
काठमाडौँ- एसीसी मेन्स यू १६ इस्ट जोन कप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरूद्ध ४२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनाएको हो।
नेपालका लागि ओपनिङ ब्याटर प्रसिद्ध जैशीले शतक प्रहार गरे। उनले १३२ रनको योगदान गरे। ११४ बल खेलेका प्रसिद्धले १५ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर परिमार्जन यादवले ७१ रन बनाए। उनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए। प्रसिद्ध र परिमार्जनबीच पहिलो विकेटका लागि १० ओभरमा १३० रनको साझेदारी भएको थियो।
शिवान्स बजगाइँ ४ रनमा आउट भएका थिए। त्यसपछि रौनक श्रीवास्तवले पनि उत्कृष्ट ब्याटिङ गरे। रौनकले ७१ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८८ रन बनाए।
जय थापाले ४१ बलमा ५७ रन बनाए। यस्तै सुगम बुढाथोकीले नटआउट ३९ रन र रोशन शाहीले नटआउट १० रन जोडे।
यसअघि नेपालले समूहमा जापान र सिंगापुरलाई पराजित गर्दै लगातार दुई जित निकालेको थियो। आज जित निकाले नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ। नेपालले अन्तिम खेलमा असार १७ गते भुटानसँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।