यात्रा संस्मरण

सिगिरिया : चिरबिर, केरमेट र ‘बनाना रेस्ट’

ईश्वर पोखरेल १० जेठ २०८२ १३:१७
20
SHARES
सिगिरिया : चिरबिर, केरमेट र ‘बनाना रेस्ट’

हामी ९ फागुन २०८१ (तदनुसार २१ फेब्रुअरी, २०२५) आइपुगेका छौँ- श्रीलंकाको सिगिरिया। ‘बनाना रेस्ट’ हाम्रो यहाँको होमस्टे। यहाँ दिउँसो आइपुग्यौँ हामी। खाना पनि खाएका छैनौँ। झोला बोकीबोकी लन्चका लागि होटलमा के पस्नु भन्ने लाग्यो! परदेशमा पहिले बासमै पुग्नुपर्छ भन्ठानेर हामी बसबाट उत्रिएपछि टुकटुक लिएर पहिले यही ‘बनाना रेस्ट’तिरै सोझियौँ।

रोडबाट झन्डै एक किलोमिटरभित्र रहेछ- ‘बनाना रेस्ट’। रोड छाडेर एउटा सानो ग्राभेल सडकैसडक उत्तर लाग्यौँ- हामी। अनि पश्चिम। पातलो जंगल छ। जंगलकै बीचमा छन् केही संरचना। यिनै संरचनामध्ये एक ‘बनाना रेस्ट।’
सार्थक भन्दै छ- ‘यस होमस्टेको पश्चिमपट्टि नजिकै एउटा ठूलै पोखरी पनि छ।’

हामी बनाना रेस्टमा पुग्यौँ। काउन्टरमा एकजना वृद्धा थिइन्; नजिकै अरू कोही देखिएन। उनैले खोली दिइन्- कोठाको ताल्चा। र साँचो हाम्रो हातमा आयो। हामीले कोठामा झोला बिसायौँ। समयको यो चापाचापमा बनाना रेस्टमा ‘रेस्ट’ कसरी हओस्!

हामी निस्किहाल्यौँ। हामी भोकाएका मात्र छैनौँ; अब त ‘लन्च’को कुरा निकाल्दा मान्छे हाँस्छन् होला भन्ने डर पनि भइसक्यो! यहाँ वरपर रेस्टुरेन्ट नै धेरै छैनन्; यी रेस्टुरेन्टमा यतिखेर खाना पनि पाइएला कि नपाइएला!!

हामी नुडल्स खाने भयौँ। दिउँसोको एक बज्न लागेको छ र हामी यतिन्जेल बिहान गरेको नास्ताको भरमा छौँ। यति भोकाएको मान्छेले त जे पनि खान्छ! (धन्य, हामीले ‘जे पनि’ भनेनौँ; नुडल्स भन्न सक्ने चेत हामीमा बाँकी नै रहेछ!) खाइसकेपछि लाग्यो; अब त दौडिन पनि सकिन्छ।

हामीलाई आजै ‘लायन रक’ चढ्नु पनि छ।

हामी एउटा टुकटुक पक्रिन्छौँ र त्यतै कुद्छौँ। सडक पिच छैन; ग्राभेल पनि होइन तर धुलो उड्दैन; यो के अचम्म हो!
रातो माटाले बनेझैँ छ- सडक। लायन रकमा पनि रातोमाटाकै बढी प्रयोग भएझैँ लाग्ने। फेरि यता त वर्षभरि नै बर्सादको पनि सम्भावना रहने। यो सडकमा केही सिमेन्ट वा त्यस्तै कुनै केमिकलको पनि प्रयोग प्रयोग भएको पो छ कि! सडकमा मोटरले धुलो नउडाउनुलाई यिनैयिनै कुरासँग गाँसेर बुझ्नुपर्ने होला।

लायन रकमा उक्लिँदा र ओर्लिँदा लखतरान भएका थियौँ हामी। तर थाकेँ भनेर थकाइ मार्ने सुविधा हामीलाई कहाँ! झन्डै दुई किलोमिटर जति थियो- मूल सडक र लायन रकका बीचको दूरी। हामी हिँड्दै आयौँ। सडकमा निस्किएपछि सम्झियौँ- ‘हामीले आज किङ कोकोनट’को पानी खाएका छैनौँ।

अब किङ कोकोनट हाम्रो पहिलो प्राथमिकतामा आयो।

अलिक अगाडि एउटा पसल छ- झुप्रे पसल। किङ कोकोनट बाहिरै देखिएको छ- त्यहाँ। केही पर्यटक पनि त्यही खाँदै छन्।

हामी फटाफट हिँड्यौँ।

बुढो छ- पसले। ऊ टुप्पो काट्दै छ, पाइप राख्न मिल्ने ठाउँ बनाउँदै छ र ग्राहकको हातहातमा किङ कोकोनट थपाउँदै छ। खाइसकेका ग्राहकबाट ऊ रित्तो किङ कोकोनट माग्छ, त्यसलाई फोर्छ र भित्रको कमलो गुदी खानका लागि ग्राहकलाई संकेत गर्छ।

हामीलाई पनि उसले त्यसै गर्‍यो।

आहा! क्या मिठो हुने रहेछ- किङ कोकोनटभित्रको कमलो गुदी!!

यो ज्ञान पहिले नै कोलम्बोमै पाएको भए क्या मज्जा हुने थियो!

साँझ पर्न लागेको छ। हामी हिँड्दै ‘गुड’मा फर्किदै छौँ। धेरै गोरा पर्यटकहरू हिँड्दै फर्किदै छन्।
साँझमा यसरी हिँड्नुको पनि आफ्नै स्वाद छ!

होमस्टेभन्दा केही पर रहेको रेस्टुरेन्टमा गर्‍यौँ- हामीले डिनर।

अब फर्किँदै छौँ। तर खै, यो सडकमा त बत्ती पनि छैन; जंगलजंगलै छ- वरिपरि।

हामी मोबाइलको लाइट बालेर हिँड्दै छौँ।

होमस्टेको रेस्टुरेन्ट खण्डमा एकजना पुरुष रहेछ- यतिबेला। दिउँसो भेटिएकी वृद्धाको छोरो रहेछ ऊ। सामान्य कुराकानी भयो। हामीले भन्यौँ- ‘हामी यहाँबाट नेगोम्बो ट्याक्सीमा जान चाहन्छौँ; ट्याक्सी बन्दोबस्त गरिदिने पक्षमा केही सहयोग गर्न सक्नुहुन्छ?’

ऊ सकरात्मक देखियो।

झमक्क साँझ परेपछि हामी कोठामा भित्रियौँ।

दुइटा कोठा छन्- यस घरमा। एउटामा हामी छौँ। पल्लो कोठा आज खाली नै छ जस्तो छ।

थाकिएको छ; बेडमा ढल्किनु मात्र पर्छ; निन्द्राले छोपिहाल्छ।

हामी चाडै उठ्यौं। उठ्यौं के भन्नु; चराचुरुंगीले हल्ला गरेर उठाए भनौं।

म त चार बजे नै ब्यँुझिएको। सार्थक सुतिरहेको थियो। म बाहिर निस्किएँ र एउटा कुर्सीमा बसेँ। धर्तीमा उज्यालो ओर्लिन बाँकी नै छ। पन्छीका फरकफरक चिरबिर। चिरबिरभित्रै अर्को अनौठो आवाज। अर्को फरक आवाज। अर्को हस्तक्षेपकारी आवाज। सिगिरियाको बनाना रेस्टमा यो बिहान म एक बिल्कुल फरक रमाइलो अनुभव गर्दैछु। यी फरकफरक आवाज निकाल्ने पन्छीहरू कस्तो रङ, कत्रो आकार र कस्तो ठुँड भएका होलान् भन्ने जिज्ञासा मात्र थियो- मसँग। उज्यालो आउँदाओर्दा यी चराचुरुंगी उडी सक्ने पो हुन् कि! मैले यिनीहरूको रूपरङ देख्न नपाउने पो हुँ कि! मैले यिनीहरूको यही चिरचिरबिरमै चित्त बुझाउनुपर्ने हो कि!

सार्थक ब्युँझिएछ।

ऊ बाहिर आउँदाओर्दा देखिने चराको रूपमा एउटा मयूर छ। खोई त अरू!

मयूर रूखको हाँगामा बसेको छ। कहिले हाँगाबाट भुइँमा झर्छ; कहिले फेरि हाँगामै बस्न पुग्छ।

हामीले मयूर देखेका छौँ- चिडियाखानामा। यसरी जंगलमा स्वतन्त्र रूपमा विचरण गरेको मयूर हामी पहिलोपल्ट देख्दैछौँ।

सार्थकले केही क्लिप फोटा खिच्यो।

यो रमाइलोमा रङमगिएर बिताउने समय हामीसँग कहाँ छ र! आजै नेगोम्बो पुग्नु छ हामीले। श्रीलंकाको समुद्रमा सूर्यास्तको मनोरम दृश्य हेर्न पनि बाँकी छ। नेगोम्बोमै पूरा गर्नु छ- त्यो धोको पनि।

हामी झोला बोकेरै रेस्टुरेन्टमा आयौँ।

ब्रेकफास्टका लागि केही समय पर्खिनुपर्ने रहेछ। हामीले मेनु हेरेपछि भन्यौँ- ‘ब्रेकफास्टमा केही यहाँकै स्थानीय परिकार हुन सक्छ भने हामी त्यो रुचाउँछौँ।’

वैटरले भित्र सोधेर ‘हापर्स हुनसक्ने’ जानकारी दियो। हामीले त्यही रोज्यौँ।

आम्मामा, के विघ्न केरमेट गरेको रेस्टुरेन्टका भित्तामा!! कतै खाली नै छैन त!

गालमा एउटा रेस्टुरेन्टमा पनि हामीले यस्तै देखेका थियौँ। त्यो सानो रेस्टुरेन्ट। तैपनि लेख्नेहरूले भित्ता, खापा र निदालधरि बाँकी राखेका थिएनन्। यहाँ त स्पेस पनि ठूलो। लेख्न पनि कतै बाँकी नराखेका! खुब जाँगर चलाएर लेखेका!

हामी हेर्दै र अचम्मित हुँदै थियौँ; रेस्टुरेन्टवाला युवकले ख्याल गरेको रहेछ। हँसिलो अनुहारमा गफ गर्ने मुडमा हामी नजिकै आयो- ऊ। भन्यो- ‘यसरी नाम र ठेगाना लेख्दा व्यक्तिले म त्यहाँ गएको छु; त्यस होमस्टेमा बसेको र त्यो रेस्टुरेन्टमा खाएको छु भन्ने आधार हुँदोरहेछ।

यी भित्तामा कतिपय पर्यटक आफ्नो आफन्त र प्रियजनको नाम खोज्छन् र केही गरी तिनको नाम फेला पर्‍यो भने रोमाञ्चित हुन्छन्। यी यहाँबाट फर्किएपछि र ती प्रियजनलाई भेटेपछि पनि त्यो भेट साँच्चै रमाइलो हुन्छ होला। कतिपयले त भनेकै हुँदा रहेछन्- ‘त्यो रेस्टुरेन्टको त्यो भित्तामा हेर्; त्यहाँ मेरो दस्तखत छ।’ यो बिजिनेसका सन्दर्भमा पनि एक महत्त्वपूर्ण कडी हुने रहेछ। यी भित्तामा आफ्ना प्रियजनको नाम भेट्ने पर्यटकहरू यहीँ बस्न/खान रुचाउँछन्। यो राम्रो पनि देखिएको छ नि; छैन र?’

ऊ मज्जाले हाँस्यो।

यस्तो केरमेटभित्रको यो रहस्य! हामीलाई रमाइलो लाग्यो।

ट्याक्सी उसको साथीकै रहेछ। सामान्य मोलतोल गरेपछि दुवै पक्षलाई मान्य हुने विन्दु फेला परिहाल्यो।

साडे सात बजेतिर हामी नेगोम्बोका लागि दौडियौँ।

प्रकाशित: १० जेठ २०८२ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast