
२०७८ को सम्झौता, २०८० मा अर्को आन्दोलन र २०८१ मा फेरि ८९ दिन लामो राजधानी केन्द्रित आन्दोलन। २९ दिन त शिक्षकहरू सडकमै थिए। शिक्षण पेसाबाट राष्ट्र निर्माण गर्ने सपना देख्ने शिक्षकहरू आफैँ सडकमा ओर्लिनुपरेको दृश्य सामान्य थिएन।
नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनका खम्बा हुन् – नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठन।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति आन्दोलन स्थगित भएपछि ऐन जारी गर्न दबाब दिँदै सरकार र नेताहरूसँग निरन्तर पक्षीकरणमा छ। शिक्षक तथा कर्मचारीका माग सम्बोधन नगरी शिक्षक नेताहरूलाई सुखै छैन। आन्दोलन रोकिएको छैन, स्थगित मात्र भएको हो भन्ने धारणा शिक्षक नेताहरू राख्छन्।
यस्तै पक्षीकरणका देखिइरहने शिक्षक नेता हुन् एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी। होचो कद, गहुँगोरो वर्ण, शिरमा ढाकाटोपी, कोटको वेषमा कहिले सिंहरदबार त कहिले विभिन्न दलका कार्यालयमा भेटिन्छन्। शिक्षकका सबै माग पूरा हुन्छन् त? भन्ने प्रश्नमा अधिकारीले भने, ‘पूरा गरेरै छाडिन्छ।’ अधिकारी भन्छन्, ‘शिक्षक आन्दोलन रोकिएको छैन। सडकबाट मात्रै फिर्ता भएका हौँ। हामी जुनसुकै बेला सडकमा आउन तयार छौँ।’
धादिङको विकट नेत्रावती डबजोङ गाउँपालिका-१ मा २०३४ मंसिर २८ गते जन्मिएका शंकर अधिकारी निम्नवर्गीय किसान परिवारका छोरा हुन्। तीन दाजुभाइ र तीन दिदीबहिनीमध्ये उनी माइला। उनको बाल्यकाल संघर्षपूर्ण थियो।
घरनजिकैको प्राथमिक विद्यालयमा पढ्न थालेका अधिकारी माविसम्म पुग्न दुई घण्टा पैदल हिँड्थे। २०४९ सालमा उनले प्रथम श्रेणीमा एसएलसी पास गरे। बिस्तारै शिक्षण पेसामा होमिए। २०५२ सालमा शिक्षक सेवा आयोगको परीक्षा दिएका उनी नतिजा कुर्न झन्डै एक दशक कुर्नुपरेको तितो अनुभव सुनाउँछन्। शिक्षक सेवा आयोगले २०५२ सालपछि एकैपटक २०६९ सालमा मात्रै शिक्षकको पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो। यद्यपि उनले २०५३ सालबाट अस्थायी रूपमा अचाने माविमा निमावि शिक्षकका रूपमा सेवा थालेका थिए। २०५४ सालमा आफैँले पढेको निरञ्जना माध्यमिक विद्यालयमा मावि विज्ञान शिक्षक भएर उनले सेवा गरे। अधिकारी यसै विद्यालयको सहायक प्रधानाध्यापक र प्राचार्यसम्म भए। उनले स्नातकोत्तर गरेका छन्।
शिक्षण गर्दा उनी समाज रूपान्तरणको सपना देख्थे। यही सपना देख्दा-देख्दै उनीमाथि द्वन्द्वको समयमा राज्यको आँखा लाग्यो। अधिकारी भन्छन्, ‘५५ सालदेखि प्रहरीले दुःख दिन थाल्यो। कक्षाकोठामै पढाउँदै गर्दा शिक्षकहरू मारिन्थे। मलाई पनि निगरानीमा राखियो।’ उनी पक्राउ परे।
अधिकारीले बन्दुक त उठाएनन् तर ज्ञानको हतियार लिए। त्यसकै कारण उनलाई युद्धको कैदी बनाइयो। शंकर भन्छन्, ‘फरक विचार, आस्था राख्नेहरूमाथि राज्यले दमन गथ्र्यो। कक्षाकोठामा पढाउँदापढाउँदै मजस्ता धेरै शिक्षकहरू मारिएका थिए।’
अधिकारीले एक दिन आफूलाई बैरेनीस्थित ब्यारेकको अँध्यारो कोठामा भेटे- आँखामा पट्टी, हातखुट्टा बाँधिएको, बंगुरको खोरजस्तो ठाउँमा सुत्न बाध्य। ‘पाइपले पैतालामा प्रहार गरिन्थ्यो, लामखुट्टेले असाध्यै टोक्थ्यो, आधा पेट खाना दिइन्थ्यो’, उनी सम्झिन्छन्।
२०६० मा जेलबाट निस्किएका अधिकारी सोही वर्ष मंसिरमै स्थायी शिक्षक बने। २०५२ सालमा आयोगले लिएको विज्ञापनको नतिजा ६० सालमा मात्रै प्रकाशन गरेको थियो। जागिर स्थायी भए पनि उनको दिन सुखद रहेन।
२०६० सालमा ११ महिनाको जेल जीवनपछि भदौमा छुटे शंकर। २०६१ सालमा उनलाई माओवादी भन्दै जबरजस्ती अवकाश दिइयो। जागिर खोसिए पनि उनी झुकेनन्। निराश भएनन् झन् लडाइँको साहस भरियो। शंकरको जीवन कुनै कथा होइन, इतिहास हो। यो इतिहास पीडाले भरिएको छ, आँसुले चोपिएको छ र विद्रोहको आगोमा पोलिएको छ।
जति संघर्ष उनले गरे त्यति नै घरभित्र पनि गरियो। चुलो निभ्यो, आँसु बग्यो तर सपना बाँचिरह्यो। गिरफ्तार,जेलजीवन, आन्दोलन। शंकरको जिन्दगीको बाटो सहज कहाँ थियो र? परिवारमा दुई छोरी, श्रीमती र आफू। परिवारलाई सम्झाउन पनि गाह्रो थियो। मर्ने या बाँच्ने कुनै ठेगान थिएन। अधिकारी भन्छन्, ‘युद्धकालमा मलाई गिरफ्तार गर्दा किन लाग्नुभएको होला युद्धमा बुबा भन्थे छोरीहरू। कतिबेला मरिने हो थाहा हुन्थेन। परिवारलाई मैले सम्झाउँथे। म मात्र होइन राष्ट्रका लागि लाखौँ मानिस होमिएका छन् भन्थेँ।’
अधिकारी अझै सशक्त भएर उभिए। ‘परिस्थिति यस्तो थियो- म मर्न सक्छु भन्ने डर थियो। तर पछि हट्ने कुरा थिएन’, अधिकारी भन्छन्। २०६१ देखि २०७९ सम्म उनी शिक्षक आन्दोलनका पूर्णकालीन कार्यकर्ता बने। २०७९ मा सर्वोच्चले दिएको आदेशपछि पुनर्बहाली भएका अधिकारी हाल काठमाडौँको साँखुस्थित भाग्योदय माविका शिक्षक हुन्।
अहिले शंकरका छोरीहरू ठूला भइसके। सामुदायिक विद्यालय पढेर एउटी बीएस्सी नर्सिङ पढ्दै छिन् छात्रवृत्तिमा। अर्की छोरीले पूर्वाञ्चल विश्वविद्यालयबाट बीपीएच उत्तीर्ण गरेकी छन्। शंकर भन्छन्, ‘मेरा छोरीहरू सामुदायिक विद्यालयमै पढेर अब्बल भएका हुन्। बोर्डिङ स्कुल त मेरी छोरीहरूले देखेकै छैनन्।’ उनकी श्रीमती राहत शिक्षक हुन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो कार्यकालको अध्यक्ष रहेका अधिकारी यही संगठनको तल्लो तहदेखि संघर्ष गर्दै अध्यक्ष बनेका हुन्। एकीकृत अखिल नेपाल शिक्षक संगठनमा ५० हजार शिक्षक आबद्ध छन्।
अधिकारीका अनुसार २०५३ मा जिल्ला कमिटी सदस्य, २०५९ मा जिल्ला कमिटी सचिव, २०६० सालमा जिल्ला कमिटी अध्यक्ष, २०६३ मा केन्द्रीय सदस्य, २०६५ सालमा तामसालिन राज्यको अध्यक्ष, २०७० सालमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सचिव, २०७१ मा महासचिव, २०७३ मा वरिष्ठ उपाध्यक्ष, २०७४ देखि हालसम्म केन्द्रीय अध्यक्ष।
शंकर अधिकारी आन्दोलन स्थगनलाई पनि आन्दोलनकै निरन्तरता ठान्छन्। उनको आँखामा अझै असार १५ को दिन शिक्षा ऐन आउने प्रतीक्षा छ। तर उनी ढुक्क छैनन्, किनभने सरकार निजीकरणतिर लहसिएको देखिन्छ। उनी भन्छन्, ‘सरकारी शिक्षा भनेको देशको मेरुदण्ड हो। त्यही मेरुदण्ड टुट्ने हो भने देश लथालिंग हुन्छ।’
सरकार सार्वजनिक विद्यालय र शिक्षकहरूप्रति उत्तरदायी छैन। अधिकारी भन्छन्, ‘सरकार निजीकरणकै पक्षपोषणमा रहेको देखिन्छ। नीति तथा कार्यक्रमबाट पनि त्यो प्रस्ट हुन्छ। सार्वजनिक शिक्षामा लगानी गरेर व्ययभार किन थेग्ने भन्ने कोणबाट राज्य आएको छ। सामुदायिक विद्यालय विश्वासको कमी छ। शिक्षकबाट मात्रै सबै कुरा हुँदैनन्। राज्यले वास्ता गर्नुपर्यो।’
राज्य जिम्मेवार नभए परिस्थितिले अर्को आन्दोलन माग्नसक्ने उनी बताउँछन्। अधिकारी भन्छन्, ‘परिस्थितिले अर्को आन्दोलन माग्नसक्छ। माग्दा साथीहरू आउनुहुन्छ।’
उनको संघर्ष स्कुलको कक्षाबाट सुरु भएको थियो। त्यही कक्षा कोठामा कतिपय शिक्षकहरू मारिए, कतिपय जेल परे। उनीसँगै जेल बसेका धेरै शिक्षक साथीहरू अब जीवित छैनन्। शंकर अधिकारी बाँचे। उनी अझै पनि पढाइरहेछन्, अझै आन्दोलनमा छन्। द्वन्द्वपीडित शिक्षक कर्मचारीहरूको बीचको सेवा अवधि जोड्नुपर्छ भन्ने उनीहरूकोे नारा हो। सर्वोच्च अदालतले पनि बीचको सेवा अवधि जोड्नु भनेर फैसला गरेको छ।
शंकर अधिकारी, एक शिक्षक, एक द्वन्द्वपीडित, एक नेता। तर उनी केवल आफैँलाई प्रतिनिधित्व गर्दैनन्। उनी त ती लाखौँ शिक्षकहरूको प्रतिनिधित्व गर्छन्, जसले धुलोमा देशको भविष्य देख्छन्। अधिकारीको जीवन केवल उनको आफ्नै इतिहास होइन, त्यो हजारौँ शिक्षकहरूको संघर्षको प्रतिनिधित्व हो।
उनी अझै पनि सिंहदरबार पुग्छन्। नेताका ढोका ढकढक्याउँछन्। शिक्षकहरूको माग सुनाउँछन्। आन्दोलन उनका लागि नाराको विषय होइन, जीवनको अभिन्न अंश हो। ‘परिस्थितिले फेरि आन्दोलन माग्न सक्छ,’ उनी भन्छन्, ‘माग्दा साथीहरू फेरि आउनुहुन्छ।’