पहलगाम आक्रमणको एक महिना : कूटनीतिक हार कसको?

हिमाल प्रेस ९ जेठ २०८२ ११:४९
36
SHARES
पहलगाम आक्रमणको एक महिना : कूटनीतिक हार कसको? भारतको जम्मु कस्मिरमा खटिएका सुरक्षाकर्मी। तस्बिर : एपी/रासस

भारतको जम्मु कस्मिरमा पर्ने पहलगाममा २६ जनाकोे ज्यान जाने गरी आक्रमण भएको एक महिना पुगेको छ। पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणमा भारतीय सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान गएको थियो। घटनाले भारत-पाकिस्तानबीचको सम्बन्धमा तनाव बढाएको थियो। त्यसपछि सैन्य मुठभेडको अवस्था पनि उत्पन्न भयो।

पछिल्लो एक महिनामा जम्मु-कस्मिर र त्यहाँका मानिसको जीवन परिवर्तन भएको छ।

भारत र पाकिस्तानका सेनाबीच भएको सैन्य कारबाहीमा सीमा क्षेत्रका धेरै मानिस मारिए। रोयटर्सका अनुसार भारतमा कम्तीमा पाँचजना सैनिक र १६ जना सर्वसाधारणको मृत्यु भएको छ।

बाँचेका छन् मानिसहरू त्रासमा छन्। गोलीबारीमा धेरै मानिसको घर भत्किएका छन्। अन्य सम्पत्तिमा पनि क्षति पुगेको छ। उनीहरूलाई आफ्नो जीवन फेरि सामान्य बनाउन धेरै समय लाग्नेछ। लाखौँ पर्यटकको आगमनले कस्मिरी अर्थतन्त्रलाई लाभ पुर्‍याइरहेको थियो, जुन अहिले एक्कासि रोकिएको छ।

समाचार संस्था एपीका अनुसार अहिले कस्मिरभरि पर्यटक नभएको जस्तै स्थिति छ। अधिकांश होटल र हाउसबोट खाली छन्। कस्मिर होटल तथा रेस्टुरेन्ट संघका उपाध्यक्ष शेख बसिर अहमदका अनुसार अघिल्ला वर्षमा जुन महिनासम्म कम्तीमा १२ हजार बुकिङ हुने गर्थ्यो तर अहिले प्रायः सबै बुकिङ रद्द भइसकेका छन् र होटल व्यवसायसँग सम्बन्धित हजारौँ व्यक्ति बेरोजगार भएका छन्।

यसको असर अन्य क्षेत्रमा पनि परेको छ। हस्तकला, खानपानका पसल र ट्याक्सी चलाउनेहरूको व्यवसाय ठप्प भएको छ। हजारौँ दैनिक ज्यालादारी मजदुरले पनि आफ्नो रोजगारी गुमाएका छन्।

कति परिवर्तन भयो भारत-पाकिस्तान सम्बन्ध?

पहलगाम आक्रमणको एक महिना पूरा भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘पाकिस्तानले हरेक आतंकवादी आक्रमणको ठूलो मूल्य चुकाउनुपर्नेछ।’ भारत-पाकिस्तान सीमाको छेउ राजस्थानमा आयोजित एक कार्यक्रममा मोदीले पाकिस्तानको अर्थतन्त्रले पनि त्यसको मूल्य चुकाउने बताए।

मोदीको यो भनाइले देखाउँछ- पहलगाम आक्रमणले भारत-पाकिस्तान सम्बन्ध कति परिवर्तन गरिदिएको छ। सम्बन्ध पहिल्यै बिग्रिएको अवस्था थियो तर पहलगाम आक्रमणले दुवै देशलाई युद्धको नजिक पुर्‍याको थियो। सैन्य संकट त अहिलेका लागि टरेको छ तर त्यसको छाया अझ कैयौँ समयसम्म रहिरहनेछ।

भारतका परराष्ट्रमन्त्री एस जयशंकरले पहलगाम आक्रमणको एक महिना पूरा भएको अवसरमा दिएको अन्तरवार्तामा भने, ‘हाल दुवै देशका सेनाबीच गोलीबारी त भइरहेको छैन तर सैन्य अभियान भने जारी छ किनभने २२ अप्रिलजस्तो कुनै घटना फेरि दोहोरियो भने जबाफी कारबाही हुनेछ, हामी आतंकवादीहरूलाई आक्रमण गर्नेछौँ।’

‘अप्रेसन सिन्दूर’ बाट भारतले के हासिल गर्‍यो भन्ने विषयमा अझै पूर्ण विश्लेषण सकिएको छैन, तर यसबीचमा भारतीय अनुसन्धान निकायहरू पहलगाम आक्रमणमा संलग्न सबै आक्रमणकारीहरूलाई पत्ता लगाउन पूर्ण रूपमा सफल भएका छैनन्।

इन्डिययन एक्सप्रेसमा प्रकाशित एक रिपोर्टअनुसार एनआईए (राष्ट्रिय जाँच एजेन्सी) अझै पनि ती आक्रमणकारीहरूको खोजीमै व्यस्त छ। स्थानीयस्तरमा ठूलो संख्यामा मानिससँग सोधपुछ गरिसकेको छ।

जम्मु र कस्मिर प्रहरीले दिएको जानकारीका आधारमा इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ- प्रहरीले पनि ठूलो संख्यामा त्यस्ता व्यक्तिलाई पक्राउ गरेको छ, जसले आक्रमणकारीलाई सघाएको हुनसक्ने शंका गरिएको छ तर अहिलेसम्म आक्रमणकारीका बारेमा कुनै ठोस प्रमाण वा सुराक फेला परेको छैन।

संघर्षविराम लागू भएको छ तर भारतीय सेनाका अनुसार कस्मिरमा आतंककारीहरूसँग लगातार मुठभेड भइरहेकै छ। २२ मेमा मात्रै किस्तवार जिल्लामा भएको यस्तै एक मुठभेडमा भारतीय सेनाका एक जवानको ज्यान गएको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा भारत र पाकिस्तान दुवैको भूमिकाको विश्लेषण भइरहेको छ। भारतले आफ्नो पक्ष अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गर्न सबै प्रमुख राजनीतिक दलका सांसदहरूको प्रतिनिधिमण्डल ३३ देशमा पठाएको छ।

अन्तर्राष्ट्रिय जगत्‌बाट भारतले जस्तो सहानुभूतिको अपेक्षा गरेको थियो त्यो अहिलेसम्म प्राप्त हुन सकेको छैन। भारतकी पूर्व परराष्ट्रसचिव निरुपमा रावको भनाइअनुसार फेरि एकपटक भारत-पाकिस्तान एकसाथ जोडेर हेर्ने प्रवृत्ति भएको छ।

रावले इन्डियन एक्सप्रेसमा प्रकाशित लेखमा भारतले यो ‘हाइफनेसन’ हटाउन दशकौँ लगाएको थियो तर अहिले फेरि यसको पुनरागमन हुनु भारतका लागि ‘कूटनीतिक पछाडि फर्किएको अवस्था’ रहेको उल्लेख गरेकी छन्।

यो त्यस्तो समय हो जब दुवै देशको सैन्य कारबाहीमा कति क्षति भयो भन्ने यथार्थ चित्र अझै सार्वजनिक भइसकेको छैन। जब त्यो तथ्यबाहिर आउनेछ तब यो विश्लेषणमा अर्को अध्याय थपिनेछ।

प्रकाशित: ९ जेठ २०८२ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast