
‘कार्ल्स भिल्ला’ को भुइँतला अगाडि बगैँचा छ, जहाँ पुराना मूर्ति राखिएका छन्। पाहुनालाई यो बगैँचा आकर्षक लाग्छ। ‘कार्ल्स भिल्ला’ कार्ल ज्याकबसेनले सन् १८९२ मा निर्माण गराएका थिए। ज्याकबसेन प्रसिद्ध बियर कार्ल्सबर्ग संस्थापकका छोरा हुन्। कार्ल्सबर्गका हरेक बैठक यही भवनमा हुने गरेका छन्।
ज्याकब आरूप एन्डरसन कार्ल्सबर्गका वर्तमान प्रमुख हुन्। उनलाई सोध्ने गरिन्छ, ‘कार्ल्सबर्ग किन यत्तिविघ्न सफल भएको?’
क्षेत्रफलमा डेनमार्क खासै ठूलो देश होइन। यहाँ काल्सबर्गबाहेक टन्नै कम्पनी छन्, जसले विश्वव्यापी ख्याति कमाएका छन्। ‘डेनमार्क सानो देश भइकन पनि यहाँका धेरै कम्पनी विश्वबजारमा सफल छन्। यही पहेलीबीच अल्झिएको छ, काल्सबर्गको कथा,’ एन्डरसन भन्छन्।
डेनमार्क जस्तो छ, त्यस्तै छन् फिनल्यान्ड, नर्वे र स्विडेन। नर्डिक क्षेत्रका यी चार ठूला देशको विश्व गार्हस्थ उत्पादनमा लगभग १ प्रतिशत योगदान छ। विश्व जनसंख्यामा उनीहरूको हिस्सा भने मात्र ०.३ प्रतिशत हो। तर पनि यहाँबाट विश्वबजारमा उदाएका कम्पनीको सूची लामो छ।
डेनमार्कको लेगो आम्दानीको आधारमा विश्वको सबैभन्दा ठूलो खेलौना निर्माता हो। स्विडेनबाट सुरु भएको आईकीआ सर्वाधिक ठूलो फर्निचर कम्पनी हो। स्विडेनकै मिटबल्स विश्वका सर्वाधिक ठूला रेस्टुरेन्ट चेनको शीर्ष ६ मा पर्छ। सुरुङ खन्न चाहिने उपकरण बनाउन सिपालु एट्लास कोप्को, टेलिकम्युनिकेसनका ठूला नाम नोकिया र एरिक्सन पनि नर्डिक क्षेत्रकै कम्पनी हुन्।
अचेल गीतसंगीत सुन्न प्रयोग हुने स्पटिफाई पनि यहीँबाट सुरु भएको हो। मोटोपन हटाउन प्रयोग हुने औषधि बनाउने डेनिस कम्पनी नोभो नोर्डिस्कलाई त युरोपकै सबैभन्दा बहुमूल्य कम्पनी मानिन्छ।
पछिल्लो एक दशकमा नर्डिक क्षेत्रका कम्पनीले बाँकी युरोपका कम्पनीलाई उछिनेका छन्। सेयरधनीलाई मुनाफा दिनेमा उनीहरू नै अगाडि छन्। युरोपेली महादेशका बहुमूल्य कम्पनीको सूचीको १३ प्रतिशत हिस्सा उनीहरूकै छ, जबकि पाँच वर्षअघि उनीहरूको हिस्सा १० प्रतिशत थियो। यो जर्मन कम्पनीहरूले ओगटेको हिस्सा बराबर हो।
उस्तै प्रकृतिका वस्तु उत्पादन गर्ने विश्वका अरू कम्पनीसँगको प्रतिस्पर्धामा पनि नर्डिकका उत्पादक बलिया छन्। आम्दानी, लगानी र बिक्रीको प्रतिस्पर्धामा नर्डिकका कम्पनीले विश्वका अन्य भागबाट आएका कम्पनीसँग खरो प्रतिस्पर्धा गर्ने गरेका छन्। उसो त नर्डिकका हरेक ठूला कम्पनी सफल भएका छन् भन्ने छैन। ब्याट्री उत्पादक स्विडिस कम्पनी नर्थभोल्ट टाट पल्टिएको धेरै भएको छैन। नोकियाकै मोबाइल बजार एप्पलले तहसनहस बनाइदिएको थियो।
नर्डिक क्षेत्र प्राकृतिक रूपमा असाध्यै धनी छ। विशेषगरी काठ, फलामका लागि चाहिने खनिज, तेल, ग्यासलगायतका लागि यो क्षेत्र सम्पन्न छ। फेरि यतिले मात्र नर्डिकका कम्पनीलाई सफल बनाएको भने होइन। उसो भए अरू कारण के हुन्?
एउटा कारण हो, यहाँका मान्छेमा भएको व्यापारिक गुण। उहिल्यै यहाँका ‘भाइकिंग्स’लाई साहसिक यात्री मानिन्थ्यो। ‘हामी क्षेत्रफलका हिसाबले साना छौँ। सानो मनिनु नै हाम्रा लागि फाइदाजनक छ। यसले गर्दा हामीलाई सबैतिर व्यापार गर्न सजिलो भएको छ’, आरूप एन्डरसन भन्छन्।
नर्डिकका १० सर्वाधिक बहुमूल्य कम्पनीले गर्ने कुल आम्दानीमा घरेलु बजारको हिस्सा जम्मा दुई प्रतिशत मात्र छ। बाँकी युरोपका कम्पनी र अमेरिकी कम्पनीको आम्दानीमा घरेलु बजारको हिस्सा क्रमशः १२ र ४६ प्रतिशत रहन्छ।
विश्वमा सबैभन्दा धेरै गहना बनाउने प्यान्डोराका प्रमुख वित्तीय अधिकृत आन्द्रेस बोयर्सका अनुसार यो कम्पनीले कोपनहेगनमा एउटा पसलबाट व्यापार सुरु गरेको थियो। व्यापार सुरु गरेको आठ वर्षभित्रै विश्वव्यापी हुन सकेको प्यान्डोरको कुल बिक्रीमा डेनमार्कको हिस्सा केवल १ प्रतिशत छ।
सफलताको अर्को कारण हो, बदलिँदो प्रविधिको आत्मसात् गर्नु। दोस्रो विश्वयुद्ध सकिएको केही समयपछि लेगोले खेलौना बनाउन काठको सट्टा प्लास्टिकको प्रयोग गर्न थालेको थियो। आज पनि नर्डिक क्षेत्रका कम्पनी आफूलाई समयअनुसारको परिवर्तन गर्न खप्पिस छन्। युरो स्टाटका अनुसार १० भन्दा बढीलाई रोजगारी दिएका ४५ प्रतिशत युरोपेली कम्पनी क्लाउड कम्प्युटिङको सुविधा लिन्छन्। नर्डिक देशमा ७३ प्रतिशत कम्पनीले यो सुविधा लिने गरेका छन्।
स्टार्टअपका लागि पनि नर्डिक सहर आकर्षक गन्तव्य मानिन्छन्। लन्डन, पेरिस र बर्लिनपछि सबैभन्दा बढी लगानी भित्र्याउने स्टार्टअप कम्पनी स्टोहोल्मका छन्।
उता हेलिसन्की मोबाइल गेम डेभलपरले भरिएको छ। एंग्री बर्ड बनाउने रोभियो, क्लास अफ क्लान्सको निर्माता सुपरसेल यही सहरका हुन्। सरकारले बेरोजगारीका लागि भत्तालगायतका सुविधा व्यवस्था गरिदिएका कारण पनि नर्डिकका युवाहरू नयाँनयाँ काम गर्नका लागि डराउँदैनन्। त्यसमाथि सार्वजनिक स्वास्थ्य र शिक्षामा सरकारी लगानी बृहत् छँदै छ।
नर्डिक क्षेत्रका देशको नीति, यहाँका कम्पनीको सफलताको तेस्रो कारण हो। उच्च व्यक्तिगत कर लगाएर देशको कल्याणकारी नीति थेगिएको यहाँ कम्पनीले तिर्नुपर्ने करचाहिँ अमेरिकाकै जति नै छ।
वासिङ्टन डीसीको थिंक ट्यांक हेरिटेज फाउन्डेसनले बर्सेनि तयार पार्ने आर्थिक स्वतन्त्रता भएका देशको सूचीमा डेनमार्क, स्विडेन र नर्वे शीर्ष १० मा रहने गरेका छन्।
डेनमार्कमा कामदार नियुक्त गर्न हटाउन युरोपका अन्य देशमा भन्दा असाध्यै सजिलो छ। डेनिस सरकारले डिजिटाइजेसनमा ध्यान दिएकाले पनि यहाँ व्यापार सुरु गर्न सहज छ। विश्वको ठूलो सिपिङ कम्पनीमध्येको एक मार्सेकका प्रमुख भिन्सेन्ट क्लेर्कको भनाइ छ, ‘डेनमार्कका एक दिनमै भ्याट नम्बर पाइन्छ।’ जबकि फ्रान्सजस्तो देशमा भ्याट नम्बर पाउन महिनौँ लाग्छ।
सफलताको चौथो कारण हो, धैर्य सेयरधनी। यस विषयमा अध्ययन गर्ने संस्था म्याककिन्सेका अनुसार नर्डिक क्षेत्रका लगभग ८० प्रतिशत कम्पनीमा दीर्घकालीन सेयरधनी छन्। युरोपका अरु देशमा ६० प्रतिशत र अमेरिकामा २० प्रतिशत कमपनीका सेयरधनी दीर्घकालीन हुने गर्छन्। मार्सेक र लेगो जस्ता ठूला नर्डिक कम्पनीमा अझै पनि संस्थापक परिवारहरूको नियन्त्रण छ। यद्यपि यी कम्पनी सञ्चालनको जिम्मा भने परिवार बाहिरकालाई दिइएको छ।
स्विडेनको समृद्ध परिवार वालेनबर्गको धनको जग वित्तीय संस्थामा उनीहरूले गरेको लगानी हो। यसबाहेक एट्लास कोप्को र एरिक्सनमा पनि उनीहरूको लगानी ठूलो छ।
नर्डिक क्षेत्रका अरू ठूला कम्पनी काल्सबर्ग र नोभो नोर्डिस्कको सञ्चालन गैरनाफामूलक संस्थाहरूले गर्छन्। यस्तो संरचनाका कारण नर्डिकका नाम चलेका कम्पनीलाई विदेशी लगानीकर्ताले नियन्त्रण लिन पाएका छैनन्। यही कारण यी कम्पनीले दीर्घकालीन योजना बनाएर लगानी गर्न पाउने वातावरण छ। म्याककिन्सेका अनुसार नर्डिकका कम्पनी ‘रिसर्च एन्ड डेभलपमेन्ट’ मा पश्चिमा बजारका अरु कम्पनीले भन्दा बढी खर्च गर्छन्।
घरेलुभन्दा बाहिरको बजारमा धेरै निर्भर भएकाले नर्डिक कम्पनीहरू विश्व राजनीतिक परिवर्तनको चेपुवा पर्ने गरेका छन्। यसको उदाहरण हो, रुस-युक्रेन युद्धले काल्सबर्गलाई पारेको असर। सन् २०२३ मा रुसी सरकारले रुसभित्र रहेको काल्सबर्गको व्यापार नियन्त्रणमा ल्याएको थियो।
गत डिसेम्बरमा काल्सबर्ग अन्ततः आफ्नो व्यापार दुई स्थानीय रुसी कम्पनीलाई कम मूल्यमा जिम्मा लगाएर बाहिरन बाध्य भयो। उता विश्वको दोस्रो ठूलो कन्टेनर सिपिङ कम्पनी मार्सेकका जहाजमाथि पटक पटक ‘रेड सी’ मा आक्रमण हुने गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिका कारण पनि नर्डिक कम्पनीका लागि व्यापार सहज हुनेवाला छैन। ट्रम्पले थालेको व्यापार युद्धको परिणाम अहिले आकलन गर्न गाह्रो छ। तर केचाहिँ भन्न सकिन्छ भने आउँदा वर्षमा अमेरिकी प्रशासनको व्यापार नीतिका कारण अमेरिकी बजारमा नर्डिक कम्पनीको उपस्थितिमा असर पर्नेछ। स्मरणीय तथ्य के छ भने नर्डिकका १० बहुमूल्य कम्पनीका उत्पादन बिक्रीमा अमेरिकी बजारको हिस्सा एकतिहाई छ।
यी समस्यासँग जुध्न आफ्नो नर्डिक चरित्र काम लाग्ने आशा कम्पनीहरूको छ। यही मेसोमा लेगोका प्रमुख कार्यकारी अधिकृत निल्स क्रिस्टन्सन चार्ल्स डार्विनको सिद्धान्त उधृत गर्छन्। ‘सधैँ बलिया टिक्छन् भन्ने छैन। वातावरणअनुसार आफूलाई परिवर्तन गर्ने मात्र टिक्ने हो,’ क्रिस्टिन्सन भन्छन्। दि इकोनोमिस्टबाट