कति छन् जम्मु कास्मिरमा नेपाली?

हिमाल प्रेस २८ वैशाख २०८२ ७:१६
8
SHARES
कति छन् जम्मु कास्मिरमा नेपाली?

जम्मु कास्मिर, पञ्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक संख्या सरकारी निकायसँगै छैन। भारतका यी पाँच राज्यमा हजारौँ नेपाली कार्यरत रहे पनि उनीहरूको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावास नै अनभिज्ञ छ।

नेपाली दूतावासले शुक्रबार सूचना प्रकाशित गरी जम्मु कास्मिरसहित युद्धप्रभावित क्षेत्रमा कार्यरत नेपालीलाई सुरक्षित रहन आग्रह गर्ने औपचारिकता पूरा गरे पनि त्यहाँ रहेका नेपालीको अवस्थाबारे कूटनीतिक नेतृत्वले अनभिज्ञता प्रकट गरेको हो।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले युद्धप्रभावित क्षेत्रमा रहेका नेपालीको संख्याबारे तथ्यांक नरहेको बताए।

‘हामीले त्यहाँ सोध्न चाहिँ लगाइरहेका छौँ तर सरकारी संयन्त्रमा जाने कुरा भएन। नेपाली समुदाय र संघसंस्थाबाट बुझ्ने कुरा भइरहेको छ’, उनले भने, ‘सीमा क्षेत्रबाट तथ्यांक आएको छैन। जम्मु काश्मीरमा पनि नेपाली कति छन् भन्ने तथ्यांक छैन।’

कति छन् नेपाली?

सरकारी निकायसँग वास्तविक तथ्यांक नभए पनि अन्य सङ्घसंस्थाले नेपाली नागरिकको तथ्यांक संकलन गर्ने गरेका छन्। विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितका राजनीतिक दलले आफ्ना प्रवासी संगठनमार्फत भारतमा कार्यरत नेपालीको संख्या संकलन गर्दै आएका छन्।

भारतमा सक्रिय राजनीतिज्ञ एवं सामाजिक अभियन्ता बालकृष्ण पाण्डेका अनुसार जम्मु काश्मीरमा अनुमानित ३० हजार नेपाली नागरिक कार्यरत छन्। उनले भने, ‘वास्तविक तथ्यांक त नेपाल सरकार, भारत सरकार र नेपाली दूतावाससँग पनि छैन तर विभिन्न संघसंस्थामा आबद्ध र अरू नेपाली गरी ३० हजार जति जम्मु काश्मीर राज्यमा छन्।’

उनले जम्मु कास्मिरमा होटल र ट्रेकिङ (भरिया) मा धेरै नेपाली आबद्ध रहेको र केही नेपालीले अनुमति लिएरै काम गरिरहेको बताए।

उनले निर्माण, होटल, उद्योग, कृषि, चौकीदार, सुरक्षागार्डको काममा नेपाली कार्यरत रहेको बताए। ‘होटल रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने नेपाली पनि छन्’उनले भने।

राजनीतिज्ञ पाण्डेले पञ्जाबमा एक लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत रहेको र ती औद्योगिक क्षेत्रमा प्राविधिक तथा सुरक्षागार्डदेखि कृषि श्रमिकसम्म रहेको बताए।

उनका अनुसार राजस्थान र गुजरातमा पनि एक लाखको हाराहारीमा नेपाली छन्। उनले प्राविधिक र अन्य कर्मचारी गरी सैन्य सेवामा एक लाख जति नेपाली कार्यरत रहेको बताए। गोरखापत्र दैनिकबाट

प्रकाशित: २८ वैशाख २०८२ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast