उखु, मकै, आलु, सखरखण्ड, तरुल, सिमल तरुल आदिबाट सजिलै बनाउन सकिन्छ बायोइथानोल।

नेपालमा सजिलै उत्पादन हुने र सिँचाइ नभएको बाँझो जमिनमा उत्पादन हुने वस्तु हो, सिमल तरुल अथवा कसाभा। यसबाट पनि बायोइथानोल उत्पादन हुन्छ। यो कन्दमूल सामान्यतया समुद्री सतहदेखि १५ सय मिटर उचाइसम्म फल्छ। सिमसारमा भने यसको उत्पादन सम्भव छैन। अन्य देशमा मकै नफल्ने, सिँचाइ पुग्न नसकेको, बलौटे माटो भएको, नदीकिनारको जमिनमा यसको उत्पादन गरिन्छ।

माटोको पीएच मापन पनि ३.५ देखि ८.५ सम्म यो कन्दमूल उत्पादन गर्न सकिन्छ। सामान्यता यस्तो माटोमा कृषि उत्पादनको आशा कमै गरिन्छ। त्यसैले कसाभालाई गरिबको अन्नका रूपमा पनि चिनिन्छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अध्ययनअनुसार नेपालको तराई क्षेत्रमा १४ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध छैन। उक्त क्षेत्रमा मात्र सिमल तरुलखेती गरेमा निकै आयआर्जन गर्न सकिन्छ।

नेपालका सन्दर्भमा पुरानो बिउ रोप्दा कम्तीमा पनि प्रतिहेक्टर १० देखि १५ टन उत्पादन गर्न सकिन्छ। मध्यमस्तरको बिउ तथा कृषि उपकरणको उपयोग गर्न सके २० देखि ३० टन र उच्च गुणस्तरीय बिउ, मल तथा उपकरणको प्रयोग गरेमा ४० टनसम्म उत्पादन गर्न सकिन्छ।

अमेरिकालगायतका मुलुकमा त एक हेक्टरमा ८० टनसम्म फलेको उदाहरण छ।

चालीस मेट्रिक टन प्रतिहेक्टरका दरले उत्पादन गर्ने हो भने १४ लाख हेक्टर जमिनमा पाँच करोड ६० लाख मेट्रिक टन ताजा कसाभा उत्पादन हुन्छ। एक टनबाट एक सय ६० लिटरदेखि एक सय ९० लिटर बायोइथानोल उत्पादन गर्न सकिन्छ।

ल एक सय ६० लिटरकै हिसाब गरौँ।

७० लाख टन बायोइथानोल उत्पादन हुन्छ। जुलाई १, २०२५ को विश्व बजारको तथ्यांकअनुसार बायोइथानोलको मूल्य प्रतिटन १७ सय डलर छ। यसैअनुसार हिसाब गर्दा पनि ७० लाख टनको मूल्य करिब १२ अर्ब डलर पुग्छ। एक सय ३६ ले गुणन गर्दा हुन्छ– १६ खर्ब अर्थात् वर्षभरिको बजेट जति।

यो अलि बढी नै भयो। यत्रो हिसाब देखाउँदा मानिस आश्चर्यमा पर्लान्।

माथिबाट हिसाब फरक पारौँ है त!

प्रतिहेक्टर १० टन मात्र फल्यो रे। त्यो गर्दा पनि त एक करोड ४० लाख टन त फल्छ। प्रतिटन मात्र सय लिटर बायोइथानोल निस्कियो रे। त्यसो गर्दा पनि त एक अर्ब ४० करोड लिटर त भयो। नेपालको उत्पादन सस्तोमा लिने भनेर लिटरको एक डलरमै मात्र किने पनि त एक अर्ब ४० करोड डलर त भयो नि होइन? त्यो भनेको अहिलेको सटही मूल्यमा वर्षको दुई खर्ब हो। कसाभाबाट मात्रै वर्षमा दुई देखि १६ खर्ब कमाइ हुने भयो।

वर्षमा अर्ब लिटर बायोइथानोल उत्पादन गर्ने उद्योग स्थापनाका लागि सात करोडदेखि १५ करोड डलर लाग्छ। त्यो पनि एक पटकका लागि लगानी हो। यसमा जम्मा कमाइको ५० प्रतिशत हिस्सा किसानकहाँ पुग्ने हो भने वर्षमा एक देखि आठ खर्ब पुग्छ।

अरू एक देखि आठ खर्ब मौजदात रह्यो। त्यसमा बजार व्यवस्थापन र प्रशासनिक खर्च ६० प्रतिशत राख्ने हो भने पनि वर्षमा ४० अर्बदेखि दुई खर्बसम्म कमाइ हुन्छ। यसबाहेक उद्योगबाट स्टार्च निकाल्दा सय केजी सुख्खा वस्तु पनि बाँकी रहन्छ। यसलाई पशुदानामा मकैको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। त्यस्तै प्रतिटन ९० केजी कार्बनडाइअक्साइड ग्यास निस्कन्छ। यसलाई औद्योगिक प्रयोजनमा उपयोग गर्न सकिन्छ।

सिमल तरुल उसिनेर खाने प्रचलन पनि छ। यसबाट अन्य ५० किसिमका खानेकुरा बन्छन्। साबुदाना एउटा मुख्य खाद्यवस्तु हो। छिटपुट रूपमा मदिरा पनि बनाइन्छ सिमल तरुलको।

यसैगरी सिमल तरुलबाट बायोप्लास्टिक, कपडा, गमलगायतका टाँसिने वस्तु, औषधि र शृंगारका सामग्री पनि उत्पादन गर्न सकिने अध्ययनहरूले देखाएका छन्।

सिमल तरुलमा साइनोजेनिक ग्लाइकोसाइड नामक विषाक्त पदार्थ पाइन्छ। यसैले सिमल तरुलको बिरुवा वरिपरि खेती लगाउँदा विषको प्रयोग गर्नु पर्दैन। यसैले विषको काम गर्छ र जैविक खेती प्रवर्धनमा सहयोग पुग्छ। सिमल तरुल राम्ररी पाकेपछि मात्र उक्त विषाक्त वस्तु नष्ट हुन्छ। काँचो खाएमा मानिस मर्न पनि सक्छ।

लु है, सेयर बजारका साथीहरू! वैदेशिक रोजगारीमा लागेका साथीहरू! देशका गण्यमान्य साहुमहाजनहरू! लगानीकर्ताहरू! डाक्टर–इन्जिनियर साहेबहरू! राजस्व, कूटनीतिक, स्वास्थ्य, वन आदि सेवाका कर्मचारीहरू! बोर्डिङ स्कुल, निजी अस्पतालका सञ्चालकहरू! हुन्डी कारोबारीहरू! क्रसर उद्योगीहरू! जग्गा कारोबारीहरू! थोरै कमाएर केही जोहो गरेका सबै पेसाकर्मी तथा सर्वसाधारण जनताहरू! सबै मिलेर बायोइथानोल उद्योग स्थापना गरौँ। समृद्धि हाम्रै पालामा सम्भव छ।

(ओझा नेपाली किसानको बुझ्ने क्षमता विषयमा पोस्टडक्टरल अनुसन्धानमा तल्लीन छन्।)

प्रतिक्रियाका लागि : [email protected]

प्रकाशित: १९ असार २०८२ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast