भारत-पाकिस्तान तनाव : चिनियाँ विमान र उपकरण परीक्षणको अवसर!

हिमाल प्रेस २७ वैशाख २०८२ १८:३२
68
SHARES
भारत-पाकिस्तान तनाव : चिनियाँ विमान र उपकरण परीक्षणको अवसर!

युद्धको बादल मडारिनुअगाडि नै छेन्दु विमान कम्पनीको सेयर उकालो लागिरहेको थियो। अब त झन् यो कम्पनीले बनाएको पहिलो युद्धक विमानले लडाइँ पनि देख्यो, भोग्यो र लडाइँमा बच्यो पनि।

लगभग तीन दशकअघि जे-१० पहिलो पटक आकाशमा उडेको थियो। भारत-पाकिस्तान द्वन्द्वको नयाँ अध्याय यसका लागि लडाइँमा सहभागी हुने पहिलो अवसर बन्न पुग्यो।

मे ७ को बिहान ४ बजे चिनियाँ कूटनीतिज्ञहरू इस्लामाबादस्थित पाकिस्तानी परराष्ट्र मन्त्रालय छिरे। उनीहरूको उद्देश्य थियो, पाकिस्तानी वायु सेवाका पाइलटहरू भारतीयसँग आकाशमा भिडिरहँदा जे-१० कत्तिको महत्त्वपूर्ण साबित भयो? अहिलेसम्म युद्धमा प्रयोग नभएको विमानको प्रदर्शन कस्तो रह्यो? यसमा जडित उपकरण कत्तिको काम लागे? जहाजले पश्चिमा देशहरूले विकास गरेको राडर र सैन्य उपकरणको खतरा कसरी पन्छायो?

उसो त पर्याप्त प्रमाण जुटिसकेका छैनन्। तर के भनिँदैछ भने जे-१० उडाएका पाकिस्तानी पाइलटले भारतीय वायु सेवाको फ्रान्सेली विमान राफाएललाई खसाल्न सफल भएका छन्। यो खबर संसारभर फैलिएसँगै छेन्दुको सेयर मूल्य दुई दिनमै ४० प्रतिशतले बढ्यो।

‘एउटा युद्धक विमानका लागि लडाइँ आफ्नो विज्ञापन गर्ने मौका हो,’ वासिङ्टन डीसीमा रहेको टिंक ट्यांक स्टिम्सन सेन्टरका लागि चीनसम्बन्धी शोध गर्ने युन सन भन्छन्, ‘जे-१० को यो युद्ध अनुभव चीनका लागि नौलो हो र नतिजा बेजोडको आएको छ।’

भारत-पाकिस्तान द्वन्द्वको आफ्नै इतिहास छ। तर यी दुई देश फेरि एकपल्ट ठूलो युद्धको संघारमा पुग्नु र दैनिक जसो घम्साघम्सीमा उत्रनु चीनका लागि आफूले बनाएका सैन्य उपकरण पश्चिमाले बनाएको उपकरणविरुद्ध परीक्षण गर्ने अवसर हो।

हालका दिनमा पाकिस्तानले जेजति सैन्य उपकरण आयात गर्छ, तीमध्ये ८१ प्रतिशत चीनबाट जान्छन्। पाकिस्तानसँग लगभग ४ सय ‘फाइटर (आकाशमै विपक्षी विमानसँग युद्ध गर्ने)’ र ‘ग्राउन्ड अट्याक (जमिनतर्फ आक्रमण बुन्ने)’ विमान छन्। तीमध्ये आधा जति विमान चिनियाँ हुन्।

सन् १९६० को दशकदेखि चीन र पाकिस्तानबीच घनिष्ठता छ। मित्रता कति गहिरो छ भन्ने उदाहरण पाकिस्तानी सेनासँग भएका चिनियाँ विमान हुन्। चीनले आफ्नो घरेलु रक्षा उद्योगको क्षमता बढाउँदै लगेको छ। चीनको क्षमता विस्तारको सकरात्मक असर पाकिस्तानमाथि परेको जर्मन मार्सल फन्डका शोधकर्ता आन्ड्रुय स्मलको बुझाइ छ।

‘आणविक हतियार र क्षेप्यास्त्र विकासमा साझेदारीबाहेक चीनबाट पाकिस्तानले कमसल हतियार पाउने गर्थ्यो। अब परिस्थिति त्यस्तो रहेन। अचेल पाकिस्तान चिनियाँ रक्षा उद्योगले हासिल गरेका ठूला उपलब्धि प्रदर्शन गर्ने थलो बनेको छ’, स्मल भन्छन्।

भारत भने अर्थतन्त्रको आकार बढेपछि धेरै सैन्य उपकरण आयात गर्ने देशमध्येको एक बनेको छ। पारम्परिक रूपमा भारतका लागि रुस सैन्य उपकरणका लागि सबैभन्दा ठूलो स्रोत रहँदै आएको थियो। तर भारतले बिस्तारै रुससँगको निर्भरता घटाउँदै अमेरिका, फ्रान्स र इजरायलबाट आयात बढाउँदै लगेको छ। भारतले पछिल्ला समयमा खरिद गरेका फाइटर जेट, ट्रान्सपोर्टेसन जेट र ड्रोन तिनै तीन देशमा निर्मित हुन्।

‘अहिलेको भारत-पाकिस्तान द्वन्द्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो, पश्चिमा सैन्य उपकरणविरुद्ध चिनियाँ उपकरणको प्रयोग। जब यो द्वन्द्वको अहिलेको अध्याय सकिन्छ, तब ताइवान मामिलाबारे थप विश्लेषण गर्न सजिलो हुनेछ। किनभने सस्ता तर अत्याधुनिक चिनियाँ उपकरणले भारत-पाकिस्तान द्वन्द्वमा गर्ने प्रदर्शनका आधारमा पश्चिमा सैन्य उपकरण निर्माताहरूले रणनीति बनाउनेछन्’, येल विश्वविद्यालयमा पढाउने सुशान्त सिंहको विश्लेषण छ।

जब कुनै देश युद्धमा होमिन्छन्, तिनका मित्रहरूले युद्धलाई नजिकबाट अध्ययन गर्छन्। सिक्न आवश्यक कुरा सिक्छन्। जतिबेला युक्रेनी सेना काँधमा राखेर प्रहार गर्न मिल्ने बेलायती र अमेरिकी क्षेप्यास्त्रको सहयोगमा रुसी ट्यांकमाथि धावा बोल्दै थिए तब भारतीयहरू त्यसको अध्ययन गर्दै थिए। रुस-युक्रेन युद्धको मोर्चाबाट फर्किएका फाइनान्सियल टाइम्सका पत्रकारसमक्ष एक भारतीय कूटनीतिज्ञको प्रश्न थियो, ‘रुसी ट्यांक सजिलै ध्वस्त भइरहेका छन् भनेर भनिँदै छ। युद्धभूमिमा त्यस्तै देखियो?’

मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गर्न प्रयोग हुने हिमार्स ‘मिसाइल सिस्टम’ युक्रेनले रुसविरुद्धको युद्धमा प्रयोग गर्दा प्रभावकारी देखिएपछि ताइवान लोभिएको छ। फलतः ताइवानले हिमार्स बनाउने अमेरिकासँग खरिद सम्झौता गरिसकेको छ। अर्को वर्षसम्म हिमास जडित ३० ट्रक ताइवान पुग्नेछन्। त्यसपछि हिमार्सको संख्या युक्रेनसँगभन्दा ताइवानसँग बढी हुनेछ।

लडाइँ केही दिनको मात्र नै किन नहोस्, त्यसमा सहभागी देशहरूको कैयौँ उद्देश्य पूरा हुन्छन्। आफ्नो क्षमता परीक्षण र भएका सैन्य उपकरणको प्रयोग गर्न मात्र होइन, कहाँ कुन पक्षमा सुधार आवश्यक छ, पत्ता लगाउनका लागि पनि भारत र पाकिस्तान सहभागी हुने घम्साघम्सी फलदायी हुन्छन्।

केही दिन मात्र लडाइँ चल्दा पनि सहभागी देशहरूले प्रशस्त सूचना र तथ्यांक बटुलेका हुन्छन्। जुन भविष्यमा हुनसक्ने ठूलो लडाइँका लागि योजना बनाउन काम लाग्छन्। त्यसरी संकलन गरिएका सूचना र तथ्यांक सैन्य उपकरण निर्माता कम्पनीहरूका लागि पनि महत्त्वपूर्ण हुन्छन्। तिनको प्रयोगले उपकरणमा आवश्यक परिवर्तन गरिन्छ।

नयाँदिल्लीमा रही रक्षासम्बन्धी शोध गर्ने एक शोधकर्ताका अनुसार चीनलाई शत्रु मान्ने धेरै पश्चिमा देशका प्रतिनिधिहरू यतिबेला तनावमा  छन्। पाकिस्तानी सेनाले उडाएको चिनियाँ जहाज जे-१० बारे भारतीय राडरले संकलन गरेका सबै सूचना र तथ्यांक नपाउन्जेल उनीहरूमा तनाव रहनेछ। चिनियाँ विमानबारे भारतबाट पाउने सूचना र तथ्यांक पश्चिमाहरूले आफ्नो वायु सेना र रक्षा उद्योगलाई तयार पार्न प्रयोग गर्नेछन्।

उता चीनका लागि भारत-पाकिस्तान लडाइँ विमान मात्र होइन, विमानमा जडित ‘राडर सिस्टम’ को प्रभावकारिता परीक्षण गर्ने अवसर पनि हो। चीनले विकास गरेको यो ‘राडर सिस्टम’ ले दुस्मनबाट हुने खतरा पत्ता लगाउने मात्र होइन, विमानमा जडित क्षेप्यास्त्रलाई सही स्थानमा पुर्‍याउन पनि मद्दत गर्ने अपेक्षा छ।

पाकिस्तान वायुसेनाका उप्रप्रमुख अरुङजबेद अहम्मदका अनुसार भारतसँगको पछिल्लो लडाइँमा पीएल-१५ नाम गरेको क्षेप्यास्त्र प्रयोग गरिएको छ। चीनले बनाएको यो क्षेप्यास्त्रको प्रयोगलाई महत्त्वका साथ हेरिनुपर्ने भनाइ राख्छन् रोबर्ट टोलास्ट।

लन्डनको रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटसँग आबद्ध टोलास्ट पीएल-१५ को प्रयोग साँच्चै भएको भए यसको क्षमता र प्रभावकारिता मूल्यांकन गर्ने अवसर आएको उनको भनाइ छ। भारतीय सञ्चारमाध्यमहरूले पीएल-१५ को अंशहरू भारतीय सेनाले भेटेको दाबी गरिरहेका छन्।

सन् २००० दशकको सुरुतिर विकास भएको विश्वास गरिने पीएल-१५ अत्याधुनिक एईएसए राडर सिस्टमको मार्ग निर्देशनमा प्रहार गरिन्छ। चीनले विकास गरेको एईएसएमा पनि पश्चिमाको चासो छ। पश्चिमा र रुसबीच अत्याधुनिक एईएसए विकास गर्ने होड दशकौँसम्म चलेको थियो। यो होडमा अहिले चीन पनि छ।

हाल चलिरहेको लडाइँमा भारतीय क्षेप्यास्त्र सफल देखिएका छन्। भारतले प्रहार गरेका कतिपय लामो दूरीका क्षेप्यास्त्र फ्रान्सेली प्रविधिमा बनाइएका हुन्। भारतबाट प्रहार गरिएका क्षेप्यास्त्र निसानामा नचुक्नुले पाकिस्तानको हवाई रक्षा प्रणालीमाथि प्रश्न उठेको छ।

पाकिस्तानी हवाई रक्षा प्रणालीको जिम्मा चिनियाँ एच क्यू-९ सिस्टमाथि छ। जुन क्षमताका आधारमा भारतले प्रयोग गरिरहेको रुसी एस-४०० धेरै पछाडि रहेको विश्वास गरिन्छ। ‘पूरै सतर्क हुँदा पनि पाकिस्तानी हवाई रक्षा प्रणालीले भारतीय क्षेप्यास्त्र पाकिस्तानी आकाशमा छिरेको पत्तो पाएन,’ भारतीय रक्षा मामिलामा शोध गर्ने लक्ष्मणकुमार बेहेरा भन्छन्।

गत बिहीबार भारतले पाकिस्तानी हवाई रक्षा प्रणालीमा आक्रमण गरेको बताएको थियो। ‘भारतले आफ्नो क्षमता प्रदर्शन गरेको छ। कुनै एक निश्चित ठाउँमा मात्र क्षेप्यास्त्र प्रहार गरेको होइन, यहाँ त पूरै प्रणालीमाथि धावा बोलिएको छ। भारतले पाकिस्तानलाई सन्देश दिएको हो, हेर हामी तिम्रो ढोकाको चाबी फोड्न सक्छौँ भने घरभित्र पनि छिर्न सक्छौँ,’ नयाँदिल्लीस्थित एक पश्चिमा कूटनीतिज्ञले भने।

विगतका लडाइँलाई पनि भारत र पाकिस्तानले एकअर्काको क्षमताबारे प्रशस्त जानकारी बटुल्ने र आफ्नो कमजोरी पत्ता लगाउने अवसरका रुपमा प्रयोग गरेका थिए। सन् १९९९ को लडाइँपछि भारतको आन्तरिक निस्कर्ष थियो, आफूसँग भएका रुसी विमान एमआईजीको प्रतिस्थापन। त्यसपछि भारतले फ्रान्समा विकास गरिएको विमान मिराज खरिद गरेको थियो। बुढ्यौली उमेरमा पुगिसकेका एमआईजी विमानहरूले हिमाली भूगोलमा दुश्मनका विमानलाई सोचेजति टक्कर दिन नसकेपछि भारतीय वायु सेनाले पश्चिमा देशहरूले विकास गरेका विमानतर्फ आँखा डुलाउन थालेको हो।

सन् २०१९ मा आतंकवादीको आक्रमणका कारण आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो। एक महिनाभन्दा लामो समय एक अर्काविरुद्ध आक्रमण गरेका थिए। त्यस दौरान भारतले एक एमआईजी-२१ विमान त गुमायो नै, आफ्नै एक हेलिकप्टर पनि भारतीय सेनाले खसालेको थियो।

यी दुई घटनाले भारतलाई दुश्मनबाट हुने हवाई आक्रमणबारे पहिल्यै सूचना दिने प्रणाली कमजोर रहेको महसुस गरायो। क्षेप्यास्त्र र राडर जडित विमानलाई आफूतर्फ दुश्मनको विमान, ड्रोन र क्षेप्यास्त्र आइरहेको थाहा पाउन चुस्त ‘एयरबोर्न अर्ली वार्निङ एन्ड कन्ट्रोल सिस्टम’को सहयोग आवश्यक पर्छ।

भारतीय सेनाका लागि उपकरण खरिद सजिलो छैन। कर्मचारीतन्त्रबाट हुने झमेलाका कारण भारतीय सेना आफूलाई चाहिएको कुनै कुरा तुरुन्त आयात गर्न सक्दैन। जबकि पाकिस्तानी सेनाका लागि कसैले अवरोध सिर्जना गर्न सक्दैन। फेरि पाकिस्तानका लागि सदाबहार निर्यातकर्ता चीन हरबखत उपकरण निर्यातका लागि तयार हुन्छ।

दुश्मनबाट हुने हवाई आक्रमणबारे पहिल्यै सूचना दिने प्रणाली र त्यस्तो प्रणाली जडित विमान खरिदको योजना सन् २०१९ को त्यो घटनापछि नै बनाइएको हो। तर यस वर्षको मार्चमा आएर मात्र भारतले त्यस्तो प्रणाली १२ विमान खरिद गर्ने निर्णय गरेको छ।

‘हालको लडाइँ र एक अर्काविरुद्ध बदला लिने सिलसिला लामो समय चलिरह्यो भने भारतले समयमै हवाई रक्षा प्रणाली स्तरोन्नति नगरेकोमा पश्चताप गर्नुपर्ने थियो। यदि पाकिस्तानबाट प्रहार भएको चिनियाँ क्षेप्यास्त्र राफाएल खसालेको हो भने त त्यस किसिमको प्रणाली झनै तत्काल आवश्यक हो,’ नयाँदिल्लीमा एक पश्चिमा देशबाट खटिएका डिफेन्स अटाचे भन्छन्।

प्रकाशित: २७ वैशाख २०८२ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast