बंगलादेश : युनुसले राजीनामा दिन लागेका हुन्?

हिमाल प्रेस ११ जेठ २०८२ १३:२४
24
SHARES
बंगलादेश : युनुसले राजीनामा दिन लागेका हुन्? बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस। तस्बिर : एएफपी/रासस

काठमाडौँ- बंगलादेशमा अन्तरिम सरकारका प्रमुख प्रोफेसर मोहम्मद युनुसले राजीनामा दिने इच्छा व्यक्त गरेपछि त्यहाँको राजनीतिमा तरंग उत्पन्न भएको छ। पछिल्लो केही दिनदेखि तीव्र गतिमा बदलिँदै गइरहेको घटनाक्रमका बीच युनुसले राजनीतिक दल र अन्य पक्षहरूको असहयोगका कारण देखाउँदै सरकार छोड्ने चाहना व्यक्त गरेको उनलाई उधृत गर्दै बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो कुरा एनसीपी (नेसनल सिटिजन पार्टी) का संयोजक नाहिद इस्लामले युनुससँगको भेटपछि सार्वजनिक गरेका हुन्। नाहिदका अनुसार ‘मुख्य सल्लाहकारले भनेका थिए, जब कसैलाई ममाथि विश्वास छैन भने म कसरी सरकार चलाउन सक्छु?’

युनुसको यो अभिव्यक्तिले पहिलेदेखि नै संकटमा परेको सरकारलाई थप अप्ठ्यारोमा पारेको छ। सञ्चारमाध्यमहरूका अनुसार नाहिदले उनलाई राजीनामाको निर्णय पुनर्विचार गर्न अनुरोध गरेका छन्।

राजनीतिक समर्थनमा फाटो

सेख हसिना सरकारको पतनपछि बनेको न्तरिम व्यवस्थालाई समर्थन गर्ने विद्यार्थी र दलहरूबीच अहिले मतभेद बढ्दै गएको छ। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) पहिले यो सरकारको समर्थक थियो। तर अहिले सडकमा उत्रिएर विरोध गरिरहेको छ। सरकार एनसीपीप्रति लचक भएको तर आफ्ना जायज मागहरूलाई बेवास्ता गरिरहेको बीएनपीको आरोप छ।

एनसीपीले पनि आक्रामक रूप देखाइरहेको छ। एनसीपीले सरकारका तीन प्रमुख सल्लाहकारहरू आसिफ नजरुल (कानुन), सलाहुद्दीन अहमद (अर्थ) र डा.वाहिद महमुद (योजना) लाई ‘बीएनपीका प्रवक्ता’ भन्दै सरकारले सुधारका सिफारिस कार्यान्वयन नगरे उनीहरूले राजीनामा दिनुपर्ने चेतावनी दिएको छ।

सेना र निर्वाचनको दबाब

बंगलादेशमा जारी राजनीतिक गतिरोधबीच सेना प्रमुख जनरल वकार–उज–जमानले यो वर्षको डिसेम्बरसम्म आम निर्वाचन गर्नुपर्ने अडान लिएका छन्। देशको भविष्य निर्धारण गर्ने अधिकार निर्वाचित सरकारसँग मात्र हुने उनको भनाइ छ।

तर सरकारले अहिलेसम्म निर्वाचनको कुनै मिति तय गरिसकेको छैन्। युनुसले सन् २०२५ को डिसेम्बरदेखि २०२६ को जुनबीच कुनै पनि समयमा निर्वाचन हुनसक्ने संकेत दिए पनि स्पष्ट समय दिएका छैनन्।

यसैबीच अन्तरिम सरकारभित्र पनि मतभेद सतहमा आएका छन्। परराष्ट्र सचिव जसीम उद्दिनले युनुस र विदेश मामिला सल्लाहकार तौहिद हुसैनसँग समन्वयको अभाव भएको भन्दै राजीनामा दिएका छन्। उनको नियुक्ति आठ महिनाअघि मात्रै भएको थियो।

समन्वय र संवादको अपिल

बीएनपी सरकारमाथि आक्रोशित बनेको बेला तेस्रो ठूलो दल जमात–ए–इस्लामीले वर्तमान संकटबाट निस्कन सबै दलको बैठक बोलाउन अपिल गरेको छ।

राजनीति शास्त्रका प्राध्यापक धीमान बनर्जी भन्छन्,‘बीएनपी र एनसीपीबीचको कटुता र आरोप–प्रत्यारोपको राजनीतिले अन्तरिम सरकारलाई अस्थिर स्थितिमा पुर्‍याएको छ। साथै अब सेनाको व्यवहार पनि पहिले जस्तो तटस्थ छैन।’

युनुससँग सीमित विकल्प रहेको भन्दै कि त उनले राजीनामा दिनुपर्ने कि चुनावको घोषणा गर्नुपर्ने बंगलादेशका वरिष्ठ पत्रकार तथा विश्लेषक शिखा मुखर्जी बताउँछिन्।

उनी भन्छिन्,‘अब युनुससँग विकल्प सीमित छन्। या त उनले राजीनामा दिनुपर्छ, या चाँडै निर्वाचनको मिति घोषणा गर्नुपर्छ। उनले रोज्ने बाटोले देशको राजीतिक भविष्य तय हुनेछ।’ (डीडब्ल्यूको सहयोगमा)

प्रकाशित: ११ जेठ २०८२ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast