
भारतीय लेखिका बानु मुस्ताकलाई यस वर्ष अन्तर्राष्ट्रिय बुकर पुरस्कारबाट सम्मानित गरिएको लघुकथा संग्रह ‘हार्ट ल्याम्प’ ३५ विदेशी भाषा र १२ भारतीय भाषामा प्रकाशित हुने भएको छ। बानू मुस्ताकले बीबीसीलाई दिएको अन्तर्वार्तामा उक्त जानकारी दिएकी हुन्। साथै ‘हार्ट ल्याम्प’ मा आधारित एक अडियो पुस्तक पनि निर्माण हुँदै छ।
प्रस्तुत छ- ती लेखिकाको कथा, जसको मूल रूपमा कन्नड भाषामा लेखिएको पुस्तकले संसारभरि ख्याति कमाएको छ।
मुस्ताकलाई विद्यालयमा नाम लेखाउने बित्तिकै केही पनि सिक्न सकिनन्। यसको कारण थियो- उनी उर्दू माध्यमको विद्यालयमा भर्ना भएकी थिइन्। त्यहाँको वातावरण उनलाई मन परेन। मुस्ताक सम्झन्छिन्, ‘हामीकहाँ केटाहरूलाई कन्नड माध्यममा र केटीहरूलाई उर्दू माध्यममा पढाउने चलन थियो।’ बालबालिकाहरू धार्मिक साहित्यसँग परिचित होऊन् र घरेलु वातावरणमा सजिलै ढल्न सकून् भनेर यस्तो गरिएको उनको बुझाइ छ।
‘मेरो नाम उर्दू माध्यमको विद्यालयमा लेखाइएको कुरा मलाई थाहा छैन। तर त्यो वातावरण मलाई मन परेन। शिक्षक पनि मन परेनन्। म एक वर्षसम्म विद्यालय जान त गएँ, तर एक अक्षर पनि सिकिनँ’, उनले भनिन्। मुस्ताकका अनुसार यस कुराले उनका बाबु अत्यन्तै चिन्तित भएका थिए। किनभने उनलाई छोरी केही बन्नेछ भन्ने ठूलो आशा थियो।
आफ्ना बाबुको त्यस्तो आशाको पृष्ठभूमिबारे उनी भन्छिन्, ‘मेरो बाका धेरै ब्राह्मण साथी थिए। म जन्मनेबित्तिकै एकजना साथीले उहाँलाई केही लेखेर दिएका थिए। त्यो मैले पनि पढेकी छु। त्यसमा लेखिएको थियो- यो केटी ठूली भएपछि धेरै किताब लेख्नेछे र विश्वभरि नाम कमाउनेछे।’
मुस्ताकले नपढेपछि उनका बाबुले कन्नड माध्यमको विद्यालयमा नाम लेखाए। उनी सम्झिन्छिन्, ‘त्यो बेला म कक्षा तीन वा चारमा पुग्ने उमेरकी भइसकेकी थिएँ।’ कन्नड माध्यमको उक्त विद्यालयमा उनी एक सातामै वर्णमाला सिक्न सफल भइन्। त्यसपछि छ महिनामै कन्नड भाषाका पुस्तक पढ्न सक्ने भइन्। मुस्ताकले ती सबै कठिनाइ र प्रतिबन्ध भोगेकी छन्, जुन एउटा भारतीय मुसलमान र महिला भएको पहिचानसँगै आउँछन्।
कलेज जीवनमा निकै सक्रिय थिइन्। वादविवाद प्रतियोगितामा भाग लिन्थिन् भने साहित्यिक मञ्चमा पनि सक्रिय रहन्थिन्। उनको विवाह उनका कलेज सिनियरसँग भयो। कलेजमा बानुको यही सक्रिय र चिन्तनशील पहिचानकै कारण ती व्यक्तिले उनलाई मन पराएका रहेछन्।
विवाह हुँदा समाजमा यस्तो धारणा थियो- कुनै महिलाले काम गर्छे भने शिक्षक बनेर बिहान १० देखि बेलुकी ५ बजेसम्मको जागिर गर्नु उपयुक्त हुन्छ। मुस्ताक भन्छिन्, ‘म पहिल्यै शिक्षिका थिएँ तर विवाहपछि मैले राजीनामा दिएँ। यसको कारण थियो- म घरको जेठी बुहारी थिएँ, ममाथि केही जिम्मेवारी थिए।’ राजीनामा दिएर उनी खुसी थिइनन्। उनलाई घरबाहिरको जीवन पनि चाहिएको थियो, केही व्यक्तिगत ‘स्पेस’ चाहिएको थियो।
उनी भन्छिन्, ‘यसै कारण मेरो र मेरो श्रीमान्बीच कहिलेकाहीँ झगडा पनि पर्थ्यो। तर उनी पनि चाहँदैनथे कि म प्रतिबन्धभित्र बाँधिएर बसूँ। तर उनी पनि बाध्य थिए, त्यतिबेला उनी केही गर्न सक्दैनथे।’ उनी आफ्ना अवस्थासँग सन्तुष्ट थिइनन्। त्यसको अर्थ यो होइन कि कसैले उनीमाथि अत्याचार गरिरहेको थियो। उनी भन्छिन्, ‘त्यस्तो केही थिएन।’
उनले जति चुनौती भोगिन्, आफ्ना बाबु र पतिबाट त्यति नै महत्त्वपूर्ण साथ र समर्थन पनि पाइन्। ‘मेरा बा हरेक तरिकाले मेरो सम्पूर्ण व्यक्तित्व विकास होस् भन्ने चाहनुहुन्थ्यो। मेरा श्रीमान् पनि सधैँ म केही बनूँ भन्ने चाहन्थे। उनले म घरको काममै सीमित रहूँ भन्ने चाहेनन् कि। उनी भन्थे-तिमी आफ्नो काम गर’, मुस्ताकले भने।
जेठी छोरी तीन महिनाकी भएपछि मुस्ताकलाई निकै रिस उठ्यो। उनलाई लाग्यो- के अब मेरो काम यही मात्र हो? श्रीमती हुनु, आमा हुनु, अनि केही होइन? म रिसाउँथेँ, झगडा गर्थेँ। मुस्ताकले त्यस्तो कठिन समयमा आत्महत्या गर्ने प्रयास पनि गरेकी थिइन्। यद्यपि उनका श्रीमान्लाई उनलाई सम्हाले। आफूलाई हानि हुने त्यो कदम केहीछिनको आवेग मात्र थियो भन्नेमा उनी स्पष्ट छिन्।
श्रीमान्ले उनलाई सम्झाउँदै भनेका थिए- ‘अहिलेसम्म जीवन सकिएको छैन। तिमी जे गर्न चाहन्छ्यौ, त्यसलाई अवश्य पूरा गर्नेछ्यौ।”
एक समय मुस्ताक समाजसेवामा सक्रिय थिइन्। कर्नाटकमा विभिन्न प्रकारका सामाजिक आन्दोलन चलिरहेका थिए। समाजमा जागरण ल्याउने प्रयास भइरहेको थियो। त्यही समयमा उनले यस्ता अभियानमा भाग लिइन्- नारा लगाइन्, भाषण गरिन्। उनका अनुसार यस्तो काम धेरैलाई मन पर्दैनथ्यो। एकपटक नगरपालिकाको चुनाव (म्युनिसिपल इलेक्नस) हुँदै थियो, उनका बाबुलाई एकजना साथीले सुझाव दिए बानुलाई चुनाव लड्न दिनुपर्छ। मुस्ताक सम्झिन्छिन्, ‘मेरो बा आएर मेरो नाम दर्ता गराइदिनुभयो। हामीले एउटा भिन्न किसिमको चुनाव प्रचार अभियान चलायौँ। माइक आदि प्रयोग गरेनौँ। हातले पर्चा बनाएर घरघर गएर बाँड्यौँ। मैले चुनाव जितेँ।’
बानु मुस्ताक पत्रकार पनि हुन्। यसको कथा अलग्गै छ। उनी भन्छिन्, ‘एकपटक म निकै उदास हुन थालेकी थिएँ, तब मेरा श्रीमान्ले मेरा लागि धेरै किताब र पत्रपत्रिका ल्याउन थाले। एक दिन उनी लंकेश पत्रिका ल्याए। त्यो पत्रिका पढेपछि मलाई अनुभव भयो- यसमा केही फरक छ अनि म पनि यसमा लेख्न सक्छु।’ उनले इस्लाम र महिलासँग सम्बन्धित एउटा विषयमा लेख लेखेर लंकेश पत्रिकालाई पठाइन्। त्यो लेख पत्रिकामा प्रकाशित भयो।
त्यसपछि उनलाई विभिन्न विषयमा लेख्न प्रस्ताव गर्न थालियो। उनले लंकेश पत्रिकाका लागि १० वर्षसम्म रिपोर्टिङ गरिन्। रिपोर्टिङको अनुभवसँगै उनले छोटा कथा लेख्न थालेकी थिइन्। यस क्रममा उनको एउटा छोटो कथासंग्रह प्रकाशित भयो। त्यस पुस्तकलाई कर्नाटक साहित्य एकेडेमीबाट सर्वोत्तम पुस्तकको पुरस्कार प्राप्त भयो।
त्यसपछि एक पत्रकारले अन्तर्वार्ताका क्रममा उनलाई प्रश्न गरे- ‘मुस्लिम महिलाहरूलाई मस्जिद जान पाउने अधिकार छैन, के तपाईं यसबारे आन्दोलन गर्नुहुन्छ?’ मुस्ताक भन्छिन्, ‘मैले उनलाई भनेँ- कुनै आवश्यक छैन। इस्लामले मुस्लिम महिलामाथि यस्तो कुनै प्रतिबन्ध लगाएको छैन। उनीहरू मस्जिदमा गई नमाज पढ्न सक्छन्। अरब मुलुकमा यो सामान्य अभ्यास हो। केही दक्षिण एसियाली देशहरूमा मात्रै मुस्लिम महिलालाई मस्जिद प्रवेश निषेध गरिएको छ। त्यो धार्मिक होइन, पुरुषसत्तात्मक सोचको परिणाम हो।’
मुस्ताकका अनुसार उनको यस अभिव्यक्तिपछि केही मानिस रिसाए र उनीविरुद्ध सामाजिक बहिष्कार घोषणा गरियो। यो बहिष्कारको प्रक्रिया तीन महिनासम्म चल्यो।
मुस्ताकलाई बुकर पुरस्कारका लागि छोटो सूचीमा पर्नु नै पर्याप्त थियो। उनी भन्छिन्, ‘ममा खासै आत्मविश्वास थिएन। सोचेकी थिएँ-लन्डनसम्म आएका छौँ भने अलिकति घुमफिर गरौँला। म एकदमै रिल्याक्स मुडमा थिएँ। तर सामाजिक सञ्जालमा मैले कर्नाटकका जनताबीच अचम्मको उत्साह देखेँ। मानिसहरू कमेन्ट गर्दै थिए-‘बुकर त ल्याउनै छ।’
त्यसपछि उनले बुकर अवार्ड लिएर फर्कने अठोट गरिन्। मुस्ताकले भनिन्- ‘ त्यसपछि मैले पाँच-छ दिनअघि नै भाषण तयार गरेँ। पुरस्कार स्वीकृत गर्ने भाषण, जसको अभ्यास गर्दै म त्यहाँ पुगेकी थिएँ।’
भारतीय साहित्य र विशेषतः कन्नड साहित्यमा अपार सम्भावना छ तर प्रचारप्रसार र अन्तर्राष्ट्रिय पहुँचको कमी रहेको उनको अनुभव छ। उनी भन्छिन्, ‘क्षेत्रीय साहित्यलाई विश्वस्तरमा पुर्याउन आवश्यक छ।’
इमरान कुरैशीको बीबीसी हिन्दीमा प्रकाशित यो सामग्री भावानुवाद गरिएको हो।