कहिले हुन्छ १० औँ राष्ट्रिय खेलकुद?

रमा केसी २६ वैशाख २०८२ १३:००
42
SHARES
कहिले हुन्छ १० औँ राष्ट्रिय खेलकुद? सुर्खेत रंगशाला। तस्बिर : हिमालप्रेस

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दसौँ राष्ट्रिय खेलकुदका लागि रंगशाला निर्माण भइरहेको छ। अझै पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको टुंगोचाहिँ लागिसकेको छैन। निर्माणको अन्तिम चरणमा पुगेको उक्त रंगशालामा राष्ट्रिय खेलकुदका लागि तयारी भइरहेको छ।

यसअघि मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको मिति तोकिएको थियो। भौतिक संरचना र अरू तयारी नपुगेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चार महिनापछि सार्‍यो। अर्थात्, चैत २३ देखि ३० गतेसम्मको मिति तोकिएको थियो। त्यस समयमा पनि हुन नसक्दा जेठको ३ देखि १० गतेसम्म हुनेमा अब भने निर्धारित मितिमा खेलकुद प्रतियोगिता सम्पन्न हुनेमा यस क्षेत्रका खेलकुदप्रेमी ढुक्क भएका थिए।

भौतिक संरचना निर्माणसँगै कर्णालीमा खेलाडीका लागि बन्द प्रशिक्षणसमेत सुरु गर्नुपर्नेमा अझै पनि खेलकुद हुने-नहुनेमा अन्योल पैदा भइरहेको छ।

कर्णालीले खेल पूर्वाधार निर्माणमा निकै ठूलो योगदान पुर्‍याएको छ। मुलुककै अति दुर्गम, विकटता र असुविधाले परिचित कर्णालीले पछिल्लो समय मुलुकमै उदाहरणीय खेल पूर्वाधार निर्माण गरिरहेको छ। त्यसैको तयारीका लागि विभिन्न खेलको बन्द प्रशिक्षण भने खेलाडीले आफ्नो तरिकाले मात्र तयारी गरिरहेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको प्रदेश गौरवको आयोजना ‘प्रदेश रंगशाला’ को फिनिसिङको काम ९० प्रतिशतले तीव्रगतिमा भइरहेको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्दै गरेको सुन्दर रंगशालाले यहाँको शोभा बढाएको छ। एक अर्ब ५९ करोडको लागतमा निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ। यसले कर्णालीको समग्र खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आधार तयार गरेको छ। यो रंगशाला अन्तर्राष्ट्रिय खेल मापदण्डअनुसार बनाइएको प्रदेश खेलकुद परिषद्को भनाइ छ। खेलमैदानको कामले अन्तिम चरण लिइसक्दा पनि खेल हुने-नहुने खेलाडीहरु अन्योलमा छन्।

यस्तै गत महिना सचिवालय उद्घाटनका समयमा आएका बेला युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जसरी पनि गरिने दाबी गरेका थिए। उनले भनेका थिए, ‘वातावरणविद्हरूसँग पनि कुरा गरिसकेको छु। खासै गर्मी हुँदैन भन्ने छ।’

सबै खेल कर्णालीमा खेलाउन नसकिने मन्त्री चौधरीले बताए। सुर्खेतमा बढीमा १७ र बाँकी खेल अन्य जिल्लामा गरी २४ वटासम्म खेलमात्र कर्णालीमा खेलाउन सकिने उनको भनाइ थियो।

त्यसबाहेक बाँकी खेल काठमाडौँ वा नेपालगन्जमा खेलाउने गरी गृहकार्य भइरहेको मन्त्री चौधरीले प्रस्ट पारेका थिए। सुर्खेतमा बसोबासको पनि समस्या रहेको उनको भनाइ थियो। मूल समिति बनाउनका लागि बैठक आह्वान गरिसकेकाले जेठमा जसरी पनि प्रतियोगिता हुने मन्त्री चौधरीको दाबी थियो।

दसौँ राष्ट्रिय खेलकुदका लागि केन्द्र सरकारले ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यद्यपि शीर्षकगत रूपमा बजेट नछुट्ट्याएको कारण आवश्यक तयारीमा ढिलाइ भएको भन्दै चैतमा गर्ने भनिएको प्रतियोगिता जेठमा सारिएको हो। मंसिरमै शीर्षकगत रूपमा बजेट छुट्ट्याउन भन्दै राखेप र युवा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाएका थिए।

मन्त्री चौधरीका अनुसार अर्थ मन्त्रालयबाट बजेट कार्यान्वयनका लागि स्वीकृति आइसकेको छ। यद्यपि शीर्षकगत रूपमा छुट्याउने काम भने भएको छैन। साथै खरिद प्रक्रियामा परिषद् अझै अघि बढ्न सकेको छैन।

अर्कातर्फ ६० करोड बजेटबाट सरकारले २५ प्रतिशत घटाएको छ। ४५ करोडले प्रतियोगिता गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे पनि छलफल गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो।

यस्तै प्रदेश खेलकुद विकास परिषद्का अध्यक्षसमेत रहेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दसौँ राष्ट्रिय प्रतियोगिताबारे अहिलेसम्म केन्द्रले कुनै समन्वय नगरेको बताए। ‘यहाँ खेलाउने भनिएका २४ वटै खेल खेलाउन हामी तयार छौँ, केन्द्र सरकारले विश्वास गर्नुपर्‍यो,’ उनले भने, ‘जेठमा सम्भव हुने/नहुने हामी उत्तर दिन सक्दैनौँ।’

केन्द्रको मन्त्रिपरिषद्ले निर्णय गरेको खण्डमा मात्रै प्रतियोगिता हुनेबारे विश्वास गर्न सकिने उनको भनाइ छ। दसौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक परेमा सबै संरचना बनाउन तयार रहेको उनले बताए।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकारले पनि व्यापक चासो दिएको बताए। उनले भने, ‘कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न प्रदेश सरकार पनि लागिपरेको छ।’

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १० हजार जतिको सहभागिता रहने प्रदेश खेलकुद परिषद्ले जानकारी गराएको छ। मन्त्री भण्डारीले प्रतियोगिताको मूल आयोजक संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय खेलकुद परिषद् हो। उनले जेठमा आयोजना गर्ने भनेर गरिएको निर्णयअनुसार प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए।

प्रतियोगिताबारे प्रदेश सरकार झन् जिम्मेवार बन्न नसकेको कारण पनि केन्द्र रहेको उनले जानकारी दिए। प्रदेश सरकारले प्रदेश खेलकुद परिषद पदाधिकारी नियुक्त गर्नसमेत सकेको छैन।

खेलाडी दीपक हमाल पनि दसौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म खबर नआएको बताउँछन। उनले भने, ‘आफ्नो प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद हुँदै छ तर हामीलाई अहिलेसम्म कुनै सूचना आएको छैन।’

प्रदेश खेलकुद विकास परिषदका पूर्वसदस्य सचिव विश्वामित्र सन्ज्याल भन्छन्, ‘यो रंगशााला अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर बनाइएको छ। यहाँ १६ वटा खेलकुद प्रतियोगिता गराउन सकिन्छ।’

रंगशालामा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ। यस्तै, रंगशालामा फुटबल मैदान, एथलेटिक्सका लागि चार सय मिटरको आठ लेन सेन्थेटिक ट्र्याक, पौडीपोखरी, भलिबल कर्भड हल, ह्यान्डबल, बास्केट बल कोर्ट, मार्सल आर्ट खेलका लागि कभर्ड हल बनिसकेको छ।

चेन्जिङ रुम, शौचालय, मेडिकल रुम, फिजियो, रेफ्रीका लागि रुमलगायत सुविधासम्पन्न मिडिया सेन्टर बनाइएको छ। वीरेन्द्रनगरको चिसापानीमा फुटबल मैदान, कालिनचोकमा क्रिकेट मैदान र रग्बी मैदान निर्माण भएका छन्।

सन्ज्यालले कर्णालीको पर्यटन अवस्थालाई राम्रो बनाउने उद्देश्यले कर्णालीको डोल्पा र मुगुबाहेक आठ जिल्लामा खेलाउन सकिने बताए। प्रतियोगितामा कर्णाली प्रदेशका ६ सयभन्दा बढी खेलाडी सहभागी हुनेछन्।

खेलकुद क्षेत्रमा कर्णाली सबैभन्दा पछाडि छ। खेलकुदका पूर्वाधार हेर्ने हो भने पनि नै पछाडि नै थियो। पछिल्ला वर्ष कर्णालीले खेल पूर्वाधार निर्माणमा निकै सफलता हासिल गरेको छ। कर्णालीमा प्राप्त गुणस्तरीय पूर्वाधार र निरन्तर अभ्यासको अभावमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कर्णाली पुछारमा परेको थियो। खेलकुदको विकास निर्माणमा सबैभन्दा पछाडि परेको यो क्षेत्रमा पछिल्लो समय निर्माण भएका केही नमुना खेलकुद पूर्वाधारसँग केही खेलाडीहरूले कमाएको चर्चाले कर्णाली खेल्छ भन्ने सन्देश दिएको छ।

यस्ता धेरै प्रतियोगिताहरू निरन्तर भइरहेका छन्। प्रदेश खेलकुद परिषद्का अनुसार ती सबैजसो प्रतियोगिता र कार्यक्रम १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै भइरहेका हुन्। कर्णालीले यसै वर्षको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी पाएको छ। कर्णाली प्रदेशका १० जिल्लामा राखेपको नाममा करिब ५० रोपनी जग्गा छ। उक्त जग्गामा खेल पूर्वाधार निर्माणको काम नहुँदा खेलाडी उत्पादनमा समस्या भइरहेको छ।

प्रकाशित: २६ वैशाख २०८२ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast