कसले भन्यो मान्छे सर्वश्रेष्ठ प्राणी हो?

श्रवण शर्मा ११ जेठ २०८२ २१:०६
14
SHARES
कसले भन्यो मान्छे सर्वश्रेष्ठ प्राणी हो?

मूर्खता, अभिमान र सीमित ज्ञानबाट असीमित चाहना पूरा गर्न मान्छेले आफैँले आफैँलाई प्राणीमध्येको ज्ञानी मानेको हो। ठूलो संख्याका मानिसहरू कुनै न कुनै जटिल वा सामान्य मनोरोगग्रस्त छन्। मनोरोगले उत्पन्न गर्ने चिन्ताबाट मुक्तिका लागि मान्छे आफूलाई वैज्ञानिक, दार्शनिक, ज्ञानी र न्यायिक दाबी गर्छ। मान्छेमा मात्र होइन, संसारका प्रत्येक प्राणीमा ज्ञान हुन्छ। कतिपय जनावर मान्छेभन्दा कैयौँ गुणा बुद्धिमान र भविष्यद्रष्टा हुन्छन्।

प्राणीमा मात्र होइन, वनस्पतिमा पनि चेतना हुन्छ। वनस्पतिले मौसममा आउने परिवर्तन बुझ्छ। फुल्ने, फल लाग्ने समय जान्दछ। फूल फुल्ने र फल लाग्ने समयमा प्रशस्त पानि चाहिने हुनाले नै पानी पर्ने मौसममै अधिकांश वनस्पतिमा फूल फुल्छ र फल लाग्छ। पानी अभावमा आफैँ संग्रहण गर्ने ज्ञान पनि छ कतिपय वनस्पतिमा।

मान्छेले आफूसँग ज्ञान, बौद्धिकता र विवेक छ भन्ने कुरामा गर्दै आएको दाबीका पछाडिको कारण भ्रमको सम्प्रेषण, अपराधको आत्मिक उन्मुक्ति र चिन्ताको स्वाभाविक वक्तृता मात्र हो। मान्छेले कहिल्यै पनि आफूलाई एक प्राकृत तत्त्व हुँ भन्ने मानेन। धर्ती प्रयोग आफ्नो नैसर्गिक हक ठान्योे। धर्तीका अन्य वनस्पति र प्राणीसँगसँगै आफ्नो पनि उद्विकास भएको हो भन्ने अनुभव गरेन, अनुभव गर्नै खोजेन।

कुनै पनि मानिस सन्तुष्ट छैन। जसलाई तथाकथित पदप्रतिष्ठा र सम्पत्तिको पर्याप्तता छ, ऊ अहोरात्र रोगसँग चिन्तित छ। शिक्षाका लागि कुदिरहेका पनि धर्तीमा मानिसको श्रेष्ठता प्रमाणित गर्ने ध्याउन्नमा छन्। धर्तीमा आफ्नो अस्तित्वको अन्वेषण गर्ने फुर्सद छैन। यसो गर्नु समय सान्दर्भिक ठान्दैनन् मान्छेहरू। शिक्षा, धन र पद प्राप्तिका भगिरथ प्रयत्नहरुको सीमा र उपलब्धिहरुको सीमित नतिजा हेरेर धेरै प्रफुल्ल हुन प्रयास गर्छ, तर खासै खुसी हुन सक्दैन मान्छे।

मान्छेलाई कसले दियो सर्वश्रेष्ठताको पदवी? मान्छे स्वयंले आफूलाई सर्वश्रेष्ठताको पदवीले सुशोभित गराउन पाउँछ? धर्तीमा भएका करोडौँ प्रजातिमध्ये कुन प्रजातिले कहिले कहाँ प्रमाणित गरिदिए कि मान्छे नै सर्वश्रेष्ठ र बुद्धिमान भनेर? कुकुर, बिरालो, गाई, भैँसी वा अन्य कुनै किन सर्वश्रेष्ठ मानिएनन्?

मान्छेले आफ्ना धन्दामा अरूले हस्तक्षेप नगरून् भनेर कानुन बनायो। न्यायका लागि बनेको दाबी गर्ने हो भने कुन कानुनले कसलाई कहाँ न्याय गर्‍यो? मान्छेले बनाएका कानुन विभेदपूर्ण, एकपक्षीय, सत्ताको हितार्थ छन्।

प्रकृति र जनावरको कानुनमा विभेद छैन। प्रत्येक जनावर प्रजातिका आआफ्ना कानुन, नियम र तिनको सञ्चालन विधि बनेका छन्। हेर्नुस् त एउटा टोलको कुकुर अर्को टोलमा जाँदैन। जंगलमा बाघको एक निश्चित परिधि हुन्छ। ऊ त्यहाँभित्रको जमिनमै विचरण गर्छ। गाईभैँसी बाक्लो जंगलको भित्री तहमा प्रवेश गर्दैनन्। कागले गुँड बनाएको रूखमा अर्को चराले गुँड बनाउँदैन। जनावरमा आफ्नो झुण्डको संरक्षणको जिम्मा बलियो सदस्यले लिन्छ।

प्रत्येक जनावर र चराचुरुंगी आफैँ डाक्टर, आफैँ इन्जिनियर हुन्छन्। आफ्नो घर आवश्यकताअनुसार आफैँ डिजाइन गर्छन् र डिजाइनअनुसारको घर बनाउँछन्। आफ्नो स्वास्थ्य ख्याल आफैँ गर्छन्। बिरामी पर्दा आफ्नो उपचार आफैँ गर्छन्। अब मान्छेलाई हेरौँ त ऊ कति परनिर्भर, पराश्रित छ। प्रकृतिका पदार्थ प्रयोग गरेर मेसिन बनाउँछ। त्यही मेसिनले प्रकृतिका तिनै पदार्थ नास गर्छ। पदार्थको नासले विषम प्राकृतिक अवस्था आउँछ। त्यसलाई सामना गर्न औषधि बनाउँछ। औषधिको साइड इफेक्टका कारण किड्नी, कलेजो र मुटु कमजोर हुन्छ। पैसा तिरेर अर्काको किड्नी आफूमा प्रत्यारोपण गराउँछ। उसको सम्पूर्ण ध्याउन्न शक्ति सम्पत्ति वा राज्य दोहन गरेर आफ्नो प्राण अन्त्यलाई केही समयपछि सार्नमा प्रयोग गर्छ। एउटाको यस सफलताका लागि अन्य हजारौँ मान्छेहरुले पीडा भोग्छन्, दुःख पाइरहेका हुन्छन्।

प्रत्येक जनावर र चरा आफ्नो मृत्युका लागि आफैँ तयार हुन्छन्। आफ्नो मानो सकिएको बुझ्छन्। समय सकिएपछि पनि बाँच्न प्रयास गर्दैनन्। ह्वेल मर्ने बेलामा समुद्रको पिँधमा जान्छ भनिन्छ। अन्य प्रजातिले आफूलाई खानाका रूपमा प्रयोग गरून् भन्ने उसको आकांक्षा रहन्छ पनि भन्छन् अध्येताहरू।

कुकुर आफू बसेको घरभित्र मर्नै चाहँदैन। मर्दा आफ्ना मित्र मान्छेलाई दुःख नहोस् भनेर पर कतै गएर मरिदिन्छ। बच्चा पाउँदा पनि अरूले नदेख्ने ठाउँमा लुकेर बच्चा जन्माउँछ। गाईभँसी बसेर बच्चा जन्माउँछन्। उठेर बच्चा जन्माउँदा पछारिएर बच्चा मर्न सक्छ भन्ने चेतना उनीहरूमा पनि छ।

मान्छे ज्ञानी सिपालु हो भने किन क्यान्सरका सेल निकालेर फाल्न सकिरहेको छैन? किन मुटुका ब्लकेज आफैँ खोल्न सकिरहेको छैन? किन भूकम्प, हुन्डरी र भुमरीहरुको समयसारिणी पत्ता लगाउन सक्दैन र किन तिमाथि नियन्त्रण गर्न सकिरहेको छैन? किन एउटा सिंगो देशमा अत्यन्तै थोरै संख्याका मान्छे मात्र सम्पन्न छन् बाँकी गरिब, दुःखी र असहाय। विवेक हुन्छ भने किन अर्कालाई भोकै राखेर पर्दाभित्र चौरासी व्यञ्जन निलिरहन्छ मान्छे?

मान्छेबाहेक अन्य सबै प्राणीमा आफ्नो स्वास्थ्य आफैँ जाँच गर्ने, आफ्नो औषधि आफैँ खोज्ने, आफ्नो चिनाटिपन आफैँ हेर्ने, आफ्नो गर्भाधान वा सुत्केरी समयको आफैँ निर्धारण गर्ने, आफन्त, परचक्री र मित्रहरु आफैँ बनाउने, तीसँगको वरव्यवहारका मानक आफैँ तयार पार्ने कला, ज्ञान र सीप जन्मजात पाएका हुन्छन्।

कुरा सुरु गरौँ, घरपालुवा कुकुरबाट। हामी सबैले कुकुर देखेका छौँ। कतिपयले पालेको पनि होला। जब कुकुरको पेटमा रौँको मात्रा बढी हुँदै जान्छ, रौँले खाना पचाउन असजिलो हुन्छ, तब कुकुरले धार हुने लामा पात जस्तो जौ, गहुँ, धान, सिरु, बन्सो, दुबोजस्ता घाँस खान्छ। उसको पेटको संरचना वा मेटाबोलिज्म घाँस खानका लागि बनेको हुँदैन। घाँस खाँदा उसलाई उल्टी हुन्छ। उल्टीले पेटमा भएको रौँ र अपच खाना तत्काल बाहिर निकाल्छ अनि उसमा तुरुन्तै स्वास्थ्य लाभ हुन्छ। मानिस आफैँमा यति ज्ञान पालेर बसेको छ? छैन।

हात्ती आफ्नो शरीरको भारी वजन जान्दछ, त्यसै कारण दलदल जमिन थाहा पाउँछ र त्यता जाँदैन। कमिला सुँडमा पस्ला भनेर घाँस हल्लाएर कमिला टकटक्याएर मात्र खान्छ।

इकोसिस्टमका इन्जििनियर भनिएका कमिला चुनौती सामना गर्न, घर बनाउन र बच्चाको हेरचाह गर्न समूहमा बस्छन। माता कमिलाले बच्चाको हेरचाह गर्छ। संकेतका लागि कमिलाले रसायन छाड्छ त्यसलाई पत्ता लाएर अरू कमिला खाना खोज्न निस्किन्छन्। रानी कमिलाले फूल पार्छ।

रातो लोखर्केको पोथीले धेरै भालेसँगको समागमपछि बच्चा पैदा गर्छे। उसको निजी भालेलाई यी बच्चा मेरा हुन् वा होइनन् भन्ने पत्ता हुँदैन त्यसकारण छाउरा मारिदिन्छ।

मलामी किराको पोथीले भालेसँगको समागमपछि त्यही भालेलाई खान्छ। फूल पार्नका लागि उसलाई प्रशस्त पौष्टिक तत्त्व चाहिन्छ। पेटमा फूल हुनाले धेरै मेहनत गर्न सक्दैन त्यसकारण भालेलाई खाइदिन्छ। यसबाट प्राप्त पौष्टिक खुराकले एकै गर्भाधान समयमा सयौँ फूल पार्दछ।

पोथी एनकोन्डाले समागमपछि आफैँसँग समागमरत भाले सिंगै निल्छ। गर्भिणी अवस्थामा खाना खोज्न कठिन हुनाले उसले यो सहज उपाय अपनाएको हो। एउटा सिंगै भाले एनाकोन्डा निलेपछि ६ महिनासम्म उसलाई अन्य कुनै खाना चाहिँदैन। जब फूल पार्छ अनि मात्र बाहिर निस्कन्छ।

कोइली चराले आफू गुँड लाउँदैन। कागले गुँड नलाएसम्म फूल पार्दैन। जब कागले गुँड तयार पार्छ र फूल पार्न थाल्छ। अनि कागको गुँडमा गएर फूल पार्छ।

गाईले १० किलोमिटर परसम्मको गन्ध थाहा पाउँछ र गन्धबाट नै खतरा हो वा खतरा होइन भन्ने विश्लेषण गर्न सक्छ।

जब रात हुन्छ, ठूला बलिया र बैँसालु भैँसीहरू बाहिरी र पाडा वा कमजोरहरु भित्री घेरामा बस्छन्। कदाचित दुस्मनको आक्रमण भएमा पहिलो घरोका बलिया राँगाहरुले दुस्मनसँगको लडाइँ सामना गर्छन्। खासमा बाघका कारणले यसो गरेका हुन्। भैँसीले मान्छेसँग आत्मीय सम्बन्ध स्थापना गर्दछ। मान्छेको संरक्षण गर्नुपर्छ भन्ने ठान्छ।

वनस्पति वा खाद्य बालीका पातमा लाग्ने किराहरू कहिल्यै पातको अगाडिपट्टि अर्थात् उँभोपटि बस्दैनन्। पातको पछाडि टाँसिएर बसेका हुन्छन्। आकाशबाट परेको पानीबाट जोगिन यसो गरेका हुन्।

भेडीगोठका बलियाबलिया थुम्बा बाहिरी घेरामा बसेका हुन्छन्, माउ र पाठा भित्रतिर बस्छन्। वन कुकुर ब्वाँसो वा स्याल आएर पाठा नलैजाऊन् भनेर यो सुरक्षा विधि अपनाएका हुन्।

भाले झ्याउँकिरीले पोथीलाई फकाउन पखेटा रगडेर संगीत निकाल्छ। यो प्राकृतिक नियम हो। यसका पछाडि यौन चाहना भन्न पनि सकिन्छ तर सन्तानोत्पादनका लागि भन्नु बढी न्यायिक हुन्छ।

कछुवाले बालुवा वा कमलो माटो खोस्रिएर फूल पार्छ र छोपिदिन्छ। एउटै कछुवाले सयौँ फूल पार्छ। यसका पछाडि गहन वैज्ञानिक कारण छ। बालुवाबाट निस्किएर कछुवाका बच्चा समुद्रमा पुग्ने क्रममा बकुल्ला वा अन्य चराहरूले हजारौँ बच्चा खाइदिन्छन्। त्यसैकारण चराले खाइनसक्ने गरी बच्चा जन्माउनु वंश वृद्धिको कछुवाइ नियति हो।

ब्वाँसो असाध्य चलाख हुन्छ। सिकार गर्दा कसले कताबाट कसरी आक्रमण गर्ने कतिबेला गर्ने भन्ने निर्णय पहिल्यै गर्दछ। माकुराले सिकार र सुरक्षाका लागि जालो बुनेको हो। भाले माकुराले सम्भोगका लागि घण्टौँघण्टा प्रयास गरेर पोथी फकाउँछ। एकैपटक आक्रमण गर्‍यो भने पोथी माकुराले भालेलाई ठहरै मारिदिन्छ।

उल्लु चरो रातमा मात्र देख्छ र रातमा चलाख हुन्छ। उसको खाना मुसा, भ्यागुता, सर्प छुचुन्द्रा रातमा बाहिर निस्कने हुनाले उसले आफूलाई रातमा सक्रिय पारेको हो।

कागले चिलसँग लडाइँ गर्‍यो भने चिल कागसँग लडेर आफ्नो शक्ति क्षय गर्न चाहँदैन बरु माथिमाथि आकाशमा जान्छ। उसलाई थाहा छ काग आफू जति उचाइमा पुग्न सक्दैन।

पोलार बियरले हिउँमुनि कहाँनेर माछा छ भन्ने बाहिरबाटै पत्ता लाउँछ। उसको घ्राणशक्ति यति तीक्ष्ण छ कि प्रायसः त उसको अनुमान फेल खाँदैन। चरा जनावरमा कामका प्रयोजन र जिम्मेवारी सबैले पूरा गर्दछन्। कसैले कसैलाई अह्राइरहनु पर्दैन।

वनस्पतिहरुको पनि आश्चर्यजनक चरित्र बनेको हुन्छ। तपाईँले यदि एकाग्रसँग अन्वेषण गर्नुहुन्छ भने आफैँ  पनि पत्ता पाउन सक्नुहुन्छ वनस्पतिका प्राकृतिक चरित्रहरू।

प्रत्येक प्रजातिका रूखका जराहरू चिसो माटो भएतिर नै फैलन्छन्। पानी अभावको समयमा आफैँमा टाँसिएर बाँचेको झ्याउमा जम्मा भएको पानी रूखले सोसेर लिन्छ। जाडो महसुस गर्ने रूखले शीत थाम्न सकिँदैन भनेर पात झारिदिन्छ। सेपिलो ठाउँको रूख अग्लो हुन्छ, घाम भेट्नका लागि ऊ छिटोछिटो अग्लो हुन खोजेको हो। रुखले मूल जरालाई जमिनमा सीधा तल घुसाउँछ अरू जरा फैलन्छन्। मूल जरा तल जानु बलियो गरी जमिन समाउनु हो। अन्य जरा फैलनु वरिपरिको माटोमा प्राप्त पोषकतत्त्व लिनका लागि हुने गर्छ। बाओबाव रूखले हजारौँ लिटर पानी आफैँभत्र जम्मा पारेर राख्छ।

भनिन्छ– उन्यूँ मात्र एक त्यस्तो वनस्पतीय प्रजाति हो जसले डाइनोसोरलाई देखेको छ। अर्थात् डायनोसरका समयमा उन्यूँचाहिँ थियो। मान्छेले छुँदा वा हल्लाउँदा लज्जावती झार ओइलाउँछ। त्यसमा भएको पानीको चञ्चलताका कारण यसो हुन गएको हो।

अब भन्नुस् मान्छेमा मात्र बुद्धि छ कि अन्य जनावर–पशुपन्छीमा पनि छ? घमण्ड, भ्रम र दुष्कर्महरूले मानिसलाई अपराधी बनाइरहेछ। सबभन्दा ठूलो अपराध प्रकृतिमाथि भइरहेको छ र त्यसले मान्छे स्वयं संकटापन्न हुँदै छ।

मान्छे विकासको डोजर प्रयोग गरेर विनाशको राजमार्ग खन्दैछ। प्रकृतिसँगको सम्यक् सम्बन्धमा रहनु मान्छेको सबैभन्दा ठूलो सफलता थियो।

कतिपय क्रान्तिकारीहरू, माक्र्सवादीहरू र विकासवादीहरू सनातन सभ्यताका सूत्र बनाउनेहरूले बेठिक सूत्र तय गरी धार्मिक आस्था र त्रासमा राख्नाले नेपालको विकास नभएको हो भन्न अप्ठेरो मान्दैनन्। पृथ्वीनारायण शाहको एकीकरणयता पनि विकास द्रुतगतिमा चल्न सकेन भन्छन्। र, उनलाई गाली पनि गर्छन्। तर के सोच्तैनन् र बुझ्न खोज्दैनन् भने दुई सय वर्षअघि नै आजको रफ्तारको विनाशक विकास गरिएको थियो भने आजको पुस्ताले जन्म लिने प्राकृतिक वातावरण समाप्त भइसकेको हुन्थ्यो। पुर्खाहरूले प्रकृति र पर्यावरणलाई संरक्षित राखिदिएका हुनाले हामी जन्मिन पायौँ, हामी सन्तान जन्माउन सकिरहेका छौँ भन्ने सत्यप्रति विश्वास गर्न खोज्दैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast