पुस्तक चर्चा

कोखास्था : काव्यात्मक तस्बिरमा ६ दशकको नेपाल

रमेशप्रसाद खनाल २१ असार २०८२ ११:०६
22
SHARES
कोखास्था : काव्यात्मक तस्बिरमा ६ दशकको नेपाल

मानिस आफ्नो अन्तर्मनको कुरा विभिन्न माध्यमद्वारा व्यक्त गर्दछ। आफू, आफ्नो परिवेश र आफूले भोगेका विषय अरूसँग बाँड्न ऊ भावाभिव्यक्तिका विभिन्न नवीन उपाय, तौरतरिका र माध्यमको आविष्कार, सिर्जना र प्रयोग गर्दछ। सभ्यताको विकासका क्रममा कसरी रोचक, मिठासपूर्ण र सहज रूपमा मनका कुराहरू सम्प्रेषण गर्न सकिन्छ भन्ने खोजमा मानिसले सम्प्रेषणका विभिन्न विधाको सिर्जना गर्दै गयो।

भजन वा श्लोक भन्ने, गुनगुनाउने, सुर निकाल्ने, गीत गजल गाउने, कविता रच्ने जस्ता विविध कार्यहरू मानव सभ्यताका सुरुवाती दिनदेखि नै सुरु भएको अनुमान गरिन्छ। श्रव्य माध्यमद्वारा एक ठाउँको श्लोक, कविता, गीत अर्को ठाउँसम्म पुग्ने गर्दथ्यो। सभ्यताको विकाससँगै कविता वा काव्य लेखनको यात्रा विभिन्न रूप र कलेवरमा लेखिँदै गयो र यसको विकास हुँदै गयो।

आजको विज्ञान र प्रविधिको युगमा मान्छेले होइन एआईले कविता लेख्न सक्ने युगसम्म आइपुग्दा कविताको विषय र स्वरूपमा धेरै परिवर्तन भइसकेको छ। वस्तुत: सिर्जनात्मक लेखन अनुभूतिजन्य अन्तर्मनबाट निस्किने त्यो आवाज हो जसको अनुभूति व्यक्तिव्यक्तिमा फरक पर्न जान्छ र सोही बमोजिम कविता वा काव्यमा अभिव्यक्त हुन्छ भन्ने शाश्वत सत्य कसैले नकार्न सक्दैन।

आफूले भोगेको समय र परिवेशलाई भोक्ता भएर अभिव्यक्त गरिएको सिर्जनाले अर्को मानिसको मन मस्तिष्क प्रभावित, संवेदनशील र उद्वेलित बनाउने भएकोले कविता सर्वाधिक लेखिने, पढिने र सुनिने साहित्यिक विधा बनेको छ। यसै सन्दर्भमा ३० को दशकदेखि नेपाली गद्य कविता लेखनमा पूर्ण रुपमा समर्पित वरिष्ठ कवि कणाद महर्षिको सिर्जनात्मक सक्रियताको ज्वलन्त नमुनाका रूपमा प्रकाशित भएको कविता संग्रह ‘कोखास्था’ मा समावेश भएका कविता र तिनले दिएका सन्देशका विषयमा चर्चा गर्नु यो लेखको उद्देश्य हो।

नेपाली आधुनिक कविता लेखनबाट साहित्य सिर्जनामा लागेका कवि कणाद मिश्रको लेखकीय नाम कणाद महर्षि हो। २०११ सालमा काठमाडौँको चाबहिलमा जन्मिएका कवि बाल्यकालमा नै आफ्ना पिता वरिष्ठ आयुर्वेद चिकित्सक (कविराज) कृष्णप्रसाद मिश्रबाट कविता लेखनमा उत्प्रेरणा प्राप्त गरे। उनले काठमाडौँको पूर्वी भेगका रमेश विकल, भैरव अर्याल, मनुजबाबु मिश्र जस्ता वरिष्ठ स्रष्टाहरूको संयोजनमा भइरहने विभिन्न साहित्यिक गतिविधि र संगतले करिब २० वर्षको उमेरदेखि नै उनले कविता लेखन सुरु गरेको देखिन्छ। उनको पहिलो कविता संग्रह ‘गुफा’ २०३१ सालमा प्रकाशित भयो। यस संग्रह प्रकाशित भएपछि उनी नवीन शैली र कथ्यको दृष्टिबाट कविहरूको भीडमा बेग्लै पहिचान स्थापित गर्न सफल भए।

६ कविता संग्रह र एक कथा संग्रह प्रकाशित भएका कवि महर्षिको सातौँ कृतिको रूपमा २०८० सालको अन्त्यतिर ‘कोखास्था’ नामक कविता संग्रह प्रकाशित भएको हो। विगत ५० वर्षमा लेखिएका विभिन्न पत्रपत्रिकामा छापिएका ५८ वटा चुनिएका कविताहरू समाहित कृतिलाई ‘नेपाल स्रष्टा समाज’ले प्रकाशन गरेको छ।

सामान्य रूपमा अर्थ लगाउँदा कोख+आस्था=‘कोखास्था’ अर्थात् ‘आफू जन्मेको कोख प्रति रहने अटुट आस्था’लाई समेटेर पुस्तकको नामकरण ‘कोखास्था’ शीर्षकको कविताबाट रहन गएको प्रतीत हुन्छ। कविले २०३४ साल देखि २०८० को अन्त्यसम्म लेखेका कविताहरू सँगालिएको संग्रहले करिब ६ दशकको नेपाली राजनीति, समाज, व्यक्ति र विषमता, सामाजिक-आर्थिक परिवेश र परिस्थितिलाई चित्रण गरिएको छ।

तत्कालीन समयको वास्तविक तस्बिर पुरानो पुस्तालाई संस्मरण गराउने र नयाँ पुस्तालाई इतिहासको त्यो कालखण्डबारे बोध गराउने कृति बनेको ‘कोखास्था’ का कविलाई प्रा.डा. कृष्णप्रसाद दाहालले ‘विद्रोहको लाभा ओकल्ने’ कविको संज्ञा दिएका छन् भने लेखक कवि श्रीओम श्रेष्ठ ‘रोदन’ले आफ्नो प्रकाशकीयमा ‘नेपाली राजनीति र सामाजिक विसंगतिका विरुद्ध’ कविता लेख्ने श्रष्ठाका रूपमा परिचय दिएका छन्।

अब लागौँ कवि महर्षिले गत ६ दशकभित्र सिर्जना गरेका कविताले नेपाल राष्ट्र, समाज र व्यक्तिका तत्कालीन समयको तस्बिर दर्शाउने एक महत्त्वपूर्ण दस्तावेजतर्फ :

 तीसको दशक

कवि महर्षीले २०२१/२२ साल देखि कविता लेख्न सुरु गरे भने पहिलो कविता संग्रह ‘गुफा’ २०३१ सालमा प्रकाशित भएसँगै तीसको दशक देखि कवि महर्षिको सघन काव्य यात्रा प्रारम्भ विन्दु हुन गयो। यही दशकको २०३४ सालमा सिर्जित ‘दृष्टि-दोभान’ शीर्षकको कविताबाट सुरु गरिएको ‘कोखास्था’ कविता संग्रहमा समावेश भएको पहिलो कविता हो।

सुन्तला बेच्ने एक युवती र बदाम बेच्ने एक युवक जस्तो नेपाली समाजको एक साधारण जोडीको प्रेमलाई रोमान्सीय पारामा प्रस्तुत भएको यो कविताले दिने मिठास र पढ्दै जाँदा आँखा अगाडि देखिने दृश्यले यथार्थवादी धारको प्रतिनिधित्व गर्दछ। यही सालमा रचिएको ‘खुम्चनु/तन्कनु’ कविताले धेरै वर्ष बैंकमा काम गरेका कविले बैंकको सजीव चित्रण मात्र नगरी आर्थिकरूपमा विवश युवायुवतीको मजबुरीलाई छर्लंग पारेका छन्। कविको सुरुवाती दिनका कविताहरूमा पाइने आम भुईमान्छे प्रतिको सहानुभूतिपूर्ण अभिव्यक्ति आज पर्यन्त उनको काव्यिक लेखनीको विशिष्टता बनेको छ।

यसै दशकभित्रको वि.सं. २०३६ साल नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्षको रूपमा अंकित छ। ३६ सालमा बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था छान्न नेपालको इतिहासमै पहिलो पटक जनमत संग्रह भएको थियो। तत्कालीन राजनीतिक परिवेशमा कवि महर्षि पनि अरू नेपाली युवा सरह परिवर्तनको पक्षधर नै थिए। सुधारिएको पञ्चायती व्यवस्थाको जित भएपछि युवाहरूमा छाएको नैराश्य उनका कविताहरूमा प्रतिबिम्बित हुन पुगेको छ। ‘सोच्न थालेको छु’ (२०३६), ‘जसलाई म’ (२०३६/३७?) र ‘थाकेको सुस्केरामा’ (२०३५/३६) शीर्षकका कविताहरूले यस अवधिको प्रतिनिधित्व गर्दछन्।

त्यसैगरी, पञ्चायती व्यवस्थाको रजगज भएको बेला बोल्न, लेख्न र मनमा लागेका कुरा अभिव्यक्ति गर्न परेको असहजता र मानिसहरू मौन रहन बाध्यात्मक स्थितिमा जीवनयापन गरिरहेको भावलाई ‘चुप/चुप रहनु’ (२०३९) कवितामा सटिक तवरमा व्यक्त गरेका छन्। देश र समाजको विसंगतिपूर्ण अवस्था प्रति संवेदनशील भएर देशका राजनीतिक/सामाजिक रूपमा सचेत नागरिकहरू एकताबद्ध भएर अगाडि नबढेकोमा कवि दुःख व्यक्त गर्दछन्। राजनीतिक परिवर्तनको संघारमा पुगेको देशको अवस्था र परिवर्तनको निमित्त समर्पण गरेका भनिएका शक्तिहरूको व्यर्थको ‘कोठे गफ’ र ‘भट्टी वार्ता’लाई कवि कठोर व्यंग गर्न चुक्दैनन्।

चालीसको दशक

चालीसको दशकमा रचिएका कविताहरूले नेपालमा राजनीतिक परिवर्तन ल्याउन भोग्नु परेको असफलताले सिर्जना गरेको असन्तुष्टि, नैराश्यता र पलायनवादी सोच र भावनालाई उजागर गरेका छन्। ‘वाडुली बेदना कहाँ छ?’ (२०४४) कविताले तत्कालीन नेपालको जीर्ण आर्थिक-सामाजिक अवस्थाको चित्रण गर्दछ।

साथै, मानिसहरूमा संवेदना हराउँदै गएको, चेतना हराएको र एक अर्का प्रति रहनु पर्ने सहानुभूति समेत हराउँदै गएको प्रति चिन्तित देखिन्छन् कवि। यसै अवधिको कविता ‘अतृप्त लय’ (२०४०)ले प्रकृतिका बिम्ब र प्रतीकहरूद्वारा प्रेम र सम्बन्धको मिठासपूर्ण प्रस्तुति गरिएको छ भने ‘सृजन-उन्माद’ (२०४६)मा कवि एक सिर्जनशील व्यक्ति भएकोले अभिव्यक्तिमा अराजक वा उन्मादी हुन जाँदा अनौठो मान्नु पर्दैन भन्ने भाव सम्प्रेषण गरिएको छ।

पचासको दशक

चालीसको दशकको अन्त्यतिर नेपालमा राजनीतिक व्यवस्था परिवर्तनको निमित्त बन्दै गएको भावभूमिले पहिलो जन-आन्दोलन मार्फत २०४६ का अन्तिम दिनहरूमा बहुदलीय राजनीतिक प्रणालीको सुरुवात हुन्छ। यस प्रकारको राजनीतिक परिवर्तनका बाछिटाहरू यस अवधिमा रचिएका कविताहरूमा पर्नु स्वाभाविक हो। साहित्यकार, कलाकार आदिले पनि जनआन्दोलनका क्रममा सडकमा आयोजना गरेको भद्र अवज्ञामा कवि महर्षि स्वयं पनि एक प्रमुख व्यक्तित्व भएकाले उनका कविताहरूमा यस प्रकारको विद्रोही स्वर रहनु स्वाभाविक लाग्दछ।

राजनीतिक सचेतता सहितको सिर्जनाले पार्ने असर र प्रभाव चीरस्थायी र जनप्रिय हुन्छ।यसै सिलसिलामा कवि “भूकम्पको खोजी”(२०५०) कवितामा त्यस्तो भूकम्प खोजेको अनुभूति गर्छन् जसले ‘मानिसलाई भत्काउन’ सकोस किनकि प्रकृतिले पनि नष्ट गर्न नसक्ने हुन्छ मानिस’ भन्ने उनको कथन छ। यसै गरी यही अवधिको ‘मान्छेहरू सक्छन्: मान्छेहरूलाई सत्यानास गर्न’ भन्दै कवि साँचो मानिसको खोजीमा भएको आभाष दिलाउँछन्।

पचासको दशकको अर्को कविता ‘सरगमका धुनहरूमा’ (२०५०) आफ्नो माइती आएकी बहिनिलाई ठूलो रोग लागेको दुःखद खबरले खण्डित बनेको एक दाजुको वेदनायुक्त मनस्थिति अभिव्यक्त भएको छ, जसले पाठकलाई द्रविभूत बनाउँछ। २०४६ को जनआन्दोलनले ल्याएको उत्साह, आशा र भरोसाको अन्त्य गर्नमा राजनीतिक नेतृत्वमा पुगेकाहरूले आन्दोलनको मूल मर्म विपरीत सत्ता लिप्सामा मरिमेटेको कारण मानिसहरूमा पुन: निराशा र ग्लानि बोध हुँदै गएको नाजुक अवस्थाको सटिक चित्रण गर्न कवि आफ्ना सिर्जनाहरू थप शसक्त बनाउँछन्।

‘झुमा र रुपाहरूको सामिप्यमा’ (२०५१) मा देशको तत्कालीन दुरावस्थाले गर्दा कवि रनभुल्ल र असमन्जसमा परेको मात्र होइन तत्कालीन नेपालको राजनीतिक परिदृश्यलाई स्पष्ट रूपमा इंगित गरिएको छ। त्यस्तै ‘व्यस्त लास’ (२०५२) मा जताततैबाट प्रताडित आम मानिस आफूलाई काममा नै व्यस्त राख्छ र आफू लास सरह जीवन जिउन बाध्य हुन्छ भन्ने सन्देश प्रवाहित भएको छ। यसै अवधिमा ‘लासले लास देख्दैन’ (२०५२) शीर्षक कवितामा कवि मानिसहरूमा चेतना मरेकोमा दुःख प्रकट गर्छन् र भन्छन्, ‘मानिसमा चेतना शून्य हुनु लास सरह हुनु हो’।

त्यसै सालदेखि नेपालको पश्चिमी भेगबाट सुरु भएको सशस्त्र द्वन्द्वमा एक नेपालीले अर्को नेपाली मार्ने वातावरण सिर्जना भएको इंगित गर्दै कवि परोक्ष रूपमा मानिसलाई जागरुक हुन् र सचेत रहन आह्वान गर्छन्। गरीबी, अभाव र विवश जिन्दगी जताततै देखिए पनि अदृश्य जस्तो बनाएको तथा नभएको जस्तो गरिएकोमा कवि रोष प्रकट गर्छन् र अदृश्य बनाइएका यथार्थ र आम मानिसको अवस्थाको अभिव्यक्त गर्दछन् ‘दृश्यमा अदृश्य खोजौं’ (२०५३) कवितामा।

यसै अवधिको ‘सालिक/अवशेष’ (२०५३), ‘अव्यक्तमा के रमाउनु’ (२०५३), ‘अचेल’ (२०५४) कविताहरूले मानिस आफूभित्र भएका नदेखिने पीडाले भित्रभित्रै खोक्रिएको हुन्छ। आक्रान्त हुन्छ तर अरूले केवल बाहिरी पीडा मात्र देख्ने हुन्, यसैले भित्रभित्रै पीडित मान्छे कसरी रमाउन सक्छ भन्ने भाव बोकेका छन्। यस दशकमा लेखिएको कविको एक अर्को उत्कृष्ट कविता हो ‘कोखास्था’ (२०५५)। करिब २५ वर्ष अघि लेखिएको यो कवितालाई आफ्नो मानक सिर्जना मानेर नै सायद लेखकले यो कविताको शीर्षकबाट नै संग्रहको नामकरण पनि गरेका छन्। आमा र सन्तानबीच रहने अटुट सम्बन्ध र मातृ स्नेहद्वारा आप्लावित यो कविताले निजी आमा मात्र होइन सिंगो देशलाई नै आमाको बिम्ब सिर्जना गर्दछ।

‘आमाको काखमा लुट्पुटिएको बालकलाई चलाउनु भनेको आगोलाई चलाए सरह’ हुने भावानुभूतिले नेपाल आमाको काखमा रमाइरहेका हामी नेपालीलाई कतैबाट कुदृष्टि पर्‍यो भने ‘आगो’ सरह हुन सक्ने भाव दर्शाउन खोजेको प्रतीत हुन्छ। यही दशकमा लेखिएका कविताहरू ‘आँखाहरू मशान तिर’ (२०५५), ‘जब संघारबाट बाहिरिन्छौ’ (२०५६), ‘आफ्नै हत्केलामा’ (२०५७), ‘आउछौ कि तिमी भनेर’ (२०५८) ले परिवर्तनको उद्बोधन गरेका छन्। नेपालमा एउटा ठूलो राजनीतिक परिवर्तन निःसन्देह आउने घोषणा कविले यी कविताहरू मार्फत २०५८ सालमा नै गरेका रहेछन्। आउँदो समयको पदचाप सुन्न सक्नु र त्यसलाई पाठक समक्ष ल्याउन सक्नु पनि प्रत्येक सर्जकको दायित्व हो भन्ने लाग्दछ।

साठीको दशक

साठीको दशकमा कवि महर्षिले रचेका १० कविताहरू यस संग्रहमा समाविष्ट छन्। मानवीय स्वभाव, नेतृत्वमा रहेकाहरूको प्रवृत्ति र देशमा नक्कली मान्छेहरूको बोलाबाला रहेको विषयमा तिखो प्रहार गरिएको छ ‘सक्कली मान्छेलाई धिक्कार्ने कसरि!’ (२०६०) कवितामा। ‘कवितालाई भाँचकुच नपारे है!’ (२०६१) ले भने कविता अन्तरहृदय वा मनको भावबाट उत्पन्न हुने उपज हो, यसमा सचेतनताको सन्देश थपेर मलजल गर्‍यो भने बोधगम्यतासंगै कविताको अर्थपूर्ण अस्तित्व कायम हुन जान्छ भन्ने आसय व्यक्त गरिएको छ।

‘अदृस्य अजम्मरी सालिक’ (२०६२) कवितामा उनले आफ्नो पिताको धरोहरको स्मृति गरेको अनुभूति हुन्छ। कविराज कृष्णप्रसाद मिश्रको स्वास्थ्य सेवा विभागमा उच्च तहसम्म पुग्नु भएको थियो। कविराज मिश्रका ज्येष्ठ सुपुत्र बिनोद मिश्र र बुहारी सानु मिश्र (भाउजु)ले नेपालको राजनीतिक परिवर्तनको इतिहासमा दिएको योगदान र बलिदानलाई नेपाली सत्ता राजनीतिले आफू माथि उक्लने सिँढी मात्र बनायो र उनीहरूलाई कहिल्यै सामान्य सम्मानको त कुरै छोडौं किञ्चित सम्झन पनि आवश्यक नठानेको यथार्थ व्यक्त भएको आभास हुन्छ। सिर्जनात्मक रचना र परिवर्तनको निम्ति होमिएका सन्तानका पिता कृष्णप्रसादको स्मृतिमा यो कविता लेखिएको छ।

सत्तरीको दशक

यो संग्रहमा ७० को दशकमा रचिएका १० कविताहरू समावेश भएका छन्। ‘वरिपरि’ (२०७५) कविताले ब्वाँसाहरूद्वारा प्रताडित गर्भिणी युवतीको कथा भन्छ जो आफ्नो सत्वको खोजमा छिन्। यो कविता विवशता र बाध्यताको प्रतीक हो।

‘हाम्रो रंग’ (२०७७) ले प्रेमिल सम्बन्धको उद्बोधन गर्दछ र कवि रोमान्टिक प्रवृत्ति प्रति आकर्षित भएको देखाउँछ। महर्षिका यस संग्रहमा समेटिएका अन्य कविताहरू भन्दा यो कविता भिन्न रहेको देख्न पाइन्छ। ‘व्याकुल स्रष्टा’ (२०७७), र ‘नचलेको मुड’ (२०७७) ले सर्जकको पीडा बताउँछ। कविता लेखन कार्य त्यति सहज विषय होइन। जब चारै तिर अन्योल हुन्छ कवि केही सोच्न सक्दैन र पराजय स्वरूप मुड नभएको भन्दै कविता सिर्जना गर्न असमर्थ भएको स्वीकार गर्दछ।

‘हिउँदेखि शिलाजित…'(२०७८) कवितामा हिमाल, पहाड र तराईको काव्यिक वर्णन गर्दै देशको अमूल्य निधिहरू खोज्नु पर्ने निष्कर्षमा पुगेका छन् कवि। ‘कस्तो हुनु हो?’ (२०७८) जीवनको यथार्थ देखाउने एक दार्शनिक कविता हो, जसमा कवि ‘सन्चो-बिसन्चो, दूःख-सुख केही पनि नहुनु भनेको कस्तो हुनु हो?’ भनेर प्रश्न गर्छन्। ‘उमेदवारी घोषणा!’ (२०७८) कोभिड १९ जस्तो महामारीको सन्दर्भमा निर्वाचन हुने घोषणा प्रति रोष प्रकट गर्दछन् कवि र यो भयावह स्थिति प्रतिको बेवास्ता प्रति संवेदनशील हुन्छन्।

‘पौठेजोरी खेल्दै’ (२०७८) कोरोनाबाट संक्रमित आम नेपालीहरूको बाध्यता र मनोदशा सहज ढंगमा प्रस्तुत भएको र महामारीको आडमा भएका अनैतिक कामहरूप्रति कठोर प्रहार गरिएको छ। ‘लुप्त अहं’ (२०७८), ‘जतन कि जलन’ (२०७८) जस्ता कविताहरूले मानवीय स्वभावलाई सुन्दर ढंगबाट कसरी व्यक्त गर्न सकिन्छ भन्ने बोध गराउँछ। ‘भग्नावशेषमा एकाग्र मान्छे’ (२०७९) शीर्षकको कथात्मक सूत्रमा उनिएको कविता महर्षिको अर्को काव्यिक विशेषता हो भन्ने तथ्य यो कवितामा वर्णित कथाले स्पष्ट पार्छ। ‘खलिफा’ (२०७९) कवितामा नेपाली समाजमा किशोरकिशोरीबीच हुने गरेको विसंगत व्यवहारलाई चिरफार गरिएको छ भने ‘बाटो नांगो थियो’ (२०७९) मा बाटोलाई स्वतन्त्रताको प्रतीकको रूपमा देखाइएको छ।

कुनै पनि बहानामा स्वतन्त्रता खोस्ने प्रयत्न हुनु हुँदैन भन्ने कविको आसय छ। यो दशकमा लेखिएको अन्तिम कविता ‘बाटो नदेखेर सोध्नेलाई’ (२०७९) ले दिग्भ्रमित भएका, गन्तव्य पत्ता लगाउन नसकेका र भौँतारिरहेकाले आफ्नो लक्ष्य पहिचान गर्न जागरुक हुन पर्ने सन्देश दिन्छ।

असीको दशक

८० को दशक भर्खर सुरु भएको छ। यस संग्रहमा २०८० सालमा लेखिएका ५ कविताहरू समावेश गरिएका छन्। ‘धमिरा र फोकाहरू’ (२०८०) कविता एक बिम्बात्मक प्रयोगको अनुपम उदाहरण हो, जसले समय र समाजको सजीव चित्रण गर्दछ भने ‘म, बाटो, धरती र आकाश’ (२०८०) मा उद्देश्यहीन यात्राले कहिल्यै गन्तव्यमा पुर्‍याउँदैन भन्ने आसय देखाएको छ।

‘कवितामा अवैध कथा’ (२०८०) कथात्मक काव्याकारितामा प्रयुक्त मेटाफ़रले व्यक्तिको मात्र होइन देशको समेत यथार्थ देखाउन सकेको छ। अर्को कविता ‘कति सहनु कुचेष्टा’ (२०८०) मा विसंगति र विकृतिहरू विरुद्ध ‘भयंकर आघात’ गर्न आह्वान गरिएको छ भने ‘रुख, बिरुवा र झारपात’ (२०८०) कवितामा प्रकृतिको सृष्टि रुखको विभिन्न रूप र पातको प्रतीक बनाएर परिवर्तनको शंघघोष गरिएको छ।

उपसंहार

कविताको अनिवार्य तत्व यसमा अन्तर्निहित हुने रस माधुर्यले जीवनमा मिठास भर्नुपर्छ, यसमा रहेको सन्देशले मन मस्तिष्कलाई झंकृत बनाउनुपर्छ, एक पटक पढेपछि बारम्बार दिमागमा त्यसका अन्तरवस्तुले कोलाहल सिर्जना गर्नुपर्छ, शब्दहरू एक एक जीवन्त हुनुपर्छ र प्रत्येक हरफले मानिसलाई आन्दोलित पार्ने शक्ति राख्नु पर्दछ। त्यही स्तरको कविता मात्र जीवित रहन सक्छ जसले मानिसका मनहरूमा तत्काल विविध संवेदना सिर्जना गर्न सक्दछन्। यस्तै कविता नै दिगन्तसम्म बाँचि रहनेमा कुनै शंकै लिनुपर्दैन। यस आधारभूत पृष्ठभूमिमा कवि महर्षिका कविताहरू खरा उत्रेका छन् र उनी आफ्ना कविताहरूमा सदैव जीवन्त रहने निश्चित छ।

संक्षेपमा भन्नुपर्दा कवि महर्षिको काव्यात्मक विशिष्टता भनेको आम मान्छेको कथा र व्यथा आफ्ना कवितात्मक बिम्बहरूको सुविचारित प्रयोगद्वारा असन्तुष्ट मनहरूको अभिव्यक्तिको साधन बन्नु नै रहेको देखिन्छ। कथात्मक काव्याकारिता भएका उनका कविताहरूको उद्देश्य व्यक्ति, समाज, देश, राजनीतिले सिर्जित गरेका विषमता, विसंगति र विकृतिहरूको समूल नाश गर्दै परिवर्तनको शंखघोष गर्नु हो।

उनका कविताहरूको अर्को प्रमुख विशेषता आम नेपालीहरूको विवशता, बाध्यता र मनोदशा दर्शाउनु मात्र होइन देश, काल र परिस्थितिप्रति असन्तुष्ट र विद्रोही स्वर मुखरित गर्नु पनि हो। कविताहरूमा नारीलाई केन्द्रमा राखेर सिर्जना गर्नु कविको अर्को विशेषता हो। चाहे आमा हुन्, पत्नी हुन्, बहिनी हुन् वा कुनै अपरिचित युवती नै किन नहुन् तिनका उत्पीडन र शोषण विरुद्ध आवाज उठाएका मात्र छैनन्, ती स्त्री पात्रहरू प्रति उनका स्नेहसिक्त भावना मुखरित हुनु लेखकको विशिष्टता देखिन्छ। उनका कवितात्मक सिर्जनाको अर्को मूल पक्ष विविध मानवीय स्वभाव पर्गेल्नु, नेतृत्वमा रहेकाहरूको स्वार्थी प्रवृत्ति उजागर गर्नु र देशमा बढ्दै गएका नक्कली मान्छेहरूको बोलाबालालाई चिरेर देखाउनु रहेको छ।

गरिबी, अभाव र विवश जिन्दगी बिताउन बाध्य भुइँमान्छे भनिने मानिसका पीडालाई बिम्ब र प्रतिकहरूको सुन्दर संयोजनबाट यथार्थवादी रचना सिर्जना गर्नु उनको खुबी हो। आम मान्छेहरूले सोचेको र चाहेको जस्तो परिवर्तन नि:सन्देह आउने घोषणा गर्ने कविको उद्घोषण सत्य साबित भए पनि नेपालको इतिहासका विभिन्न कालखण्डहरूमा जनताहरूले गरेका आन्दोलन, संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनले उनीहरूको जीवनमा तात्विक फरक नपारेकोमा भने कवि असन्तुष्ट स्वर प्रखर पार्दछन्।

आफ्नो सिर्जना शैलीमा नवीनता ल्याउन विभिन्न प्रतीक, बिम्ब र मेटाफ़र प्रयोग गर्न काविल कवि महर्षिका कविताका वाक्य विन्यास सरल, सहज र सुस्पष्ट भए पनि गहिरिएर मनन गर्न र सोच्न बाध्य पार्ने खालका रहेका छन्। उनी आफ्ना कवितामा कुनै न कुनै सन्देश प्रवाह गर्न चुक्दैनन्। उनका कविताहरू अध्ययन गर्दा मोहन कोइराला, ईश्वर बल्लभ, मदन रेग्मी, भीम दर्शन रोका, वानीरा गिरि जस्ता मूर्धन्य कविहरूको काव्य शैली र प्रवृत्तिको कताकता झल्को पनि नआउने होइन तर कविको आफ्नै निजत्व र प्रभावकारी अभिव्यक्ति शैलीको विशेषता भने उदाहरणीय मान्नुपर्दछ।

नेपाली कवितामा प्रयोगधर्मिता कायम गर्दै सहज र बोधगम्य भाषामा कविता पस्कन सक्षम कविको संग्रहित कविताहरू मुखमुखमा झुन्डिने प्रकृतिका नहुन सक्छन् तर यी कविताहरूले एक पटक पढेपछि पाठकलाई कविले उठान गरेका विषयहरूमा सोच्न भने पक्कै बाध्य पार्नेछन्। गम्भीर कविताका पाठकको निमित्त यी कविताहरू दोहोराएर नपढी सुखै छैन।अधिकांश कविताहरू दोहोर्‍याई दोहोर्‍याई पढ्दा थप मिठासपूर्ण स्वाद आउँछ र पुन: एक पटक पढ्न उत्प्रेरित गर्दछ। आफ्नो कविता सिर्जना यात्रालाई अविश्रान्त निरन्तरता दिएर यो विधालाई नेपाली साहित्य क्षेत्रमा थप उचाइमा पुर्‍याउन कवि महर्षि नेपाली साहित्यका एक अविचलित पथिक हुन् भन्दा फरक पर्दैन।

एक दर्जन भन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका कविका यो संग्रह सहित ७ कृतिहरू प्रकाशित भएका छन्। ‘कवितालाई परिभाषाभित्र बन्दी नबनाउनु नै कविताको परिभाष हो भन्ने सोचाई’ राख्ने कवि महर्षि कवितालाई कुनै परिधि भित्र बाँध्न चाहँदैनन्। यस अर्थमा उनी ‘अराजक’ भने होइनन् किनकि गद्य कविताको मिठास र लालित्य भने उनले छोडेको देखिँदैन भलै उनी परिभाषाबाट पर रहन चाहन्छु भन्दछन्। संक्षेपमा भन्ने हो भने मान्छे केन्द्रित हुनु, उसको संघर्ष, जीजिविषा र मानव अस्तित्वप्रति जागरुक गराउने कविता लेखन नै महर्षिका कविताका मूल विशिष्टता हुन्। अस्तित्ववादी दार्शनिक लेखक अल्बर्ट कामु हुन् वा किकेगार्द वा जाँ पल सात्र तिनका दर्शनबाट कवि अभिप्रेरित भएको छनक पनि कविताहरूले दिन्छन्।

सुरुमा अस्तित्ववादी दर्शनबाट प्रभावित देखिने कवि क्रमिक रूपमा जीवनवादी हुँदै आम मानिसको कथालाई सहजता र संक्षेपमा कविता कोर्ने तर्फ उन्मुख भएको आभास हुन्छ। मूर्त भएर पनि अमूर्त लाग्ने भाषा विन्यास प्रयोग गरेर कवितालाई कतै उनी मूर्त बनाइदिन्छन्, कतै अमूर्त तर पाठकलाई सोचमग्न बनाउन भने सक्षम छन्। कवि महर्षिका कवितालाई क्लिष्ट भएको आरोप पनि नलाग्ने गरेको होइन तर यो संग्रहको आद्योपान्त अध्ययन पश्चात के देखिन्छ भने यति सुस्पष्ट, सहज र सरल भावाभिव्यक्तिलाई क्लिष्टताको परिभाषाभित्र राख्नु सर्वथा अनुपयुक्त लाग्दछ। निरन्तर लेखनमार्फत् नेपाली कविता विधामा आफूलाई कविहरूको भीडमा एक बेग्लै, पृथक पहिचान र परिचय स्थापित गर्न समर्थ कवि महर्षिले ३० को दशकदेखि ८० को दशकको सुरुवातसम्म लेखिएका यी प्रतिनिधि कविताहरूको संग्रह ‘कोखास्था’ले नेपाली कविताको इतिहासमा एक महत्त्वपूर्ण इँटा थपेकोमा भने कुनै द्विविधा राख्नु पर्दैन। अस्तु।

प्रकाशित: २१ असार २०८२ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast