
आध्यात्मिकता नभएको शिक्षा कागजको फूलसरह हुन्छ।
-स्वामी आत्मानन्द गिरिजी महाराज
…धर्म नभएको राष्ट्रमा बस्यो भने हामी के हुन्छौं ?
-स्वामी ज्ञानानन्द सरस्वती
खोज्न जान्नेलाई वेद ज्ञान हो। विज्ञान हो। समाजशास्त्र हो। दर्शन हो। कला हो। साहित्य हो। जे खोज्यो त्यही हो।
-शिक्षाविद् विद्यानाथ कोइराला
वैदिक स्वास्थ्य भनेको आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित ज्ञान हो। …स्वस्थ रहन आयुर्वेदको ज्ञान नै पूर्ण रहेछ।
-दीपकप्रकाश बाँस्कोटा
२०८१ साल कार्तिक २१-२५ का पाँच दिन काठमाडौंको भृकुटीमण्डप आध्यात्मिक चहलपहलको केन्द्र बनेको थियो। किनभने त्यहाँ अतिरुद्र महायज्ञ को आयोजना गरिएको थियो। त्यो के उद्देश्य राखेर कसको प्रेरणा र प्रयासबाट सञ्चालन भएको थियो? कतिपय जिज्ञासुले उतिखेरकै छापा र आमसञ्चारका अन्य माध्यमबाट त्यस धार्मिक अनुष्ठानबारे जानकारी पाएका होलान्। महर्षि महेश योगीसम्बन्धी धेरथोर चर्चा पनि सुने हुनन् । योगीको २०३१ सालमा भएको पहिलो नेपाल–यात्राबारेको प्रसङ्ग समेत आयो होला।
वस्तुतः पोहोर कार्तिकको त्यो भव्य कार्यक्रम नेपालमा भावातीत वैदिक ध्यानको प्रारम्भ भएको स्वर्ण महोत्सवको अवसर रहेछ। र, त्यो अवसर छोपेर १,१११ सिद्ध बटुक पण्डितहरूद्वारा अतिरुद्र महायज्ञ भैरहेकै मौकामा देश-विदेशका विद्वान्, वैज्ञानिकहरूको सहभागितामा ‘अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान’ को दोस्रो महासम्मेलन पनि गराइएको रहेछ। यस्तो पहिलो सम्मेलन छ वर्षअघि काठमाडौंमै गरिएको र त्यसको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको कुरा आयोजक संस्था ‘नेपाल महर्षि वैदिक फाउण्डेसन’ का अध्यक्ष दीपकप्रकाश बाँस्कोटालाई कण्ठस्थै छ।
नेपाल देवभूमि हो- यो चिरपरिचित मान्यता हो। अध्यात्मको गहिरो अध्ययन गरेका विद्वान् विदुषीहरूले हिमालयको काखमा अवस्थित यस देशलाई वेदभूमि पनि मान्दैआएका छन्। र, यस्तो मान्यता नेपाल वा छिमेकी भारतमा सीमित छैन। पाश्चात्यजगत्का अध्येता र अन्वेषकहरूले पनि वेद नै संसारको जेठो धर्मग्रन्थ मानेका छन्। यिनकै मत मान्ने हो भने पनि वेद चार हजार वर्षअघि रचिएको ग्रन्थ हो यद्यपि वैदिक सनातनीहरूले त यो अपौरुषेय रचना अझै पहिलेको हुनुपर्ने धारणा राख्दछन्। तिनका लागि वेद मूलग्रन्थ र पुराण र स्मृतिहरू सहायक कृतिहरू हुन्। महर्षि महेश योगीले २०३१ साल (सन् १९७४) मा काठमाडौंमा योग शिविर सञ्चालनकै बखत ‘नेपाल वेदभूमि हो’ (Nepal is the home of the Vedas) भनेर आफ्नो उद्गार पोखिसक्नु भएको थियो। हामीलाई ज्ञात भएकै कुरो हो, ऋग्वेद एक्लो वेद होइनस साथमा सामवेद,यजुर्वेद र अथर्ववेद गरी तीन अन्य वेद पनि छन्। यसै तथ्यलाई इङ्गित गर्न महर्षिले अङ्ग्रेजीमा बहुवचन प्रयोग गरेको हुनुपर्छ।
जे होस्, फाउण्डेसनबाट २०८१ को अतिरुद्र महायज्ञ र सम्मेलनका बखत विभिन्न पीठाधीशका स्वामीजीहरूले दिनुभएका सारगर्भित प्रवचनहरू, विद्वान् एवं वैज्ञानिकहरूका मन्तव्य र सहभागीहरूका अनुभव औ अनुभूतिहरू समेटेर एउटा प्रकाशन अक्षयतृतीयाका दिन (१७ वैशाख २०८२) लोकार्पण गरियो। त्यस दिनको समारोहमा सामेल हुन दक्षिणकाली नगरपालिकामा अवस्थित् पवित्र क्षेत्रमा पुगेका अतिथिहरूको लहरमा यस हरफको लेखक पनि थियो। यो ३०८ पृष्ठको ‘महर्षि सन्देश’ ग्रन्थलाई ६ खण्डमा बाँडिएको छ जसमा ‘दृष्टिकोण खण्ड’ नै क र ख गरी दुईटा छन्। संस्कृत र अङ्ग्रेजीको छुट्टै खण्ड छ।
अङ्ग्रेजी खण्डमा राखिएको एक लेखमा लेखक-लेखिका किङ्ग्सली ब्रूक्स र लेज्ली ब्रूक्स (दम्पत्ती) ले महर्षी महेश योगीका आदर्शसूत्रहरू अन्तर्राष्ट्रिय पाठकहरूका लागि सरल शब्द-शैलीमा प्रस्तुत गर्नुभएको छ। तस्बिर र परिशिष्ट खण्डहरू पनि अतिरुद्र महायज्ञलाई अभिलेखीकरण गरिएको छ-आगामी पुस्ताहरूले तिनका पूर्वजहरूको परिश्रम र योगदानलाई ठम्याएर मार्गनिर्देशन पाउन सकुन् भन्ने सदाशयका साथ। परिशिष्टको पुछारमा रहेको ‘महर्षिका बाह्र प्राथमिकताका क्षेत्रहरू’ मा पठनीय मात्र होइन मननीय बुँदा र विषयहरू समेत परेका छन्। सम्पादकीय पृष्ठमा राष्ट्रशान्ति र विश्वकल्याण खातिर यसप्रकारका यज्ञ र महायज्ञ गर्दै रहने प्रतिबद्धता जनाइएको छ। नेपालभर ९० भन्दा बढी गुरुकुलहरू सञ्चालन भैसकेको हुनाले त्यो प्रतिबद्धता कार्यरूपमा परिणत हुँदैजाने कुरामा आश्वस्त हुने आधार तयार भएको छ। यतिकसो सामग्री समेटेर एउटा गहन प्रकाशन समाजलाई उपलब्ध गराउने प्रधान सम्पादक धर्मानन्द भारवि (भरतराज पौडेल) र उहाँका सहयोगीहरूको जाँगर वचनबद्धता प्रशंसनीय मान्नुपर्छ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य-उपदेशमा परेको ‘असलि हिन्दुस्थाना’ भन्ने पदावलीले नेपाल दक्षिणको छिमेकीजस्तो विगतमा अङ्ग्रेज र त्यसअघि मुगल शासकहरूले बिटुल्याएको भूमि होइन भन्ने कुरामा नेपालवासीहरूलाई सचेत गराएको पाइन्छ। यस कथनको मूल आधार वेद हो भन्नेमा कसैलाई सन्देह रहनु हुन्न। वेदोsखिलो धर्ममूलम्। यही हो मुख्य अभिप्राय ‘महर्षि सन्देश’ को।