
काठमाडौँ- राजावादी पार्टी/समर्थकहरू राजसंस्था पुनःस्थापनाको एजेन्डा लिएर आन्दोलनमा छन्। केही महिनाअघि थालिएको आन्दोलन बीचमा सुस्ताएको थियो। अब फेरि राजतन्त्र समर्थकको गतिविधि जुर्मुराउन थालेको छ। नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलनको चेतावनी दिएको छ। सुवेदीको नेतृत्वमा आइतबार बिहान बसेको बैठकले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको हो।
जानकारहरू पूर्वराजा ज्ञानेन्द्र शाहको सहयोगपछि राजसंस्था समर्थक जुर्मराएका हुन्। दुई महिनाअघिसम्म एउटै कार्यक्रममा सँगै बस्न नसक्ने राजावादी नेताहरू अहिले सामूहिक भेटघाट र कार्यक्रममा व्यस्त छन्। यसरी राजावादी एक ठाउँमा आउनेसँग पूर्वराजा ज्ञानेन्द्र आफैँले भेटघाट गरी आन्दोलनका विषयमा चासो लिँदै आएका छन्। यसले नै उनीहरू एकै ध्रुवमा आइपुगेको नेताहरूको भनाइ छ।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन हुँदा राजावादीहरू तितरबितर भएका थिए। अहिले उनीहरूबीच पुरानो ‘तुस’ मेटिएको छ भने सबै एकैसाथ देखिन थालेका छन्। पछिल्लो एक महिनामा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता र भेटघाटले राजावादीहरू एक बनाएको नेताहरू सुनाउँछन्। ज्ञानेन्द्रको भेटघाटले सबै राजावादी एक हुन दबाब बढेको उनीहरूको बुझाइ छ। पूर्वराजाले नगरकोटस्थित रिसोर्टमा गरेको भेटघाटले राजावादीहरूमा उत्साह देखिएको छ।
पूर्वराजाको सचिवालयका अनुसार वैशाख १५ देखि वैशाख २६ सम्म ज्ञानेन्द्र भक्तपुरको चाँगुनारायण–६, नगरकोटस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा बसेका थिए। ‘शुक्रबार फर्किनुभएको हो। कुराकानी के भयो भन्ने जानकारी छैन’, पूर्वराजाका संवाद सचिव फणीराज पाठकले भने। पूर्वराजा परिवारसँगै नगरकोट पुगेर राप्रपा नेताहरूलाई भेटेका थिए।
‘सबैजनासँग कुराकानी भयो। सरकार (ज्ञानेन्द्र)ले देशको विषयमा चिन्ता लिइबक्सियो’, ज्ञानेन्द्रसँग भेटेका एक राप्रपा नेताले भने। ती नेतासँग ज्ञानेन्द्रले देशको राजनीतिक अवस्था बिग्रिँदै गएको, कुशासनले जरा गाडेको विषयमा चासो लिएका थिए।
‘सरकारले देशको बिग्रँदो अवस्थामा अब जुट्नुपर्छ भनिबक्सियो’, ती नेताले भने। उनका अनुसार ज्ञानेन्द्रसँग ‘दर्शनभेट’ का निम्ति राप्रपा नेताहरू जयन्त चन्द, मुकुन्दश्याम गिरी, प्रह्लाद साह, शरदराज पाठक, कुन्ती शाही, रवीन्द्रप्रताप शाह, दीपक सिंह, निरन्जन थापा, प्रेम बलायर, नवराज सिम्खडा, राजेन्द्र गुरुङ, राजाराम श्रेष्ठ ,खुस्बु ओली, निराजन बलमे भेटेका थिए।
यसबाहेक राजावादी शीर्ष नेताहरू राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर विष्टसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए। पूर्वराजाले नेता मात्र नभई पत्रकारलाई समेत भेटेको स्रोतको दाबी छ। ‘भेटवार्ता के विषयमा भएको थाहा भएन तर अध्यक्षज्यूसँग दर्शनभेट भएको हो,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने।
नेताहरूसँगको भेटमा ज्ञानेन्द्रले सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए। यसअघि राजसंस्था पुनःस्थापना समिति गठनमा सहभागी नै नभएका लिङ्देन–थापा बैठकमा सँगै देखिएका छन्। उनीहरूमाथि पनि एकजुट हुन ज्ञानेन्द्रले सन्देश बाँडेका थिए। नवराज सुवेदीको नेतृत्वमा समिति गठन समारोहमा नगएका लिङ्देनलाई पूर्वराजाले निर्मल निवासमै बोलाएका सम्झाएका थिए।
ज्ञानेन्द्रसँगकै भेटपछि लिङ्देन सुवेदी निवाससम्म पुगेका थिए। उनी सुवेदी निवास पुगेपछि पुनःस्थापना समिति र राप्रपा एक ठाउँमा आएको अनुमान छ।
ज्ञानेन्द्रसँग लिङ्देन-थापाको दर्शनभेट, सम्बन्ध सुध्रिएको चर्चा
लिङ्देनसँग निर्मल निवासको सम्बन्ध चिसिएको थियो। राप्रपा अध्यक्ष भएर राजसंस्थावादी गतिविधि अँगाल्नुपर्नेमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको गुनासो निर्मल निवासको थियो।
यसअघि नयाँ वर्षमा ज्ञानेन्द्र जुराइदिएको भेटमा पनि लिङ्देनले दर्शनभेट नपाएको गुनासो गरेका थिए। तर यसपल्ट भने उनले एक महिनामै दुईपल्ट ‘दर्शनभेट’ पाएका छन्। यसपल्ट राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयपछि दर्शनभेट पाएका थिए।
राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले निर्मल निवासले आफूलाई हराएको आरोप लगाएका थिए। यसपछि राप्रपाबाट अलग भएका थापाको ज्ञानेन्द्रसँग सम्बन्धसँग सुदृढ सम्बन्ध थिएन। नेताहरूका अनुसार पछिल्लो भेटवार्ताले उनीहरूको सम्बन्ध सुधारेको छ। राजावादी शीर्ष नेता मात्र नभई ज्ञानेन्द्रले राप्रपाका दोस्रो स्तरका नेतालाई समेत भेटेका थिए।
अनि जुर्मुराए राजावादी
जनआन्दोलन समिति बन्दा राजावादीबीच चिसिएको सम्बन्ध सुधार्नमा ज्ञानेन्द्रकै हात देखिएको छ। सुवेदीलाई संयोजक बनाउँदा लिङ्देन, थापा र विष्टले असन्तुष्टि जनाएका थिए। सुवेदीलाई निर्मल निवासले नै संयोजक बनाएको आरोप पनि थियो।
यही समितिले गत चैत १५ मा गरेको तीनकुने प्रदर्शन हिंसात्मक बन्यो। यसपछि पनि राजावादी एक हुन सकेनन्। राप्रपाले छुट्ने आन्दोलन गर्दैरह्यो। तर जब ज्ञानेन्द्रले राजावादी नेता भेटघाट गर्न थाले तब राजावादी एकजुट हुन थालेको देखिन्छ।
नयाँ वर्षको अवसरमा भएको राप्रपा नेताहरूसँगको ‘लन्च मिटिङ’ले एक हद चिसो पन घटाएकोमा अहिलेको नगरकोट भेटघाटले झनै नजिक बनेको देखिएको छ। उनीहरूबीच सामूहिक छलफल र संवाद हुन थाल्नुलाई पूर्वराजाकै दबाब देखिएको छ। आज मात्रै पनि राजावादी नेताहरू सामूहिक छलफल गरेका छन्। राप्रपा नेता जनकराज पाठकका अनुसार सुवेदी नेतृत्वको समितिले नै बैठकले आगामी बैशाख २९ गते उपत्यकास्तरीय सबै राजसंस्था पक्षधर दल तथा अभियान लगायत सबै पक्षधरहरूको भेला बोलाएको छ।
जेठ ६ गते राजसंस्था पक्षधर प्रबुद्ध भेला गरिने र जेठ ८ देखि ११ गतेसम्म साँखुबाट चागुनारायणमा समापन कार्यक्रम गर्ने घोषणा गरेको छ। जेठ १३ गते काठमाडौँमा बृहत युवाभेला गर्ने र जेठ १५ बाट उपत्यकास्तरीय अनिश्चितकालीन आन्दोलन सुरु हुने समेत कार्यक्रम रहेको राप्रपा नेता जनकराज पाठकले बताए। बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्टसहित विभिन्न राजावादी संगठनहरूका नेताहरुको उपस्थित थियो।