
काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् अहिले ‘मेरो लागि मेरो योगदान’ भन्ने मूल मन्त्रसहित देशव्यापी आन्दोलनमा सक्रिय भएको छ। विद्यालय कर्मचारीहरूका हक, अधिकार र सेवा-सुविधाका लागि लड्दै आएको परिषद्ले हालै विभिन्न महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको जनाएको छ।
परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीका अनुसार संगठनले राजनीतिक प्रभावबाट स्वतन्त्र रही देशभरि विद्यालय कर्मचारीको हकहितमा काम गर्दै आएको छ। सन् २०७४ सालदेखि सुरु गरिएको अभियानअन्तर्गत अधिकांश जिल्लामा परिषद्का जिल्ला समिति गठन भइसकेका छन्। बाँकी रहेका हुम्ला, डोल्पा र मनाङ जिल्लामा पनि समितिहरू गठन गर्ने तयारीमा छ।
अध्यक्ष तिवारीले जानकारी गराए अनुसार विद्यालय शिक्षा विधेयक-२०८० को परिच्छेद ११ मा विद्यालय कर्मचारी (लेखापाल र विद्यालय सहयोगी) हरूको अधिकारबारे स्पष्ट प्रावधान समावेश गरिएको छ जुन परिषद्को निरन्तर आन्दोलन, सर्वोच्च अदालतका निर्णय र दबाबकै परिणामस्वरूप सम्भव भएको हो।
परिषद् हालसालै अन्तर्राष्ट्रिय संस्था Education International को सदस्य बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय पहुँच विस्तारसँगै परिषद्ले नेपालमा विद्यालय कर्मचारीहरूका समस्या र सेवा सुविधाको विषयमा वैश्विक मञ्चमा आवाज उठाउने तयारी गरेको छ।
आगामी मे १४ (जेठ १) मा नेपालमा हुने कार्यक्रममा परिषद्को तर्फबाट केन्द्रिय सदस्य सुशीला खनालले प्रतिनिधित्व गर्दै विद्यालय कर्मचारीहरूको कार्यदायित्व, समस्या र राज्यको उपेक्षाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछिन्।
यसैगरी, जेठ ५–७ गते काठमाडौँमा आयोजना हुने विद्यालय सहयोगी कर्मचारी (Education Support Person) को राष्ट्रिय भेलामा परिषद्का अध्यक्ष गंगाराम तिवारी (पुरुष प्रतिनिधिका रूपमा) र रुपन्देहीकी लछ्मी पौडेल क्षेत्री (महिला प्रतिनिधिका रूपमा) सहभागी हुनेछन्।
भेलामा वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ (ललितपुर), अर्थ उपमहासचिव श्यामकुमार महर्जन (ललितपुर), सरिता रेग्मी पौडेल (कास्की) र सरिता कुमारी न्याैपाने (नवलपुर, सुस्ता पूर्व) लगायत अन्य प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।
परिषद्का तर्फबाट जुन ४–६ मा थाइल्याण्डको बैंककमा आयोजना हुने Education International Women’s Gathering मा नेपालबाट तीनजना महिला प्रतिनिधिहरू सहभागी हुने भएका छन्।
ती प्रतिनिधिमा केन्द्रिय महिला उपाध्यक्ष रिना ठकुरी काफ्ले (सर्लाही), केन्द्रीय महिला सदस्य सुशीला खनाल (काठमाडौँ) र महिला सदस्य सुवर्ण माया बिजुक्छे (काभ्रेपलाञ्चोक) रहेका छन्।
अध्यक्ष तिवारीले भने, ‘अन्तर्राष्ट्रिय पहुँच प्राप्त गर्नु हाम्रो आन्दोलन र संगठनको एउटा महत्वपूर्ण अवसर हो। यसले हाम्रो आवाजलाई विश्वव्यापी बनाउने र सरकारसँग अझ प्रभावकारी रूपमा मुद्दा उठाउने अवसर दिनेछ।’