बैतडीमा रेबिजविरुद्ध खोप अभाव

हिमाल प्रेस ४ जेठ २०८२ ८:५० | Sunday, May 18, 2025
बैतडीमा रेबिजविरुद्ध खोप अभाव

बैतडी- बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्।

उनीहरू खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन्। जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ। यसका बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन।

उनले भने ‘गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ। खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ।’ जिल्लाको तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने गरिन्छ । सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिजविरुद्धको खोप दिइने गरिन्छ।

पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन्। कुनै जनावरले टोकेमा एक जनाले तीन मात्रा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ। तर खोपको अभावमा त्यस्ता व्यक्तिलाई फर्काउनुपरेको छ। कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जंगली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ ।

रेबिज भाइरसबाट लाग्ने रोग हो। यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस संक्रमित जनावरको र्यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ र भाइरस मानिसमा सर्छ। संक्रमित र्यालले कसैको आँखा, मुख वा खुला घाउबाट संक्रमण हुनसक्ने सम्भावना पनि रहेको हुन्छ।

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ। त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउनेजस्ता समस्या पनि देखिन्छ। रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्छ।

यसबाट अरु मानिसमा पनि सर्न सक्छ। रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ। रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुनसक्छ ।

प्रकाशित: ४ जेठ २०८२ ८:५० | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast