
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट अरुणमान जोशीले राजीनामा दिएका छन्। थ्रीस्टारका पूर्व अध्यक्ष जोशीले बुधबार एक विज्ञप्ती जारी गर्दै एन्फाको सहायक महासचिवबाट राजिनामा दिएको बताएका हुन्।
पूर्वअध्यक्ष जोशीले २०७९–८० को शहिद स्मारक ए डिभिजन लिग हुँदा आफू थ्रीस्टारको अध्यक्ष रहेकाले एन्फाले क्लबमाथि पुर्वाग्रह राखेर अन्याय गरेको कारण आफू नैतिकताको आधारमा पदमा बसिरहन उपयुक्त नभएकाले नैतिकताका आधारमा राजिनामा दिएको विज्ञप्तीमा उल्लेख छ।
‘२०८० जेठ २७ गते सम्पन्न ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबसँगको अन्तिम खेलमा थ्री स्टार क्लबले भिसाको म्याद सकिएको दुई विदेशी खेलाडी खेलाएको भन्दै १–० ले बिजय भएको खेललाई एन्फाको पुनरावेदन समितिबाट उल्टाउने निर्णय भएको भन्ने जानकारी गराएको रहेछ। दुई पक्षबीच भएको खेलमा खेलसंग सम्बन्धित नभएका एपीएफ फुटबल क्लबको उजुरीको आधारमा कारवाही गरेर उक्त खेलबाट थ्री स्टार क्लबलाई एन्फाको पुनरावेदन समितिबाट प्राप्त अंक परिवतन गर्ने र उक्त अंक सो खेलमा सहभागी प्रतिस्पर्धी क्लबले प्राप्त गर्ने निर्णय गरेको रहेछ। सोही विषयको सम्बन्धमा यसअघि अनुशासन समितिले ती दुई खेलाडी र क्लबलाई समेत जरिवाना गर्ने निर्णय गरेको थियो। एउटा घटनामा पटक पटक कारवाहीको निर्णय गर्न मिल्छ?’ अरुणमान जोशीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।