रविको पक्षमा बाबुरामको हस्ताक्षर, नयाँ शक्तिमा चुलियो मतभेद

रमेश दवाडी १७ असार २०८२ १६:०२
374
SHARES
रविको पक्षमा बाबुरामको हस्ताक्षर, नयाँ शक्तिमा चुलियो मतभेद

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले गत शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका पक्षमा हस्ताक्षर गरेपछि पार्टीभित्र मतभेद चुलिएको छ। सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाले देशव्यापी रूपमा चलाएको ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर’ हस्ताक्षर अभियानमा डा.भट्टराई सहभागी भएपछि पार्टीमा विवाद देखिएको हो।

डा.भट्टराई लामिछानेको पक्षमा छन्। उनले गत मंसिरमा लामिछानेलाई पाेखरा हिरासतमै भेटेका थिए। त्यही बेला उनले रविलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधिका रूपमा चिनाउँदै नेपाली कांग्रेस, नेकपा एमालेबाट प्रतिशोधपूर्ण व्यवहार भइरहेको बताएका थिए।

उनले भनेका थिए,‘हामीले नयाँ शक्ति घोषणा गरेपछि विभिन्न राजनीतिक शक्तिहरूको उदय भइरहेको छ। त्यसैमध्ये एक सशक्त धारका प्रतिनिधिका रूपमा रविजीलाई बुझ्छु। उहाँप्रति मेरो सधैँ सद्भाव छ। उहाँलाई एकपछि अर्को दुःख दिइएको छ, त्यो अस्वाभाविक र अन्यायपूर्ण हो।’

भट्टराईको यही धारणा पछिल्लो हस्ताक्षरमार्फत सार्वजनिक रूपमै देखिएको छ। तर पार्टीभित्र भने यो कदमप्रति असहमति बढिरहेको छ।

नयाँ शक्तिका नेता डा. जनक शाह सुशासनको एजेन्डा उठाउने पार्टीले यस्ता घटनाहरूलाई राजनीतिक प्रतिशोधका रूपमा मात्रै हेर्न नहुने बताउँछन्। अदालतमा प्रक्रिया अगाडि बढिरहेको बेला हस्ताक्षर नगरेको भए राम्रो हुन्थ्यो भन्ने आफ्नो धारणा रहेको बताए।

पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग प्रमुख र केन्द्रीय लेखा आयोगका अध्यक्षसमेत रहेका शाह भन्छन्, ‘अदालतमा यो प्रकिया अगाडि बढिरहेको हुँदा हस्ताक्षर नगरेको भए हुन्थ्यो। यस्ता संवेदनशील विषयमा आगामी दिनमा कसरी बढ्ने वा निर्णय लिने भन्नेमा पार्टीमा छलफलको विषय बन्छ। हरेक मुद्दामा राजनीतिक प्रतिशोध मात्र भनेर सुशासनको एजेन्डालाई गौण मान्न हुँदैन।’

केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले राज्यले रविको मुद्दामा पूर्वाग्रही व्यवहार देखाएको तर्क गरे। ‘पुराना दलहरूले नयाँ र वैकल्पिक शक्तिलाई निषेध गर्न खोजेकै हुन्। रविकोजस्तो मुद्दा खेपेकाहरूलाई छुट दिइएको देखिन्छ,पक्राउ गरिएको छैन। तर रविलाई पटकटक थुनिएको छ,’ उनी भन्छन्।

उनका अनुसार डा.भट्टराईको हस्ताक्षरको विषय पार्टी बैठकमा उठ्नसक्छ र छलफल स्वाभाविक छ। ‘डा.भट्टराईले रवि लामिछानेको पक्षमा गर्नुभएको हस्ताक्षरको विषय पार्टी बैठकमा उठ्नसक्छ। लोकतान्त्रिक पार्टीमा छलफल पनि हुनुपर्छ। हाम्रो अध्यक्षले पनि प्रस्ट पार्नुभएको छ, ‘रवि लामिछाने चौथो ठूलो दलको सभापति र संसदीय दलको नेता हो। त्यो हिसाबले बाहिर नै बसेर मुद्दा लड्ने सुविधा दिनुपर्थ्र्यो। दिन सकिन्थ्यो। उहाँ भाग्ने मान्छे होइन। थुनिहाल्नुपर्छ भन्ने होइन भन्ने कोणबाट हस्ताक्षर गरिएको हो।’

नेसपा नयाँ शक्तिका महासचिव सोनामसिं स्याङ्तान पनि हस्ताक्षरप्रति सन्तुष्ट देखिएनन्। उनले भने,‘पार्टीको अध्यक्षले हस्ताक्षर गरेपछि संस्थागत नै हुने भयो। त्यसबारे पार्टीमा छलफल भएको छैन। राज्यले रवि लामिछानेमाथि गरेको व्यवहार पुर्वाग्राही छ भन्ने देखिन्छ। तर त्यसो भन्दैमा रवि लामिछाने पूरै ठिक हुनुहुन्छ, रवि पीडित नै हो उहाँको पक्षमा लाग्नुपर्छ भन्ने बेला पनि भएको छैन। अदालतको फैसलालाई हामीले सम्मान गर्नुपर्छ। राज्यले सबैलाई समान व्यवहार गरोस् भन्ने पार्टीको धारणा हो।’

नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्मा पार्टीले रविको पक्षमा हस्ताक्षर गर्ने निर्णय नगरेको बताउँछन्। नयाँ र वैकल्पिक शक्ति एकअर्कालाई परेको समस्यामा साथ दिने नीतिअनुसार अहिले रास्वपालाई परेको समस्यामा नयाँ शक्तिले साथ दिएको उनले बताए। उनी भन्छन्, ‘वैकल्पिक राजनीतिक शक्तिको एकता र सहकार्यलाई अगाडि बढाउने सन्दर्भमा रास्वपाले भोगिरहेको समस्यामा हामीले साथ दिने र त्यस्तै अवस्थामा उहाँहरूले पनि हामीलाई साथ दिने भन्ने बुझाइ हो। यो एजेन्डा साझा भएको पार्टीको निर्णय नै हो।’

सहकारी प्रकरणमा राज्यले लामिछानेमाथि पूर्वाग्रही व्यवहार गरेको उनको भनाइ छ। उनले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै एउटै प्रकृतिको मुद्दामा फरकफरक व्यवहार गर्नु राज्यको प्रतिशोधपूर्ण चरित्र भएको तर्क गरे।

प्रवक्ता शर्माले हिमालप्रेससँग भने,‘केही ठगहरूले सहकारीको रकम अपचलन गरेर भ्रष्टाचार गरेका छन्। त्यसविरुद्ध नेसपा नयाँ शक्तिले आवाज उठाउँदै आएको छ। म स्वयं वकिल भएको नाताले अदालतमा सहकारी पीडितको पक्षबाट बहस पनि गरिरहेको छु। कुनै पनि व्यक्तिलाई आरोप लाग्दा कानुनबमोजिम छानबिन होस्, दोषी ठहरिए कारबाही होस् भन्ने हाम्रो स्पष्ट धारणा हो। तर एउटै मुद्दामा कसैलाई बारम्बार थुन्नु र अर्कोलाई सजिलै छाड्नु राज्यले प्रतिशोध साधेको संकेत हो।’

नेसपा नयाँ शक्तिका केन्द्रीयस्तरका एक नेताले अध्यक्ष डा.भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दा पार्टीभित्र आवश्यक प्रक्रिया र नैतिक पक्षलाई बेवास्ता गरिएको टिप्पणी गरे। उनले हस्ताक्षरलाई वैकल्पिक शक्तिको मूल्य, सोच र शैलीसँग जोडिएको गम्भीर प्रश्नका रूपमा उठाए। ती नेताले भने, ‘हामी वैकल्पिक शक्ति हो भन्ने दाबी गर्छौं भने हाम्रो सोच, व्यवहार, शैली र विधि अरूभन्दा भिन्न हुनुपर्छ। पार्टीभित्र निर्णय कसरी लिने भन्ने प्रक्रियामै वैकल्पिकपन देखिनुपर्छ।’

उनका अनुसार वैकल्पिक नेताले वैकल्पिक चरित्र प्रस्तुत गर्नुपर्छ, त्यसैले यस्ता निर्णयहरू संस्थागत ढंगले लिनु आवश्यक छ। ‘डा.भट्टराईले के सोचेर हस्ताक्षर गर्नुभयो त्यो उहाँको कुरा होला। तर यो निर्णय पार्टीमा छलफलबिना भएको हो। अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन। पार्टीभित्र आगामी बैठकमा यसबारे छलफल होला। उहाँ केवल अध्यक्ष मात्र होइन, कार्यकारी प्रमुख पनि हो देशको। उहाँ पार्टीभन्दामाथि झैँ देखिनुहुन्छ। त्यसैले उहाँको प्रत्येक निर्णयमा विचार, विधि र सुशासनको मर्म प्रतिबिम्बित हुनुपर्छ,’ ती नेताले भने।

उनका अनुसार यस विषयलाई मनोविज्ञान या भावनाको चस्माबाट होइन सुशासनको दृष्टिकोणबाट हेर्नुपर्छ। ‘रवि लामिछानेप्रति अन्याय भएको छ कि छैन भन्ने अदालतले देखाउनेछ। तर यति संवेदनशील विषयमा संस्थागत निर्णयबिना हस्ताक्षर गर्नु उचित थिएन।’

नेसपा नयाँ शक्तिका उपाध्यक्ष ईश्वर रिजालले पार्टी अध्यक्ष डा. भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा गरेको हस्ताक्षर पार्टीमा छलफलबिनै भएको भन्दै असन्तुष्टि जनाए। उनी यस्ता संवेदनशील विषयहरूमा पार्टी बैठकबाट निर्णय लिनुपर्ने बताउँछन्। ‘जे गरे पनि पार्टीमा छलफल गर्न पाए हुन्थ्यो भन्ने पक्षमा छु म,’ रिजालले भने, ‘उहाँ कुन अवस्थामा गएर हस्ताक्षर गर्नुभयो, त्यो थाहा भएन। यस्ता विषयमा पार्टीको बैठकले टुंगो लगाउनुपर्छ।’

रिजालले सल्लाह र समन्वयको अभाव भएको गुनासो पनि गरे। ‘पार्टीभित्र छलफल भएको भए, सल्लाह भएको भए, निर्णय प्रक्रिया फरक हुन्थ्यो होला। तर यो कदम एकल देखिन्छ,’ उनले भने। उनका अनुसार यस्तो निर्णयले पार्टीभित्रै प्रक्रियागत अनुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्रको मूल्यबोधलाई असर पार्न सक्छ। ‘पार्टी भनेको विधि, प्रक्रिया र सल्लाहको संस्थागत संयन्त्र हो। अध्यक्षले यस्तो विषयमा एक्लै अघि नबढ्नुपर्थ्यो,’ उनले भने।

प्रकाशित: १७ असार २०८२ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast