यात्रा संस्मरण

लक्सा, हिन्दू मन्दिर र जर्जटाउनको होमस्टे

ईश्वर पोखरेल ३ जेठ २०८२ २१:३०
12
SHARES
लक्सा, हिन्दू मन्दिर र जर्जटाउनको होमस्टे जर्जटाउनको आकर्षक टावर, जर्जटाउनमा सडकमा र होमस्टेबाट बाहिरिने तयारी।

२१ अक्टोबर, २०२३ का दिन। हामी मलेसियाको जर्जटाउनमा छौँ। हाम्रो समुदायमा २०८० सालको दसैँको रमझम प्रारम्भ भइसक्यो- हिजो फूलपाती; आज महाअष्टमी।
हिजो बेलुका हिँड्दै एउटा पार्कमा पुगेपछि हामीलाई लाग्यो- ‘फेसबुकमा हामीले पनि शुभकामना सन्देश पोस्ट गर्नुपर्छ र यसका लागि हामी चारैजनाको एउटा सामूहिक तस्बिर भए स्मरणीय पनि हुन्छ, हामी यता छौँ भन्ने पनि हुन्छ; मज्जा हुन्छ।’
तर हाम्रो तस्बिर पो कसले खिचिदिन्छ!

पार्कनजिकैको सडकमा हिँड्दै हामी नजिक आएको एक युवकसामु हामीले ‘हाम्रै पारा’ निकाल्यौँ। उसले मुसुक्क हाँसेर हाम्रो आग्रह स्वीकार गरिदियो।
हामीले ‘धन्यवाद’ भन्यौँ।

हामी यहाँ ‘नाइन्टिनाइन हेरिटेज हाउस’ नामको होमस्टेमा छौँ र आज हामीले यहाँबाट क्वालालमपुरका लागि प्रस्थान गर्नु छ। यस होमस्टेको व्यवस्था हाम्रा लागि अलिक नौलो छ। यहाँ होमस्टे सञ्चालक भनेर कोही बस्दैन; होमस्टेको काउन्टर पनि छैन। हाम्रो कोठा माथिल्लो तलामा छ; यस तलामा अरु कोठा पनि छन्। हाम्रो कोठा रहेको तलाभन्दा माथिल्लो तला पनि छ र त्यहाँबाट पनि पर्यटकहरू ओर्लने/उक्लिने गरेको देखिन्छ। तल्लो तलामा एउटा रेस्टुरेन्ट छ तर यो होमस्टे र त्यस रेस्टुरेन्टका बीचमा खासै सम्बन्ध भएझँै लाग्दैन।
हाम्रो कोठाको साँचो भने हामीले त्यही रेस्टुरेन्टको काउन्टरबाट प्राप्त गरेका हौँ।

काउन्टरमा बस्ने व्यक्तिले साँचो दिनुअघि कागजमा विवरण हेर्दै हामीलाई हाम्रो नाम र ठेगाना सोध्यो; साँचो दियो र ढोका खोल्ने तरिका बताइदियो। हामीले यहाँ नाम दर्ता गराउनु परेन। उसले यत्ति भन्यो- ‘ढोका खोल्न पहिले स्क्रिनमा साँचो देखाउनुपर्छ, अनि साँचो घुसाउनुपर्छ र ढोका खुल्छ।’ अनि उसले कुनै समस्या भएमा सम्पर्क गर्नुहोला भनेर एउटा नम्बर पनि टिपायो। रकम यस नम्बरमा पठाई दिनोस् भनेर अर्को नम्बर दियो।

यो होमस्टे सञ्चालकसँग त हाम्रो भेटै हुँदैन जस्तो पो छ!

कोठामा यति बजेभित्र आउनुपर्छ भन्ने छैन। साँचो भने हुनुपर्‍यो। न कसैलाई सोध्नु परोस्; प्रवेश गर्दा स्वागतमा न कोही मुसुक्क हाँस्छ! रेस्टुरेन्टवालालाई केही सोध्नु वा सहयोग माग्नु बेकारमा दुःख दिनु हो भन्ने हामीले बुझ्यौँ।

कोठा सफा र सुविधासम्पन्न छ तर ‘सिस्टम’ भने हामीले भेउ नपाउने किसिमकै छ। हामी मात्र भए त डराउँथ्यौँ पनि होला; हामीसँग छोराहरू छन्। उनीहरू यस्ता ‘सिस्टम’लाई हामीभन्दा सहज रूपमा र छिट्टै समात्छन्। सके उनीहरूलाई पनि लाग्दो हो; यहाँ हामी मात्रै छौँ र! हामीसँग हाम्रा बाबुआमा पनि त छन् नि; केको डर!’

हामी लगालग यहाँ दुई रात सुत्यौँ। बेलुकाको खाना बाहिरै खाएर आएर सुत्छौँ। धारा ठिक छ; ट्वाइलेट सफा छ; दैनिक जीवनका लागि कोठा हुन आवश्यक सबै कुरा छन्। ओछ्यान पनि सफा छ तर यसरी बस्दा हाम्रो मनले यसको जिम्मेवार कसैलाई आफू नजिकमा खोज्दो रहेछ; यहाँ त्यसको भने अभाव छ। हामीले हामीलाई दिइएको नम्बरमा कल पनि गरेनौँ; त्यस व्यक्तिको बोली पनि सुनेनौँ। अब आज यो छाड्नुभन्दा पहिले त्यो नम्बरमा रकम भने जम्मा गरिदिनुपर्छ। यो होमस्टे छाडेर हिँड्दा यहाँ त कसैलाई ‘थ्यांक्यु’ भन्न पनि पाइँदैन जस्तो पो छ!

फेसबुक फ्रेन्डहरूका नाममा दसैँको शुभकामना सन्देश लेखेर पोस्ट गरिएको तस्बिर, लक्सा रेस्टुरेन्ट र जर्जटाउनको हिन्दू मन्दिर।

हामी लगभग १० बजेतिर यहाँबाट हिँड्छौँ।

पहिले त हामीले ब्रेकफास्टका लागि निस्किनु छ। हामी ब्रेकफास्टमा केही ‘यहाँकै’ भन्ने मिल्ने स्थानीय परिकार चाख्ने विचारमा छौँ। छोराहरूले सुझाएका छन्- ‘लक्सा’। हामी यो पहिलोपटक नाम सुनेको परिकारतर्फ अभिमुख हुँदैछौँ।

खानपिनको सवालमा कौशु अलिक अप्ठ्यारी देखिएकी छिन्। सिंगापुरमा उनलाई दिउँसोको खानामा भात चाहियो। भात खोज्न हामीले धेरै होटल/रेस्टुरेन्ट चहार्‍यौँ। कतै नपाएपछि सोच्यौँ- ‘लिटिल इन्डिया’मा त कसो नपाइएला!’ अनि लाग्यौँ- त्यतै। ‘लिटिल इन्डिया’मा केही होटल चहारेपछि एउटा होटलमा दालभात त पाइयो; तर अत्यधिक महँगो! सादा दालभातको २१ सिंगापुर डलर।

अब महँगो भनेर भयो!
सादा खानाको यो दाम सुनेपछि सिंगापुरमा रहुन्जेल कौशुले फेरि भातको चाह त राखिनन्; आफ्नो स्वाद अनुकूल रहेन भने नखाईकन प्लेटमा उसै छाड्न पनि बाँकी राखिनन्। अब यो ‘लक्सा’ उनलाई कस्तो जच्ने हो!

हामी बाहिर निस्केका छौँ। छोराहरू उचित रेस्टुरेन्टको खोजीमा छन्। उनीहरू अघिअघि र हामी पछिपछि। उचित रेस्टुरेन्ट पहिचानको उनीहरूको मापदण्ड के हो? त्यसमा एउटा बुँदा भने ‘सफा’ हुनुपर्छ। उसो त हामी पसेको सबै रेस्टुरेन्ट कसैले पनि नाकनिक गर्नुपर्ने स्तरका छैनन्। वेटरहरू खास ड्रेसमा छन् र हातमा ग्लोभ्स लगाएका हुन्छन्।

हामी लक्साका लागि एउटा रेस्टुरेन्टमा पस्यौँ। यहाँ दुइजना नेपाली युवक पनि रहेछन्- एकजनाको घर भोजपुर, अर्कोको दैलेख। यी दुबै हामी नपुगेको जिल्ला! गाउँको नाम के सोध्नु र! जात, भातका कुरा निकालेर/सोधेर भेटघाट र बातचितलाई स्तरहीन बनाउने हाम्रो रुचि छैन। दुई युवकमध्ये एकजना काउन्टरको जिम्मेवारीमा रहेछन्; अर्काचाहिँ वेटर।

हामीले चार प्लेट लक्सा अर्डर गर्‍यौँ।

काउन्टरमा रहेका युवकले नेपालीमै सोधे- ‘पहिले खानुभएको छ?’
हामीले वास्तविकता बतायौँ। अनि उनैले भने- ‘तपाईँहरू दुई प्लेट लिनोस् र चार ठाउँमा बाँडेर खानोस्। मिठो लाग्यो भने थप्नुहोला।’

हामीले पहिले चार हाफप्लेट माग्यौंँ।

लक्सा सुकेको झिंगे माछा वा सुकेको झिंगे माछाको पेस्टबाट बनाइँदो रहेछ। यो सुप रहेछ- चाउचाउ सुप जस्तै। स्वाद पनि चाउचाउ सुपसँग मिल्दोजुल्दो। यसमा अरू मसला पनि मिसाइन्छ रे! अरू स्वादको पनि हुन्छ रे!

तर सुकेको झिंगे माछाको सेन्ट! कौशुले एकपटक चम्चामा सुरुप्प पारिन् र मुख बिगारिन्। सार्थकले पनि खाएन; सम्यक खाँदै थियो; उसले पनि बीचैमा छोडिदियो। अलिक खान सक्ने भनेको म नै देखिएँ।

हामीले लक्सा थप्नु परेन।

हामीले दुई हाम्रा भाइहरूलाई धन्यवाद भन्यौँ र बाहिरियौँ।

यस रोडबाट जर्जटाउन प्रवेश गरेकै समयदेखि आकर्षित भएको स्तम्भ जस्तो सुपरमार्केट छ्यांग देखिँदो रहेछ।
हामीसँग केही समय बाँकी छ। यसैबीच कौशुलाई अस्ति देखेको हिन्दू मन्दिरको स्मरण भएको छ। हामी ट्याक्सीमा त्यतै दौडिन्छौँ। बाटामा हामी ठट्टा गर्छौँ, ‘लक्साको कडा सेन्टपछि तिमीले मन्दिर सम्झे जस्तो छ!’’

एउटै मन्दिरमा सबै हिन्दू देवीदेवताहरू! सिंगापुरमा पनि हामीले यस्तै हिन्दू मन्दिर देखेका थियौँ। यतै आएपछि देख्न पाइयो यस्ता मन्दिर!

हामी फेरि ट्याक्सीमै कोठामा फर्किन्छौँ।

अब अलिक हतार गर्नुपर्छ।

फेरी (नौका)मा पनि केही समय लाग्छ। टिकट लिनुपर्‍यो; सिट निश्चित गर्नुपर्‍यो।

आज दिउँसोको खानाचाहिँ बटरवर्थस्थित फेरी (नौका) टर्मिनलनिकटका कुनै होटलमा गर्नुपर्ला।

प्रकाशित: ३ जेठ २०८२ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast