एमाले जनसंगठनमा चुनाव ‘निषेध’

किरण पौडेल ३१ वैशाख २०८२ १३:४७
48
SHARES
एमाले जनसंगठनमा चुनाव ‘निषेध’ राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको वैशाख १८ गते सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटनका सहभागी। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले जनवर्गीय संगठनमा महाधिवेशनको घोषणा गर्दै नेतृत्व चयन प्रक्रिया अघि बढाए पनि प्रतिस्पर्धात्मक चुनाव भने कतै हुन दिएको छैन। ‘सर्वसम्मति’ को नाममा आकांक्षीको मत र प्रतिनिधिको अधिकार खोसिँदा पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको छ। अनेरास्ववियु र युवा संघजस्ता शक्तिशाली संगठनको महाधिवेशन नजिकै आइरहँदा एमालेभित्रको लोकतन्त्रको पनि परीक्षा सुरु भएको छ।

एमालेलाई यतिबेला जनवर्गीय संगठनको चुनाव लागेको छ। पार्टी चुनाव वर्ष २०८२ घोषणा गर्दै जनवर्गीय संगठनमा नेतृत्व चुन्न व्यस्त भएको हो। पार्टीको महाधिवेशन पनि वर्षको अन्त्यतिर हुने सम्भावना रहेको नेताहरू बताउँछन्। यसलै पनि पार्टी जनवर्गीय संगठनको महाधिवेशनमा सक्रिय भएको हो।

एमालेका अधिकांश जनवर्गीय संगठनको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ। यसअघि नेकपा विभाजनपछि महाधिवेशन गरेका जनवर्गीय संगठनको कार्यकाल सकिएको छ। २२ जनवर्गीय संगठनमध्ये १० वटाको महाधिवेशन सकिएको नेताहरूले बताएका छन्।

हालसम्म मानवअधिकार एलाइन्स, नेपाल उद्योग तथा वाणिज्य महासंघ, प्रेस चौतारी, प्रगतिशील इन्जिनियरिङ एसोसिएसन, रिटर्नी फेडेरेसन, लोकतान्त्रिक अपांगता संगठन, नेपाल भुपू सैनिक तथा प्रहरी संगठनको महाधिवेशन सकिएको छ।

यसैगरी राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल मुस्लिम इत्तेहाद संघ र भूमिअधिकार तथा श्रमिक संगठनको महाधिवेशन सम्पन्न भएको छ। यसैगरी ६ वटा संगठनको महाधिवेशन मिति तोकिएको छ।

जनसंगठन समन्वय संयन्त्रका प्रमुख एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालका अनुसार नेपाल उत्पीडित जातीय मुक्ति समाजको आउँदो जेठ (५-७) मा युवा संघको जेठ (९-११) मा, बुद्धिजीवी परिषद् (जेठ १७-१८), स्वास्थ्यकर्मी महासंघ जेठ (१७-१८), अनेरास्ववियुको जेठ (२५-२७), प्रगतिशील तथा पेसागत कानुन (पीपीएल) को जेठ ३१ मा तोकिएको छ।

अन्य जनवर्गीय संगठनको पनि यही चैत मसान्तसम्ममा महाधिवेशन गरिने ढकालले जानकारी दिए। उनले भने, ‘कतिपय संगठनको कार्यकाल तीन वर्ष छ भने कतिपय २ वर्षअघिको चुनावका कारण महाधिवेशन ढिलो भएकाले कार्यकाल बाँकी छ। अबको चैतसम्ममा गरिन्छ।’

यतिधेरै जनवर्गीय संगठनको महाधिवेशनमा एमालेले कतै पनि चुनाव गराएन। नेताहरूका अनुसार यसपल्ट एमाले नेतृत्वले सर्वसम्मत गर्ने नीति लिएकाले चुनाव नभएको हो। कतिपय संगठनमा धेरै आकांक्षी हुँदासमेत एमाले नेतृत्वले चुनाव गर्न दिएन।

जनसंगठनमा चुनाव हुँदैन

महाधिवेशन सम्पन्न १० मध्ये अधिकांशमा निर्विरोध नेतृत्व चयन गर्दा केहीमा तीव्र विवाद भयो। संगठनमा चुनावको माग गर्दासमेत एमालेले जबरजस्ती नेतृत्व चयन गर्‍यो। चुनाव सम्पन्न भएकामध्ये केहीमा तीव्र विवादका बीच नेतृत्व चयन गरिएको थियो।

प्रतिनिधिले नेतृत्व चुन्न नपाएको र आकांक्षी चुनिन नपाएकोमा आक्रोशित बनेका थिए। तर पनि नेतृत्वको दबाबले चुनाव गराइएन। कतिपय महाधिवेशनमा प्रतिनिधिले मतदानको माग गर्दै हस्ताक्षर अभियान गर्दा समेत एमालेले नेतृत्व चयनमा सर्वसम्मति गर्‍यो।

यसले अब पनि एमालेका जनसंगठनमा महाधिवेशन हुँदैन कि भन्ने शंका बढाएको छ। एमाले नेतृत्वले भने प्रतिनिधिले चाहेअनुसार नेतृत्व चुनिने दाबी गरेको छ।

एमालेका जनवर्गीय संगठनमध्ये पत्रकारहरूको महाधिवेशनमा त नेतृत्व चुन्न नपाएकोमा असन्तुष्टि छाएको थियो। संगठनको भाबी नेतृत्वका लागि उपाध्यक्षहरू गणेश पाण्डे, राजेश राईलगायतले आकांक्षा व्यक्त गरेका थिए। पाण्डेलाई अध्यक्ष बनाउने एमाले नेतृत्वको मनोकांक्षा बुझेका राजेश पक्षीय प्रतिनिधिले चुनावको माग गरेका थिए। एमाले नेतृत्वले चुनाव गराएन। अध्यक्षमा एमालेकै नेतृत्वको आकांक्षाअनुसार पाण्डे चुनिए।

निजामती कर्मचारी संगठनमा पनि नेतृत्व चयन प्रक्रियामा तीव्र विवाद भएको थियो। स्रोतका अनुसार संगठनको अध्यक्षका लागि भवानी दाहाल र रेवन्त गौतमले आकांक्षा देखाएका थिए। महाधिवेशनमा गौतमले चुनाव हुनुपर्ने माग राखेका थिए भने र दाहालले सर्वसम्मति हुनुपर्ने अडान थिइन्। अन्ततः विवादका बीच दाहालकै नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको थियो।

अब एमाले नेतृत्वले अनेरास्ववियु र राष्ट्रिय युवा संघको नेतृत्व कसरी चुनिन्छ, चासोको विषय छ।

हालसम्म एमालेको कुनै पनि जनवर्गीयको चुनाव भएको छैन। एमालेभित्रका सक्रिय जनसंगठनमा पर्ने यी दुवैको महाधिवेशन सामुन्नेमा आएको छ। युवा संघको (जेठ ९-११) अनेरास्ववियु (जेठ २५-२७) मा तोकिएको छ। एमाले नेतृत्वले भने प्रतिनिधिको चाहनालाई पार्टीले हस्तक्षेप नगर्ने दाबी गर्दै आएको छ।

‘हामीले अहिलेसम्म एकदमै सौहार्दपूर्ण ढंगबाट महाधिवेशन गरेका छौँ। अब पनि त्यस्तै हुन्छ भन्ने अपेक्षा छ,’ जनसंगठन समन्वय संयन्त्रका प्रमुख ढकाल भन्छन्, ‘भए सहमतिबाट, नभए विधिबाट नेतृत्व चयन गर्ने प्रक्रिया चल्छ।’

यी दुवै जनवर्गीय संगठनको नेतृत्वमा पुग्न धेरै आकांक्षी छन्। उनीहरू नेतृत्वले दिएमा चुनाव लड्ने समेत बताइरहेका छन्। तर नेतृत्व चयन कसरी हुने अन्योलता देखिएको छ। ‘हामी नेतृत्व चयन कौशलतापूर्वक ढंगबाट गर्छौ, नेतृत्व चयन कसरी गर्ने भन्ने हामी हलबाट निर्णय लिन्छौँ,’ युवा संघका हालका सचिव एवं महासचिव पदका आकांक्षी निरोज पौडेल भन्छन्,‘पार्टीको निर्णय र प्रतिनिधिको बचन नै महाधिवेशनको मर्म हो।’

युवा संघमा वर्तमान अध्यक्ष क्षितिज थेवे बिदा हुँदा उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरी केसी, प्रकाश गौतम र महासचिव सुमन पुरी अध्यक्षका आकांक्षी हुन्। यी ४ जना नै अध्यक्षको दौडमा लागेकाले चुनाव हुनुपर्ने माग बढ्दो छ। अखिलमा समेत नेतृत्व पुग्ने दौड धेरै पहिलेबाटै सुरु भएको छ। वर्तमान अध्यक्ष समिक बडालले नेतृत्व छाड्दा उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी र महासचिव नरेश रोकाया नेतृत्वका आकांक्षी हुन्। उनीहरू भिडेर भए पनि अध्यक्ष बन्ने योजनामा छन्।

‘नेतृत्व चयनको प्रक्रिया हामी महाधिवेशनमै लगेर टुंग्याउँछौँ। प्रक्रियाबारे छलफल हुन्छ,’ अध्यक्षका आकांक्षी घर्ती भन्छन्। यस पटक एमोलले जनवर्गीय संगठनको पदाधिकारी र केन्द्रीय कमिटी ९ सदस्य बनाउने निर्णय लिएको छ।

एमालेले जनवर्गीय संगठन भद्दा नबनाउने नीति लिँदै एक अध्यक्ष, उपाध्यक्षमा एकजना महिलासहित २ जना, महासचिव एकजना, उपमहासचिव १ जना र सचिवहरुलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने व्यवस्था छ।

अब संगठनहरु केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयमात्रै रहने छन्। यसले पनि पदाधिकारी बन्ने धेरैको आकांक्षी पूरा नहुने देखिएको छ।

अखिल-युवामा जिल्ला-प्रदेशमा समेत सर्वसम्मत

अहिलेसम्म यी दुवै संगठनले जिल्ला अधिवेशन गरिरहेका छन्। अखिलले ६६ जिल्ला र युवा संघले ६५ जिल्लाको अधिवेशन सकेको छ। युवा संघमा सबैतिर सर्वसम्मति गरिएको छ भने अखिलमा तीन जिल्लामा मात्र चुनाव भएको छ।

सिन्धुली, तेह्रथुम र नवलपुरमा मात्र चुनावबाट नेतृत्व चुनिएको छ। युवा संघमा भने आकांक्षीबीच विवाद हुँदा नेतृत्वका लागि चुनाव गरिएन।

यसअघि नेतृत्व चयनकै लागि ताप्लेजुङ र पर्वतमा दुईपक्षबीच विवाद भएको थियो। नेतृत्व चयन भने सर्वसम्मत नै गरियो। नेताहरूका अनुसार एमाले नेतृत्व चुनावको विपक्षमा छ। केन्द्रले शुभेच्छा राखेका व्यक्तिलाई नै अघि बढाउन निर्देशन दिँदा चुनाव भाँडिने गरेको नेताहरू सुनाउँछन्। यसअघि चुनाव माग गर्दै दबाब दिँदा ताप्लेजुङ र पर्वतमा झडपसमेत भएको थियो। अन्ततः कुनै जिल्लामा चुनावबाट नेतृत्व चयन भएन।

एमाले जनसम्पर्क संयन्त्र प्रमुख ढकाल बाहिर हल्ला आएजस्तो असन्तुष्टि नरहेको बताउँछन्। ‘महाधिवेशन कार्यस्थलमा कुरा राख्न नसक्ने, बाहिर हल्ला चलाउनेले कुरा बढाएका हुन्। समस्या भएको होइन’, ढकालले भने।

प्रकाशित: ३१ वैशाख २०८२ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast