
देशहरूबीच कूटनीतिक सम्बन्ध स्थापनापछि त्यसलाई मलजल गरी विकसित गराउने तथा एकआपसमा फाइदाजनक स्थितिमा पुर्याउने काममा कूटनीतिको ठूलो भूमिका हुन्छ। देशहरूबीच कुनै औपचारिक वार्ता, लेनदेन, समस्या समाधान आदि कार्यमा पनि कूटनीतिको प्रमुख भूमिका रहन्छ। कूटनीतिको प्रभावकारी भूमिकाबाट कतिपय जल्दाबल्दा समस्या समाधान गरिएका उदाहरण पाइन्छन्। अतः कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्बन्धको एक महत्त्वपूर्ण जग मानिन्छ।
कुनै देश चाहे ठूलो वा सानो होस्, विकसित वा विकासशील, आआफ्नो तवरको कूटनीति सञ्चालन गरी आएको हुन्छ। कूटनीतिमा बोलीवचन, खाना, लवाइखवाइ, ऐतिहासिक पृष्ठभूमि आदिको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। कूटनीतिमा शिष्टताको त्यत्तिकै भूमिका हुन्छ। देशहरूबीच औपचारिक रूपमा पत्राचार गर्दा विशेष प्रकारको भाषा प्रयोग गरिन्छ। जुन साहै्र शिष्ट हुन्छ र हुनुपर्छ।
यी सबै भूमिकाबाहेक कूटनीतिमा खानाको अहम् भूमिका रहन्छ। खाना त सबैले आआफ्ना ढंगले खाएकै हुन्छन्। आआफ्नो देश तथा समाजअनुरूप खाना बनाइन्छ।
कूटनीतिमा खानाको महत्त्व झल्काउन एउटा भनाइ छ- Wining and dining is the soul of diplomacy. भनाइको मतलब कूटनीतिमा खानपिन आत्मासरह हुन्छ। कूटनीति बोली र पत्राचारबाट मात्र हुँदैन। चल्दैन। कूटनीतिज्ञहरूबीच पार्टी नियमित रूपमा चल्छन्। ब्रेकफास्ट, लन्च, डिनर तथा ब्रन्च आदि खाना समयअनुसार खाने चलन हुन्छन्। खाना खाँदै, वाइन पिउँदै समस्या सल्टाइएका उदाहरण छन्। सल्टिन नसकेका कठिने समस्याहरू डिनर टेबलमा आपसी सौहार्दपूर्ण वातावरणमा सल्टिन सक्छ। अतः खानपिनलाई कूटनीतिको एक महत्त्वपूर्ण अंग मानिन्छ।
कूटनीतिमा खानपिनको महत्त्वबारे ब्रिटेनका तीन पटक परराष्ट्रमन्त्री भएर प्रधानमन्त्री पनि भएका लर्ड पाल्मर्सटन (जन्म १७८४ मृत्यु १८६५) को भनाइ चर्चित छ। उनले सफल कूटनीति चलाउन खानपिनको महत्त्वबारे जे भने त्यो कुरा अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ।
विश्वका प्रत्येक मुलुकका राजधानीमा अर्को देशका राजदूतावास रहेका हुन्छन्। त्यहाँ राजदूतलगायत अन्य विभिन्न पदमा आसीन व्यक्तिहरू कार्यरत रहन्छन्। उनीहरू सबैले आआफ्नै तरिकाले कूटनीतिक अभ्यास गरिआएका हुन्छन्। भेटघाटका अतिरिक्ति लन्च–डिनरमा निमन्त्रणा दिनु भनेको साधारण काम हो। कामबाट फुर्सद भएका बेला कतिपय कूटनीतिज्ञहरूले स्वदेशी तथा विदेशी राष्ट्र्का कूटनीतिज्ञहरूसमेतलाई निमन्त्रणा गरी रमाइलो पार्टीहरू आयोजन गर्छन्। विश्वमा प्रचलित तरिका यही हो।
वास्तवमै कूटनीतिमा Wining and Dining लाई महत्त्वपूर्ण पाटोमा लिइन्छ। प्रयास गरिन्छ। अभ्यास गरिन्छ जुन सकारात्मक छ।
यसका साथै कतिपय मुलुकहरूले आफ्नो राष्ट्र्यि दिवसका अवसरमा कूटनीतिज्ञहरूलाई निमन्त्रणा गरी मनाउने गर्छन्। मैले कामकाज गरेका सहरहरूमा पेरिस तथा टोकियो साह्रै ठूला सहर हुन्। त्यहाँ करिब १७० देशका राजदूतावास रहेका छन्। ठूला देशमा अमेरिका, चीन, भारत, रुसी महासंघ, जापान तथा अन्य कतिपय देशहरू पर्दछ। यी मुलुकले आफ्नो राष्ट्र्यि दिवस मनाउन एक हजारदेखि दुई हजारजनासम्म पाहुनाहरू निमन्त्रणा गर्दछन्। यसमा कूटनीतिज्ञहरूलगायत अन्य गण्यमान्य व्यक्तिहरू तथा आफ्नो देश तथा राजदूतावासका लागि आवश्यक व्यक्तिहरू बोलाइन्छन्।
पेरिसमा रहँदा अमेरिका, भारत, चीन तथा रसी महासंघका दूतावासहरूबाट आयोजित ठूला पार्टीहरूमा सम्मिलित भएँ। यस्ता कार्यक्रममा पाहुना ग्वारग्वारती आउँछन्। खाना थरीथरीका र प्रशस्त हुन्छन्। सित्तैँमा उत्कृष्ट खाना खान पाउने अवसर नै यस्ता पार्टीहरू हुन्छन्। म आफ्नो कूटनीतिक कार्यको समयमा बैंकक, अबुधाबी, टोकियो तथा पेरिसमा कैयौँ पार्टीहरूमा उपस्थित भएँ। सबै सहरमा आआफ्नै किसिमका विशिष्टता थियो। तर यीमध्येमा पेरिसमा भने अलि फरक खालको थियो। त्यो के भने पेरिसमा एउटा स्थान छ जहाँ एकतले भवन रहेको छ। धेरैजसो दूतावासहरूले यहीँ आआफ्नो कार्यक्रम सम्पन्न गर्छन।
पेरिसमा कार्यरत रहँदा त्यस भवनमा धेरै पल्ट गएँ। एकपल्ट चिनियाँ दूतावासले आयोजना गरेको राष्ट्र्यि दिवस पार्टीमा गएको थिएँ। यति पाहुनाहरू थिए कि भनेर साध्य नहुने। विभिन्न प्रकारका चाइनिज तथा अन्य खानाहरू! एकछिन त त्यहाँ मेला लागेको हो कि जस्तो पनि लागेको थियो। त्यहाँको हल ठूलै भए पनि हलभित्र छिर्ने प्यासेज भने सानो। कोचाकोच जस्तै नै हुन्यो। तर अर्को मननयोग्य विशेषता भनेको त्यस्ता पार्टीमा मास्टर अफ सेरेमोनीले आमन्त्रित राजदूतहरूलाई निमन्त्रणा गर्ने राजदूतसमक्ष लगिदिन्थ्यो। निमन्त्रणा कार्डमा पनि एउटा पिन्क कलरको सानो स्टिकर टाँसिएकाले गर्दा आमन्त्रित व्यक्ति राजदूत भन्ने बुझिन्थ्यो। मास्टर अफ सेरेमोनीले फलानो देशको राजदूत भनेर ठूलो स्वरले कराएर परिचय गराउने हुँदा राजदूतलाई विशेष सम्मान पुग्थ्यो।
पेरिसमा अमेरिकी दूतावास एकदम ठूलो थियो। प्रशस्त कम्पाउन्ड भएर होला राष्ट्रिय दिवस जुलाई ४ का दिन त्यहाँ मनाउन गरिन्थ्यो। एक हजार जनाभन्दा बढी पाहुना हुन्थे। राजदूत, राजदूतका पत्नीदेखि अन्य उच्च पदस्थ कूटनीतिज्ञहरूले पाहुनाको स्वागत गरिन्थ्यो। अमेरिकाले आर्थिक कूटनीति प्रयोगमा ल्याएको बुझिन्छ। किनभने त्यहाँ पाहुनालाई पस्कने खानाहरू सबै सो पेरिसमा भएका अमेरिकी कम्पनीहरूले व्यवस्था गर्ने गरिन्छ।
निमन्त्रणा कार्डको पछाडि खाना व्यवस्था गर्ने कम्पनीहरूको नामनामेसी उल्लेख गरिएको हुन्छ। यसो गर्दा दूतावासलाई खाना तथा पेयपदार्थको रकम खर्च गर्नु परेन भने कम्पनीलाई पनि आफ्नो देशको राष्ट्र्यि दिवसमा खानाहरूको व्यवस्था गर्दा एक किसिमको सन्तोष हुन्थ्यो होला। रुसी महासंघको दूतावास पनि एकदम ठूलो तथा भव्य थियो। राष्ट्र्यि दिवसका उपलक्ष्यमा आयोजना गरिएको पार्टीमा एकदम उत्कृष्ट खाना राखिन्थ्यो। अरू राष्ट्रहरूले पनि राष्ट्रिय दिवसका अवसरमा आआफ्ना तालले मनाए पनि यी ठूला राष्ट्रहरूको जस्तो सानसौकत एवम् भव्य खाना भने कमै हुन्थ्यो।
हाम्रो परिप्रेक्ष्यमा भन्नुपर्दा गणतन्त्र दिवसका उपलक्ष्यमा युनेस्कोको मुख्यालयमा रहेको भवनमा मनाएका थियौँ। खाना सबै राजदूत निवासस्थानमा तयार गरी लगिएको थियो। शंकर न्यौपाने र दिलबहादुरको जोडीले खाना तयार गर्थे। नेपाली खाना सामान्य प्रकारका छन् नै। तर पनि मरमसलाको सम्मिश्रणले गर्दा स्वादिष्ट! पाहुनाहरूले खुसी भएर खाएका र सांस्कृतिक कार्यक्रममा समेत सरिक भएको दृश्य पनि देखेँ।
अंग्रेजीमा भनिन्छ- Eat to please yourself and dress to please others। मलाई पनि मिठो खानुपर्ने। भला सामान्य नेपाली खाना भए पनि स्वादिष्ट तरिकाले बनाउन सकिन्छ। मैले मनिलामा दीक्षित म्याडमबाट सिकेको चीज दही बनाएर धेरैलाई खुवाएको छु। यो स्वादिष्ट दहीसँग जोडिएका दुईजना व्यक्तिहरूमा पूर्व परराष्ट्र्मन्त्री स्व. डिल्लीरमण रेग्मी तथा देव दीक्षित हुन्। रेग्मीजी बैककमा स्वास्थ्योपचारका क्रममा आउनुहुन्थ्ये। उहाँको रेखदेख सहयोग मैले नै गरेँ। एक दिन मैले उहाँलाई चिज दही लिएर होटलमा गएँ। उहाँलाई त्यो चिज दही अति मिठो लागेछ। पटकपटक खुवाएँ। एक दिनको कुरा हो, उहाँ बैंकक आउने भएकाले दोनमुवाड एयरपोर्टमा लिन गएँ। प्लेनबाट नओर्लिँदै भित्रैबाट ए मोहन दिदी लिएर आएनौ? भन्नुभयो।
अर्को देव दीक्षितजी। उहाँलाई एकपल्ट सो चिज दही चाख्न दिएको थिएँ। ३० वर्ष पनि यदाकदा कतै भेट हुँदा त्यो मिठो दहीको सम्झना गर्नुहुन्छ। सावित्री भाउजूलाई पनि दही बनाउने साधारण तरिका सिकाइदिएँ। उहाँले सो चिज दही बनाएर धेरैलाई खुवाउनु भएछ। एक दिन मलाई धन्यवादसमेत दिनुभयो।
खानाकै कुरा गर्दा सन् १९९७ को घटना बिर्सनै सक्दिनँ म। म परराष्ट्र् मन्त्रालयको उपसचिव पदमा कार्यरत रहँदा नर्वेको राजधानी ओस्लो सहरमा बारुदी सुरुङका सम्बन्धमा अन्तर्राष्ट्र्यि सम्मेलनमा भाग लिन गएको थिएँ। नर्वेका परराष्ट्र्मन्त्रीले सबै देशका प्रतिनिधिहरूलाई डिनरमा निमन्त्रणा गरेका थिए। खानेकुराको मुख्य परिकारमा एउटा बिफको टुक्रा थियो जुन आधाजसो काँचै देखिन्थ्यो। मेरो दायाँ ब्रुनाईका र बायाँ सिंगापुरका प्रतिनिधि थिए। दुवैले बिफ काटेर खान खोज्दा रगत नै बगेको थियो। मैले त खानै सकिनँ। यत्तिकै छाडिदिएँ। रेस्टुराँहरू पनि बन्द भइसकेका थिए।
पेरिसमा कार्यरत रहँदा फ्रान्सको दोस्रो ठूलो सहर लियोका मेयरले हामी केही देशका राजदूतहरूलाई पत्नीसहित आमन्त्रण गर्नुभएको थियो। झन्डै २५ जना विभिन्न देशका राजदूत सपत्नी भेला भएका थिए। डाइनिङ टेबुल पनि अण्डाकारको चिटिक्क परेको रहेछ। मेयरले त्यस डिनर कार्यक्रमका लागि विशेष रूपमा कुक जेनेभाबाट बोलाएको भन्नुभयो।
कुक भन्ने व्यक्ति हात देब्रे पकेटमा राखी यताउता हल्लिराखेको थियो। डिनरको मुख्य परिकार ल्याइयो। एउटा बाउलमा केही झोल र त्यसमा एक टुक्रा सलक्क परेको मासु यियो। दुई चार टुक्रा गाँजर माछा जस्तै तैरिइराखेको थियो। यसो के होला यो खाना भनी विचारविमर्श गर्दा सुँगुरको जिब्रो रहेछ। ओहो पर्यो फसाद! कसरी खाने? खानै नसक्ने। साथै त्यो पनि आधाजस्तै काँचै देखिन्थ्यो। हामी दुवैले खानै सकेनौँ।
यताउताका गफ गरी बल्लतल्ल डिनरबाट फर्कियौँ। रेस्टुराँ बन्द भइसकेका र अरू खाना पाउने अवस्था नभएकाले यत्तिकै रात काटेका थियौँ। यस्तो अनुभव बटुलेपछि अरू कार्यक्रममा जानुपर्दा अलिअलि खानाको जाहो गरेर जान थाल्यौँ।
जापानबाट कार्यकाल सकेर फर्केको २२ वर्ष भइसक्यो। टोकियोमा कार्यरत रहँदा हामीले क्वाँटी निकै खायौँ तथा जापानी पाहुनाहरूलाई पनि निकै खुवायौँ। जापानमा गेडागुडी खाने चलन छ। त्यस कारण जापानी पाहुनाहरूले क्वाँटी निकै मिठो मानेर खान्थे। जाडोमा क्वाँटी पावर भन्दै पस्किन्थ्यौँ। एकपल्ट दूतावासाम एउटा कार्यक्रम आयोजना गरिएको थियो। खानामा आलुको अचार पनि राखेका थियौँ। चेक गणतन्त्रका राजदूतले कस्तो Exotic खाना पनि भनेर रमाएको कुरा सम्झन्छु।
पेरिसमा कार्यकाल सम्हाल्न गएको केही समय भएको थियो। फ्रान्स तथा स्पेनको बीचमा रहेको लामोथेग्वास भन्ने एउटा सानो गाउँ छ। त्यहाँका मेयर Mr. Scudellaro निकै नेपालप्रेमी। उनकी श्रीमतीले एउटा Germs Himalayan Association खोलेर नेपाली बालबालिकाहरूलाई मद्दत गरिरहेकी रहिछन्। हामीलाई निमन्त्रणा आएकाले त्यहाँ गयौँ। ओहो! त्यहाँ त सबै गाउँवासी नै नेपालप्रेमी। १० नोभेम्बर २०१० का दिन कार्यक्रम आयोजना हुँदा हिमालका तस्बिरहरू प्रशस्त राखिएको थियो। त्यहा हाँसको एउटा परिकार खाएको त्यो स्वाद अहिलेसम्म भुल्न सकेको छैन। खासगरी हाम्रो समाजमा हाँस भन्दा कुखुराको मासु नै खाने गर्छन्। तर फ्रान्समा उल्टो छ। कुखुरा भन्दा हाँसको मासु उच्च मानिन्छ।
कूटनीति र खानाको अन्योन्याश्रित सम्बन्ध छ। हाम्रो खानालाई सफ्टपावरका रूपमा लिन सकिन्छ। धेरै देशका पाहुनालाई हाम्रो नेपाली खाना मनपर्छ।
पेरिसमा हुँदा निवासस्थानमा धेरै पटक पार्टी आयोजना गर्यौँ। कूटनीतिक क्षेत्रका विभिन्न पाहुनाहरूलाई निमन्त्रणा गर्यौँ। एकपल्ट नेपाली राजदूतको घरमा मिठो खाना पस्किन्छ भन्ने सम्म हल्ला भएको सुनेँ। युनेस्कोमा कार्यरत उच्च पदस्थ कर्मचारीहरूबाट निमन्त्रणाका लागि अनुरोध आएको थियो। हामीले उनीहरूलाई सहर्ष निमन्त्रणा गरेर खाना खुवाएका थियौँ।