नेपाली राजनीतिको समकालीन नेताहरूमा स्ट्रोङ र एक्टिभ नेता को हो? यसको जवाफमा धेरै अलमल गर्नै पर्दैन। पक्ष, प्रतिपक्ष, विपक्ष सबैको एउटै जवाफ हुन्छ- केपी शर्मा ओली। समयको भङ्गालोले समकालीन नेताहरूमध्ये केपी शर्मा ओलीलाई यस्तो ठाउँमा पुर्याइदियो जहाँ अन्य नेताहरूले भेट्टाउनै नसक्ने अवस्था बन्यो।
कोही गाली गरेर नाम लिन्छन् – केपी शर्मा ओली। कोही आलोचना गर्दै भन्छन् – केपी शर्मा ओली। कोही माया गरेर नाम लिन्छन् – केपी शर्मा ओली। उखानटुक्काको कुरा गरे पनि केपी शर्मा ओली, राष्ट्र निर्माणको कुरा गरे पनि केपी शर्मा ओली, राष्ट्रिय अडानको कुरा आउँदा पनि केपी शर्मा ओली, विकास र समृद्धिको नारा लाउँदा पनि केपी शर्मा ओली।
घरघरमा ग्यास भन्छन् – केपी शर्मा ओली, रेलमार्गको कुरा आउँदा केपी शर्मा ओली। चुच्चे नक्सा देखाउँदै भन्छन् – केपी शर्मा ओली। टिकटकमा केपी शर्मा ओली – युटुबमा केपी शर्मा ओली। पक्षको सभामा केपी शर्मा ओली, विपक्षको आमसभामा पनि केपी शर्मा ओली।
पोजेटिभ या नेगेटिभ, यो ओली क्रेज उसै बनेको त पक्कै हैन। केही त छ केपी शर्मा ओलीमा कसैले प्रशंसा गर्छन्, कसैले आलोचना गर्छन्। आलोचना पनि कस्तो- भएको काम ठिक हुने, ओलीले भनेको÷गरेकोले चाहिँ ठिक नहुने।
ओलीमा के छ?
धेरैले प्रशंसा गर्छन्, केहीले आलोचना गर्छन् र सबैले सोध्छन् – ओलीमा के छ? केही छैन भने किन गाली गर्ने या आलोचना गर्ने। केही छैन भने किन प्रशंसा गर्ने। धेरैले गर्ने प्रशंसा र थोरैले गर्ने आलोचनाभित्र केही छ कारण। प्रशंसा गर्न र आलोचना गर्न ओलीभित्र केही नभएको हुँदो हो त सरोकार नै हुँदैन थियो।
एउटा सामान्य मानिस जोकेही गर्दै गर्दैन भने उसको न कसैले आलोचना गर्छ, न कसैले प्रशंसा गर्छ। भनिन्छ नि घोडा चड्ने मानिस नै हो लड्ने!
आममानिस जसको एउटा औँलामा सामान्य चोटमात्र लाग्यो भने पनि दुईचार दिन थलिन्छन्। ज्वरो आउन सक्छ, पीडा बढ्न सक्छ । अर्थात् ऊ केही दिन आराम गर्नुपर्ने अवस्थामा पुग्छन्। तर केपी शर्मा ओली दुई पटक किड्नी फेरेको बिरामी भएर पनि अहोरात्र खटिरहेका छन्। मात्र केही घण्टा सुत्छन्। कार्यकर्तासँग भेटघाट गर्छन्। सार्वजनिक कार्यक्रममा मन्तव्य दिन्छन्। पुस्तक पढ्छन्। सामाजिक सञ्जालहरूको अध्यनअवलोकन गर्छन्। विकासका योजना बुन्छन् र त्यसको कार्यान्वयनका लागि सक्रियता बढाउँछन्।
त्यसैले निर्धक्क भन्न सकिन्छ- ओलीमा सक्रियता छ, अर्थात् उनी स्ट्रोङ र एक्टिभ छन्।
नेकपा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीले नेपाली माटो, नेपाली समाज र समयक्रमलाई आत्मसात् गर्दै ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्त अगाडी सार्नुभयो । उक्त सिद्धान्तमा ‘जनता’ जोड्ने काम केपी शर्मा ओलीले गर्नुभएको थियो। अर्थात् ‘बहुदलीय जनवाद’ लाई ‘जनताको बहुदलीय जनवाद’ बनाउने कुरामा केपी शर्मा ओलीको सुझाब र लेखन सक्रियता रहेको थियो।
यसले के देखाउँछ भने केपी शर्मा ओलीको शारीरिक सक्रियतामात्र छैन बौद्धिक सक्रियता अर्थात् सैद्धान्तिक सक्रियता पनि उत्तिकै तेज छ।
नेपाली राजनीतिको सन्दर्भमा विभिन्न कम्युनिस्ट दलहरूको मात्र हैन नेपाली कांग्रेसको सिद्धान्तसमेत मार्क्सवादको सेरोफेरोमा अगाडि बढेको पाइन्छ। कम्युनिस्टहरूको साम्यवादी गन्तव्य र नेपाली कांग्रेसको समाजवादी गन्तव्य मार्क्सवादकै सैद्धान्तिक त्यान्द्रा हुन्।
विज्ञानमा अडेको मार्क्सवादको सैद्धान्तिक त्यान्द्रोलाई आधुनिक समयअनुसार साम्यवादी गन्तव्यसम्म नचुँडाईकन तन्काउन केपी शर्मा ओलीले आफ्नो बौद्धिक सक्रियतालाई कहिले सांस्कृतिक परम्परागत मान्यताहरूको गोरेटोमा त कैले आधुनिक डिजिटल गोरेटोमा हिँडाइरहेको पाउँछाैँ।
रामजन्मभूमिको चर्चा होस् वा धरहरा र रानीपोखरीको पुनर्निर्माणमा नेपाली सक्रियताको योजना, केपी शर्मा ओलीको सांस्कृतिक परम्परागत मान्यताको गोरेटोमा हिँडिरहेको बौद्धिक कसरतको उदाहरण हो यो। अनि सामाजिक सञ्जालको सक्रियता, डिजिटल गोरेटो यात्राको उदाहरण हो।
हाम्रा धेरै कम्युनिस्ट नेताहरू छन् जसले मार्क्स, लेनिन, माओ, स्टालिन, एङ्गेल्स, सी जिन फिङ, चे ग्वयभाराका नाम मात्र रटिरहेका छन्। उनीहरूलाई थाहै छैन मार्क्सवादबाट तन्किएको साम्यवादी कम्युनिजम अर्थात् कम्युनिस्ट पार्टी निर्माण अभियानमा लेनिन, माओ, स्टालिन, एङ्गेल्स, सी, चे जस्ता नेताहरू एक समय कसरी सफल बनेका थिए।
मार्क्सपछिका विश्व कम्युनिस्ट आन्दोलनका सफल नेताहरूले विज्ञानलाई आत्मसात् गरेकै कारण र आफ्नो भूमि, नागरिकको अवस्था आदिको विश्लेषण गरेकै कारण एउटा समयमा सफल बनेका हुन् भन्ने हेक्का नराख्ने नेताहरू कहिल्यै सफल हुन सक्दैनन्।
प्रसियामा जन्मिएका मार्क्सले त्यहीँको माटो, सामाजिक अवस्थिति र नागरिकको अवस्थालाई विश्लेषण गरेर मार्क्सवादको सिद्धान्त अगाडि सारे। अनि त्यसको वैज्ञानिक आधार पक्डेर कसैले चीनमा, कसैले तत्कालीन सोभियत संघमा, कसैले क्युबामा सफल अभ्यास गर्न सके।
नेपालमा मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद र त्यसकै आधारमा कम्युनिस्ट पार्टीलाई बहुपदीय पद्धतिमा लाने सांगठनिक संरचनादेखि सांस्कृतिक परम्परागत मान्यतालाई आधुनिक डिजिटल फरम्याटमा उतार्ने कसरत गर्ने केपी शर्मा ओलीको चातुर्य मार्क्सको विज्ञान दर्शनकै निरन्तरता हो। अर्थात् लेनिन, माओ, स्टालिन, एङ्गेल्स, सी, चेहरूकै विचारको निरन्तरता। या भनौँ, सैद्धान्तिक विचारको सफल अभ्यास।
ओलीको सांस्कृतिक परम्परागत मान्यता संरक्षणमा डिजिटर फरम्याट दृष्टिकोणले पनि उनको स्ट्रोङ र एक्टिभ चरित्रलाई चरितार्थ गरिदिन्छ।
सिद्धान्त एउटा आधार हो समाज निर्माणको। विचारको जगमा व्यावहारिक योजना बनाउन सकियो भने त्यसले सहजै विकास र समृद्धिको यात्रा तय गर्न सकिन्छ। ओलीमा के छ भन्ने जिज्ञासामा जवाफको आकृति बन्दै उनको विकास र समृद्धिको यात्रा तथा अभियान सडकका घुम्तीमा टल्कने दर्पणजस्तै बनेको पाइन्छ।
जनकपुर-जयनगरको रेलमार्ग होस् या मोतीहारी-अमलेखगन्जको तेलमार्ग, चुच्चे नक्साको राष्ट्रिय सहमति होस् या चीनसँगको पारवहन सन्धि, यो सबै काम सैद्धान्तिक रुपमा जनताको बहुदलीय जनवादको जगमा तयार गरिएको विकास र समृद्धिका योजना अर्थात् कार्यक्रम हुन्। केपी शर्मा ओलीले मार्क्सवादको वैज्ञानिक आधारमा जनताको बहुदलिय जनवादको जग तयार गरेर जेजति योजना ल्याए ती सबै योजना कार्यान्वयन गर्ने कार्यक्रम पनि सँगसँगै सुरु गरे।
दुई सय ४३ वटा सडक पुलको निर्माण, दुई हजार सात सय १८ किलोमिटर सडक निर्माण, तीन सय नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकै पटक शिलान्यास, भूकम्पपछि झण्डै पाँच लाख निजी भवन निर्माण सम्पन्न, कोरोना महामारीपछि केन्द्रमा तीन सय बेड र सबै प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल निर्माणजस्ता महत्त्वपूर्ण कार्यक्रमले साम्यवादी सैद्धान्तिक गन्तव्यमा पुग्न निश्चित आधार तयार गरेको कुरा अस्वीकार गर्न सकिन्न।
जेष्ठ नागरिकको स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता वृद्धि, श्रमिकहरूको न्यूनतम पारिश्रमिकमा वृद्धि, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत लाखौँ नागरिकलाई रोजगारी, सातवटा राष्ट्रिय गौरवको आयोजना सुरु जस्ता विषयले पनि सैद्धान्तिक विचारलाई व्यावहारिक योजना र सक्रिय कार्यक्रमको कार्यान्वयनमार्फत विकास र समृद्धिको आवरण कोर्ने तहमा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण केपी शर्मा ओलीले नै देखाएका छन्।
दुई पटक प्रधानमन्त्री हुँदा विकास र समृद्धिको यात्रालाई सहज बनाउन तयार पारिएको सैद्धान्तिक विचारको आवरणमा व्यावहारिक कार्यक्रमको कसी लगाउन सक्षम केपी शर्मा ओलीमा के छ भनेर सोध्ने अवस्था अब बन्दैन भन्ने निर्धक्कको आधार तयार भइसकेको छ।
केपी शर्मा ओलीको स्ट्रोङ र एक्टिभ चरित्रको व्याख्याका लागि यहाँ सैद्धान्तिक विचारको आवरणसहितको तीनवटा आधार प्रस्तुत गरिएको छ। शारीरिक कुशलता, सैद्धान्तिक एवं वैचारिक तृष्णता र योजनागत कार्यक्रमको विशिष्टता।
यी आधार कुनै उडन्ते र मनोगत छैनन्। न व्यक्ति पुजनको अलापमात्र हो। यो त तथ्यगत जग र वस्तुपरक विश्लेषणसहितको शाब्दिक अक्षर खेतीको लहलहाउँदो फसल हो।
यसमा कसैको विमति रहन सक्छ तर त्यो विमति सामाजिक परिवेशको वास्तविक धरातलमा उभिएर राखिएको हुनुपर्छ। त्यस्तो विमतिले केपी शर्मा ओलीप्रतिको मेरो र आमनेपालीको धारणामा फरक मतको बीजारोपण गर्न सकोस्। हैन भने नेपाली राजनीतिको समकालीन नेताहरूमा केपी शर्मा ओलीमात्र एकजना स्ट्रोङ र एक्टिभ नेता हुन् भनेर स्वीकार र समर्थन गर्नु पर्दैन र?!