 
                             
                                            काठमाडौँ- रूपनारायण सिंहको प्रसिद्ध उपन्यास ‘भ्रमर’ को अंग्रेजी अनुवाद ‘दि बम्बलबी’ प्रकाशित भएको छ। ‘भ्रमर’ लाई डा. युग्याल छिरिङ लामा योल्मोले अंग्रेजीमा अनुवाद गरेका हुन्।
‘भ्रमर’ पूर्वोत्तर भारतका विद्यालयमा कक्षा ९ र १० मा पढाइ हुँदै आएको छ। डा. योल्मोले भने, ‘हामी भ्रमर उपन्यासमा बाल्यकालदेखि जोडिँदै आयौँ। भ्रमर धेरै विद्यार्थीले पढेको पहिलो उपन्यास हो। मलाई यो उपन्यास अंग्रेजीमा अनुवाद गर्ने चाहना धेरै पहिलादेखि नै थियो।’
पहिलो नेपाली पोइट आइडल नीलम गुरुङबाट ‘भ्रमर’ लाई नेपालीमा अनुवाद गर्न थप प्रेरणा मिलेको डा. योल्मोले बताए। सिक्किमकी कवयित्री नीलम त्यहाँको विद्यालयमा शिक्षण पेसामा आबद्ध छिन्। डा. योल्मोले भने, ‘उहाँ (नीलम) ले पनि अंग्रेजीमा भए विद्यार्थीलाई बुझाउन अझै सजिलो हुन्थ्यो भनेपछि अनुवाद गर्न सक्रिय भएँ।’
डा. योल्मोले कतिपय मौलिक नेपाली शब्दलाई भने अनुवादमा पनि जस्ताको तस्तै राखिदिएका छन्। उनले भने, ‘नेपालीका कतिपय शब्द अंग्रेजीमा अनुवाद नै गर्न मिल्दो रहेनछ। त्यस्ता शब्दलाई नेपालीमा राखेर फुटनोटमा स्पष्ट पारिदिएको छु।’ क्यानाम, कान्छाबा, मोटा राई जस्ता शब्द अंग्रेजीमा अनुवाद गरेर पढ्दा त्यति आकर्षक नहुने डा. योल्मोको बुझाइ छ।
उनले अंग्रेजीमा अनुवाद गरेर भ्रमरलाई नयाँ जीवन दिन खोजिएको बताए। ‘केकस्तो भएको छ, त्यो त पाठकहरूले पढेर मूल्यांकन गर्नु नै हुनेछ’, डा. योल्मोले भने। अनूदित पुस्तक लालीगुराँस प्रकाशन, कालेबुङबाट प्रकाशित भएको हो।
फिल्म र वृत्तचित्र निर्माणमा संलग्न रहँदै आएका डा. योल्मो सिलगढीस्थित उत्तरबंग विश्वविद्यालयको जनसञ्चार विभागका प्राध्यापक हुन्। अनुवादक डा. युग्यालले यसअघि कलकत्ताको यादवपुर विश्वविद्यालयको ‘चन्द्रिकाको सय वर्ष’ परियोजना कार्यक्रमअन्तर्गत २०१८ मा चन्द्रिका पत्रिकाका रचनालाई अंग्रेजीमा अनुवाद गरेका थिए।
यसैगरी उनले स्नेहलता राई, पवित्रा लामा, शरद क्षेत्री, जीवन नाम्दुङ, विन्दिया सुब्बाजस्ता स्रष्टाहरूका रचना तथा लहरी सवाईलाई अंग्रेजीमा अनुवाद गरेका छन्।
‘भ्रमर’ स्वच्छन्दतावादी नेपाली उपन्यास हो। उपन्यासमा संस्कृतका शब्दहरूको सुरुचिपूर्ण प्रयोग गरिएको छ। यसैगरी ठाउँठाउँमा आलंकारिक भाषा प्रयोगले उपन्यास थप पठनीय बनाएको छ। भ्रमरको यसअघि डा. राजकुमारी दाहालले बंगला भाषामा अनुवाद गरेकी छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 